वर्तमानको कलात्मक अभिलेख

0
1724

डा. अमर गिरी

अनिल श्रेष्ठको तेस्रो कविता सङ्ग्रह ‘मफलर युद्ध’ भर्खरै बजारमा आएको छ । यस अघि उनको ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५) र ‘आरू फुलेको साँझ’ (२०६३) गरेर दुईवटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । यसैगरी उनको ‘प्रजातन्त्र र पागल’ (कथा सङ्ग्रह,२०५०) र ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ (संस्मरणात्मक अनुभूतिहरु, २०६६) कृतिहरु पनि प्रकाशित छन् । कथा र निबन्धहरुमा कलम चलाए पनि अनिल श्रेष्ठ मूलत कवि हुन् र कविकै रुपमा पाठकहरुका माझमा सुपरिचित छन् । श्रेष्ठ समकालीन नेपाली कवितामा स्थापित प्रगतिवादी स्रष्टा हुन् । ‘मृत्युपर्व होइन मेरो देश’ कविता सङ्ग्रहदेखि तेस्रो कविता सङ्ग्रहसम्म आइपुग्दा उनको काव्यसिर्जना निकै प्रौढ बनेको देखिन्छ । राजनीतिक रुपमा पनि नेपाली समाजको आमूल रुपान्तरणमा सक्रिय यी स्रष्टाले आफ्ना शक्तिशाली रचनाहरुमार्फत पनि परिवर्तनका सशक्त धुनहरु सुसेलेको पाइन्छ ।

यस कविता सङ्ग्रहभित्र ३३ वटा कविता छन् । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् वैयक्तिक जीवनका विविध पक्षहरुलाई कविताको विषयवस्तु बनाइएको छ । कविले नेपाली समाजमा विद्यमान विभिन्न किसिमका विकृति र विसङ्गतिहरुमाथि तीखो प्रहार मात्र गरेका छैनन्, सुन्दर समाज निर्माणको स्वप्न पनि देखेका छन् । आफू बाँचेको समयको सजीव बिम्बाङ्कन उनका कविताहरुको विशेषता हो । यस अर्थमा उनको यो कविता सङ्ग्रह वर्तमान समयको कलात्मक अभिलेख हो । यस सङ्ग्रहभित्रका कविताहरुमा वर्तमान समयसँग सफल काव्यात्मक संवाद गरिएको छ र भग्न वर्तमानका बीचबाटै अघिल्तिरको यात्रा पनि तय गरिएको छ । वर्तमान समय सम्भवतः नेपाली इतिहासको सबैभन्दा कठिन समय हो । नेपाली समाजले वर्तमानमा खप्नुपरेको पीडा डरलाग्दो छ र उसको सङ्घर्ष र स्वप्नमाथि तुषारापात भएको छ । यस त्रासद स्थितिका बिच पनि मानिस भोलिको आशा मनभित्र सँगालेर सङ्घर्षरत छ । यस यथार्थलाई कविले आफ्ना कविताहरुमा सवल र सार्थक काव्यात्मक अभिव्यक्ति दिएका छन् । आजको राजनीतिक विसङ्गतिलाई कविले आफ्ना कविताहरुमा सफल काव्यात्मक प्रस्तुति दिएको पाइन्छन् ‘सभासद् सपना मल्लको हाँसो’ कवितामा । कवि लेख्छन्–

र मलाई याद आउँछ
सातदलको
बैठक स्थगनपछि
बाहिर निस्किरहेका अध्यक्ष प्रचण्डका
थकित आँखाहरु
लोडसेडिङ्गले थला परेको सहर
र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र
संविधानसभाको
बैठकहलबाट उठिरहेको
सभासद् सपना मल्लको हाँसो

यसैगरी, आफ्नो सिंहदरबार कवितामा कवि लेख्छन्–

सिंहदरबारको अग्लो छानामाथि
एउटा कालो गिध्द छ
त्यसको नाक,
कान
र आँखा
यो मुलुकको
राष्ट्रिय निशाना छाप हो
……….
सिंहदरबारको छानामुनि
एउटा प्रशासन छ
त्यो गिध्दको
नङग्रा हो

अनिल श्रेष्ठले साना साना अनुभूत हुने तर महत्त्वपूर्ण विषयहरुलाई आफ्ना कविताहरुमा अरुले भन्दा विशेष महत्त्व दिएर उठाएका छन् । फलतः उनका कविताहरुमा मफलर, गाउँको गोठ , झुसिल्कीराहरु, झिँगाहरु, कुँडुलेटार, आदि जस्ता विषयहरुले सार्थक काव्यात्मक अभिव्यक्ति पाउँछन् र कविताको एक भिन्न रुप निर्माण गर्छन् । उनका कवितामा सदियौंदेखि उत्पीडित पात्रहरु जर्मुराउँदै उठ्छन् र सशक्त सङ्घर्ष गर्छन् । ‘एउटी बादी आइमाईका पेटिकोटका टुक्राहरु च्यातिएर’, ‘साइँली कमिनीको देश, ‘सियावती सदा’, यस कोटीका कविताहरु हुन् । कविले स्थानविशेषलाई विषय बनाएर पनि सफल कविताहरु लेखेका छन् । ‘ताकुकोट’ यसको उदाहरण हो । वैयक्तिक जीवनका अनुभूतिहरुलाई सार्वजनीन रुप प्रदान गर्नु पनि कवि श्रेष्ठको महत्त्वपूर्ण विशेषता हो । यस सङ्ग्रहको एक उत्कृष्ट कविता ‘छायाँचित्र’ मा कवि लेख्छन्–

बत्तीको धमिलो उज्यालो
थालमा खसेपछि
साँझको दैलो टेकेर
आमाका संझनाहरु घरभित्र चिहाउँछन्
र सोध्छन्–“भात खाइस् छोरा ?
भाइबहिनीहरुले खाइसके ?”
…………
अँध्यारोमा,
आँखाबाट बररर खस्छन् आँसु

कविले उत्पीडनका विविध रुप, तिनले उत्पन्न गरेका पीडा र आक्रोशहरुलाई कवितामा राम्रोसँग उनेका छन् । स्वतन्त्रता, समानता र सामाजिक न्यायको आकाङ्क्षा यस सङ्ग्रहका कविताहरुको मुख्य स्वर हो । आशा, स्वप्न र सङ्घर्ष उनका कविताका प्राण हुन् । उनका कवितामा अन्यायको प्रतिवाद र आत्मसजगता पाइन्छ । संवेदनात्मक गहिराइ, अनुभूतिको तिक्ष्णता र आशावाद उनका कविताहरुमा बिर्सनै नसकिने पक्षहरु हुन् । बिम्ब, प्रतीक र अलङ्कारहरुको समुचित प्रयोग कविताहरुमा गरिएको पाइन्छ । केही कवितामा केही कमजोरीहरु देखिए पनि यस सङ्ग्रहका अधिकांश कविताहरु स्तरीय छन् । प्रगतिवादी कविहरु कविता होइन अरु नै लेख्छन् भन्नेहरुका लागि यो सङ्ग्रह एउटा जवाफ हो । यो पठनीय कविता सङ्ग्रह हो । आउँदा दिनहरुमा अनिलबाट अझ सुन्दर कविताहरु लेखिनेछन् । कविता सङ्ग्रहको साजसज्जालाई नराम्रो भन्न मिल्दैन भने मूल्य पनि ठीकै छ ।

साप्ताहिक बुधबार,२०६९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here