एकादेशमा

WhatsApp Image 2026 08 11 at 7.59.04 PM 1

पैल्ये, पैल्ये ….

(यो कथाको प्रसङ्ग
धेरै वर्षहरूअघिबाट सुरू हुन्छ
)

माथि लेकबाट
खर्कबाट
गाईवस्तु धपाउँदै
दिदी अन्नपूर्ण तल सेती नदीका
फाँटहरूमा गोठालो झर्थिन् रे
र बहिनी माछापुच्छ्रे
बाटोमा चुत्रो टिप्दै
ऐंसेलु बटुल्दै
घरी घामसँग खेल्दै
बताससँग जिस्कदै
दिदी अन्नपूर्णको पछिपछि दगुर्थिन् रे
गाईवस्तुलाई किनारतिर छाडेर
ती दुवै बहिनीहरू रानी वनको
क्रीडामा निस्कन्थे रे
त्यसबेला उनीहरूका स्निग्ध छायाँहरू
फेवातालको पानीमाथि खेल्थ्यो रे

उनीहरू सधैं
फेवातालमा आई पौडिन्थे रे
गुलाफहरूले नुहाउँथे रे
उनीहरूका आँखामा फुल्थ्यो रे लालुपाते
उनीहरूको शिरमाथि झुल्थ्यो रे हिउँको ताज
पातले छाँगोबाट बग्थ्यो रे
उनीहरूका सुन्दर अलकावली
हावा पनि चञ्चल भएर
बहन्थ्यो रे

अधीर भई पानीको छायाँमा
घरीघरी आफैंलाई नियालेर हेर्थिन् रे माछापुच्छ्रे
र, उनको गालामा एकचोटि
रातै भएर उठ्थ्यो रे लाजको रङ
बहिनीको त्यो तन्मयतालाई हेरेर खुसी हुँदै
अन्नपुर्ण पानीमा खेलिरहन्थी रे

बेलुकीपख, गोधूलिको घाम बोकेर
गाईवस्तु उकालो लगाउँदै ती दुई बहिनीहरू
उँभो लेकतिर लाग्थे रे

एकदिन
साह्रै अपशकुनको हावा चल्यो रे
आकाश मडारिएर तलाउमाथि
काला बादलहरू उठे रे
र पूरै किनारालाई अँध्यारोले छोप्यो रे
त्यहाँ नुहाउँदै गरेकी थिई रे अन्नपूर्ण
पानीका छालहरू उठ्यो रे
एक्कासी देखिए रे केही मत्स्य दैत्य
र छालसँगै एकैछिनमा ती त्यहाँ
विलीन भए रे

जब बादल हट्यो
त्यहाँ कतै देखिइनन् रे अन्नपूर्ण
माछापुच्छ्रे छक्क परिन्
कहाँ गइन् दिदी ?
कहाँ हराइन् अन्नपूर्ण ?
माछापुच्छ्रे अत्तालिइन् रे
धेरैबेर रोइन् रे
कराइन् रे
विरह गरिन् रे
तर त्यहाँ कतैबाट उनको सामु
अन्नपूर्ण देखा परिनन् रे

धेरै समय बित्यो
त्यो दिनपछि गाईवस्तु धपाउँदै
फेरि कहिल्यै ती दुई बहिनीहरू
तल फाँटहरूतिर गोठालो झरेको
देखिँदैनन् रे

माछापुच्छ्रे
बादलले छोपिएरै रोइरहन्छिन् रे
ऐंसेलु पाकेर बोटहरूमै ओइलिन्छ रे
लालुपातेहरू फुल्दैनन् रे
फेवातालको सौन्दर्य पनि
सुक्दै गइरह्यो रे

मान्छेहरू भन्छन्
आजकल फेवातालको बगरहरूमा भेटिने
करङहरू अन्नपूर्णका हुन् रे

२०५९

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these