‘आरू फुलेको साँझ’ कवि अनिल श्रेष्ठको सुन्दर कविता कृति

0
1075

गोपीरमण उपाध्याय

चीनका ठूला साहित्य समीक्षक ल्यू चाए फू ले अलेक्सन्द्र फेदेयवद्वारा लिखित ‘पराजय’ नामक उपन्यासको चर्चा र समीक्षा गर्दै एक ठाउँमा भन्नुभएको थियो “कुनै पनि क्रान्तिले खालि रगत र जिन्दगीलाई मात्र सिर्जना गर्दैन बरु त्यहाँ त एउटा नवजात कोमल शिशुको पनि जन्म हुन्छ ।” ठीक त्यस्तै गरी दशवर्षे जनयुद्ध बीचमा भीषण रक्तपात, खर्बौ खर्बको भौतिक संरचनाहरुको ध्वंश मात्र होइन यसले भविष्यका लागि सुन्दर संसार रचना गर्ने सङ्कल्पलाई पनि जन्म दिएको छ । यसले सुन्दर कलात्मक साहित्यिक विचार, चेतना र काव्यलाई पनि जन्म दिएको छ । विगत दश वर्षमा खालि रक्तपातपूर्ण युद्ध मात्र भएन त्यहाँ सुन्दर साहित्य पनि सिर्जना भएको थियो भन्ने कुराको जब्बर प्रमाण हो अनिल श्रेष्ठको कविता सङ्ग्रह ‘आरू फुलेको साँझ’ ।

पहिला त यो ‘आरू फुलेको साँझ’ नामक कविता सङ्ग्रहलाई मैले कुनै ध्यानै दिइनँ । रचना अध्ययन नगरी त्यसमा के कस्ता विशेषता छन् भन्ने कुरा बुझिँदैन । यस रचनाप्रति मेरो पनि त्यस्तै परिघटना भयो र बुटवलको एउटा पुस्तक पसलमा पुग्दा दोकानमा सजाएको यो कविताको पुस्तकलाई हेरेर र त्यहाँबाट प्राप्त साहित्यिक रचनाहरुको समीक्षा लेख्नुभन्दा पहिले त्यहाँ प्राप्त सबै रचनाहरुलाई क्रमशः पढ्ने सन्दर्भमा ‘आरू फुलेको साँझ’ नामक कविता सङ्ग्रहले मलाई निकै प्रभावित पा¥यो । कयौं दिनसम्म ती कविताहरुले मलाई प्रभावित पारिरह्यो । कविताको प्रभावकारिता कति बेजोड हुन्छ भन्ने कुराको घटना मैले जीवनमा भोगिरहेको छु । २०३० सालतिरको कुरा हो, हामी त्यसबेला बनारसमा पढ्थ्यौ । पढाइको खर्च जुटाउन रातिराति बनारसका गल्लीहरुमा पहरेदारी गथ्यौं । त्यतिबेला धादिङ्गका मेरा एकजना साथी हरि पाण्डेले बनारसको चौखम्बा गल्लीमा पहरेदारी गर्नुहुन्थ्यो । सोही वर्ष मोदनाथ प्रश्रितको ‘बहादुर’ नामक हिन्दी कविता इलाहावादबाट प्रकाशित हुने ‘पक्षधर’ पत्रिकामा छापिएको थियो । उहाँको त्यो कविता हामी साथीहरुले बारम्बार पढ्थ्यौँ । हरि पाण्डेमा सो कविताको असर सबैलाई भन्दा बढी परेछ । एउटा साँझ उहाँ आफ्नो ड्युटी गर्ने ठाउँमा जानुहुँदा दोकान मालिकले उहाँलाई ‘ओ ! बहादुर’ भनेर पुकारेपछि उहाँमा बहादुर कविताको असरले गर्दा उक्त दोकान मालिकलाई पिटिदिनु भएछ र भोलिपल्ट त्यसैको असरले उहाँको जागीरै गयो । यस्तो संवेदना कविता लेख्नेलाई भन्दा सचेत कविताका पाठकलाई झन् ठूलो हुन्छ ।

अनिल श्रेष्ठका कवितामध्ये मलाई सबभन्दा बढी असर पारेका उत्कृष्ट कविता भनेका ‘पहाडहरु’र ‘बादशाहको सिंहासन’नै हुन् । श्रद्धेय कविवर युद्धप्रसाद मिश्रको रचनासँग अत्यन्तै निकटवर्ती भएको हुँदा मलाई जहिल्यै पनि क्रान्तिकारी कविताहरुले आकर्षित गर्दै रहे । कविताहरु पढिन्छन् । कुनै कविताहरु सुन्न पनि त्यति मन लाग्दैन । कुनै कविताहरु सुनेर केहीछिन त्यसको असर रहन्छ तर केही कविताहरुको असर लामो समयसम्म रहिरहन्छ । अहिले अनिल श्रेष्ठका केही कविताहरुले पाठक एवं काव्यसमीक्षकहरुलाई निकै लामो समयसम्म असर पारिरहन्छ । अनिल श्रेष्ठका कविताहरुलाई मैले पण्डितराज जगन्नाथ (१७औ शताब्दी) को संस्कृत साहित्यिक सिद्धान्तका आधारमा हेर्नु पर्दा “रमणियतार्थ प्रतिपादक शब्द काव्याम्” को काव्य सिद्धान्त पूरा रुपमा लागु हुन्छ । जसको अर्थ हो, त्यस्तो कविता नै सवोत्तम कविता हो जसमा रमणियतार्थ प्रस्तुत गर्ने पदावली हुन्छ । फेरि रमणियतार्थ भनेको के हो त ? भन्ने सम्बन्धमा जुन रचनाले प्रत्येक क्षणमा नवीनता सिर्जना गर्नसक्दछ त्यस्तो रचना नै रमणीय हुन्छ । यस्तै रचनालाई कालजयी रचना पनि भन्न सकिन्छ । कतिपय रचनाहरु कालजयी हुनुको पछाडि यस्तै खालका रमणीयार्थ शब्दको प्रतिपादले गर्दा भएका हुन् । अनिल श्रेष्ठका कविताहरुलाई मैले यसै रुपमा बुझेको छु ।

हरेक उज्यालो चन्द्रमामा दाग हुन्छ भनेझैं अनिल श्रेष्ठले जुन विषयलाई कविताको विषय नबनाए पनि हुने थियो त्यस्तो कुरालाई पनि कविताको विषय बनाउनुभएको छ । इतिहासले अझै फैसला गर्न बाँकी छ, खगेन्द्र सङ्ग्रौलाहरु ठिक कि अनिल श्रेष्ठहरु ठिक । खगेन्द्र सङ्ग्रौला नेपाली प्रगतिवादी वाङ्मयका ठूला खम्बा हुन् । उनको रचना कर्म र अनुवाद कर्मले नेपाली वाङ्मयको भण्डारलाई समृद्ध पार्ने काम गरेको छ । लामो साधना र सङ्घर्षको जीवन बाँचेका खगेन्द्र सङ्ग्रौलाहरुको छाला काढ्न तम्सिएका कविले कविता नै लेख्नुपर्ने आवश्यकता थिएन । जब राजाले निरङ्कुशता लादेर सङ्कटकाल थोपरेका थिए त्यतिबेलाको खगेन्द्र सङ्ग्रौलाको लेखकीय योगदानलाई कसैले पनि बिर्सन सक्दैन । आफ्ना विचारको पक्षपोषण गरेन भनेर खगेन्द्र सङ्ग्रौलालाई कविताको विषय बनाउँनु एउटा बालसुलभ चेतना मात्र हो । जिन्दगी कति लामो छ त्यसको फैसला अहिल्यै भइसकेको छैन । अनिल श्रेष्ठ आफ्नो कविता यात्रामा कति टिकिरहलान् त्यसको पनि कुनै ठेगान छैन । क्रान्तिकारी भूमिहरुको पनि पतन भएकै हो । कविहरुले कविताको विषय चयन गर्दा यस्ता कुरामा अवश्य पनि विचार पु¥याउनुपर्छ । लेखकीय चेतनालाई साँघुरो प्वालबाट मात्र छिराउने कोसिस गर्नु हुँदैन ।

साहित्य प्रभा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here