0

कवि अनिल श्रेष्ठको ‘देश, कवि र कविता’ले औंल्याएको नेपाली काव्यिक मर्म

Share

तेजविलास अधिकारी

नेपाली साहित्यमा बढी फस्टाएको विधाको रुपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा प्रस्तुत गरेको छ । नेपाली कविताको इतिहासमा विद्रोहपूर्ण चेतनालाई प्रतिस्थापित,सान्दर्भिक र सबल बनाउने स्रष्टाहरुमा देवकोटा, सिद्धिचरण श्रेष्ठ, रिमाल, युद्धप्रसाद मिश्र, केवलपुरे किसानहरु नै अग्रजका रुपमा देखिन्छन् । साहित्यलाई वस्तुको रुपमा परिवर्तन गर्ने स्रोतसामग्री बनाउनका निम्ति असाध्यै मिहिनेतपूर्ण ढङ्गले वस्तुको विन्यास गर्नुपर्दछ भन्ने विचारवादीहरुको चिन्तनलाई साकार बनाउन र ‘नेपाली जनतालाई परिवर्तन भनेको के हो ? क्रान्ति भनेको के हो ?’ भन्ने अर्थ बोध गराउन मात्र होइन, तत्सम्बन्धि उपलब्धिहरुलाई अत्यन्तै सचेत भएर प्रयोग गर्न पनि सचेत गराउने साधकहरुको पङ्तिमा २०४० को दशकदेखि नै कवितामा कलम चलाउने स्रष्टाका सूचीमा रहेका छन् कवि अनिल श्रेष्ठ ।

कवि अनिल श्रेष्ठले ‘राष्ट्रले शोकधुन बजाएको छ’ (२०५१) ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५), र ‘आरु फुलेको साँझ’ (२०६३) कविता सङ्ग्रहहरु प्रकाशित गरेर आपूmलाई सचेत कविका रुपमा देखाइसकेका छन् । उनको ‘प्रजातन्त्र र पागल’कथा सङ्ग्रह भने २०५० सालमा नै प्रकाशित भैसकेको हो । नेपाली धर्तीमा भएका र हुने गरेका हरेक परिवर्तनलाई अत्यन्त सजग भएर विचारधारात्मक मोडबाट सफलताको श्रेणीमा पु¥याउन तल्लीन स्रष्टा श्रेष्ठ दशवर्षे जनयुद्धको कालमा समेत जोखिम मोलेर नेपालीलाई परिवर्तनको दिशामा लैजान क्रियाशील सर्जक हुन् । राजनीतिक चेत र विचारको दृढतालाई मार्मिक ढङ्गले प्रस्तुत गर्न सक्ने कवि श्रेष्ठ क्रान्तदर्शी र समरका सिपाही हुन् भन्दा अत्युक्ति हुँदैन । यो छोटो लेखमा कवि अनिल श्रेष्ठको “मृत्युपर्व होइन मेरो देश” कविता सङ्ग्रहभित्रको एउटा गद्य कविताले ओगटेको विचारका बिम्बहरुलाई चर्चा गर्ने जमर्को गरिएको छ । “देश, कवि र कविता” शीर्षकमा कविले नेपाली साहित्य लेखनको सम्पूर्ण बिरासत धानेर बसेको कविता विधामा के कस्ता खाले विषय शीर्षक छन् तथा कुन धारमा के लेखेर कविहरु चर्चा परिचर्चामा आएका छन्, यो कुरालाई गम्भीर भएर औंल्याएका छन् । कविता लेखनका विषय विविध हुन सक्छन् । त्यसमा सहमति असहमति हुनु आफ्नै ठाउँमा छ । तथापि त्यसले पु¥याएको असरलाई कविले अत्यन्त गहिराइमा पुगेर हेरेका छन् । नेपाली समाजको अवस्थालाई चित्रण गर्ने सन्दर्भमा कविहरुले यसको रुप र सार पक्षलाई भिन्न रुपमा देखाए पनि कविताको भाव वा विचार नै बलवान् हुने भएकाले यसमा असाध्यै ध्यान दिनुपर्ने कुरामा प्रगतिवादी कवि अनिल श्रेष्ठ अत्यन्तै सचेत रहेका देखिन्छन् ।

“देश, कवि र कविता” शीर्षकमा कविले समग्रपक्षलाई काव्यात्मक सन्दर्भमा जोडेर अत्यन्त बलशाली र समसामयिक तथा साहित्य परिवर्तनका लागि हँुदैन भने त्यो साहित्यको केही काम छैन, त्यस्ता लेखक लेखकका रुपमा कलङ्क हुन् भन्ने कुरालाई असाध्यै सुन्दर ढङ्गले प्रष्ट पारेका छन् । काव्यात्मक प्रसङ्गलाई अत्यन्त सरल भाषामा अगाडि बढाउँदै कवि भन्छन् ः

प्रेम, मिलन
र खुशी
विरह, वेदना
र विछोड
पूmल
पात र सौन्दर्य
भन कवि, रगतको आहालमा डुबिरहेको
देशको एउटा थुम्कोबाट उठेर
तिमीले कुन सौन्दर्यको
कविता लेख्यौ
(देश, कवि र कविता, पृ.–१८)

प्रश्न र प्रतिप्रश्नको बिचमा कवि अनिलले प्रत्येक कवितामा ‘के देशको चीत्कारलाई कवितामा लेख्ने कोसिस कसैले ग¥यो ? वा कसले भन्न सक्छ कि देशको संवेदनालाई कवितामा अभिव्यक्ति दिन सक्यो ?’ भनेर सोधेका छन् । कविले परम्परागत र रुपवादी साहित्यले प्राथमिकता पाएको सन्दर्भमा असाध्यै गहन ढङ्गले प्रस्तुत गरेका छन्–

भन, अक्लान्त÷अशान्त सहरभित्र
बगरेहरुको हत्याको कोलाहल पिएर
तिमीले कस्तो शान्तिको कामना लेख्यौ ?

शान्ति पनि निरपेक्ष नहुने कुरालाई कविले यहाँ असाध्यै सहज र कलात्मक ढङ्गले पोखेका छन् । यसका साथमा कविले कविता लेख्न पनि एउटा वातावरण चाहिन्छ । त्यति मात्र होइन, शान्ति शान्ति भन्दैमा शान्ति प्राप्त हुने होइन, त्यो त काँतरहरुले दिने अभिव्यक्ति मात्र हो भन्ने सन्दर्भलाई असाध्यै सान्दर्भिक रुपमा उठाएको छ । शान्ति स्थापना हुन क्रान्तिको जरूरत पर्ने तथा त्यसका लागि विचारका हतियार बोक्ने युवाहरु जाग्नुपर्ने कुरालाई कविले साङ्केतिक रुपमा प्रष्ट पारेका छन् ।

नेपाली कविताको सन्दर्भलाई हेर्ने हो भने भोकाएका नेपाली जनताका पक्षमा लेख्ने भन्ने कविहरु पनि रक्सी वा मादक पदार्थको नशामा डुबेर कविता लेख्ने परम्परामा रहेका तथा निकृष्ट साहित्य निर्माणको स्रोत दुव्र्यसनीको सहारा लिने परम्पराले नेपाली साहित्य कता जाँदैछ र नेपाली युवा मनहरुलाई के नेतृत्व दिन्छ भन्ने तथ्यलाई पनि कविले उठाएका छन् । बेजोड ढङ्गले यथार्थमा भन्दा निकै टाढा पुगेर तथा मादक पदार्थमा रचना गर्नेहरुले देश र जनताको असल साहित्य लेख्न नसक्ने तथ्यलाई कविले गहिराइमा पुगेर गम्भीर ढङ्गले प्रष्ट पारेका छन् । त्यति मात्र नभएर हाम्रा कविहरुले लेखनले गरिबी, अन्याय र अत्याचारको भेदन गर्न नसक्नुमा मूल कारण नै यही हो भन्ने कुरालाई उनले प्रष्ट पारेका छन् ।

म त नपिइकन लेख्नै सक्दिनँ
रक्सीको नशाभित्र अल्झिएको तिम्रो यो कथन
(पूर्ववत, पृ.ष्ठ–१८)

हो, अधिकांश लेखक रङ्गिन लेखनलाई अगाडि बढाएर चर्चित भएका छन् । जसले एउटा उमेर,जन्म स्वभाव र चाहनालाई व्यापारका रुपमा चित्रणभन्दा अरु केही नवीन योगदान गरेको छैन । समग्र युवा पुस्तालाई पथभ्रष्ट बनाएको पाइन्छ । त्यही कुरालाई कविले त्यस्ता बुर्जुवाका मर्मस्थलमा प्रहार गरेका छन् ।

लेख्यौ, अर्धनग्न नायिकाको कामुक चित्र लेख्यौ
रङ्गीचङ्गी फूलहरुमा जीवनको यौटा बैंस लेख्यौ
(पूर्ववत,पृ.२०)

साथमा कवि आफ्ना प्यारा र जनताका साधकहरुलाई समेत अत्यन्त भावुक भएर प्रस्तुत गर्दै कवि भन्छन् ः

उड्दै गरेको पुतलीका प्वाँखहरुमा
एउटा मुक्ति गीत लेख्यौ
(पूर्ववत, पृ.१९)

कवि सबैलाई सजग बनाउँदै फेरि थप्छन्

जिन्दगीको यो कस्तो उन्मुक्तता लेख्यौ ?
नागरिकता हराएर अनागरिक बनिरहेको छ देश
चेतना हराएर अतिक्रमण भोगिरहेछ देश
सुरक्षा हराएर असुरक्षित बनिरहेछ देश
भर्खरै आफ्नो हराएको सीमा खोज्दा
पीपलको बोटनिर हत्या भएको छ
एउटा नेपाली ठिटो
त्यो नागरिक थियो कि अनागरिक ?
पीपलबोट अझै निरुत्तर छ
मेरो प्रिय कवि
तिमीले अलिकति छामेर हे¥यौ त्यो रगत ?
कि त्यो कुनै एउटा देशभक्तको थियो ?
वा त्यहाँ कतै एउटा नेपालीको चीत्कार थियो ?
(पूर्ववत, पृ.१९)

साँच्चै भन्ने हो भने नेपाली समाजको यथास्थितिवादी चिन्तनबाट माथि उठाउनका लागि हरेक न्यायपूर्ण आन्दोलनमा सहभागी युवा युवतीको बीभत्स हत्याप्रति बेवास्ता गरेर लेखिएको साहित्य जनसाहित्य कसरी हुन्छ ? लेखकले जनताको समस्या र त्यसको समर्थनमा भएका आन्दोलन र नायकहरुलाई लेख्न सक्नुपर्ने कुरालाई अनिलले बेजोड ढङ्गले उठाएका छन् र समग्रमा कविताले नेपाली भूमिलाई चिनाउन जनसाहित्यको लेखनमा लाग्न र तमाम छाडा साहित्यलाई निरुत्साहित गर्न देशका कवि लेखकहरुलाई मार्गदर्शन गरेका छन् ।

समीक्षा सन्दर्भबाट

%d bloggers like this: