देवव्रत (जन्मः २०५७ कार्तिक ४, कैलाली) का कवितामा कर्णालीको कथा छ । कर्णालीको भूगोल छ । कर्णालीको आँसु छ, पीडा छ । कर्णालीको सुसाइ र सुस्केरा छ । सिंहदरबारले कर्णालीमाथि गरेको उपेक्षा छ । शासकहरुले कर्णालीमाथि गरेको कहर छ, विभेद छ । समकालीन नेपाली कविताको पहिल्लो पुस्तामा देवव्रतका कविताहरु निकै शसक्त छन् । देवव्रतका कविताहरुमा कर्णालीमाथि शासकहरुले पटक पटक गर्दै आइरहेको विभेदपूर्ण व्यवहारको विरुद्ध प्रतिरोधका स्वरहरु पाइन्छ । उहाँका कविताहरु सिंहदरबार र सिंहदरबारमा बस्ने शासकहरुप्रति कर्णालीको विद्रोहको स्वर हो ।
उहाँको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’–२०८०, कवितासङ्ग्रह प्रकाशित छ ।
उहाँ ‘उत्तम काव्य पुरस्कार’–२०८१ र यशस्वी पुरस्कार– २०८१ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।
सम्बोधन
प्रिया,
तिम्रो सम्बोधनमा व्यतित यो रात
यो युगकै सबैभन्दा अँध्यारो रात हो
मसँग छैन त्यति समय
जसको छातीमा लुटुपुटु गर्दै
तिम्रो सपना देख्न पुग्नेगरी निदाउन सकूँ
छैन त्यतिउमेर
जसको चौतारोमा थकाइ मेटी
कसम खान सकूँ तिम्रो प्रेमको
तिम्रो ईश्वर बाँधेको गोठको श्रमिक हूँ म
हाड पग्लिनेगरी श्रम गर्दै
मेरो बिहान सकिन्छ
आत्मा नंगाएर, नांगा शरीर भर्दैमा
साँझ सकिन्छ
कसैले टक्टक्याएर छाना
घरहरु पोखिरहेको किनारमा
एकाला युग चढ्दैमा
जवानीले बिदाइ माग्छ
निष्पट्ट अँध्यारो छ मसम्म पुग्ने बाटो
भीरमौरी पनि बसाइ सरेको
मृत्युमार्ग हो यहाँको राजमार्ग
सखारै हँसिया बोकेर मृत्यु यहाँ
हाम्री आमाहरुसँग
कहालीलाग्दा भीरमा घाँस काट्न निस्किन्छ
दैत्यहरु आँगनमा उभिएर
सुनाउँछन् दैत्यकथा
रत्यौली खेल्छ पहिरो
झ्यालको बाटो भएर हिँड्छ मस्टो
शिर काटेर अर्पिएका छन् यहाँका मान्छेहरुले
तिमीले कहानीमा सुनेको
लुटेराहरु घोडा चढेर आउने गाउँ यही हो
तिम्रो इतिहासमा नामेट भइसकेको
बन्दुक भिरेर बुट बजार्ने सैनिकहरु
अझै रातरातभर गस्ती गर्छन् यहाँ
थाहा हुँदैन बिहानसम्म
को मर्छन्, को बलात्कृत हुन्छन्
को को बेपत्ता पारिन्छन् यहाँ
तिमीले चलचित्रमा देखेजस्तो
मध्यरातमा जल्ने बस्ती यहीँ छ
थाहा छैन कहाँ फुल्छन् मग्मगाउँदा फूल
कहाँ चम्किन्छन् जुनकिरीजस्ता तारा
कहाँ छ प्रेमको स्तम्भ
म हिँडेकै यही दुर्घटनापूर्ण क्षेत्र
चिनेकै यही सन्नाटा
बाँचेकै यही शून्यता हो
प्रिया,
तिम्रो भूगोलको एक मुठ्ठी माटो उचालेर
सक्दिनँ गर्वले यो मेरो हो भन्न
म सक्दिनँ म हिँडेको बाटो मेरो हो भन्न
मेरो केही दाबी छैन
मैले पिउन उठाएको एक अञ्जुली पानीमा
हो, झोँक चल्छ
केबल झोँक चल्छ
उठाऊँ बन्दुक
गाडिदिऊँ बन्चरो मालिकको छातीमा
भासियोस् पृथ्वी
दन्दनी आँखैअगाडि
जलेर नष्ट होस् मानव अस्तित्व
सुकून हिमालहरु
हाहाकार मच्चियोस्
लागोस् वनभरि डढेलो
बमको बर्सात होस्
बारुदको आँधी चलोस्
मेरी प्रिया,
बरु रित्तियोस् प्रेम नै पनि
तर, अब उठाउँदा हतियार
नडग्मगाओस् हात
तिम्रो छातीमा हिर्काउँदा पनि
०००

कर्णाली
सुस्साइ सुस्साइ एकान्तमा बसी
नरो ए कर्णालीः एकदिन सब ठीक हुनेछ
एकदिन ऊ फर्की आउनेछ
फुटेका ओठमा मुस्कान फुलाउनेछ
चिरिएका गोडामा मल्हम लगाउनेछ
श्वास घिटिघिटी, छाती पिटिपिटी
नरो ए कर्णाली
अलिकति घामका बुट्टाहरु
अलिकति पानीका थोपाहरु
अलिकति बादलका झोक्काहरु
एक मुठ्ठी रंगिन आकाश तेरो
एक पाइला धर्तीमा जमिन तेरो
लाखौं रंग छन् इन्द्रेणीका
एक रंग हो तेरो पनि
पुल, नदीमा पुल हुनेछ
हुनेछ टालिएको भित्ता घरको
हावा र हुरी रोकिनेछ
छानोमा पत्थर हुनेछन् नयाँ
आकाश रुन रोकिनेछ
सुस्साइ सुस्साइ एकान्तमा बसी
नरो ए कर्णालीः एकदिन सब ठीक हुनेछ
खच्चर, खच्चर ए खच्चर
जीवनभर तेरै भर
त नै होस् मन्दिर त नै इश्वर
जा जा आजाद भइस् अब तँ
जंगल गई चर जंगल गई चर
यो पाखामा जीवन मुस्कुराउनेछ
नुन र चामल मोटर चढी आउनेछ
नरो ए कर्णाली
स्कूल नजिकै धारो नजिकै
गाडी नजिकै बाटो नजिकै
अस्पताल अनि कर्णाली
नरो ए कर्णालीः एकदिन सब ठीक हुनेछ ।
०००