गाउँः एउटा नियमित क्रम

0
1862
पीडा छ
आह छ
ताड्ना छ
छटपटी छ
अहँ, कहीँ कुनै अन्तर छैन
फेरि पनि उही/उस्तै गाउँसँग 
एउटा चिसो उच्छवास छ ।

निर्जन छ
निस्तेज छ 
मन दुखाउने निर्दयी हावा छ
कहीं कतै मन फुलाउने छातीहरु छैनन्
फेरि पनि उही/उस्तै गाउँसँग
एउटा निकृष्ट आकास छ

गाउँ छ
गाउँसँगै सुनार्नी भाउजू छिन्
भाउजूका उच्चाट आँखाहरु छन्
जो सधैं, भालेको डाँकसँगै
झिस्मिसेमा उठ्छिन्
जाँतो पिँध्छिन्
आँगन बढार्छिन्
घर लिप्छिन्
पँधेरो जान्छिन्
पानी भर्छिन्
चुलो जोर्छिन्
जाउलो बसाल्छिन् 
र जाउलोले आधा भरिएको पेटमा
नानीहरुलाई स्कुल पठाउँछिन्

गाउँ छ
गाउँसँगै सुन्तली छे
सुन्तलीको बैंस छ
बैंसमा खेल्ने सपनाहरु छन्
जो सधैं, पटुकीमा मकै बाँध्छे
बस्तुभाउ फुकाउँछे
वन जान्छे
दाउराघाँस गर्छे
गीत गाउँछे
पात बजाउँछे 
र आफ्नो कल्पनामा 
अलिकति आफै रमाउँछे 

गाउँ छ
गाउँसँगै हर्के दाइ छ
हर्के दाइको उद्धिग्न मन छ 
जो सधैं, बाँझो गरामा
हलो जोत्छ
डल्ला फुटाउँछ 
माटो सम्याउँछ 
र नाङ्गो रुखको सियाँलमुनि 
अलिकति थकाइ बिसाउँछ 

गाउँ छ
आफन्तहरु छन्
मित्र छ
हितैषीहरु छन्
मेलापात छ
हातेमालो गर्दै गाइने दोहोरी
गीतहरुको लय छ 
दुःख साट्छ 
पीडा बिर्सन्छ
र एक अर्काको सहारा बन्छ 

बेलुकी फेरि हतारहतार
सधैंझैं स्कुलबाट फर्कनेहरुलाई
मेलाबाट फर्कनेहरुलाई
दाउराघाँसबाट फर्कनेहरुलाई

किनकि, सबैलाई थाहा छ
साँझ परेपछि फेरि
मुखियाका काला घोडाका टापहरुले
गाउँका गोरेटाहरुलाई
निर्मम कुल्चने गर्छ ।
२०५०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here