तीर्थ श्रेष्ठका दुई कविता

WhatsApp Image 2026 07 24 at 3.46.00 PM

तीर्थ श्रेष्ठ (जन्मः २०१६, कार्तिक १६, पोखरा) नेपाली साहित्यमा तरलतावादी आन्दोलनका एक प्रभावशाली कवि हुनुहुन्छ । मानवता र प्रकृतिप्रेम उहाँका कविताको विशेषता हो । उहाँका कविताहरुमा सुललित शब्दहरुको प्रयोग पाइन्छ जसले उहाँका कविताहरुलाई ललित बनाएको छ । सरल शब्दहरुको बिम्बमार्फत् उहाँ भुँइमान्छेहरुको पहिचान खोज्नुहुन्छ र आफ्ना कविताहरुबाट शालीन विद्रोह गर्नुहुन्छ । पोखरामा रहेर काव्य सिर्जना गर्दै आइरहनुभएका कवि तीर्थ श्रेष्ठ र पोखराको काव्यिक क्षेत्र एकप्रकारले पर्यायजस्तै बनेको छ ।

उहाँका ‘महाभारतका गीतहरु’ (मुक्तकसङ्ग्रह), ‘मेरै हिमालजस्तो’ (गीतसङ्ग्रह) र ‘जिन्दगीको कुरुक्षेत्रबाट’, ‘तीर्थ श्रेष्ठका कविताहरु’,(२०५५) ‘धर्सैधर्साको चक्रव्यूह’,(२०७६) ‘हिउँमा लेखिएका नामहरु’(२०८१) कवितासङ्ग्रह प्रकाशित छन् ।

उहाँ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’–२०५५, ‘मोति युवावर्ष पुरस्कार’–२०५६, ‘वाशुशशी स्मृति पुरस्कार’–२०७०, ‘शिरोमणी पुरस्कार’, ‘प्रवल जनसेवा श्री’, ‘भूपी काव्य पुरस्कार’–२०७५, ‘पहलमानसिं स्वार साहित्य प्रतिभा पुरस्कार’–२०७५, ‘प्रतिभा पुरस्कार, विराटनगर’–२०८२ लगायत विभिन्न पुरस्कारले सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

यहाँ उहाँको ‘हिउँमा लेखिएका नामहरु’ कवितासङ्ग्रहबाट दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।

भैगो दुर्गा दाइ !

दुर्गा दाइ
भैगो
यसपटक कुनै भू–दृश्य
चित्राङ्कित नगरौं, भैगो !

पहाडमा जस्तै
पहिरो गएका छन् सुकुमार गालाहरुमा
हिमनदीझैं
अनवरत बहिरहेछ
आँखाको कप्टेराबाट
आँसुको धार
असमयमै फुलेर
हिमालझैं भएको छ
युवकको कपाल

दुर्गा दाइ !
ओ दुर्गा दाइ !!
भोकको मुहार चित्र
बनाउने होइन त आज ?
लेकतिर लागेर
गुराँस भोकाएको
र बेसीतिर फर्केर
चाँप भोकाएको
दृश्यचित्र बनाउने होइन आज ?

यसपटक भैगो दाइ !
हिमालका दृश्यहरु भैगो
हिमालका कप्टेराहरुमा भएर
अड्किँदैन हामीसँगमा भोकहरु
हिमालका जँघारहरुमा गएर
जाकिँदैन हामीसँगका रोगहरु
हिमनदीसँगै
बग्दैनन् हाम्रा शोकहरु

दुर्गा दाइ
यसपटक कुनै भू–दृश्य
चित्राङ्कित नगरौं, भैगो

जब गिट्टी कुट्दै
साडीको फेरले
संसार पुछिरहेकी
साइली तामाङको मुहारबाट
हराएको उज्यालोको चित्र बनाउन सकिन्न
जब उदासीको धून सुसेलिरहेकी
काली दमिनीको ओठमा
मुस्कानको फूल टाँस्न सकिन्न
र जब बिर्साउन सकिन्न
लाहुर गएको छोराको घाउ
बोकेकी बूढीआमालाई
सम्झनाको काँडा
खै कस्तो देखिन्छ
भैगो
यसपटक कुनै भू–दृश्य
चित्राङ्कित नगरौं, भैगो !
०००

WhatsApp Image 2026 02 23 at 8.37.49 PM

मलाई इलाम हुन मन लाग्यो

मलाई बिहानको बतास भएर
चियाका मुनाहरु छुन मन लाग्यो
जाडोले काँपेका छन् नेपाली मनहरु
घाम अस्ताएको यो देशमा
मलाई बिहानको
कलिलो घाम हुन मन लाग्यो
देखिए–देखिए
नदेखिए–नदेखिएझैं
मलाई इलाम हुन मन लाग्यो

बादलको घुम ओढेर
ढसमस्स बसेका छन् पहाडहरु
पसिनाको बर्सातमा
गन्तव्यको खोजीमा छन् मान्छेहरु
बादलहरु भने बेनाम–बेनाम छन्
यस्तोमा मलाई एउटा नाम हुन मन लाग्यो
मलाई इलाम हुन मन लाग्यो

देवताहरु पनि भैगो
राक्षसहरु पनि भैगो
मलाई मान्छेहरुले मान्छे पुज्ने
यौटा घाम हुन मन लाग्यो
मलाई इलाम हुन मन लाग्यो

सुतेरै जिन्दगी काट्नेहरु छन् यहाँ
लुटेरै जिन्दगी बाँच्नेहरु छन् यहाँ
तिनीहरुको बीचमा छु अचेल म
मलाई पसिनाले छोएर
सुन हुने फलाम हुन मन लाग्यो
मलाई इलाम हुन मन लाग्यो

इलाम
तिम्रो सम्मानमा
मलाई स्वयं सलाम हुन मन लाग्यो
मलाई इलाम हुन मन लाग्यो ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these