0

हल्लाहरु छन् र त हामी अझै जिउँदा छौं

Share

(कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाका सङ्गीन थमाइन्छ,
‘यो हल्लै हल्लाको देश हो–भूपी शेरचन )

हल्लाहरु अझै जिउँदा छन्
हल्लाहरुले नै ल्याउनेछन् यहाँ जोडदार हल्लाहरु
र हल्लाहरुले हामी हल्लिरहने छौं

जन्मदैदेखि झोलुङ्गोमा हालेर
आमा र हजुरआमाहरुले हल्लाइरहनुभयो हामीलाई
हाम्रो निद्रा बोलाउन आमा र हजुरआमाहरु हामीलाई सुनाउनुहुन्थ्यो दन्त्यकथा
सुनाउनुहुन्थ्यो लोरी गीत

लोरी र दन्त्यकथा सुन्दै सुन्दै हामी निदाउँथ्यौं

सपनामै देखिन्थे तिलस्मी राजकुमार
र उनको रुपवती राजकुमारी
उनीहरुका स्वर्णिम दरबार
र सुनौला बगैचा

सपनामा देखिन्थे सुन्दरी परी
फेरि देखिन्थे परीहरुलाई लखेटिरहेका राक्षसहरुका डरलाग्दो काया
र उनीहरुका अट्टहास

कहिलेकाहीँ जब निदाउन छाडेर
झोलुङ्गाबाट हामी आफ्ना टाउकाहरुलाई
माथि उठाउँथ्यौ
र बाहिर चियाउँथ्यौं
पिँढीबाट हल्ला गर्नुहुन्थ्योे
र हामीलाई डर देखाउनुहुन्थ्यो हजुरआमा

‘आइज है स्याल, आइज
हाम्रो नानीको कान समाएर लैजा ।’

स्यालको डरले सास दबाएर
आफ्ना दुवै हत्केलाहरुले अनुहारलाई लुकाउँथ्यौं
र झोलुङ्गोमा लपक्क निदाउँथ्यौ हामी

यसरी नै सधैं
हजुरआमा हल्ला गर्नुहुन्थ्यो
र हामीलाई सुताउनुहुन्थ्यो
आमा हल्ला गर्नुहुन्थ्यो
र हामीलाई ब्युँझाउनुहुन्थ्यो
हल्लामै निदाउनु र हल्लामै ब्युँझनु
हाम्रो आदत बन्यो

हाम्रा लागि प्रकृति प्रदत्त छन् हल्लाहरु
हाम्रा लागि अतिप्रिय छन् हल्लाहरु
हाम्रा लागि आनन्ददायक छन् हल्लाहरु

हल्लाहरु नहोस्
र हल्लाहरुले हामीलाई रतिराग नछाडोस्, यस्तो कदापि हुन्न

सधैं व्याप्त छन् यहाँ हल्लाहरु
सवारी चढ्नुस्, हल्ला छ
सुपरमार्केट हिँड्नुस्, हल्ला छ
स्कुलको कक्षा कोठाभित्र हल्ला छ
विश्वविद्यालयभित्र हल्ला छ
कविगोष्ठीमा हल्ला छ
मन्दिरभित्र हल्ला छ
गिर्जाघरभित्र हल्ला छ
मस्जिदभित्र हल्ला छ
न्यायालयभित्र हल्ला छ
अस्पतालभित्र हल्ला छ

गाउँमा हल्ला छ
सहरमा हल्ला छ
टोलमा हल्ला छ
घरमा हल्ला छ
छिमेकमा हल्ला छ

संसद !
यो झनै ठूलो हाटबजार हो
जहाँ मान्छेहरुको मूल्यको चर्को लिलाम
र क्रय विक्रय चल्छ
यहाँ झनै हल्ला छ

हल्लाहरु छन्
र त यसकारणले हामी अझै जिउँदा छौं ।

ज्याग्दीखोलाको तरङ,
असोज २०७६