डा. अमर गिरी (जन्मः २०१७ भाद्र २७, दाङ) कविताका माध्यमबाट समाज रुपान्तरणको आन्दोलनमा निरन्तर सङ्घर्षरत् नाम हो । उहाँका कवितामा श्रमिक र उत्पीडनमा परेका सीमान्तकृत वर्गको आन्दोलनप्रति समर्पण पाइन्छ । समकालीन प्रगतिवादी नेपाली कविताको क्षेत्रमा उहाँ अग्रगामी चेतनाका वाहक कविहरुको अग्रपंक्तिमा रहेर कविता लेख्दै आइरहनु भएको छ । उहाँका कविताहरु दुर्बोध्य र क्लिष्टताबाट मुक्त छन् । त्यसैले उहाँका कविता सरल र बोधगम्य हुन्छन् । कवितामा ग्रामीण अनुभूति पाइन्छ । त्यसैले पनि उहाँका कविता पठनीय छन् ।
उहाँका हालसम्म घाम छेक्ने पहाड (२०५५), तर पनि हामी जीवित छौँ (२०६१), दुःसाध्य समय (२०६४), शब्दहरूका बीचमा (२०७१), समय संवाद (२०७३) कवितासङ्ग्रहहरु प्रकाशित छन् ।
डा. अमर गिरी प्रखर माक्र्सवादी समालोचक पनि हुनुहुन्छ । कविता कृतिहरु बाहेक उहाँका समय, समाज र संस्कृति -२०६७, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य -२०७३, भूमण्डलीकरण र साहित्य -२०७४, साहित्य विमर्श -२०७५, कवितामा वर्गद्वन्द्व -२०७५ समालोचनात्मक कृतिहरु प्रकाशित छन् । त्यसैगरी उहाँले काव्य विमर्श, प्रज्ञा समकालीन नेपाली कविता विमर्श, नेपाली डायास्पोराका कविता, समकालीन नेपाली कविताको शिल्प लगायतका विभिन्न अनुसन्धानमूलक कृतिहरु र पत्रपत्रिकाहरुको सम्पादन र सहसम्पादन गरिसक्नु भएको छ ।
उहाँ तारापन्त पुरस्कार–२०४७, राष्ट्रिय प्रतिभा पुरस्कार–२०५२, लोकेन्द्र साहित्य पुरस्कार–२०५६, कृष्णमणि साहित्य पुरस्कार–२०६२, योगेश्वर कलासाहित्य पुरस्कार–२०६६, राप्ती सृजना पुरस्कार–२०६८, गोपालप्रसाद रिमाल पुरस्कार–२०७३ लगायत थुप्रै साहित्यिक पुरस्कार र सम्मानबाट पुरस्कृत र सम्मानित भइसक्नु भएको छ ।
यहाँ ‘दुःसाध्य समय’ कवितासङ्ग्रहबाट उहाँको दुईवटा कविता प्रस्तुत गरेको छु ।
घर नरहेपछि
यो घर नरहेपछि
हामी कहाँ जानेछौं ?
कुन द्वीप
कुन पहाडको काख
कुन नदीको किनार
कुन वृक्षहरुको माझ
कुन पङ्क्षीको
साङ्गीतिक मण्डलामा
हुनेछ हाम्रो बास ?
कुन खेतका गरा
कुन बारीका पाटा
कहाँ चल्नेछ हलो
कहाँ उम्रनेछ फापर
कहाँ फल्नेछ मकै
कहाँ लहलहाउने छन् धानका बाला
कहाँ फुल्नेछ सयपत्री
रातमा कुन आकाशमुनि
निदाउनेछौं हामी
र भोलिका निम्ति सपना देख्नेछौं ?
के भनेर बोलाइनेछ हामीलाई
घर नरहेपछि
के हुनेछ हाम्रो परिचय
कुन गीत गाउनेछौं हामी
कुन बाजा बजाउनेछौं
कुन नृत्य गर्नेछौं
के हुनेछन् आमाका पूजाका थालीहरु ?
साँच्चै
घर नरहेपछि
हामी कहाँ जानेछौं ?
ooo

इनार र स्त्री
बिहान/दिउँसो/साँझ
जुनसुकै बेला होस्
घेरिएको हुन्छ स्त्रीहरुले
गाउँमाझको इनार
दिन सुरु हुन्छ इनारबाट
रात इनारमै पर्छ
घर–इनार
इनार–घर
बाटो नापिरहन्छन् स्त्रीहरु
वर्षौंदेखि
वर्षौंवर्षदेखि
देखिरहेछु म यो सबै
इनारभन्दा गहिरो पीडा
इनारको पानीभन्दा धेरै आँसु
उफ !
कसरी सहन्छन् स्त्रीहरु ?
ooo