तटबाँध

WhatsApp Image 2026 08 12 at 7.30.21 PM 2

अहँ
म आफ्नो छाती फोरेर
तिमीहरूलाई निर्बाध अब कुनै तटबाँध
निर्माण गर्न दिन्न

घरीघरी
मेरो छातीमाथि तिमीहरू
निष्ठुर बाँधहरू बाँध्न चाहन्छौ
बाँधहरू, जो सिंहदरबारका
अग्ला पर्खालहरू भएर
सधैं मेरो देशमाथि बाँधिइरहे
र, भिक्षु नावातामेका हाडखोरहरूले
सधैं दुख्नेगरी बिझाइरहे बुद्धका
निसृत आँखाहरू

अहँ
मेरो छातीमाथि
काँडेतारहरू हुर्काएर
तिमीहरूलाई अब कुनै आरक्षण
निर्माण गर्न दिन्न

तिमीहरू बाँध्न चाहन्छौ मेरा धमनीहरू
तिमीहरू बाध्न चाहन्छौ मेरा शिराहरू
तिमीहरू बाँध्न चाहन्छौ मेरा रक्त कोषिकाहरू
मेरो छातीमाथि
निषेधाज्ञाका साइनबोर्डहरू हालेर
तिमीहरू बिषाक्त धतुरो
उमार्न चाहन्छौ

अहँ
म मेरो छातीमाथि
तिमीहरूलाई कुनै लागु प्रशोधन केन्द्र
निर्माण गर्न दिन्न

मेरो छातीमाथि
तिमीहरू सधैं
खुर्दलोटनहरू बाँध्न चाहिरह्यौ
मेरो छातीमाथि
तिमीहरू सधैं
युद्धरत् काश्मीर भूमिको
विवादास्पद सीमाहरू कोर्न चाहिरह्यौ
मेरो छातीमाथि
तिमीहरू सधैं
आफ्नो अधिकारको एउटा एउटा
झण्डाहरू गाड्न चाहिरह्यौ
मेरो छातीमाथि
तिमीहरू सधैं
एउटा संवादहीन लडाइँ
लड्न चाहिरह्यौ
र आग्नेयास्त्र निर्माण गरिरहयौ

घरीघरी
किन यो छातीमाथि बाँधिन्छन्
शोकमग्न आँसुका यी नीला बाँधहरू ?

अहँ
सधैं निद्रामा दुःस्वप्नले लखेटिरहेका
यो मुलुकका नागरिकहरूको
चीत्कारहरू बोकेर
म मेरो छातीमा तिमीहरूको
राष्ट्रिय गीतको कुनै धुन बज्न दिन्न ।

२०५९

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these