नदी र गीत

IMG 1871

एकदिन
म नदीछेउ गएँ

शान्त
सफा
र, स्निग्ध
नदी अविराम बगिरहेको थियो

‘किन आयौ ?’ नदीले सोध्यो
‘म तिमीलाई नजिकबाट स्पर्श गर्न चाहन्छु ।’– मैले भनें
‘तर मान्छेहरू त मलाई घृणा गर्छन्’– नदीले भन्यो
‘र, म तिमीलाई प्रेम गर्छु,
म तिमीलाई सुम्सुम्याउन चाहन्छु’
–मैल जवाफ दिएँ

केहीबेर
नदी शान्त बगिरह्यो
मैले नदीको स्निग्धतालाई हेरिरहें
र, नदीबाट अञ्जुलीमा
अलिकति पानी उठाएँ

एकछिनपछि
गम्भीर भएर नदीले सोध्यो
‘तिमीले के कहिल्यै मेरा सुसाइहरू सुनेका छौ ?’
‘हो, मलाई एउटा मीठो सङ्गीतझैं लाग्छन्
तिम्रा सुसाइहरू’– मैले भनें
‘गलत’ नदी उछालियो
र, केही परको ढुङ्गामा
पुगेर बज्रियो

मैले चुपचाप नदीलाई हेरिरहें

‘यी सुसाइहरु
मेरा आँसुका सुस्केराहरु हुन्.
जसलाई तिमी एउटा मीठो सङ्गीत ठान्छौ’
नदीले मेरो प्रतिवाद ग¥यो

‘ई, हेर !
यो मेरो गर्भभित्र
यहाँ कति घाउहरू छन्
र मैले कति धेरै चोटहरू सहेको छु
यहाँ महिला अस्मिताका
कति अवशेषहरू छन्
जो दुनियाँका घृणित आँखाहरूबाट बच्न
मेरो सहारा माग्छन्
र, म उनीहरूलाई आफ्नो
गर्भमा लुकाउँछु
रातमा कयौं चीत्कारहरू उठ्छन्
र, मेरो गर्भमा बिलाउँछन्
हत्याराहरू
मेरो नजिकै आउँछन्
बेसुर–बेसुरका रागहरू गाउँछन्
र, छेवैबाट सुसेल्दै जान्छन्
म मुक हेरिरहन्छु
अत्यन्तै दुःखित हुन्छु
आँसु बहाउँछु
र, बचैन चुपचाप सहन्छु

भोलिपल्ट
मान्छेहरू मलाई घृणाले हेर्छन्
गाली गर्छन्
र, आफ्ना केटाकेटीहरूलाई
मेरो नजिकै आउन वर्जित गर्छन्

के यहाँ रातमा
कहिल्यै मान्छेको निद्रा ब्युँझँदैन ?

म निरूत्तर बनिरहेँ

नदी मौन रह्यो
र, एकनासले बगिरह्यो
नदीले फेरि मलाई फर्केर हेरेन
मैले बगिरहेको नदीको
त्यो एकान्तलाई हेरिरहें

निकैबेर हेरिरहें
२०५६

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these