विष्णुविभु घिमिरे (जन्मः वि. सं. २०१० भदौ १०, इलाम) समसामयिक विषयलाई कवितामा निकै सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गर्नुहुन्छ । उहाँका कविताहरु आयामिक छन् । उहाँका कवितामा शिल्प सचेतना, अर्थको सघनता र विचारको संप्रेषण पाइन्छ । मानवीय संवेदना र जीवनको अनुभूतिको तीब्रता पाइन्छ । सरल शब्दहरुमार्फत् उहाँ आफ्ना पाठकहरुमाझ आफ्नो कविताको प्रभाव छोड्नु हुन्छ ।
‘कठघरामा उभिएर’–२०४५, ‘काँडाकाँडामा टेकेर’–२०५८, र ‘हुरीको इन्द्रेणीमा टेकेर’–२०८१ उहाँका प्रकाशित कवितासङ्ग्रहहरु हुन् । यसैगरी उहाँका ‘एउटा बस्तीको कथा, (संयुक्त कविता लेखन)’, –२०५९, ‘जनैको साँचो’ र ‘सहयात्रा’ टेलिचलचित्र लेखन प्रकाशित छन् । उहाँले ‘प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता’ र ‘द्वन्द्व र युद्धका कथा’ सह–सम्पादन गर्नुभएको छ ।
उहाँ ‘मोति पुरस्कार’, ‘राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘साहित्यिक पत्रकारिता पुरस्कार’, ‘बिपी कोइराला राष्ट्रिय पुरस्कार’, ‘मानश्री पुरस्कार’, ‘कृष्णभुषण बल स्मृति सिर्जना पुरस्कार’, ‘वाशुशशी स्मृति पुरस्कार’, ‘व्यथित काव्य पुरस्कार’ लगायत विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँको ‘कठघरामा उभिएर’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।
हरायो
आकाशमा परेवाहरुको
निर्भय कावा खाने गति हरायो
बैंसमा फक्रेका आँखाहरुमा
जुहारी नअल्झँदै हरायो
आँखा आँसुमा हरायो
ओंठ त्यहीँ छ तर मुस्कान हरायो
चारैतिर उठेका छन् षड्यन्त्रका शिखण्डीहरु
विश्वासको भीष्म डराएको छ
कपटी शकुनीहरुको इशारामा
सम्पूर्णता अन्धो भएको छ
साँढेहरुको दाइँ छ
मियो हराएको छ
बिहानको सग्लो राष्ट्रियता
बेलुका हराएको छ
बेलुकाको सग्लो नागरिकता
बिहान व्युँझदा हराएको छ
आरती गर्दागर्दैको देवता हराएको छ
हिँड्दाहिँड्दैको सडक अनायास हराएको छ
बग्दाबग्दैको नदी एक्कासी हराएको छ
हराउनु एउटा परम्परा भएर उभिएपछि
अचेल राष्ट्र हराउँदै केही बाँकी छ
बाँकी राष्ट्रमा पनि
वृद्धको लौरो हराएको छ
जवानहरुको साहस लरखराएको छ
नानीहरुको भविष्य बौलाएको छ
छन् त आँसुमा डुबेका धमिला आँखाहरु छन्
छन् त तमसुकमा चढिसकेका
खेतबारी र घरहरु छन्
राष्ट्रियता बाँच्नुको मोह भन्नु
सत्रौं चोट खपेको मन छ
नागरिकता बाँच्नुको अधिकार छ भन्नु
बगर भएको छाती छ
बाहिरबाट यति सुन्दर, शान्त र स्निग्ध राष्ट्रलाई
कसरी भित्रभित्रै मकाउँदै गएको होला भन्नु
कसरी निरन्तर अन्योलको भुँवरीमा फस्तै छ होला भन्नु
नभनुँ अहिले जिब्रो हराएको छ
सडकमा अनियन्त्रित डोजर र रोलरहरु दगुरिरहेछन्
सयौं गाडी वारपार गरिरहेछन्
सडक नाध्नेहरु होसियार
यात्रा भर्नेहरु होसियार
सम्पूर्ण नागरिकहरु होसियार
ट्राफिक हराएको छ ।
०००

अब बिहान हुन
अलिकति समय मात्र बाँकी छ
उज्यालोलाई बढ्ता नजिस्क्याऊ
तिम्रो अँध्यारोको अपराध देखाइदेला
धेरै चेतनालाई नहप्काऊ
तिम्रो अस्तित्वलाई हल्लाउला
बारुदभन्दा मान्छेको साहस बलियो हुन्छ
हिमाल एकचोटि उठेपछि
कहाँ नुहुन्छ, बरु भत्कन्छ
साहस त
हिमालभन्दा पनि माथि उठेको हुन्छ
ए मान्छेलाई नजिस्क्याऊ
ए मानवतालाई नहप्काऊ
रङ्गको भाँडामा चोपलिएर स्यालले
कति दिन सिंहहरुलाई वास्तविकता झुक्याउला
जति सक्यो यो अँध्यारोमै
आफ्नो बन्दोबस्त गरिसक
जे जे मन लाग्छ यो अँध्यारोमै गरिसक
भालेले खोरभित्रबाट पखेटा
फटफटाउनै लागेको छ
अब भाले बास्न
अलिक घडी मात्र बाँकी छ
अब बिहान हुन
अलिकति समय मात्र बाँकी छ ।
०००