अनिलका अर्थपूर्ण कविताहरु

0
1701

हरिसुन्दर छुकाँ

कमरेड, के अन्तिममा
सत्ताका यी यामहरुका विरुद्ध
मेरा कविताहरु तिम्रा आँखाहरुजस्तै
सुन्दर हुने छैनन् ?

कविहरु सत्ताका काला कर्तुतहरु उदङ्ग्याउँदै साहित्यिक युद्ध सुरू गर्छन् र सुन्दर कविता सिर्जना गर्छन् । कवितामार्फत् समृद्ध समयको सपना देख्छन् । यस्तै सुन्दर सपनालाई कवितामार्फत् कवि अनिल श्रेष्ठले आफ्नो पाँचौ कृति ‘आरू फुलेको साँझ’ मा सुरूवात गरेका छन् ।

वि. स.ं २०५० सालमा ‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रह प्रकाशन गरेर स्रष्टा श्रेष्ठ औपचारिक रुपले साहित्यिक फाँटमा देखिएका हुन् । त्यसपछि २०५५ मा ‘मृत्युपर्व होइन मेरो देश’ (कवितासङ्ग्रह), २०६३ मा ‘आरू फुलेको साँझ’ (कवितासङ्ग्रह), २०६६ मा ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’ (संस्मरण) र २०६९ मा ‘मफलर युद्ध’ (कवितासङ्ग्रह) प्रकाशन भएको देखिन्छ । प्रस्तुत कृति कविको दोस्रो संस्करण हो । पहिलो संस्करणलाई परिमार्जित र परिष्कृत गरी प्रकाशनमा ल्याउने काम जनमत प्रकाशनले गरेको छ ।

‘आरू फुलेको साँझ’ भित्र विभिन्न सन्दर्भका ३३ कविताहरु सङ्ग्रहित छन् । सङ्ग्रहमा युद्धकालीन समयमा लेखिएका कविता धेरै छन् । हुन त पछिल्लो दशकमा नेपाली साहित्यमा युद्ध साहित्यको बाढी नै आएको पाठकले अनुभव गरेका छन् । समय, परिस्थितिले निर्माण गरेको विगतको युद्धको अनुभूति पनि नेपाली साहित्यका लागि विशेष स्वादजस्तै बन्न पुग्यो– युद्धसम्बन्धी थुप्रै रचनाहरु । कृतिहरु बजारमा आए पनि पठनयोग्य कृति भने तौलन मिल्ने सङ्ख्यामा मात्र भएको पाठकदेखि साहित्यको विश्लेषण गर्नेहरुले भनेका छन् । त्यो तौलन मिल्ने सङ्ख्याको एक कविता सङ्ग्रह ‘आरू फुलेको साँझ’ पनि दरिन पुगेको छ । कृतिमा युद्धको पाटोलाई मिहिन रुपले कविताका विम्ब, प्रतीकमा चित्राङ्कन गरिएको छ ।

युद्ध किन हुन्छ ? मानिसहरु विद्रोही किन बन्छन् ? अनि युद्धको घटनाक्रम कस्तो हुन्छ ? प्रकृति कस्तो हुन्छ ? युद्धपछिको सन्नाटा कस्तो हुन्छ ? यस्ता प्रश्नहरुको अधिक जवाफ सङ्ग्रहभित्र लुकेका छन् । सङ्ग्रहले युद्धको आवश्यकता पनि देखाएको छ । सार्थक युद्धको आवश्यकता वर्ग युद्धले मात्र पूर्ति गर्नसक्ने हुनाले वर्गसङ्ग्रहलाई व्यवस्थित तवरले लग्न समाजमा समानता चाहने, समाजको कोल्टे फेर्ने स्वभावका व्यक्तिहरुलाई झक्झक्याउने उनका कविताका केही अंश यसरी व्यक्तिएका छन्ः–

त्यो साँझ,
फेरि एउटा कालो बाजका नङ्ग्राहरुले
मेरो कविताको छाती हिर्काएर गए
र मृत्यु बोकेर आएका
काला पखेंटाहरुले मृत्युका
घोषित आदेशहरु सुनाएर गए
(त्यो साँझ–१)

सत्ताको आडमा
बहुला कुकुरझैं
भुक्दै कोही तपाईंमाथि
झम्टन आउँछ भने
नभाग्नोस्
प्रतिकारमा
तपाईंले ढुङ्गा उचाल्नै पर्छ
र कुकुरमाथि बजार्नै पर्छ
बहुला कुकुरहरु जहिले पनि
खतरनाक हुन्छन् राष्ट्रका लागि
(सुरक्षित राख्नोस् आफूलाई)

त्यो साँझ
वेपर्वाह गोलीहरु चलिरहे
र कविताका छातीहरु ढलिरहे
तर जतिखेर ढलिरहे
कविताहरुले एकमुठी माटो उठाएरै
स्वाभिमानले ढलिरहे
(त्यो साँझ–२)

को फुक्दै छ शङ्ख
र युद्ध सकिएको घोषणा गर्दैछ ?
सूर्यास्त भए हुन देऊ
पहाडहरु अझै थाकेका छैनन्
तराईहरु अझै थाकेका छैनन्
मशाल बोकेर रातमा पनि
पहाडहरु लड्दैछन्

तराईहरु जाग्दै छन्
लगाम कस घोडाहरुको
र एउटा अर्को युद्धको तयारी गर
(निर्णायक युद्ध लड्नुपर्छ)

कवि अनिल श्रेष्ठका कविताहरुमा सन्देश छ, नयाँ समाज निर्माणका लागि आह्वान छ, अपिल छ । यही विशेषताले सङ्ग्रहका कविताहरु अर्थपूर्ण छन् । सङ्ग्रहमा सरल, लालित्यपूर्ण भाषा र शब्दहरु चयन गर्दै कविले काव्यका रसहरु, तत्त्वहरु बुझिने तरिकाले प्रयोग गरेका छन् । सङ्ग्रहभित्रका उत्कृष्ट कविताहरुको सूचीमा ‘के यी कविताहरु तिम्रा आँखाहरुजस्तै सुन्दर हुने छैनन् ?’, ‘तटबन्ध’, ‘खगेन्द्र संग्रौलाहरु’, ‘पहाडहरु’,‘पीडाको रङ’, ‘डिसेम्बरका यी अन्तिम दिनहरु’, ‘अदृश्य/दृश्य’, ‘गाउँलाई सोध्या’छ भन्दिनु है दाइ’ लगायतका छन् ।

सङ्ग्रहको एकसरो अध्ययनपछि नै हरेक पाठकलाई कवि माक्र्सवादी विचारबाट उद्धेलित छ भन्ने थाहा धेरै समय लगाउने छैन । सङ्ग्रहमा सत्ताको आडमा, पदको भरमा कानुनलाई आफू अनुकूल गर्नेहरुको शासनले प्रताडितहरुको ऐया, आत्था, रोदन, चित्कारलाई कवि श्रेष्ठले पड्केर तिनीहरुलाई विद्रोहको सङगीत सुनाएका छन् । सङ्ग्रहको ‘पीडाको रङ’ शीर्षकको कविताले महिला वर्गले भोगेका पीडा, ‘उहाँ मेरो गाउँको माड्साब’ ले पैसामुखि शिक्षक र कथित बुद्धिजीवीहरुको यथार्थ, ‘डिसेम्बरका यी अन्तिम दिनहरु’ र ‘त्यो एउटा बूढो नीमको रुख’ ले वैदेशिक रोजगारीमा जान बाध्य युवाहरुको अवस्था चित्रण गरेको छ । सङ्ग्रहको ‘नदी र गीत’ लाई रसियाली कविता संरचनाबाट प्रभावित कविता भन्न सकिन्छ । ‘बेसरम हाँसो’ देशमा बढ्दो वैदेसिक हस्तक्षेपलाई इङ्गित गराउने प्रतीकात्मक कविता हो । माथिका सन्दर्भलाई देखाउने कविताका केही अंशहरु यस्ता छन्ः–

जतिखेर चाह्यो काला थैलाहरु
मलाई तौलन सक्छन्
जसरी चाह्यो काला थैलाहरु
मलाई मोल लगाउन सक्छन्
(बेशरम हाँसो)

आइमाईहरुका लागि
सुस्केरा बाहेक आफ्नो भन्नु
यहाँ केही हुँदैन ।
(पीडाको रङ)

कतिखेर त मलाई उस्तै लाग्छ
नेपाल र यो अरबभूमिको यो हावा,यो घाम
एकैछिन, एकैछिन म यी कामहरुबाट
फुर्सद निकालेर
यो बिहानलाई स्पर्श गर्छु
जुनु सोच्छु– यही र यस्तै क्षणहरु त रहेछ

यो पराई मुलुकहरुमा
जसले आफ्नो भूमिको सम्झनाहरुले
हामीलाई जीवित बनाएको छ
(डिसेम्बरका यी अन्तिम दिनहरु)

मेरो छातीमाथि तिमीहरु
सधैं खुर्दलोटनहरु बाँध्न चाहिरह्यौ
मेरो छातीमाथि तिमीहरु
सधैं युद्धरत् काश्मिर भूमिको
विवादास्पद सीमाहरु कोर्न चाहिरह्यौ
मेरो छातीमाथि तिमीहरु
सधैं एउटाएउटा आफ्नो अधिकारको
झण्डाहरु गाड्न चाहिरह्यौ
(तटबाँध)

सङ्ग्रहभित्र सङ्ग्रहित ५० को दसकका कविताहरु मार्फत त्यो दसकमा देशमा देखिएका विविध पक्षहरुलाई देखाएका छन् कवि अनिल श्रेष्ठले । कविताको कहीँ कहीँ अङ्गमा भने सरल वाक्यलाई जबरजस्ती कविताको साँचोमा ढालिएको आरोप देखिन्छ । तैपनि सङ्ग्रहभित्रका दुईतिहाइ कविताहरुले बोकेको भाव लालित्य र विचारले राम्रो सङ्ग्रहभित्र राख्न सकिन्छ ।

मजदुर, २०७०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here