ईश्वरचन्द्र ज्ञवालीका दुई कविता

iswor phota

ईश्वरचन्द्र ज्ञवाली (जन्मः २०१६ असार १५, पाल्पा) माक्र्सवादी जीवन दर्शनलाई आत्मसात् गरेर कवितामार्फत् निम्न र श्रमजीवी वर्गका मानिसका आवाजहरु लेखिरहने कवि हुनुुहुन्छ । उहाँ कवितालाई वैयक्तिक लेखन मात्र नभई सङ्घर्षको माध्यम पनि बनाउनु हुन्छ । उहाँका कवितामा सांस्कृतिक रुपान्तरण र आन्दोलनको स्वर पाइन्छ । उहाँ ‘यथार्थलाई आत्मसात् गरेका कविताहरु नै सम्वेदनापूर्ण हुने र सङ्घर्षका बिचबाट लेखिएका कविता नै सुन्दर हुने’ कुरालाई जोड दिनुहुन्छ ।

उहाँका हालसम्म ‘हुरीका स्पन्दनहरु’ (२०५२), ‘यसरी देश मरिरहेछ’ (२०५९), ‘हाम्रो रातो यात्रा’ (२०६१), ‘आगोका शब्दविम्ब’ (२०६३), ‘आलोकका प्रतिबिम्ब’ (२०७८) कवितासङ्ग्रह र ‘वर्गसङ्घर्षको सन्दर्भः क्रान्ति र सौन्दर्य’ (२०६६) र ‘सौन्दर्य र संस्कृति चिन्तन’ (२०८०) सौन्दर्यशास्त्र र समालोचनाका कृतिहरु प्रकाशित छन् ।

उहाँ ‘गोकुल पुरस्कार’–२०८० र ‘प्रज्ञा दर्शनशास्त्र पुरस्कार –२०८३ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ ‘हुरीका स्पन्दनहरु’ कवितासङ्ग्रहबाट दुई ओटा कवितालाई प्रस्तुत गरिएको छ ।

काली र कुकुर

झलमल सुन्दर महल छ
आँगन छ/हरियाली छ
सुन्दर उपवन छ
त्यहाँ एउटा कुकुर पनि पालिने गर्छ
त्यहाँ काली पनि नोकर्नी बसेकी छ
कुकुर ढलीमली गर्छ
डनलप/सोफा
गलैचा र ओछ्यानमा
दूध र बिस्कुट खान्छ
सधैं–सधैं बजारबाट
‘टोस’ र ‘मख्खन’ उसैलाई भनेर आउँछ
काली उसले खाएको हेरेर
घुटुघुटु थुक निल्छे
जुठेल्नोमा बिहानै भाँडा माझ्न बस्दा
कालीको काँधमा कुकुर उफ्रिन्छ
कालीले उसलाई विवश माया गरेकी छ
कुकुर स्वच्छन्द र स्वतन्त्र
घरका कोठा–चोटामा चहार्छ
सफेद बिछ्यौनामा कुद्छ
मनपरे सुत्छ र कतै मुत्छ
काली बन्धनमा डराई–डराई हिँड्नु पर्छ
र कुकुरले सुतेको, मुतेको स्याहार्नु पर्छ

कहिले कुकुर बिरामी हुँदा
सयौं–सयौं रुपैया उसलाई खर्च हुन्छ
तर काली रोगले, शोकले खाडिँदै
त्यही चिसो छिँडीको अँध्यारो कोठामा सुत्छे

कुकुर रङ्गीचङ्गी रिबन र हारले सजिन्छ
उसका खुट्टामा पाउजू छम–छम गर्छन्

काली फाटेका भुत्लामा
निरीह–निरुपाय भई ढाकिएकी छ
कुकुर साजी खान्छ/काली बासी
कुकुर हृष्टपुष्ट छ/काली चाउरी
कत्ति–कत्ति फरक छ काली र कुकुरमा
काली मान्छे हो र सडेगलेको खाएर बाँच्छ
कुकुर पशु हो र चैनको जिन्दगी भोग्छ

यो महल जहाँ बैंसको रमझम छ
रगतका रोगनहरुले सिंगारिएको छ
संगमर्मरको आँगन छ
भनौं कालीको गोरो छाती
त्यही जुत्तामुनि टाँसिएर किचिन्छ
कुकुर त्यसैमा ढलीमली गर्छ
र त्यहाँ थुक्दिन्छ
फोहो¥याउँछ र कालीलाई हैरान गर्छ
रुपियाँको भूत लागेको यो महल
कुकुर रोएकोमा रुन्छ
र काली रोएकोमा हाँस्छ
यो यद्यपि कालीको सारा पाखुरीको
बल खनिएर अड्एिको छ

कालीको बैंस लुटेर यो मात्तिएको छ
उसको सौन्दर्य र कोमलतामा
काली अभिशप्त बैंस साटेर बाँचेकी छे
जब हावा चल्छ फूलको गन्ध बोकेर
त्यसमै कालीको पसिनाको गन्ध महकिन्छ
कुकुर यता–उता मन्द्राएर डुल्छ
स्वच्छन्द÷स्वतन्त्र
यो कालीको खुसी र स्वाभिमान हुन्छ

महल, उन्मत्त महल
यहाँ कालीको भन्दा कुकुरको महत्त्व छ
मान्छेभन्दा पशुत्व गौरवले हाँसेको छ
स्वतन्त्रता यी दुब्लाहरुको
खुसीहरु यी कालीहरुको
कुकुरले खोसिसकेका छन्
र त काली कुकुरभन्दा निकृष्ट जीवन बाँच्छे
र त काली कुकुरभन्दा ज्यादै टीठलाग्दो र दुर्बल छे
र त काली कुकुरभन्दा
परिबन्धित र अस्तित्वहीन छे

बाँच्नुको अर्थमा
काली मरिरहेको छ
बाँच्नुको रहरमा काली निर्मम मारिएकी छे
म यो कविता लेखिरहेको छु
र आज एउटा प्रश्नसँग टुङ्ग्याई दिन्छु
किन काली अझै पनि मुक र शान्त छे ?
०००

isworchandra

पातहरु पहेंलिन्छन् र बोक्राहरु उक्किन्छन्

पात पहेलिँन्छन् र झर्छन्
बोक्रा जीर्ण भएपछि उक्किन्छन् र खस्छन्
गुभो नभएका काठहरु धमिराएर गल्छन् र कुहिन्छन्
कुहेपछि फल र फूल पनि त
सडकमा मिल्काइन्छन्,

यस्तै हो
एक हुल मुक्तियात्रामा हिँडेका यात्रीहरुमा पनि
कोही थाक्छन् र पछि छुट्छन्
कोही हार खाएर विश्राम लिन्छन् र सिद्धिन्छन्
कोही हुती गुमाएका बाटो छोडेर
समर्पण गर्छन् र विलयन हुन्छन्

एकै भङ्गालोमा बगिरहेकाधाराहरुमा पनि त
कोही किनार लाग्छन् र विलाउँछन्
कुलो काटेर कहिलेकाहीँ नदीको प्रवाहलाई
बगरतिर डो¥याउँदा भासिन्छन्
र बालुवामा पुरिन्छन्
यस्तै हो बग्ने नदीले बग्दै जानुपर्छ
हिँड्ने यात्रीले हिँड्दै जानुपर्छ
बोटले पलाउँदै जानुपर्छ
चोटले पनि पुरिँदै जानुपर्छ

अघि हिँड्नेहरु – पछि पछि फर्केर
गतिमान् पाइलाहरु रोकिएर बिलाउनेहरुलाई
हराउनेहरुलाई प्रतीक्षा गर्नु हुन्न
प्रतीक्षामा कहिलेकाहीँ आफू स्वयं पनि
बिलाइन्छ÷हराइन्छ
हो, कठोर यात्रामा अग्रिम पङ्क्तिमा रहँदा
पहिलो गोली दागिन सक्छ छातीमा
हो, सङ्घर्षको बाटोमा पहिले अघि बढ्दा
शत्रुसँग पहिलो मुठभेड पर्नसक्छ ताँतीमा
सशस्त्र युद्धको महाभारतमा
अग्रगामी अभिमन्युहरु मर्न सक्छन्
दासता विरुद्ध चलेको विद्रोहको वेदीमा
स्पार्टाकस हस्ति बन्न सक्छन्

मरे त के भो ?
अस्मिताको निम्ति चक्रब्युह तोड्न
मृत्यु वरण गर्न सक्नुपर्छ
हवि बने त के भो ?
आजादीको अग्निशिखा प्रज्वलित गर्न
जीवनका चरु होम्न सक्नुपर्छ
तिमीले सशस्त्र युद्ध छेड्यो भने
म भूमिगत हुनेछु
तिमीले कुना कुना देशलाई जुर्मुराउन आह्वान गरे
म महलका आसपास रहनेछु
तिमीले गाउँ गाउँ र बस्ती बस्तीबाट
दीर्घकालीन जनयुद्धको बाटो ततायौ भने
म मुठ्ठीहरुले एकाएक पहरा ढाल्ने छु
यसरी जनसङ्घर्षबाट निरङ्कुशता ढाल्न खोज्नेहरु
यसरी अँध्यारोमा आगोका झिल्का खोज्नेहरु
आगोको मशालसँग नै किन तर्सिरहेछन् ?
किन सशस्त्र युद्धले मानिस काँप्ने गर्छन्
यसरी वर्गीय युद्धको कर्नाल फुकिँदैन
जो तर्किन खोज्छन् ती बहाना गर्छन्
बहानापछि प्रवञ्चना गर्छन्

सत्यलाई ढाकछोप गर्न क्रान्तिको भ्रम दिनेहरु
षड्यन्त्रको जाल बुनेर पलायन हुन्छन्
जनतालाई त्यसरी नै झुक्याउन खोजियो भने
वर्गयुद्धका गुलिया नारा एक ढोँग मात्र रहेछन्
पहेला पातहरु झर्दैमा रुखमा
नयाँ पालुवा फुट्न रोकिन्नन्

बोक्राहरु उक्किदैमा
बोटहरु सुकेर मर्दैनन्
पातहरु त झर्छन्, पलाउँछन्
बोक्राहरु त टाँसिन्छन्, उक्किन्छन्
यो क्रम चलिरहन्छ जीवनको लामो यात्रामा
उकाली–ओराली, झरी र खडेरी आइरहन्छन्
झेल्दै यी सबै अप्ठ्याराहरु
रुखहरु भने दृढतापूर्वक उभिइरहन्छन्

शिशिर ऋृतुका पलहरुले छोड्ने क्रममा
पातहरु पहेँलिन्छन् /झर्छन्
कीरा लागेपछि भित्र डाँठमा
फूलहरु ओइलाउँछन्/ गल्छन्
गलेर झर्ने फूल र पातहरुका कारण
कोही रुखहरुलाई पनि सराप्छन्
तर सराप्नुको कुनै अर्थ छैन
ऋृतुहरुमा पनि शृङ्खला र अनुक्रम हुन्छ
प्रकृतिमा पनि नियम चालु रहन्छ
जङ्गलको पनि ठोस अनुशासन हुन्छ
बादल पनि सीमासम्म मात्र फैलिन्छ
अझ आगोका सपना खोज्नेहरुमा त
लौह अनुशासन र चट्टान जित्ने आँट हुनुपर्छ
रापिला घामसँग जिस्किने कुहिराहरु
छरपस्टिने बादलहरु
तोडेर मर्यादाको सीमालाई
बत्तिने सिमलका भुवाहरु
एकदिन हराउनुपर्छ÷बिलाउनुपर्छ
हराउने बादलका निम्ति
उदास सङ्गीतमा शोकगीत गाइने
कसलाई व्यर्थ फुर्सद हुन्छ र !
मुक्तिको विगुल फुक्नेहरुले
अविरल, अविचल बढ्नुपर्छ
क्रान्तिको बिगुल घन्कियो भने मसानको
शान्ति पनि गुञ्जिनुपर्छ
वेगवान हुरीको आवेगमा
नचल्ने ढुङ्गा पनि चलमलाउनु पर्छ
गतिमान् पाइला बढेपछि
समयले आफै पछ्याउनु पर्छ
त्यसैले मुक्तिका यात्रीहरु सबथोक बिर्सेर
च्यात्दै भ्रान्तिका पर्दाहरु बढ, अघि बढ
तिमी अघि बढ्यौ भने जीवनले पनि
बढ्दै जानुपर्छ ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these