आरू फुलेपछि
धर्तीमा गोधुलि चढ्दै गइरहेको
एक साँझ,
केही राता मान्छेहरू
सैन्य पोशाकका एक हुल राता मान्छेहरू
तल बेसीतिर झरे
चराहरू बासस्थान खोज्दै थिए
हावा चलिरहेको थियो
र आरूका फूलहरू खेलिरहेका थिए
फूलहरूको गन्धमा
धर्ती रजस्वला भएको साँझ
ती राता मान्छेहरू
वसन्तका गीतहरू गाइरहेका थिए
तिनीहरू काँधमा राइफल बोकिरहेका थिए
र राइफलका संगीनहरू टल्किरहेका थिए
सङ्गीन बाँधिएका राता ध्वजाहरू
जोडले हावासँगै फर्फराउँदै थिए
ती यतै, यतै आए
जुनु, ती साँच्चै बाँसुरीका धुनहरू बोकेर आए
ती भर्खरै धर्तीमा पोखिएको जून लिएर आए
दैलाहरू उघ्रिए
झ्यालहरू खुले
र पिंढीमा बत्तीहरू बलिरहे
जुनु, फेरि एकपल्ट
जूनको उज्यालोमा धर्ती सफा देखियो
जूनकिरीहरू नाचिरहे
गाउँभरि उन्मुक्त खुसी छरिइरह्यो
र गाउँ एकै ठाउँ भेला भएर
दीनिकाको कुराहरू गरिरह्यो
राती अबेरसम्म
निकैबेरसम्म
त्यहाँ अन्यायका कुराहरू उठिरहे
त्यहाँ अत्याचारका कुराहरू भैरहे
गाउँका मुखिया/पर्धानहरूले लुटेका कुराहरू भइरहे
थानाका चौकीदारहरूले चुटेका कुराहरू भइरहे
ती राता मान्छेहरू
आफ्नो डायरीमा के के, के के नोट गरिरहे
उनीहरूका आँखाहरू बलिरहेका थिए
र मैले त्यहाँ, ती आँखाहरूमा
थुप्रै ज्वारभाटाहरू उठिरहेको देखिरहें
बिहान, भालेको डाँकपख,
कतै आँखाहरू झिमिक्क नपर्दै
जुनु, ती राता मान्छेहरू कहाँ गए ?
अहँ ! थाहै भएन
जुनु, आरू फुलेपछि
धर्तीमा गोधुलि चढ्दै गइरहेको त्यो साँझ
अझै पनि म आँखाअघि बोकिरहेको छु ।
जनएकता, २०५७