डिसेम्बरका यी अन्तिम दिनहरु

WhatsApp Image 2026 08 16 at 9.19.01 PM

प्रिय जुनु,
डिसेम्बर महिनाका यी अन्तिम दिनहरु
असाध्यै रिक्त छ यो घाम
घाम छ तर गर्मी छैन
एक सातादेखि यहाँ पानी परिरह्यो
र अहिले घाम लागेको छ
उत्साहहीन, चिसो हावा चल्दैछ
नजिकै समुद्र छ
र त्यसको किनारहरुबाट उठिरहेका दिनहरु
त्यसैले नि होला जमीनको आर्द्रता
र तापहरु उस्तो छैन,

कतिखेर त मलाई उस्तै लाग्छ
नेपाल र यो अरबभूमिको यो हावा,यो घाम
एकैछिन, एकैछिन म यी कामहरुबाट
फुर्सद निकालेर
यो बिहानलाई स्पर्श गर्छु
जुनु सोच्छु– यही र यस्तै क्षणहरु त रहेछ
यो पराई मुलुकहरुमा
जसले आफ्नो भूमिको सम्झनाहरुले
हामीलाई जीवित बनाएको छ
नत्र त, हामी सबै दिनहरु त यहाँ
रेगिस्तान बोकेरै बाँचिरहेका हुन्छौं
एकैक्षण यहाँ तातो बालुवाका
पहाडहरु उभिन्छन्
अलिकति हावा लाग्छ
र फेरि अर्को क्षण
त्यहाँ खाडलहरु उब्जिन्छन्
त्यही खाडलहरुले
फेरि हामीमाथि आक्रमण गर्छन्

कति कष्टकर हुन्छन्
प्रत्येक क्षणहरु यहाँ निद्रा पनि
सपनाहरु खालि चोटहरु मात्रै बोकेर ल्याउँछन्
जुनु, सपना देख्नु नि डराउनु पर्ने
यी रातहरु कस्ता भयानक होलान् ?
डिसेम्बर महिनाका यी अन्तिम दिनहरु

हरेक दिन औंलामा तारेखहरुको गणना गर्छु
र आउँदो बाँकी दिनहरुको
हिसाब निकाल्छु
आउने नयाँ अंग्रेजी सालको क्यालेण्डरहरुले
फेरि तातो हावा सिवाय हाम्रो निम्ति
अरु केही ल्याउने छैनन्

ल्याएछ भने पक्कै छ उदास आँखाहरुले भरिएका
सपनाका चोटहरु ल्याउनेछन्
आँखामा युद्धले बिझाएका अखबारहरुको
बिच्छेद खबरहरु ल्याउनेछन्
डिसेम्बर महिनाका यी अन्तिम दिनहरु ।

२०६१

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these