यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार

WhatsApp Image 2026 08 15 at 5.10.30 PM 1

आधा अङ्गालो दाउरा
आधा किलो चामल
आधा किलो आलु
आधा किलो दाल
आधा पाउच तेल
आधा पसर नून

पानी ?
भो त्यो चाहिएन
हामीसँगै आँसुहरु प्रसस्त छन्
त्यसैबाट यो एक छाक
जाउलो उमालौंला

न्यानो ?
किन चाहियो त्यो हामीलाई ?
हामीसँग आफ्नै शरीरको
तातो रगत छ
र त हामी अझै जिउँदा छौं
र हिँडिरहेका छौं

हामी ओतौंला जसरी पनि
जाडोको यो शीत
सहूँला यो साँझको
नाङ्गो ठिही
जब चिसोले कराइरहनेछन्
हाम्रा केटाकेटीहरु
चीर निद्रामा हाम्रै अघिल्तिर
मस्तले निदाइरहेको
मुर्दाघरको परको त्यो उज्यालोलाई
देखाउँदै आफ्ना नानीहरुलाई
हामी सुनाउँला
यो देशको एउटा
दुर्दान्त कथा

गाऔंला यो अँध्यारोको
एउटा लोरी गीत

त्यो विजुलीबत्ती
त्यो चुल्हो बाल्ने ग्यास
त्यो गाडी गुडाउने इन्धन
त्यो पूर्णिमाको जून
त्यो जूनकीरीको उज्यालो
त्यो ओंठको मुस्कान
त्यो आँखाको खुशी

लैजाउ, ती सबै राहतमा
ऊ त्यो मुर्दाघरलाई नै चाहिन्छ
चाहिँदैन हामीलाई

यी सबै बस्तुहरुको
अत्यधिक खपत हुने ठाउँ
हो त्यो मुर्दाघर ।

यो देशको सबैभन्दा ठूलो
मुर्दाघर हो –
सिंहदरबार ।

२०७२ पौष, १२

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these