पुरुषोत्तम सुवेदीका दुई कविता

WhatsApp Image 2026 10 23 at 9.04.04 PM 1

पुरुषोत्तम सुवदी (जन्मः २०११ असार २३, तेह्रथुम) तीसको दशकदेखि सक्रिय लेखनमा हुनुहुन्छ । उहाँका कविताहरुमा सामाजिक यथार्थ, आममानिसका दुःख र सङ्घर्ष, सामाजिक विषमता, प्रतिरोध र वर्गीय चेतना पाइन्छ ।

उहाँको ‘आतङ्क गन्ध’–२०४८, ‘एक्लो विजेता’–२०५५, ‘सपनाको सट्टाबजार’– २०७३ र ‘उज्यालोको प्रेमगीत’–२०८३ कवितासङ्ग्रह र ‘सङ्क्रमणको साहित्य र समकालीनता’– २०६६ समालोचना प्रकाशित छन् ।

उहाँ साझा पुरस्कार– २०६६, पारिजात सिर्जन सम्मान– २०७१, रमेश विकल सिर्जन पुरस्कार– २०७५ र लक्ष्मीप्रसाद देवकोटा पुरस्कार– २०८० लगायत विभिन्न पुुरस्कार र सम्मानले पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘उज्यालोको प्रेमगीत’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।

ग्रेटवाल

पहाडमाथि लमतन्न सुतेको
सर्पाकार आकृति
जो देखिन्छ अन्तरिक्षबाट
र संसारभरका जिज्ञासाबाट
जहाँ कुँदिएका छन्
आममान्छेका सपनाहरु

पसिनाको बास्ना
रगतको गन्ध
र मृत्युका असङ्ख्य त्रासद कथाहरु

सम्राटको हठ
र अमरत्वको कुलीन चाहना
प्रत्येक कुँदाइमा झल्किन्छ
हरेक ढुङ्गामा मगमगाउँछ
मानवश्रमको गरिमा
तर कुँदिएको छैन कतै पनि
कलाकारको नाम र बलिदान गाथा

इतिहासको भव्य अट्टालिकामा
ठडिएको छ वैभवको स्थापत्य
विजेताको बलशाली अहङ्कार
पर्खालमुनिको
चिसो ओसमा सुनिन्छ
हुरहुराएर बहने
बतासमा सुनिन्छ
पर्खाल शृङ्खलाका
दृश्यमा सुनिन्छ

एक एक ढुङ्गाहरु साक्षी छन्
एक एक इतिहास पुस्तक
बेठबेगारका बलवादी दमन
कुटपीट, अङ्गभङ्ग र हत्याका
दुर्दान्त कथाहरु साक्षी छन्
एक एक चुचुराहरु
र एक एक प्रसिद्धिहरु साक्षी छन्
तर भन्न सक्दैनन् कसैले पनि
किल्ला हो कि पर्खाल ?
सातौं आश्चर्य हो कि
हो सपनाको वधस्थल ?

हजारौं हजार माइल फैलिएको
महान पर्खालको एकछेउ
एक सुदूर छेउ
टेकें मैले पनि
र अझैं झङ्कृत छ मेरो शरीर
त्यहाँ चलेको बतासको स्पर्श
वरिपरिको आवाज
र गन्धको अनुभूतिमा
सुदूर इतिहासको
दर्द र दर्प

टेकें मैले पनि
महाचीनको
महान् पर्खाल ।
०००

WhatsApp Image 2026 10 23 at 9.04.04 PM

खच्चड कान्छो

कहिलेदेखि
पछ्याउन थाल्यो
साहुका खच्चडको लस्कर
मुस्ताङ–पोखरा
कहिलेदेखि भनिन थाल्यो ऊ
खच्चड कान्छो
कुनै सम्झना छैन उसलाई

भीरको बाटो
पहिरोको अक्षांश र देशान्तर
कालीगण्डकीको भीषण हुरी
वर्षाद, हिमपात, हिलो, धूलो
कुहिरो, पहाड, जङ्गल
र भीरपहरासँग
हावाको सुसेली संवाद
काग, कोकले, चिबेचरी
ढुकुर, रुप्पी, मयूर, कालिज
र वनकुखुराको मधुर डाँक
गाइने कीरा, झ्याउँकिरी
र न्याउलीको सुमधुर तराना
शिकारी चीलको खूनी चीत्कार
नाइके खच्चडको घाँटीको
एकनास बज्ने घण्टीको आवाज
लोकस्वरको टाढा टाढाबाट गुन्जिने
मधुर तराना
ग्रहण गर्छन् कान
र अरु इन्द्रियहरुले

तीव्र फेरिने मौसमको नखरासँग
समयको सम्झौता
यात्रामै भेटेको छ उसले

पसिनाका नुनिला धारा
चिसोको सियोजस्तो घोच्ने दंश
चुपचाप सहेको छ उसले
अशक्त खच्चड
बाटोमा छोड्दा
त्यसका आँखामा
देखिएको जीवन मोह
अनि कहिलेकाहीँ जम्काभेट हुने
ब्वाँसो र भालुका खुनी आँखाको
प्राकृतिक र हिँस्रक दृष्टिको
डरको दर्शन

भूगोलको दूरुहता
सुन्दरताको द्वैध
र निराकार मौनको
अनन्त समाधि
हेरेरै छुट्याउन सक्छ ऊ

प्रत्येक खच्चडको नाम
बानी, क्षमता, उमेर
लस्करमा सामेली
मितिदेखि मात्र प्रारम्भ हुन्छ
उसको सरोकार
छैन खच्चडबाहिर कुनै समाचार
कुनै सरोकार पनि
उसलाई उद्धेलित गर्ने

नतोकिएको दिनमा
तोकिएको मालसामान
पु¥याउँदै नयाँ वा पुरानै ठेगानामा
पुग्छ ऊ बाटोका प्रत्येक घुम्ती
उकाली, ओराली, ढलान, पहिरो
जङ्गल र भीरपहरा नाध्दै

औंसी वा पूर्णिमा
दिन वा रात
पुरै एक्लो उसको
संवाद हुन्छ
अविराम एकालापमा
खच्चडसँग नै
मौनतासँग नै
क्रूर काल–बेलासँग नै

किशोर जोशको
एउटा अवाञ्छित र क्रूर समयमा
भेटिन्छ खच्चड कान्छो
हिँडिरहेको हिँडिरहेको
र सुनिरहेको
खच्चड घाँटीको घण्टी

उकाली–ओराली, लेक, बेसी
निरन्तर माथि पुग्दै, तल झर्दै
तल झर्दै, माथि चढ्दै
कहिल्यै नटुङ्गिने यात्रामा ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these