0

‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहले उठाएका कुरा

Share

रमेश प्रभात
उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर ।

समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि अनिल श्रेष्ठ (२०२८) नेपाली कविताका क्षेत्रमा मूलतः राजनीतिक विषयवस्तुका कविता लेखनमा रमाएका स्रष्टा हुन् । उनले कविताका अतिरिक्त निबन्धमा पनि उत्तिकै जमेर लेख्ने गरेका छन् । नेपाली साहित्यका पाठकलाई समसामयिक विषयका विविध भावलाई समेटेर सामान्यदेखि उच्च स्तरका पाठकले समेत पढ्नयोग्य आधा दर्जन कविताकृति दिन सक्नु नै उनको कविता लेखनको उच्चतम उपलब्धि हो ।

आरम्भ
तत्कालीन गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने आँबुखैरेनीमा वि.सं. २०२८ भदौ २४ गते जन्मिएका साहित्यकार अनिल श्रेष्ठ नेपाली साहित्यका विविध विधामा सफलतापूर्वक कलम चलाइरहेका स्रष्टा हुन् । उनको पहिलो प्रकाशित कृति ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह–२०५०) हो, तर उनी त्यसपछि कविता र निबन्धतर्फ बढी आकर्षित भएको देखिन्छ । उनका हालसम्म कविताका ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह –२०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (कवितासङ्ग्रह –२०५५), ‘आरू फुलेको साँझ’ (कवितासङ्ग्रह –२०६३), ‘मफलर युद्ध’ (कवितासङ्ग्रह –२०६९), ‘प्रतिनिधि कविता’ (कवितासङ्ग्रह –२०७३) र ‘मध्यरातमा मुर्कट्टा’ (कवितासङ्ग्रह –२०७८) गरी आधा दर्जन कृति प्रकाशित भइसकेका छन् । त्यस्तै उनका निबन्धात्मक कृतिहरु ‘टाइगर हिलकी पुनम’ (निबन्धसङ्ग्रह–२०७१) र ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’ (संस्मरणात्मक अनुभूति–२०६६) प्रकाशित भएका छन् । उल्लिखित कृतिका अतिरिक्त विभिन्न पत्रपत्रिकामा उनका विभिन्न विधाका फुटकर रचनाहरू छरिएर रहेका पाइन्छन् ।

‘मध्यरातमा मुर्कट्टा’ ः सामान्य चिनारी
‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रह विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँले वि.सं. २०७८ मा प्रकाशित गरेको कवि अनिल श्रेष्ठको नवीनतम कविताकृति हो । हार्ड कभर भएको जम्मा ७२ पृष्ठको आयाममा फैलिएको यो कृतिमा समसामयिक विषयवस्तुका कूल ३५ थान फुटकर कविता समेटिएका छन् । जम्मा पाँच पङ्क्ति भएको एक खण्डको ‘एक निमेष’ शीर्षकको टुक्रे कवितादेखि लिएर ‘हल्लाहरु छन् र त हामी अझै जिउँदा छौँ’ शीर्षकको बढीमा चार पृष्ठको आयामसम्म यसभित्रका कविता फैलिएका छन् । यस कृतिमा समेटिएका अधिकांश कविता दुई पृष्ठको आयाम बोकेका छन् । कोभिड–१९ को कहरदेखि लिएर समकालीन जीवनका विविधतालाई पस्किएका यी कविता समग्रमा सरल, सरस र युगबोधी खालका छन् ।

‘मध्यरातमा मुर्कट्टा’का कवितामा प्रयुक्त भावको सर्वेक्षण
कविता जीवनका विविधतालाई मुखरित गर्ने साहित्यको सर्वप्रिय विधा हो । यही कुरालाई समकालीन नेपाली कविताले पनि बोकेको पाइन्छ । यसर्थ आजका कविताले विविध भावलाई मुखरित गर्ने गरेका छन् । त्यस्तै‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रह पनि विविध भाव समटेर तयार पारिएको कविता कृति हो । यस कृतिमा भेटिएका कविताका मूलभावहरुको सर्वेक्षण यहाँ निम्न साक्ष्यका आधारमा गरी निम्नानुसार समीक्षा गरिएको छ ः

देश गणतन्त्रमा गएको भएर पनि हिजोआज नेपाली राजनीतिले जनतालाई मुक्त बनाउनुको साटो उल्टो दास बनाउँदै लगेकोप्रति कविको तीव्र आक्रोश छ । वाचाल जनतालाई मौन बनाउँदै लगेको, आफ्ना कार्यकर्ताहरुलाई केही बोल्न नसक्ने बनाउँदै लगेकोमा कविले यसरी काव्यात्मक विद्रोह गरेका छन् ः
र, म आफूलाई
दास हुँ भन्ने स्वतन्त्रता
यो संविधानले मलाई
दिएको छैन ।
(इजलास, पृ. ४७)

हरेक देशमा सरकार नाम गरेको संरचना हुन्छ । त्यसको काम जनताबाट रकम असुल्नु मात्र नभई जनतालाई राहत दिनु पनि हो । यसर्थ जनताले त्यो संरचनासँग धेरै अपेक्षा राखेको हुन्छ । जब जनताका अपेक्षाहरु पूरा हुँदैनन्, तब विद्रोह सुरु हुन्छ । यही कुरालाई कविले कवितामार्फत् यसरी मुखरित गरेका छन् ः
सरकार
तिम्रो राज्यमा
म यो किसानको आँसुको
कुनै मूल्य हुन्न भने
अब म विद्रोहले
बहुलाउँछु ।
(छली देवता, पृ. ५०)

सिंहदरबार भनेको केवल भौतिक संरचना मात्र होइन, त्यो नेपाली जनताको आसा र भरोसाको केन्द्र पनि हो । तर अचेल त्यो सिंहदरबार विषाक्त बन्दै गएको छ । त्यसले देशको हित गर्ने काम बिर्संदै गएको छ । त्यो स्वार्थ र हिंसाको दलदलमा फसेको छ भन्ने कुरालाई कविले कवितामा यसरी चित्रण गरेका छन् ः
सिंहदरबारका पर्खालहरुमा
उम्रिरहेका छन् हिंसाका विषाक्त आँखाहरु ।
(आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्, पृ. १४)

कुनैपनि कवि जीवनबाट विमुख हुन सक्दैन । त्यस्तै कवि अनिल श्रेष्ठ पनि मूलतः आशावादी कवि हुन् । उनी मानवता हराउँदै गएको वर्तमान परिवेशबाट कत्ति निराश नभई एक दिन अवश्य मानवता उदाउने कुरा आफ्ना कवितामार्फत् यसरी अभिव्यक्त गर्छन् ः
र, एकदिन
पृथ्वीमा पुनः मानिसहरुको
नयाँ जातिको उदय हुनेछ
र यो धर्तीमा

फेरि सुरु हुनेछ
नयाँ मानिसहरुको गीत ।
(अन्तिम अर्थात् चौथो अनुच्छेद, पृ. ७१)

कविता सङ्ग्रहकै शीर्षक कविता ‘मध्यरातमा मुर्कट्टा’ कवितामार्फत् कविले कवि हुनु भनेको साहसी हुनु पनि हो भन्ने कुरालाई मुखरित गरेका छन् । हाम्रो नेपाली समाजमा भूत, प्रेत, मसान, किचन्नी, मुर्कट्टा आदिका बारेमा विभिन्न धारणाहरु पाइन्छन् । मुर्कट्टासँग आमनेसामने भएको खण्डमा रगत छादेर मान्छेको तत्काल मृत्यु हुन्छ भन्ने लोकविश्वास पाइन्छ । यस्तो विश्वासलाई चिर्न कविलाई अगाडि सार्दै कविले यस्तो प्रश्न गरेका छन् ः
कविजी,
अँध्यारोमा मुर्कट्टा लखेट्न जाने हो ?
(मध्यरातमा मुर्कट्टा, पृ. २२)

त्यसो त कविको खासमा लिङ्ग हुँदैन, तर पनि कवि आफू पुरुष भएको कुरालाई कवितामा पनि नलुकाई लेख्छन् । त्यत्ति मात्र होइन, कविकी पत्नीले आफ्नो पति कवि भएर बाँच्दा, उसले पाउने सम्मानमा रमाएर कसरी जीवन भोग्छन् भनी श्रीमतीहरुको जीवन भोगाइलाई पनि यसरी मार्मिक रुपमा शब्दमा उतार्छन् ः
बुढा
तिमी कवि भएरै
सम्मान थाप्छौ
र म तिमीले सम्मानमा पाएका
ती प्रमाणपत्र हेरेरै
खुसी हुन्छु ।
(श्रीमती भन्छिन्, पृ. ६८)

भनिन्छ, कवि हुनु भनेको समाजको जिम्मेवार नागरिक हुनु पनि हो । तर कविपय कविहरु केवल रक्सीको लतमा आफूलाई चुर्लुम्म डुबाएर समाजबाट बेखवर हुने गरेको पनि पाइन्छ । व्यक्तिको जीवन भोगाइ उसको आफ्नै हो, तर पनि कविले जिम्मेवार हुन नसकेको कुरालाई कविले आफ्नो कवितामार्फत् यसरी व्यङ्ग्य गरेका छन् ः
आज बिहानैदेखि
शहरका रक्सी भट्टीहरुमा
कविको निकै
चर्चा छ ।
(सेलिब्रिटी, पृ. ६७)

एउटा कविले अर्को कविलाई राम्रो तरिकाले नहेर्ने प्रचलन अचेलका नेपाली कविवृत्तमा विकास हुँदै गएको मुख्य कमजोरी हो । यसले कविलाई कालान्तरमा नाफा होइन, घाटा पु¥याउँछ । यसर्थ एउटा कविले अर्को कविको सम्मान गर्नु राम्रो कुरा हो । यही भावलाई कविले कवि विभल निभाको सन्दर्भ उठाउँदै यसरी काव्यात्मक बान्कीमा कुँदेका छन् ः
आजकल
म यतिबिघ्न प्रेमले
विमल निभाका कविताहरु पढ्न
किन थालिरहेको छु हँ ?
(विमल निभा, पृ. ५५)

मानव समाजमा ईश्वरको जन्म कसरी हुन्छ ? भन्ने बारेमा कविको फरक मत पाइन्छ । आफ्नो समयमा गौतम बुद्धले मूर्तिपूजाको विरोध गरेका थिए, अहिलेको संसारमा सबैभन्दा बढी मूर्ति उनकै बनेको भेटिन्छ । यो संसारमा जस–जसले ईश्वरको निन्दा गरे, उसलाई ईश्वर भनेर पुजिन थालेको कुरालाई कविले कवितामा यसरी सम्झना गरेका छन् ः
यसरी
कालान्तरदेखि
जस–जसले
ईश्वरको निन्दा गरे
उनीहरु नै ईश्वर भएर पुजिए ।
(ईश्वरको जन्म, पृ. ३७)

त्यसो त दशकौँ पहिले कवि भूपी शेरचनले ‘यो हल्लै हल्लाको देश हो’ भनेर घोषणा गरिसकेका थिए । त्यही आधारमा टेकेर कवि अनिल श्रेष्ठले पनि यो समाजमा हल्लाहरु जिउँदै रहेका कारण हामी सक्रिय रहेको प्रमाण पेस गर्ने गरेको कुरालाई कवितामार्फत् यसरी मुखरित गरेका छन् ः
हल्लाहरु अझै जिउँदा छन्
हल्लाहरुले नै ल्याउनेछन् यहाँ जोडदार हल्लाहरु
र हल्लाहरुले हामी हल्लिरहने छौँ ।
(हल्लाहरु छन् र त हामी अझै जिउँदा छौँ, पृ. ४१)

कवि अनिल श्रेष्ठ क्रान्तिका पक्षधर कवि हुन् । उनी समाजमा क्रान्ति आवश्यक छ भन्ने कुरामा विश्वस्त छन् । क्रान्तिले मात्र समाज परिवर्तन गर्न सक्छ भन्ने विचार राख्दै अबको क्रान्ति लरतरो नभएर सम्पूर्ण विश्व हल्लाउने खालको हुनुपर्छ भन्ने भावलाई यसरी अभिव्यक्त गरेका छन् ः
सम्पूर्ण पृथ्वीलाई
एकैचोटि दपेट्ने आगाका फिलिङ्गाहरुको
त्यो आँधी अब लरतरो हुने छैन ।
(मृत्यु उत्सव, पृ. २४)

यो समाजमा सदियौँदेखि पितृसत्ता कायम छ । समाजका महिलाहरु रातदिन श्रम गर्छन्, तर पुरुषहरु हल्लिएर खाने गर्छन् । यो प्रवृत्ति सत्तासँग पनि छ । जनताको श्रमको बेवास्ता गर्दै उनीहरु मोजमस्तीमा लीन छन् भन्ने कुरालाई कविले आफू र आफ्नो छोरोलाई बिम्ब बनाएर यसरी कवितामा उतारेका छन् ः
एउटा छोरो छ
मजस्तै
भात खान्छ
हात चुठ्छ
र गाउँ डुल्न निस्कन्छ ।
(सत्ता, पृ. १९)

माक्र्सवादी दार्शनिक चेतबाट प्रशिक्षित कवि अनिललाई भुइँमान्छे र दलितका बारेमा कविता कोर्न रुचि जागेको देखिन्छ । उनी साहिँली सुजिनीको सियो भाँचिएको कुरालाई उद्धृत गर्दै काव्यात्मक रुप दिन्छन् । अझ त्यसलाई कसैको फाटेको मनसँग यसरी तुलना गर्छन् ः
साहिँली सुजिनीको मन
एकोहोरिन्छ
यो फाटेको मन
र भाँचिएको सियो जोड्ने ओखती किन हुन्न हँ !
(भाँचिएको सियो, पृ. ९)

विश्व हल्लाउने सामथ्र्य राखेको कोभिड–१९ का कारण हाम्रो देशमा पनि पटक पटक लकडाउनको अवस्था सिर्जना भयो । जनजीवन तहसनहस भयो । त्यतिबेला घरभित्र थुनिएर बस्नुको कुनै विकल्प थिएन । त्यस्तो अवस्थालाई कविले कविताका माध्यमबाट यसरी उतारेका छन् ः
बाहिर सडकमा
कोभिड–१९ को सूचना फ्याँक्दै
नगरपालिकाको गाडी
कुदिरहेको छ ।
(आज पनि शहरमा लकडाउन छ, पृ. २८)

यस प्रकार कवि अनिल श्रेष्ठको नवीनतम कविताकृति ‘मध्यरातमा मुर्कट्टा’ विविध भाव समेटिएको कविता कृति हो । यसका कविता पाठकलाई उनीहरुको काव्यात्मक भोक मेटाउन सफल कृति बनेको छ भन्ने कुरामा सहमति जनाउन सकिन्छ ।

उपस्थापन
माक्र्सवादी दर्शन र चिन्तनबाट प्रशिक्षित कवि अनिल श्रेष्ठ मूलतः राजनीतिक विषयवस्तुका कवितामा रमाउने कवि हुन् । यसर्थ उनी विद्राही चेतका कवि पनि हुन् । उनका अधिकांश कविताले जनताका अभाव र पीडाको चित्रण गरेको पाइन्छ । उनी व्यङ्ग्यचेतका कवि समेत हुन् । आफू स्वयम् कवि भएर पनि उनी कविका विकृतिलाई समेत व्यङ्ग्य गर्न पछि पर्दैनन् । आफ्नो साहित्ययात्रा कथाबाट प्रारम्भ गरेका अनिलको आगामी साहित्ययात्रा आख्यानतर्फ नै मोडियोस् । उनको काव्यात्मक बान्की र विविध खालका जीवन भोगाइले औपन्यासिक रुप ग्रहण गरोस् भन्दै उनको साहित्यिक उन्नयनको कामना सहित लेखनीलाई विश्राम दिन्छु ।

शाल्मलि

%d bloggers like this: