0

हो, अनिलजी, छिम्कालेकमा गुञ्जिरहेकै छन् गीतहरु

Share

हिरामणि दुःखी

विषयप्रवेश
त्यो वर्गसङ्घर्ष यस्तो थियो कि जसले समाजमा विद्यमान आर्थिक, सामाजिक विषमताको अन्त्य गर्न चाहेको थियो । त्यो वर्गसङ्घर्षले समाजमा थिचिएर, मिचिएर, हेपिएर, चेपिएर अनेकौं प्रकारका दासताको सामना गरिरहेका उत्पीडित, दमित वर्ग जाति, क्षेत्र र लिङ्गका मानिसहरुलाई उत्पीडनका नारकीय जीवनबाट उन्मुक्ति दिलाएर छुट्टै संसारको आनन्द दिने समाज व्यवस्था निर्माण गर्ने महाअभियानको सङ्कल्प बोकेको थियो । त्यसैले त्यो वर्गसङ्घर्षमा मानिसले हाँसीहाँसी फाँसीको फन्दामा चढ्न, अत्याचारी कसाईहरुको बन्दुकका गोली छातीमा थाप्न र कठोरभन्दा कठोर यातनाशालाहरुको सामना गर्न तयार भएका थिए । ती राता मानिसहरु जो अदम्य साहस र अनुपम सौर्यशक्तिले भरिएका थिए । उनीहरुले जीवन ढलोस् तर मृत्यु नबाँचोस् भन्ने अठोट लिएर मुक्ति या मृत्युको सपथ खाएर आ–आफ्नो टाउकोमा कात्रो बाँधेर दुश्मनका किल्ला, बङ्कर र अड्डाहरुमा धावा बोलेका थिए । उनीहरु सदियौंदेखिको अँध्यारो रात्रिलाई चिर्दै सुनौला बिहानीका घाम पस्कने महाभियानमा लामबद्ध भएका थिए । उनीहरुले उल्टो समाजलाई सुल्टो बनाउने सपना लिएर शिखरतर्फको यात्रामा पाइला चालेका थिए । ती राता पदयात्रीहरुको कदममा कदम जोड्दै लाखौं र करोडौं जनताले साथ दिएका थिए । त्यो यात्रा वर्गसङ्घर्षको पेचिलो यात्रा थियो । जसलाई हामी महान् जनयुद्धको नामले सम्बोधन गर्छौ । हो,त्यही जनयुद्धका सहयात्रीहरु थिए यो देशका सच्चा कवि, कलाकार, पत्रकार, साहित्यकार र संस्कृतिकर्मीहरु । उनीहरुले एक हातमा कलम र कापी समाएका थिए भने अर्को हातमा मादल, गितार र सारङ्गी उचालेका थिए ।

ती कलमजीवीहरु, जसले क्रान्तिको बेलामा जनतालाई ब्यँुझाउने र नयाँ चेतना दिने गीत, सङ्गीत, कविता, कथा र थुप्रैथुप्रै साहित्य सिर्जना गर्थे भने शान्तिको बेला जनतासँग नयाँ सभ्यता, समाज र संस्कृति निर्माण गर्न शारीरिक र मानसिक श्रममा सहभागी हुन्थे । ती वर्गसङ्घर्षका बेलामा देखेका, भोगेका र सँगालेका हाँसो–आँसु, उत्साह–रोदन, दुख–सुख, पीडा–आनन्द, मिलन–बिछोडका अनुभूतिहरु आफ्ना डायरीहरुमा उतार्थे, शब्दचित्र कोर्थे, कविता, गीत र गजलहरु लेखेर सुसेल्थे, कथा लेख्थे र स्वयम् कथा, कविता र एकाङ्की बन्न पुग्थे । यिनै विषयहरुलाई आफ्ना डायरीमा समेटेर एउटा कृति तयार गरेका छन् प्रगतिशील साहित्यकार अनिल श्रेष्ठले । उनले आफ्नो कृतिको नाम दिएका छन् ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ । मेरो हातमा फेला परेको प्रस्तुत कृतिलाई खोतल्ने र त्यसभित्र भएका परिकारहरु के कति मीठा वा नमीठा छन् भन्ने बारेमा चर्चा गर्ने जमर्को गर्दैछु ।

स्रष्टा र सिर्जना
तनहुँको आँबुखैरेनीमा २४ भदौ २०२८ सालमा जन्मिएका अनिल श्रेष्ठ नेपालका प्रगतिवादी कित्ताका उदीयमान साहित्यकार हुन् । चारवटा साहित्यिक कृतिहरु जन्माएका अनिल श्रेष्ठको पहिलो कृति ‘प्रजातन्त्र र पागलः २०५०’ कथासङ्ग्रह हो भने दोस्रो कृति ‘मृत्युपर्व होइन मेरो देशः २०५५’ कवितासङ्ग्रह हो । तेस्रो ‘आरू फुलेको साँझः २०६३’ कवितासङ्ग्रह र चौथो कृतिको रुपमा ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरुः २०६६’ संस्मरणात्मक अनुभूति र कविताहरुको संयुक्तसङ्ग्रह रहेको छ । उनका यी सबै कृतिहरु मालेमावादी वर्गीय पक्षधरतामा आधारित छन् । अनिल श्रेष्ठ वर्गबोधी साहित्यकार हुन् । तसर्थ उनी साहित्यमा वर्गीय पक्षधरतालाई राम्रोसँग उजागर गर्दछन् । पहिलो कृति बाहेक बाँकी तीनवटा कृति जनयुद्ध केन्द्रीत रहेका छन् । साहित्यकार श्रेष्ठ स्वयम् जनयुद्धका एकजना सिपाही हुन् । उनी आफै पनि जनयुद्धमा सामेल भएर वर्गसङ्घर्षका सुरुवाती दिनका विभिन्न मोर्चाहरुमा प्रत्यक्ष परोक्ष सामेल भए । तिनै मोर्चाहरुमा प्राप्त गरेका अनुभव, अनुभूति, वर्गसङ्घर्षले उजागर गरेका विविध विषयवस्तुहरुलाई श्रेष्ठले आफ्ना विविध विधाका सिर्जनामा सङ्कलित गरे । त्यसै क्रममा उनको चौथो कृति ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ जन्मन पुगेको छ ।

प्रस्तुत कृतिमा दुईवटा भाग छन् । एउटा संस्मरणात्मक अनुभूतिको पाटो र अर्को कविताको पाटो । यद्यपि उनले दुवै विधालाई छ्यासमिस पारेर कृति तयार पारेका छन् तापनि यसमा दुईवटा फरक पक्ष समेटिएर यसलाई संयुक्तसङ्ग्रहको रुपमा पाठक सामु पस्किएका छन् । कविता र संस्मरणलाई एकै ठाउँमा नराखेर अलगअलग कृति प्रकाशित गरेको भए समीक्षकहरुलाई सजिलो पर्दो हो तथापि पाठकहरुलाई भने यो कृति रुचिकर नै लाग्ने छ भन्ने मैले ठानेको छु किनकि उनका कविताहरु स्वयम्ले अनुभूतिका विषयलाई नै प्रतिबिम्बित गरेका छन् । जेहोस्, अनिलले यो कृति हाम्रा सामु पस्केर जनयुद्धको एउटा पक्षलाई ताजा बनाइराख्न महङ्खवपूर्ण योगदान पु¥याएका छन् । प्रस्तुत कृतिले जनयुद्धलाई कालान्तरसम्म जीवित सन्देश दिन सफल हुनेछ ।

संस्मरणमा अभिव्यक्त स्वर
संस्मरण र कविताका रुपमा रहेको प्रस्तुत कृतिमा २० वटा कविता र ९ वटा संस्मरण समेटिएको छ । कृतिको पहिलो पाठमा संस्मरण रहेको छ जो यस कृतिको रचना हो । त्यही रचनाको शीर्षकबाट नै कृतिको नामकरण गरिएको छ । ९ वटा संस्मरणहरुमा ‘फेरि पनि छिम्कालेकमा …’, ‘धेरैबेर आँखाहरु बाँधिइरहे’, ‘पारिजात फेरि कहिल्यै ओइलाउँदैन’, ‘हामी यहाँ सञ्चै छौं कमरेड, तपाईं कस्तो हुनुहुन्छ ?,’ ‘अप्रिलको घाम र जुबैलको मरुभूमि’, ‘टुक्रा टुक्रा छरिएका मनहरु लिएर’, ‘त्यो फेब्रुअरी’’, ‘त्यो पहाडपानीको उकालो’, र ‘त्यो साँझ अब बाँच्छु भन्ने लागेन’ रहेका छन् । यी मध्ये पहिलो संस्मरण छिम्कालेक र राता सिपाहीहरुको यात्रा सम्बन्धी रहेको छ । यसले जनयुद्धमा लामबद्ध कवि, कलाकार र सम्पूर्ण योद्धाहरुप्रति लक्षित गरिएको प्रतीकात्मक अनुभूति हो । यहाँ उनले गीत गुञ्जिरहने कुरालाई प्रतीकात्मक रुपमा अभिव्यक्त गर्दै जनयद्धको बिगुल बजिरहनेछ र यसले राता सिपाहीहरुको पदचाप पछ्याउँदै महान् सहिदहरुको अधुरो सपना पूरा गर्ने यात्रा जारी रहनेछ भन्ने सन्देशवाहक विचारलाई संस्मरणमा उतारेका छन् ।

प्रस्तुत संस्मरण लेखकको प्रत्यक्ष भोगाइ हो । लेखक स्वयम् जनयुद्धमा प्रत्यक्ष संलग्न सिपाही भएकाले छिम्कालेकको यात्रामा थुप्रै सहयोद्धाहरुका साथ लामबन्दी भए । त्यतिबेला उनमा सहरिया बसाइबाट प्राप्त भौतिक र मानसिक परिवेश उनीसँग थियो । आफ्ना व्यक्तिगत इच्छा, आकाङ्क्षा र स्वार्थ आदिलाई त्यागेर सामूहिक जीवनको कठोर र कठिन यात्रामा प्रवेश गर्दा प्राप्त गरेका अनुभूति र जनयुद्धको यात्रामा सहयोद्धाहरुसँग साटासाट गरेको अनुभूतिलाई यस संस्मरणमा शब्दचित्रका रुपमा उतारेका छन् । साथीसङ्गीहरुसँगको सहयात्रामा बिताएका रमाइला र दुखान्त क्षणहरु, आनन्दमय परिवेशहरुमा गरेका भलाकुसारी, ठट्टा मजाक आदिलाई स्मरण गर्दै सहयोद्धाहरुलाई छिम्कालेकको प्रतिबद्धता, त्यो सपना, ती अनुभूतिहरु सदैव ताजा रहने कुरा बताउँछन् उनी ।

यस्तै अर्को संस्मरण ‘हामी यहाँ सन्चै छौ कमरेड, तपाइँ कस्तो हुनुहुन्छ ?’ पनि जनयुद्धभित्रैको अनुभूति हो । यो संस्मरणमा श्रेष्ठले आफ्ना सहयोद्धाहरुलाई सम्झेका छन् । ती सहयोद्धा युद्धको भीषणतासँगै कोही जेल परे, कोही सहिद भए र कोही युद्धका अग्रभागमा आफ्ना जिम्मेवारीलाई अझ उच्च रुपले बहन गरिरहेका छन् । यो प्रसङ्गमा उनले कहिले छिम्कालेकलाई सम्झेर युद्धयात्रालाई ताजा बनाउन कोसिस गर्छन् भने कतै झापा आन्दोलनको कडीलाई जनयुद्धसँग गाँस्न पुग्छन् । यसरी वर्गसङ्घर्षको उदात्त भावलाई शब्दचित्रमा उतारेर त्यसलाई जीवन्त बनाउन आफ्नो कलमलाई निकै कुशलतापर्वक जोतिरहेका छन् । ताकि कतै पनि जमिनमा बाँझोको रुपमा राँटो नरहोस् । यसमा उनी निकै सतर्कतापूर्वक कलम चलाइरहेका छन् ।

यस्तै जनयुद्ध र वर्गसङ्घर्षलाई विषय बनाएका उनका अन्य संस्मरणहरुमा ‘त्यो साँझ अब बाँच्छु भन्ने लागेन’ शीर्षकको संस्मरण हो । यो संस्मरण लेखक जनयुद्धका क्रममा सेनाको गिरफ्तारीमा परेको घट्नासँग सम्बन्धित छ । वास्तवमा सेनाको गिरफ्तारीमा परेका मानिस बाँचेर फर्केको बीरलै घट्ना मात्र छन् । जनयुद्धका क्रममा सबैभन्दा बढी मानिस मार्ने र बेपत्ता पारेर गायब गर्ने काम तत्कालीन शाहीसेनाबाट भएको थियो । सेनाको गिरफ्तारीमा परेर बाँच्नु संयोग नै मान्नपर्छ । क्याम्प कमाण्डको मुडको आधारमा भर पर्ने कुरा हुन्थ्यो । त्यसैले पनि श्रेष्ठले गिरफ्तारी परेपछि बयानका क्रममा गरिएका शारिरीक र मानसिक यातना शिविरहरुको अत्यन्त पाशविक घट्नाहरु देखेर र भोगेर आफू पनि बाँच्ने आशा मारेको अत्यन्त हृदयविदारक घट्नालाई प्रस्तुत संस्मरणमा समेटेका छन् । उनले भोगेका शिविरका वर्णनले नै समग्र सैन्य हिरासतको प्रवृत्ति बुझ्न सकिन्छ । त्यसैगरी ‘त्यो फेब्रुअरी’ शीर्षकको संस्मरण अरबी भूमिमा बिताएको क्षणको सम्झनामा कोरिएको भएतापनि नेपालको जनयुद्धको विषयमै परोक्ष रुपमा केन्द्रित भएको छ । अन्य संस्मरणहरु वर्गयुद्धको भावभूमिभन्दा पृथक रहेर आफ्नो व्यक्तिगत जीवनका क्रममा गरिएका कार्य, जागिर आदि विषयसँग जोडिएका छन् । तथापि ती संस्मरणहरुले पनि नेपाली समाजको चरित्र चित्रण गर्ने काम गरेका छन् । यसरी अनिल श्रेष्ठले संस्मरण विधाका माध्यमबाट प्रगतिशील र प्रगतिवादी धाराको साहित्यिक आन्दोलनलाई समृद्ध गर्नमा महत्वपर्ण भूमिका निभाएका छन् ।

कवितामा प्रतिबिम्वित स्वरहरु
प्रस्तुत कृतिको दोस्रो खण्ड कविताको खण्ड हो । उनले कविता र संस्मरणहरुलाई छ्यासमिस पारेर राखेका छन् । यसलाई लेखन मितिका आधारमा क्रम मिलाएर राखेको भए पाठकलाई कालक्रम बुझ्न सजिलो पर्ने थियो । अझ यसो भनौं कविता र संस्मरणहरुलाई अलगअलग खण्डमा क्रमबद्ध राखेको भए राम्रो हुने थियो । तर पनि कविताहरुलाई सर्सर्ती हेर्दा ०५५/०५६ सम्मका अवधिमा रचिएका छन् । यो अवधि भनेको जनयुद्धको उत्कर्षदेखि शान्तिप्रक्रियासम्मको अवधि हो । उनका कविताले वर्गबोधी चेतनालाई उठाएका छन् । तापनि प्रत्यक्ष युद्धमोर्चाका विषयलाई भने कमै छोएका छन् । यसले उनका कवितामा समकालीन सत्ताको चरित्र, त्यससँग विभिन्न जाति, वर्ग र लिङ्गका जनताले गरेका वैधानिक आन्दोलन, विद्रोह, आक्रोश र प्रतिरोधका झिल्काहरु पाउन सकिन्छ । जस्तो कि उनको पहिलो कविता ‘एउटी बादी आइमाईको पेटिकोटका टुक्राहरु च्यातिएर’ मा बादी महिलाहरुले सिंहदरबार अगाडि अर्धनग्न अवस्थामा भेला भएर गरेको आन्दोलनलाई प्रतिबिम्ब बनाएको छ ।

प्रस्तुत कविताले नेपालको राज्यसत्ताको चरित्रलाई उदाङ्गो पारेको छ । २१औं शताब्दीमा पनि दास र सामन्तकालीन जगमा जसरी बादी जातिले नारकीय जीवन भोग्नुपर्ने र उनीहरुले बाँच्नका लागि अन्य पेसा गर्ने वातावरण निर्माण गर्न राज्यले नसक्नु आदि जस्ता विषयको अन्तर्य कवितामा व्यक्त भएको छ । राज्यले बाँच्ने अधिकार देओस् भनेर गरिएको आन्दोलन दबाउन बल प्रयोग गर्नु भनेको कवितामा भने जस्तै ईंजारहरु खुस्किएर स्खलित भएको सिंहदरबार झन् बढी नाङ्गो हुनु हो ।

जब सिंहदरवारको गेटअघि
बाहिर पहरा दिइरहेका सिपाहीका आँखाहरु
पर्खालहरुमाथि झुण्डिरहेका झण्डाहरुलाई हेर्दै
कामुकता प्रदर्शनी गर्छन्
र त्यसका ईंजारहरु खुस्किएर
सिंहदरवार स्खलित हुन्छ

दोस्रो कविता ‘र यी लखन थापाहरु’ मा राणाकालीन शहीद लखन थापाको विरासत पछ्याएर हजारौं लखन थापाहरु जन्मेको भाव व्यक्त गरेका छन् । जहाँ अझै पनि लखन थापाहरुको सपना साकार नभएको बरु अझै चर्को मूल्यसहितको वर्गसंङ्घर्षको आवश्यकता रहेको विषयलाई कवितामा प्रस्तुत गरिएको छ । लखन थापाहरु जस्तै धेरैले बलिदान दिँदा पनि लखनहरुको सत्ता स्थापना हुन नसकेको कुरालाई प्रस्तुत कवितामा अनिलले आफ्नो भाव व्यक्त गर्छन् ः

यी लखन थापाहरुले शहादत गरेको भूमि
जयासी चुमीमगर
र कालु लम्सालहरु मेरा आँखा
अघि आउँछन्
र मेरो कानैनिर सुटुक्क
भन्छन्–‘खै,अब यो ठाउँ
लखन थापाहरुकै भएन’

प्रस्तुत सङ्ग्रहको अर्को महत्वपूर्ण कविता ‘साइँली कमिनीको देश’ हो । साइँली कमिनी नेपाली वर्गसमाजको प्रतिनिधि पात्र हो । नेपाली समाजमा दलित, उत्पीडित वर्ग र जातिका मानिसहरुले दोस्रो दर्जाका नागरिकको रुपमा नारकीय जीवन बिताउन परेको छ । सधैंभरि अभाव, गरिबी, बेरोजगारी, अशिक्षा, भोको, नाङ्गो जीवन बिताउनु परेको साइँली कमिनीहरु जस्ता जनतालाई अहिलेको लोकतन्त्र वा गणतन्त्रले पनि केही गर्न नसकेको प्रति कटाक्ष गर्दै उनी कविता मार्फत् भन्छन् ः

ओखतीले बाँच्न पाए
अरु बाँच्ने थिएँ कि जीवन
अरु देख्न सक्थें कि दुनियाँ
कस्तो हुन्छ लोकतन्त्र ?
कस्तो हुन्छ गणतन्त्र ?
देख्न सक्ने थिएँ हुँला

अवश्य पनि साइँली कमिनीहरु गाउँमा सिटामोल पनि खान नपाएर मरिरहेका छन् । शासक वर्ग भने तिनीहरुको रगत र पसिनाले निर्माण भएको ढुकुटी रित्याएर विदेश सयर गर्छन् । यस्तो नियति छ हाम्रो मुलुकको । यस्तै ‘अगेना छेउको घाम’, ‘झुसिल्कीराहरु’, ‘रुघा लागेपछि’, ‘सिंहदरबार’, ‘मुर्दाहरुको गीत’, ‘सुनकोशीले घरखेत सबै बग्या’े, ‘किथिर्काले काटेको दिन…..’, आदि कविताहरुले वर्गीय उत्पीडनका बिषयलाई उठान गरेका छन् । उनका यस्ता कविताहरुले वर्तमानको यथार्थबोध गर्दछन् र तिनका विरुद्ध सचेतना जगाउने उद्घोष गरेका छन् । यसरी समग्रमा भन्नुपर्दा अनिलको प्रस्तुत कृति ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ ले जनयुद्धको इतिहासलाई बोकेका छन् र तिनले अहिले पनि जनयुद्धका राता सिपाहीहरुको यात्रा स्मरण गराउँछन् । युद्धका खाटा बस्न थालेका घाउहरुलाई कोट्याइदिएर निकै गहिरो गरी चिमोट्ने काम गरेका छन् अनिलले ।

अन्तमा, प्रिय अनिलजी, तपाईंको यो कृति पढ्दा मलाई अहिले पनि जनयुद्धका अत्यन्तै पेचिला घट्नाहरु ताजा भएर उभिएको अनुभूति हुन्छ । जनयुद्धका लक्ष्य, उद्देश्य अझै पुरा भएका छैनन् । वर्गसङ्घर्ष समाप्त भएको छैन । यो अर्को रुपले जारी नै छ । बिडम्बनाको कुरा त के छ भने कतै माओवादी पार्टीले पनि अबको कठोर सङ्घर्षको मुकाविला गर्ने अभियानलाई छाडेर सुधारवादी बाटोमा गएर समाप्त हुने त होइन ? भन्ने आशङ्का पैदा भएको छ । क्रान्ति निकै जोखिमपूर्ण मोडमा उभिएको छ । युद्धका केही सारथीहरुले व्यक्तिवादी एवम् सुविधाभोगी बाटो समातेर दक्षिणतिर ओरालो झरिरहेका छन् । यस्तो परिस्थितिमा अझै पनि छिम्कालेकमा गुञ्जिरहेका गीतहरुको सम्झनाहरु भइरहेको छ । त्यसैले म भन्छु अनिलजी, अझै पनि छिम्कालेकमा जनयुद्धका गीतहरु गुञ्जिरहेकै छन् । ती निरन्तर गुञ्जिरहनेछन् तबसम्म जबसम्म छिम्कालेकमा कुँदिएका युद्धयात्रीहरुका पाइलाका डोबहरु सिंहदरबार र भद्रकालीमा गएर आफ्नो अधिकार स्थापना गर्ने छैनन् । तसर्थ अबका सारथीहरुले ती गुञ्जिएका गीतहरुलाई आत्मसात् गर्दै स्वरलाई अझ उच्च बनाउन जरुरी छ ।

ज्योति, पूर्णाङ्क ११

%d bloggers like this: