‘बन्दी बुबालाई पत्र’ कथामा देखिएको राज्यको विद्रूप चित्र

0
1692

खगेश्वर सापकोटा

विषयप्रवेशः
अनिल श्रेष्ठ नेपाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । वि. सं. २०४४ सालदेखि नै साहित्य लेखनमा कलम चलाउन थालेका अनिल श्रेष्ठ नेपाली साहित्यमा निरन्तर क्रियाशील साहित्यिक व्यक्तित्व हुन् । २०५१ सालदेखि उनका कृतिहरु प्रकाशनमा आइरहेका छन् । हालसम्म उनका कवितासङ्ग्रह ‘राष्ट्रले शोकधुन बजाएको छ’ (२०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५), ‘आरु फुलेको साँझ’ (२०७७), ‘मफलर युद्ध’ (२०७१) र ‘प्रतिनिधि कविता’ (२०७५) निबन्धसङ्ग्रह ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’ (२०६६) र ‘टाइगरहीलकी पुनम’ (२०७१) कथासङ्ग्रह ‘प्रजातन्त्र र पागल’ (२०७६) गरी सातवटा कृतिहरु प्रकाशित छन् । उनका प्रकाशित कृतिहरुलाई अध्ययन गरिसकेपछि उनलाई उनका समकालीनहरु बीच एक स्थापित प्रगतिवादी कवि, कथाकार र निबन्धकारका रुपमा मूल्याङ्कन गर्न सकिन्छ ।

‘प्रजातन्त्र र पागल’ (२०७६) उनको पछिल्लो प्रकाशित कथासङ्ग्रह हो । २०५० सालमा उनको पहिलो प्रकाशन रहेको यो कथासङ्ग्रहमा केही नयाँ कथालाई थपेर पुनमुद्रण गरी उनले यो कथासङ्ग्रहलाई पुन; प्रकाशनमा ल्याएको हो । यस कथासङ्ग्रहमार्फत उनी समाजवादी यथार्थवादी नेपाली कथाका क्षेत्रमा अग्रगामी परिवर्तनकारी चेतना प्रवल भएका सशक्त कथाकारका रुपमा देखा परेका छन् । उनका कथाहरुमा एकातिर समाजमा उच्च वर्गहरुबाट निम्न वर्गहरुमाथि हुने गरेका थिचोमिचो, अन्याय, अत्याचारजस्ता घटनाहरुलाई उजागर गरिएको छ भने अर्कोतिर राजनीतिक शक्ति र सत्ताको आडमा हुने शोषण र दमनको आलोचना गरी समग्र देशको आर्थिक र भौतिक मात्र नभइ सामाजिक चेतनाको परिवर्तन र समाज रुपान्तरणको लागि सङ्गठित भई सङ्घर्ष गर्नु पर्ने आवश्यकताको बोध गरिएको छ ।

कथावस्तुः
यस छोटो समीक्ष्य लेखमा कथासङ्ग्रहभित्र रहेको ‘बन्दी बुबालाई पत्र’ कथाको चर्चा गर्न खोजिएको छ । ‘बन्दी बुबालाई पत्र’ शीर्षकको यो कथा कथासङ्ग्रहभित्र पहिलो कथाको रुपमा रहेको छ । कथामा प्रजातन्त्रको लागि लड्ने व्यक्ति प्रजातन्त्र स्थापित भई बहुदल आइसक्दा पनि अझै जेलमा बन्दी जीवन बिताइरहेको उल्लेख छ र मुस्किलले ५–६ जना बन्दी अट्ने कोठामा १२–१३ जना बन्दीहरु रहनु पर्दा जेलका कोठाहरु नै अर्को यातना गृह बन्न पुगेको छ । राज्यको असमान र विभेदपूर्ण ब्यवहारले नै समाजमा विखण्डन पैदा गरेको कुरा देखाइएको छ । राज्यले सबैलई समान हक, अधिकार र कर्तब्य दिने हो भने जेलको आवश्यकता नै नरहने भाव कथामा छ । कानुन र जेल भनेको निर्धा र निमुखालाई हो । कानुन त यथार्थमा माकुराको जालो सरह हो । यस जालोमा सानासाना कीरा फट्याङ्ग्रा मात्र पर्दछन् । ठूला वस्तुहरुले त माकुराको जालोलाई नै च्यातिदिन्छ र भताभुङ्ग बनाइदिन्छ भन्ने भाव यस कथामा रहेको छ ।

बुबा प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिमा लाग्नु, रातको समयमा सङ्गठन विस्तार गर्दै हिँड्नु, क्रान्तिका लागि भूमिगत भएर हिँडेको बुबा रातको अँध्यारोमा घरमा आउनु र आफ्नी श्रीमती र छोरीलाई भेट्नु, रातको समयमा बुबाआमाको साउतीका मसिना स्वरहरु निद्रामा छोरीको कानमा गुन्जिरहनु, देश बनाउन हिँडेको मानिस सानातिना कुरामा अल्झन नहुने कुराको बोध गराएर झिसमिसेमै आमासँग छुट्टिएर हिँडेको बुबाको धमिलो तस्बिर बिहान उठ्दा छोरीको आँखामा ताजा भएर खेलिरहनु कथाको कथानक रहेको छ ।

देश र जनताको स्वतन्त्रताका लागि लड्दालड्दै सत्ताका भत्ता खाएका क्रान्तिकारीहरुका दुस्मनले समाएर बुबा जेल पर्छन् । बुबा जेलमै छँदा देशमा प्रजातन्त्र स्थापित भई बहुदल आएपनि पञ्चायती कालका झुट्टा मुद्दाहरु जस्ताको तस्तै रहेको र राज्यका संरचनाहरुमा कुनै फेरबदल नआएको कुरा कथामा ब्यक्त गरिएको छ । प्रजातान्त्रिक व्यवस्था भनिए पनि पञ्चायती व्यवस्थाकै सोच भएका मानिसहरु भएकोले देशको राज्य व्यवस्था र सामाजिक संरचनामा कुनै परिवर्तन नभएपछि बुबाको सपनालाई पूरा गर्नको छोरीले अर्को विद्रोहको बाटो रोज्दै र क्रान्तिका लागि महिला आन्दोलनलाई सङ्गठित गर्दै कतैबाट पनि टुङ्गो लाग्न नसकेको यो अपूरो क्रान्ति र अधुरो सपनालाई बोकेर हामी फेरि हिँडिरहेका छौं सङ्घर्षको बाटोतिर । साँच्चै अब मृत्युसँग पनि डर लाग्दैन । हामी जित्नेछौं, जितेर छाड्ने छौं, भन्दै क्रान्तिमा होमिएको कुरा बुबालाई छोरीले सङ्घर्षको भूमिबाट लेखेर जेलमा पठाएको पत्रमा रहेको छ ।

राज्य व्यवस्था नाम मात्रले परिवर्तन भएपनि उही पुरानै सोचका मानिसहरु पद र कुर्चीमा पुगेपछि क्रान्तिका मुद्दाहरुलाई बिर्सेर पदलिप्सा र सुखभोगमा लागेका नेतागणहरुको वास्तविक चरित्रलाई कथामा टपक्क टिपेर राखिएको छ । सयौं मान्छेहरु आन्दोलनमा गुमे, हजारौं मान्छेहरुले जेलनेलको यातना भोगे, परिवर्तनका लागि देशभरि मान्छे उर्लिएर उठे । राजाको एकतन्त्र शासनलाई फ्याँकेर देशले बहुदलीय व्यवस्था ल्यायो । तर सत्ता र शासकहरुको चरित्र उस्तै रह्यो । उल्टै जनताका नेता हुँ भन्नेहरु नै नयाँ शासकको रुपमा देखिए । उनीहरुको स्वभाव र सुखसयलहरु फेरिए । जनताका निराशाहरु बढे ।

कथामा पत्रात्मक शैलीको प्रयोग छ । पञ्चायती व्यवस्थाको निरङ्कुशता विरुद्ध जेल परेको एकजना पात्र प्रजातन्त्रको प्राप्तिपछि पनि अझै जेलमा छन् र उनका झुट्टा मुद्दाहरु अझै यथावत छन् । एकदिन पत्रिका पढ्दै गर्दा बुबालाई सम्बोधन गरेर लेखिएको छोरीको एउटा पत्रले उनलाई भावुक बनाउँछ । छोरीको चिठी पढ्दापढ्दै हिजोकी सानी छोरी ठूली भएकी, साना र चिम्सा आँखा भएको आफ्नो छोरी आज आफ्ना विचार र दृष्टिकोणहरुमा परिपक्क देखिएकी र साहसी स्वभाव भएकी कुरा उनले पत्रमार्फत थाहा पाउँछन् । देशको राज्य व्यवस्थालाई परिवर्तन गर्न हिँडेकी छोरीले नै अब नयाँ आन्दोलनको नेतृत्व गर्छे र मुलुक परिवर्तनको बाँकी कार्यभार बोकेर हिँड्छे भन्ने कुराको गर्वबोधले उनले छाती फराकिलो बनाउँछ र आँखामा झाँसीकी वीराङ्गना लक्ष्मीबाईजस्तै निडर र साहसी आफ्नी छोरीको तस्बिर उनको आँखामा खेलिरहेको कुरा कथाकारले कथामा ब्यक्त गरेका छन् ।

भोगाइभन्दा पर गएर कल्पना र अनुमानका भरमा कथाकार अनिलले यो कथा लेखेका छैनन् । कथामा न स्वैरकल्पना छ न त युटोपियाका किस्सा छ । यो कथामा दर्शन र नारा पोखिरहेका कुनै शब्दहरु छैनन् । कथाले वर्तमानको यथार्थ टिपेको छ । यो कथाकार स्वयंको भोगाइ, अनुभूति चेतना र कथाप्रेमको परिणति स्वरुप लेखिएको कथा हो । कथाको रचना काल २०४८ रहे पनि वर्तमान समयसँग कथा उत्तिकै मेल खान्छ । कथा बहुदलीय व्यवस्थाको परिवेशमा लेखिएपनि २०६३ सालको जनआन्दोलनले ल्याएको लोकतन्त्र र गणतन्त्रपछिको नेपाली जनताको दैनिक अवस्था र उनीहरुले झेलिरहेका पीडादायक दैनिकी देख्दा कथामा कथाकारले देशको विगत, वर्तमान र आगतलाई राम्रोसँग उतारेको देखिन्छ ।

कथाको शीर्षक र विषयवस्तु बीच तादात्म्य सम्बन्ध रहेको छ । कथाको भाषा र विषयवस्तु सरल भएकोले जो कोही सामान्य पाठकले कथा सजिलै बुझ्न सक्ने रहेको छ । थोरै पात्र भएकोले पनि पाठकलाई पात्र विशेषहरुमाथि अल्मलिरहनु पर्दैन ।

निष्कर्षः
मूलतः कविका रुपमा आफ्नो परिचय स्थापित गरिसकेका अनिल श्रेष्ठ कथाकारका रुपमा पनि सशक्त र सिद्धहस्त छन् । उनको लेखनको प्रारम्भ कथाबाट नै सुरु भएको थियो । उनका थुप्रै कथा र लघुकथाहरु पत्रपत्रिकामा प्रकाशित छन् । ‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रह
उनका सशक्त कथाहरुको एक सङ्ग्रह बनेको छ । यस सङ्ग्रहभित्रका कथाहरुले उनलाई एकजना सशक्त कथाकारका रुपमा पाठक सामु उभ्याइदिएको छ ।

‘बन्दी बुबालाई पत्र’ कथा ‘प्रजातन्त्र र पागल’भित्रको पहिलो सङ्गृहित कथा हो । यो कथामार्फत् उनले वर्तमानमा विद्यमान राज्य व्यवस्थाका विसङ्गति र राज्यप्रति जनतामा उठेका असन्तुष्टिहरुलाई उजागर गरेका छन् । कथामा कथावस्तु सतत बग्छ । अन्य कथाहरुमा जस्तै यस कथामा पनि भाषाको काव्यात्मक लय छ । कथाले पाठकलाई मुग्ध बनाउँछ ।

आलोक शृङ्खला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here