वर्तमान विश्वसंवेदनामा उभिएका कविताहरुको सङ्ग्रह ‘आरू फुलेको साँझ’

0
1080

राजेन्द्र सुवेदी

ताज्जुब छ सत्ता,
र त्यसका शासकहरू
कुशलभन्दा कुशल गुप्तचरहरूको
भर्ना छनौट गरिरहेका छन्
कविताका विरूद्ध,

युद्ध संस्कृतिले गाँजेको नेपाली समाजको संवेदनाका कार्यपीठिका उपस्थिति भएको प्रस्तुत कवितांशबाटै यो लेखन मैले किन सुरू गरेँ ? त्यो कुरा यस लेखनको अन्तसम्म पुग्दा अवश्य स्पष्ट होला । कवि अनिल श्रेष्ठका कविताहरु नेपाली समाजको पछिल्लो दशकमा मौलाएको युद्ध संस्कृतिको कुरूप यथार्थको कलात्मक प्रस्तुती बनेको छ– प्रस्तुत सङ्ग्रह ।

एउटा पाण्डुलिपी छ मेरा अघिल्तिर–कविता सङ्ग्रह । कविता छन् गद्य लयात्मक संरचनाका जम्मा तेत्तीसवटा । सबैजसो कविता वर्तमानको विसङ्गतिमा उभिएका छन् । मान्छेलाई आजको पर्यावरण र जीवन क्षितिजमा समेट्न साहित्य एउटा बृहत् आयतनको मैदानको रूप लिएर देखा परेको हुन्छ । मान्छेलाई संवेदना र सौन्दर्यमा समेट्दा साहित्यको एउटा संयोजन तयार भएको हुन्छ । मान्छेलाई समाज र पर्यावरणमा समेट्दा साहित्य एउटा नयाँ यथार्थको नयाँ आयतन बनेर तयार भएको छ । यो तयारी र यस्ता तयारीहरु नवीन मूल्यका पर्यावरणहरु हुन् । नवीन अथवा नवीनता परम्पराबाट मुक्त रहनसक्ने रूप हो । नूतनताको तात्पर्य परम्पराबाट विचलन र अर्वाचीनताबाट समावेशन पनि हो । सिर्जनामा भाषाले रङ घोल्न सक्नुपर्छ । शब्दले वास्ना छर्न सक्नुपर्दछ । पदावलीले आयतन र आकृति नाप्न सक्नु पर्दछ । अभिव्यक्तिले गहिराइसम्मको यात्रा तय गर्न सक्नुपर्दछ । अनुभूतिले बहुल चिन्तन समेट्न सक्नुपर्दछ । यी सबै पक्षको समायोजन भएमा शाश्वत रूपमा एउटा नवसन्देश सुसेल्न सक्दछ । यहाँ सृजनाले सन्देशका स्वरूप बोकेर उभिएको हुन्छ–अनिल श्रेष्ठको पाण्डुलिपि ।

मेरो विचारमा साहित्य समाजलाई नयाँ स्वर दिने ऊर्जा हो । मानवीय संवेदनाको विकास हो । समाज र संस्कृतिको कालखण्डीय रेखा र ऊर्जाको अभिरेखाङ्कन हो । यस कुरालाई आत्मसात् गरिरहेको वर्तमान समयमा उपस्थित पाण्डुलिपिका स्रष्टाको आग्रह–मबाट एउटा भूमिका लेखियोस् भन्ने रह्यो । मेरो आफ्नै मत जान्न चाहनुहुन्छ भने आजसम्म पनि भूमिका लेखनप्रति सकारात्मक बन्न सकेको छैन । यो लेखन, अत्यन्त नकारात्मक पक्षका विपरीत सकारात्मक पक्ष पनि केही छन्– समीक्षात्मक चेतना निर्माण गर्न । समाज, इतिहास र विश्वसन्दर्भका ज्ञान आर्जन गर्न पनि काम लाग्ने सशक्त ऊर्जाजस्ता तङ्खव पनि कवितामा स्थापित गराउन सक्दछ । यसैले लेखनको यस तथ्यका बोधले मलाई पाण्डुलिपि पढ्ने जाँगर बढाइदिन्छ । म पढ्न आरम्भ गर्छु अनिलको पाण्डुलिपि । दुई तीन आवृत्तिको परम्परापछि एउटा निष्कर्षमा पुग्छु– म ।

त्यसको परिणति हो–यो भूमिका ।


२०५० सालपछिको नेपाललाई कविताले राम्ररी बोकेको छ । संसद, संविधान, प्रतिनिधिसभा, समग्र मुलुकको मानवअधिकार थला पर्दै गएको स्थिति अनिलका कविताले प्रस्तुत गरेको छ । नेपाल, दक्षिण कोरिया, अफगानिस्तान, रूआण्डा, पेरू, इराक र लेबनानको जस्तै–जस्तै रूग्ण सत्तापिण्डहरूको अदूरदृष्टिको सिकार बनिरहेको छ । शान्ति र सौन्दर्यको प्रतीक कविकी प्रियसी, नयाँ शक्ति र समृद्धिको नवसूर्य जन्माउन तयार रहेको स्थितिको (के यी कविताहरू तिम्रा आँखाहरु जस्तै……?) घोषणा गर्दछन् । कफ्र्यूको आदेशले त्रस्त बनेको हावामा फारू गरेर सास फेर्नुपर्ने आजको विवशता, एम्बुस र गोली–बारूद र बिस्फोटनबाट तछारिएको उद्यान र शून्य चुलाचौकाहरु, मातृशवको लाम्टोमा रमाई–रमाई अल्झिइरहेका अबोध शिशुहरुमा मुलुक रूपान्तरित बन्दै गएको स्थितिको वर्तमानको युद्धोन्माद (त्यो साँझ–१) अनिलका कविताले प्रस्तुत गरेको छ । प्रकृतिले आफ्नो गति क्रियाशील राखेको छ । बमको प्रहारबाट तछारिएका आरूको बोटले आफ्नो फुल्ने क्रम जारी राखेको देखेर पनि उन्मादी बनेको युद्धले विश्राम लिन पाएन समाजका ठालुहरु र सत्ताका भरौटेहरुले दुःख दिने,शोषण अत्याचार जस्ता कामहरु(आरूफुलेको साँझ) मा कमी नआएकाले ।

केन्द्रका स्थापित बनेका सामन्त संस्कृतिका मूल्यहरु भत्किनु र वर्गीय दृष्टिले निम्न तहका वर्गको हितमा कार्य हुनु माक्र्सवादी चिन्तनको कार्यान्वयन हो । यहींनिर उपेक्षित र छेउ लागेका मूल्यहरुको केन्द्रमा उपस्थिति स्वीकार्य बन्न पुग्नु, उत्तरआधुनिक चिन्तनको पुरातन केन्द्र ध्वस्त बनेर नवकेन्द्र निर्माणको प्रयत्न हुनु, नवचिन्तन र उत्तरसंस्कृतिको सुभारम्भ पनि हो । एउटा उपेक्षित विषयवस्तु कविताको केन्द्रीय वस्तु बनेर आउन सक्ने कुराको (गुन्द्रीकोतान हिर्काइरहेकी ……) उद्घाटन यहाँ समाविष्ट कविताले सहजतापूर्वक गरेका छन् । गाउँ विस्तारै विस्थापित बन्दै गएको छ । सहर प्लाष्टिक, फोहोर र सहरिया दुसंस्कृति बोकेर गाउँतिर पसेको छ । गाउँका भागहरु टोलतिर साँगुरिदै गएका छन् र टोलहरु स्नुकरका बोर्ड र गोट्टीहरुमा सङ्कुचन हुन लागेका छन् । गाउँका पवित्र मन्दिरहरु खातेहरुको समाजलाई आश्रय प्रदान गर्ने स्थल बन्न लागेको देखिन्छ । ( गाउँलाई सोध्या‘छ भन्दिनु है….) । यस प्रकारका स्थितिलाई उत्तरसंस्कृतिले प्रस्तुत गरेका मूल्यमा मान्छेका सहज स्थिति देखिएका छन् । टोल, समाज, राष्ट्र र अन्तर्राष्ट्रसम्मकातोक–आदेश र टिप्पणीहरु, उपग्रहदेखि अन्तरिक्ष वेभसम्मले छोडेका क्षेप्यास्त्रहरु, मोबाइलका सञ्चारसेटका कार्यहरु, पत्रिकाका समाचारहरु, रिभल्बरका गोलीहरु आजको संस्कृतिमा प्रक्षेपण र सङ्क्रमण एवं सञ्चरण गर्न सहजै सकिने र तिनलाई पनि समेटेर समग्र विश्वलाई नै सूचनाग्राम बनाएर आफ्नो कब्जामा राख्न चाहनेका विरूद्ध विद्रोहको शङ्खघोष पनि (दैनिक अखबारमा कविता पढिरहेको पाठक) कविताले प्रस्तुत गरेका छन् । सिर्जनाको मूल्य उत्तरसंस्कृतिका सिमानामा पर्दै गएर मुक्त चिन्तनको उपज बन्न पुगेको (राष्ट्रले शोकधुन बजाइरह्यो) कुरा पनि कवितामा प्रकट भएका छन् ।

कला र संस्कृति पनि अब विकेन्द्रित बन्दै गएको छ । निर्धारित अर्थ दिन नसकेर शब्दहरु धर्मराउन थालेका छन् । बनेका र स्थापित भएका मूल्यहरु विचलित बन्न लागेका छन् । कम्प्युटर, इन्टरनेट र वेभमा अल्झेका केन्द्रहरू क्षण–क्षण ध्वस्त र नवनिर्माण बनेका अनि समाजवादका दर्शनमा मस्त भएर समाज, जीवन र चर्यालाई शब्दमा अनुवाद गर्ने संस्कृति र अर्थलाई रोयल्टीमा अनुवादन गर्ने वर्तमानका चिन्तकहरुले (खगेन्द्र सङ्ग्रौलाहरु) आजको मूल्यहीनतालाई प्रस्तुत गर्दै गएको देखा पर्दछ । युद्धसंस्कृतिको विडम्बनामा मुछिएका साइबर संस्कृतिका कणहरु पनि कवितामा छरिएर बसेका छन् (कोटगार) । अझ कवितामा अन्तर्विधा सम्मिश्रणका सन्दर्भमा नाटकीयताको उपयोग गरेका प्रस्तुत सामाजिकता प्राप्त गर्न प्रयत्न गरिएको छ (अदृश्य/दृश्य) । मुलुक अब एकल पद्धतिमा टिकेको छैन । राजधानीबाट राष्ट्र टुक्रिएर विदेसिन्छ र विदेश पनि यहींबाट भित्रिन्छ । युद्धले धकेलेर पाठकका आँखा र मस्तिष्कसम्म पु¥याइएका वेभबाट मुद्रित समाचारमा अल्मलिन पुगेका आजका मान्छेका वर्तमानमा (डिसेम्बरका यी अन्तिम दिनहरु) टिठलाग्दो पाराले सामयिकता अल्झेको छ ।

नेपाल एकातिर सांस्कृतिक प्राक्केन्द्रमा अल्झिन चाहन्छ । अर्कातिर नवकेन्द्रमा बल्झिन चाहन्छ । सीमान्तीय वर्ग, संस्कृति, जाति, धर्म, लिङ्ग र अर्थव्यवस्थाहरु केन्द्रतिर अभिकर्षित हुन खोजिरहेका छन् । हिजो पहरो बनेर उपस्थित बनेका मूल्यहरुका च्यापमा माथि भनेका स्रोत र परम्पराहरु एउटा विपुल वा तेलबाबियो बनेर उपस्थित भएका छन् । पहरोले आफ्नो ठाउँमा जति अटल बनेर बसे पनि च्यापबाट पलाएको बोटविरूवा आवश्यक माटोको निर्माण गरेर वा जरा माटोको तहसम्म धसाएर आफैं अस्तित्व निर्माण गर्न प्रयत्न गरिरहेको हुन्छ । अस्तिसम्म सेता पहिरनमा हिड्ने विधवा आज रातो लुगा लगाएर एकल महिला बन्दै सीमान्तबाट केन्द्रतिर प्रवृत्त हुदँै छन् । हिजो मन्दिर पस्न निषेधित मानिएका सीमान्तरीय वर्गहरु आज मन्दिर पसेर पूजा गर्नुलाई प्राप्ति ठान्न थालेका छन् । अस्ति हलो जोत्न निषेधित महिला र ब्राह्मणहरु आज जीवनलाई नै केन्द्रमा पाउन लागेका छन् । अस्ति कसैले सुन्नै नहुने मन्त्रहरू आज सङ्गीत र लयबद्ध भएरमाइकबाट गाइन्छन् । अस्ति स्वर्णकारको, चर्मकारको र सूचिकारको सीमामा बसेकाहरु आज निषेधित सीमा क्षेत्रभित्र प्रवृत्त भएका छन् । निषेधित कामहरू आज अनिषेधित सीमाक्षेत्रभित्र प्रवृत्त भएका छन् तर वस्तुवादिता त्यतिमा अर्थिदैन । माक्र्सले हिजोको निषेधित मूल्यलाई सीमान्तीकृत र परिभाषित तत्त्व अमूर्त विरोधमा उत्रिऊन् भनेको होइन, वर्तमान सधै स्थिर रहोस् भनेको पनि होइन । वर्तमान सधै चर हुन्छ र विगत सधैँ स्थिर भएर जान्छ । यो होइन माक्र्सको आशय । यसलाई त मान्छेको वस्तुतामा होइन भावगत सत्यमा मान्छेको अस्तित्व प्रक्षेपित बनेको देखिन्छ । वस्तुको जडता संवेदनामा प्रवर्तित हुनु रूपान्तरण हो । रूपान्तरित वस्तु जड नबनेको अवस्थासम्म वस्तु हो र गतिवान् र चर हो । जब इतिहासको जगमा पुगेर त्यही तङ्खव थन्किन्छ, वस्तु र यथार्थ तब त्यो जड हो । त्यसलाई अपेक्षित अर्थमा प्रयोग गरिएकालाई इतिहासबाट झिकेर पनि गतिवान् भन्न खोजिएला परन्तु त्यो सत्य होइन त्यो तथ्य हो र त्यसले गतिवान् सत्यको उद्बोधन गर्न मद्दत गर्दछ ।

यिनै सत्यका परिधिमा वर्तमानलाई समेटेका प्रस्तुत सङ्ग्रहमा नेपाली समाजको बहुल यथार्थलाई सहज ढङ्गले प्रस्तुत गरेको देखिन्छ । नेपाली समाजमा विश्वराजनीतिले अनपेक्षित ढङ्गले आत्मसात् गरेका पक्षलाई सृजनाको वस्तु बनाएका छन् अनिलले । यस सङग्रहका कविताले वर्तमान शताब्दीमा रूग्ण बनेर बसेका ‘लाइ’ परेका कीराहरु पहिल्याउन र टक्टक्याउन प्रयत्न गरेका छन् । यस सङ्ग्रहका कविताले जाति, धर्म, संस्कृति, वर्ग, सत्ता र सामन्त वर्गले जोगाइराखेका, सहज रूपमा पालेका ऐजेरूहरू विस्तारै धर्मराउन र खुस्काउन लागेका तथ्यहरु पनिे आत्मसात् गरेका छन् । नौलो वैशिष्ट्य के हो भने माक्र्सीय यथार्थ चिन्तनको धनात्मक पक्षलाई जोगाएर आजको बहुल संस्कार, बहुल सृजनाचेत र बहुलजीवनको यथार्थलाई बचाई राख्नसक्ने, कलात्मक संवेदनामा विचार बचाउने यस सङ्ग्रहका कविताले नेपाली समाजको पछिल्लो दशकका प्राप्तिलाई उल्लेख्य रूपमा उपस्थापना गरेको छ । यिनै विशेषतामा उभिएका श्रेष्ठको प्रस्तुत सङ्ग्रह नेपाली कविताको समकालीन सन्दर्भलाई विशेष ढङ्गले व्यहोर्न सफल बनेको छ ।

अन्तमा स्रष्टा श्रेष्ठलाई भाषिक कला र सौन्दर्यपूर्ण अभिव्यक्ति क्षमतामा सफलताको चुली उठ्न सकोस्ः यही कामना ।

आरू फुलेको साँझको भूमिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here