क्रान्ति मर्दैन

0
1704

‘तपाईंको नाम ?’

‘क्रान्ति ।’

उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु व्यवस्था विरोधीहरु हुन्छन् । पञ्चायतका विरोधीहरु । त्यसैले धेरै त उनीहरुका झुट्टा मुद्वाहरु हुन्छन् । राजाका मान्छेहरुलाई आफ्नो विरोधी थान्को लाउने ठाउँ भएको छ यो जेल । सजिलो छ । कसैलाई मन परेन कि चुक्ली लाइदियो । व्यवस्था विरोधी मुद्वा हालिदियो र जेल पठायो । गतिला र पढेलेखाहरु जेलभित्रै छन् । दुर्जनहरु बाहिर छन् र सज्जनहरु जेल लखेटिएका छन् ।

उसलाई केही दिनअघि मात्र यो जेलमा ल्याइएको थियो । उमेरले ऊ भर्खरको देखिन्थ्यो । मलाई काका भन्थे । फरासिला थिए । रमाइलो स्वभाव । बोली मीठो थियो । मेरो आठ वर्षसम्मको यो जेलको बासले पनि यहाँ आउनेहरु को के भनेर उनीहरुको बोली व्यवहारबाट उनीहरुको स्वभावको हेक्का राख्न सक्थें । उनीहरुको सामान्य जीवन व्यवहारको कुराले मलाई पनि उनीहरु जत्तिकै प्रशिक्षित बनाइसकेको थियो । उनीहरु जेलभित्र क्रान्तिका कुराहरु गर्थे । परिवर्तनका कुराहरु गर्थे । व्यवस्था फेर्ने कुरा गर्थे ।   

म क्रान्तिकारी थिइनँ । उनीहरुझैं व्यवस्था फेर्ने कुरा गरेर जेल परेको पनि थिइनँ । परिबन्दले जेल पु¥यायो । अहिले लाग्छ परिबन्द आफै बन्दो रै’नछ । व्यवस्थाका टाठाबाठाहरुले बनाउँदा रै’छन् । सायद गाउँका पर्धानसँगको झगडा नहुँदो हो त यसरी म यो जेलभित्र हुन्नथे हुँला । ममाथि यो द्रोहको मुद्वा पनि हुँदैनथ्यो होला । अहिले पो यसो बुझ्छु यो सबै पर्धानको जालसाजी थियो । 

एकदिन मैले सोधें क्रान्तिबाबुलाई – ‘बाबुको  मुद्दा के नि ?’

किताब पढ्दै थिए उनी । मलाई हेरेर फिस्स हाँसे । उनको हाँसोले मलाई अप्ठ्यारो बनायो । मैले नसोध्नु पो पथ्र्यो कि झैं पनि एकमन लाग्यो । मनमा अड्याएर राख्न नसक्ने मेरा प्रश्नहरुले उनको पढाइलाई असहज बनायो कि झैं लाग्यो पछि । 

‘काकालाई म मेरो कथा भन्छु ।’ अलिबेरपछि उसले किताबलाई बन्द ग¥यो र मतिर फर्किएर भन्यो । यतिले नि मेरो मन रमायो । उसले हलुकापूर्वक आफूले बसिरहेको आसनलाई परिवर्तन गरे । र, पलेटी कसेर हातले भुइँमा टेका लाएर बसे । उसको अनुहारको मुद्रामा विगतको एउटा कथा खेल्यो । 

र मैले उत्सुकतापूर्वक उसलाई हेरिरहें । 

०००

‘रमेश ….. ’

परबाट आएको एउटा चर्को आवाज मेरो कानमा ठोक्कियो । र, त्यो आवाज पर पहाडको भित्तामा ठोक्किएर प्रतिध्वनित हुँदै तल मस्र्याङ्दीको किनारतिर हावामा लहराउँदै हरायो । जोत्दै थिएँ म । अडिएँ । र, त्यो आवाजलाई पछ्याएँ । कान्लाहरु फाल हान्दै निकै हतारले मतिर दौडदै आइरहेको त्यो आकृतिलाई अलि वर आइपुगेपछि मैले ठम्याएँ, विष्णु थियो । निकै अतालिएको देखिन्थ्यो । छिटो दौडन खोज्दा उसका खुट्टाहरु अल्झिएर ऊ लड्थ्यो । मैले असामञ्जस्यताले उसलाई हेरिरहेँ । र, अल्मलिएँ । मेरो अघिल्तिर सर्पले झैं फँणा उचालेर थुप्रै आशङ्काहरु उठिरहे  । आँखाअघि एउटा अनिष्ट खेल्यो । 

ऊ हस्याङ्ग फस्याङ्ग गर्दै मेरो अघिल्तिर आइपुग्यो र मेरो हातलाई च्याप्प अँठ्यायो । ऊ बेस्सरी अताल्लिएको थियो । उसको सास फुलिरहेको थियो । केही बोल्न सकिरहेको थिएन । उसको त्यो असामान्य अवस्थाले एउटा अज्ञात परिस्थितिको अप्रिय घट्नाको सङ्केततिर धकेल्योे मलाई । मैले उसलाई नियालें । 

र, हठात् सोधें– ‘के भो ?’ 

‘चन्द्रमाथि ……….. गुण्डाहरुको आक्रमण ……. ।’ उसको सास अड्कियो । उसले एकसासले बोल्न पनि सकेन । बोल्नलाई जोड गर्दै थियो, खोकी निस्क्यो ।  उसको अनुहारमा भय स्पष्ट देखिन्थ्यो । शरीरभरि दर्फरिएका चोटहरु थिए । शरीरका केही ठाउँहरुमा गहिरा घाउहरु देखिन्थे । रगताम्मे । हेर्दा ती सामान्य चोटहरु लाग्दैनथे । कसैेले हतियारले हिर्काएजस्तो लाग्थ्यो । उभिनै पनि गाह्रो हुने गरी ऊ धर्मराइरहेको थियो । उसका ओंठहरु थर्थराइरहेका थिए । आँखामा भयभन्दा पनि बढी आक्रोश र उत्तेजना देखिन्थ्यो उसको ।  

‘तल बजारमा … गुण्डाहरुले …. चन्द्रको हत्या ।’ उसले अरु बोल्न खोज्यो ।

चन्द्रको हत्याको यो अप्रत्यासित खबरले म झस्किएँ । मैले विष्णुलाई हेरिरहें । निकै हतास देखिन्थ्यो ऊ । एउटा गहिरो शुन्यताले एकैछिन हामी दुवैलाई छोप्यो । सयौं बिच्छीहरुले एकैचोटि खील गाडेझैं एउटा विक्षिप्ततामा मैले विष्णुलाई बेस्सरी समातेँ । र, हलोलाई ढुङ्गाको एउटा कापमा अड्काएर विष्णु र म एउटा आवेगले हान्निर्यौ बजारतिर । बजार पूरै बन्द थियो । सबै पसल र घरका ढोकाहरु बन्द थिए । घरका झ्याल समेत कतै खुलेको देखिँदैनथ्यो । सडक सुनसान देखिन्थ्यो । मान्छेहरुको उपस्थिति कतै पनि थिएन । पूरै  बजार आतङ्कमा डुबेको थियो । भयङ्कर आँधिले भर्खरै मडारेर गएपछिको एउटा श्मशानझैं देखिन्थ्यो बजार । संत्रस्त । केही क्षण अघि गुण्डाहरुको जत्थाले यो बजारमाथि गरेको ताण्डव बुझ्न अब मलाई बेर लागेन । 

हामी चन्द्रको पुस्तक दोकानतिर दौडियौं । चन्द्रलाई खोज्नु थियो । र, उसको अज्ञात अवस्थाको बारेमा खोजी गर्नु थियो । बजारमा हामीलाई हिँड्न सहज छैन भन्ने मैले बुझें । बजारको यो परिस्थिति हाम्रा लागि सुरक्षित छैन भन्ने पनि मलाई लाग्दै थियो । नभन्दै एउटा घुम्तीनिर आइपुग्दा पछाडिबाट हान्निँदै आएको एउटा जीपले घच्याक्क हामीलाई बाटो छेक्यो । एउटा अनपेक्षित दुर्घटनाले गाडीमा ठोक्किनबाट जोगिएर हामी पर उछिट्टियौं । र, भुइँमा बजारियौं । भुइँमा बजारिएको चोटले म रनाहामा परें । आँखाहरु तिरमिराए । जिउ शिताङ्ग बन्यो । एउटा कालो अँध्यारोले मेरो आँखालाई विस्तारै छोप्दै लग्यो । र, मलाई लाग्यो ऐँठनजस्तो एउटा कालो अज्ञात भारले म विस्तारै थिचिँदै छु । र, त्यो भारले थिचिनबाट जोगिन मैले बेस्सरी बल गरेर आफूलाई जमिनबाट जुरुक्क माथि उठाएँ र सबै शक्तिलाई केन्द्रित गरेर पाइतालालाई दरो गरी जमिनमा उभिएँ । जीपबाट उठेको एउटा अट्टहासले मलाई वरिपरिबाट घेरिरह्यो ।  

‘एई हो ।’ गुण्डाहरुको त्यो अज्ञात समूहबाट एउटाले मतिर इङ्गित ग¥यो । मानौं ऊ मलाई राम्ररी चिन्छ । ऊ सुराकी हो र ती गुण्डाहरुलाई उसले मेरो सुराकी दिइरहेछ । 

मैले विस्तारै गुण्डाहरुको त्यो जत्थालाई नियालेँ । कोही हातमा छुरा खेलाइरहेका थिए । कसैले साइकलको चेन समाइरहेका थिए । कसैसँग लाठी थिए । कोही फलामका रडहरु बोकिरहेका थिए । मानौं त्यहाँ मेरो हत्याका लागि तिनीहरु उद्यत छन् । र, उन्मादले तिनीहरु मलाई घुरिरहेका छन् । तिनीहरु रक्तपिपासु हुन् जसले पूरै बजारलाई आतङ्कको छायाँमा पारेर मेरो हत्याको एउटा अर्को उत्सव खेल्न खोज्दै छन् । तिनीहरु मलाई घेरा हालेर अझै चर्को अट्टहास गर्दै थिए । तिनीहरुका मुखबाट आएको रक्सीको चर्को दुर्गन्धले मेरो वरिपरिको पूरै वातावरणलाई छोपेको थियो । 

‘अइ, बजाइहाल न ।’ जीपबाट आएको एउटा चर्को स्वर थियो । 

जिरिङ्ग भएर आङ फुल्यो । एउटा भयावह बनेर मृत्यु मेरो सामुन्ने थियो । र, मलाई त्योसँग सामना गर्नु थियो । मैले बलियो गरी आफ्नो मुठ्ठीलाई कसें । मैले कायरता बोकेर तिनीहरुबाट भाग्न चाहिनँ । मलाई थाहा थियो मैले भागेँ भने पनि तिनीहरुबाट लखेटिएर म मारिनेछु । र, नभाग्दा तिनीहरुसँग प्रतिरोध गरेरै मर्नेछु । ‘कम्तिमा पनि यो मेरो एउटा साहसको मृत्यु त हुनेछ । तिनीहरुका एक दुईजनालाई पनि त जिउँदो छाड्दिनँ’, मनले निश्चय ग¥यो ।

‘यल्लाई नि आजै मर्न लेखेछ ।’ एउटाले भन्दै थिए ।       

‘विचरा ।’ अर्कोले व्यङ्ग्यपूर्वक मतिर हेरेर मुस्कुरायो ।

‘त्यो काँडेलौरोले यसको शरीर छिल्न ओइ ।’ अर्को भन्दै थिए ।

‘एकैचोटि चाँहि नहान् है ।’

‘थिल्ल्या, थिल्ल्या ।’

तिनीहरु चारैतिरबाट चर्को कोलाहल गरेर मलाई आतङ्कित बनाउँदै थिए । र, शारीरिक र मानसिक रुपमा मलाई थकाउँदै र कमजोर बनाउँदै थिए । त्यसैबेला पछाडिबाट एकजनाले मलाई बेस्मारी लात्तो हान्यो । 

‘कायर कुकुरहरु, सक्छौ भने अगाडि छातीमा आएर मलाई लात्तो हान ।’ म चिच्याएँ । 

क्रोधले मेरा दुवै मुठ्ठीहरु उचालिएर तिनीहरुतिर उठे । तिनीहरुले एकैचोटि ममाथि खनिएर चेन र लाठीहरुले मलाई पिट्न सुरु गरे । मैले तिनीहरुसँग प्रतिरोध गरिरहें । तिनीहरुलाई छेक्ने र प्रतिरोध गर्ने मेरा सबै उपायहरु कमजोर हुँदै थिए । र, म शिथिल बन्दै थिएँ । ठिक यसै समय माथि डाँडाबाट मान्छेको कोलाहल सुनियो । त्यो जुलुुुस थियो । मान्छेहरु नारा लगाउँदै थिए । र, उनीहरु तल बजारतिर ओर्लिरहेका थिए । 

‘सालेहरु आइपुगे !’ एउटाले भन्यो ।

‘गाडी छिटो स्टार्ट गर । तेरा बाजेहरु आइपुगे ।’ हतासले तिनीहरु गाडीतिर कुदे ।

एकैछिनमा जीप सडकको धुलो उडाउँदै त्यहाँबाट कुद्यो । म झटपट उठें । विष्णुको ख्याल आयो । ऊ केहीपर अझै निश्चल भएर लडिरहेको थियो । बोलाएँ । झक्झक्याएँ । ऊ बेहोस थियो । त्यतिन्जेलसम्म जुलुस हामी नजिकै आइसकेको थियो । जुलुसको अगाडि दिनेश र दिलीप थिए । 

‘के भो ?’ दिनेश अतालिएर मेरो नजिकै आइपुग्यो । 

‘बेहोस छ ।’ मैले छोटो जवाफ दिएँ । 

उसले एकपल्ट सबैतिर दृष्टि दौडायो र सोध्यो– ‘चन्द्र खोइ ?’

‘थाहा छैन । हामी पनि उसलाई खोज्दै यहाँ आइपुगेका थियौ । एक्कासि गुण्डाहरुले हामीलाई घेरा हाले ।’ मैले उसलाई घटनाको वास्तविकता बताएँ र भनें, ‘यी सबै घटना पछि बताउँला । पहिले त चन्द्रलाई खोज्नु प¥यो ।’

विष्णुलाई लिएर केही साथीहरु नजिकैको मेडिकलतिर दगुरे । हामी चन्द्रलाई खोज्दै पुस्तक पसलतिर लाग्यौं । दोकानका सबै सामानहरु तोडफोड गरिएका थिए । सोकेस र दराजका सिसाहरु फुटालिएका थिए र सामानहरु निकालेर फ्याँकिएका थिए । 

‘कहाँ लगे होलान् ती पिपासुहरुले चन्द्रलाई ? कतै हत्या गरेर फ्याँकिदिए कि ?’ दिलीपले शङ्का व्यक्त ग¥यो । सबैको आँखामा चिन्ता र आक्रोश र थियो । त्यतिन्जेल बजारका पसलहरु छिटफुट खुले । बजार अब विस्तारै आक्रोशमा बदलिँदै थियो र त्यहाँ मान्छेका भीडहरु जम्मा हँुदै थिए । चन्द्रलाई खोज्ने क्रम चलिरह्यो । भीड विस्तारै जुलुसमा परिणत भयो र नाराबाजीहरु शुरु भए –

‘गुण्डागर्दी – बन्द गर ।’

‘नालायक सरकार– मुर्दावाद ।’

‘हत्यारालाई – कारवाही गर ।’

‘हाम्रो साथी – फिर्ता दे ।’ 

नाराबाजी गर्दै जुलुुस अगाडि बढ्यो । जुलुस चोकनिर पुगेपछि अचानक प्रहरीको भ्यान आएर हाम्रो अघिल्तिर घच्च्याक्क रोकियो । बीस पच्चिस जना हतियार बोकेका प्रहरी भ्यानबाट ओर्लिएर जुलुसलाई छेक्न अगाडि बढे । नारा झन् चर्कियो । प्रहरीले जुलुसको भीडलाई रोक्न सकिरहेको थिएन । र, भीड प्रहरीको अवरोधलाई धकेल्दै अगाडि बढ्दै थियो । भीड शान्त नहुने देखेपछि प्रहरीका नाइके आत्तियो र उसले थप प्रहरी फोर्सको माग ग¥यो । एकैछिनपछि प्रहरीको थप फोर्स बोकेको एउटा ट्रक आइपुग्यो र असी सय जनाको सशस्त्र प्रहरीहरु ट्रकबाट ओर्लिए । 

‘ठोक ……।’ 

प्रहरी अधिकारीको एउटा आदेशसँगै प्रहरीका असङ्ख्य लाठीहरु भीडमाथि बज्रन थाले । छिनभरमै बजार एउटा अर्को युद्धग्रस्त क्षेत्र बन्यो । भीडले प्रहरीका लाठीहरुसँग सामना र प्रतिरोध गरिरहे । प्रहरीका अश्रुग्याँसहरु चले । अश्रुग्याँसको धुवाँले पूरै बजारलाई छोप्यो । आक्रान्त बन्यो भीड र अश्रुग्याँसलाई छल्न भीड यता र उता छरियो । मैले भीडलाई सम्हाल्न एउटा सानो ढिस्कोमाथि उभिएर आफ्नो हातलाई हल्लाएँ । पछाडिबाट मेरो पिठ्युँमा एउटा बलियो लाठी बज्रियो र हलचल गर्न नसक्ने गरी म बेस्सरी भुइँमा बजारिएँ । दुईतीन जना प्रहरीहरुले मलाई बेस्मारी अँठ्याए र मलाई घिसार्दै ट्रकमा कोचे । अरु धेरै साथीहरु पनि समातिए । 

हाम्रो गिरफ्तारी र जुलुसको भीडको उत्तेजनाले हामीलाई धेरैबेर त्यहाँ राखेनन् र हामीलाई बोकेर ट्रकलाई त्यहाँबाट हिँडाइयो । साँझ पर्दा सदरमुकामको जिल्ला प्रहरी कार्यालयको अघिल्तिर चौरमा हामीलाई ओरालियो । गोदामजस्तो एउटा चिसो साँघुरो कोठाभित्र लगेर हामीलाई  थुनियो । हाम्रो लागि त्यो साँघुरो कोठा सजिलो गरी बस्न सक्ने अवस्थाको समेत थिएन । पालैपालो गरी हामी रातभरि कोही बस्ने र कोही उभिने गरिरह्यौं । भोकै रह्यौं । पानी समेत दिइएन । तिर्खाले हामीलाई रातभरि अँठ्याइरह्यो । थकाइ र निद्रा उस्तै थियो । कोठामा बत्ती थिएन र बाहिर कतैबाट पनि त्यो कोठासम्म आउने उज्यालो थिएन । अँध्यारोमा बाहिर मान्छे खोकेको र खस्र्याकखुसुक आएको आवाजले बाहिरबाट प्रहरीहरु हामीलाई कडा निगरानी गरिहेका छन् भन्ने हामीलाई लाग्यो । 

भोलिपल्ट डिएसपी कार्यालय अघिको चौरमा हामीलाई उभ्याइएको थियो । बाहिर जेठको मध्यान्हको चर्को घाम थियो । र, भित्र सोधपुछ कोठामा सोधपुछ चल्दै थियो । डिएसपी एकएक गरेर बोलाउँदै सोधपुछ गर्दै थियो । उसको अभद्र गाली बाहिरसम्म सुनिन्थ्यो । उसका लाठीहरु यातनापूर्वक साथीहरुको जिउमाथि बर्षन्थ्यो । र, साथीहरुको मुर्छामा डुबेको स्वर बाहिरसम्म आउँथ्यो । त्यो चर्को घाम हाम्रो निम्ति यसै पनि एउटा कठोर यातना थियो । भित्रबाट आएको साथीहरुका यातनाका चीत्कारहरुले बाहिरका साथीहरु आक्रोशित देखिन्थे ।          

‘ओ पुलिस दाइ, पानी चाहियो ।’ एकजना साथी बोल्यो ।

अलिपर सियाँलमा उभिएर हामीलाई निगरानी गरिरहेको एकजना पुलिस करायो, ‘अइ, त्यसले पानी मागेको होइन ? त्यसको मुखमा एकपल्ट मुतिदे त ।’

‘पातकीहरु ।’ त्यसका शब्दहरुले असह्य भएपछि अर्को साथी मुर्मुरियो ।  

‘यो चर्को घाममा हामीलाई मार्न उभ्याएको ?’ 

‘अइ, त्यसको ढाँडमा खुस्किने गरी हान न । त्यो किन करा’को ?’ 

अलि पर उभिएको प्रहरीको त्यो आदेशको स्वरलाई पछ्याउँदै सामुन्ने रहेको प्रहरीको कटबाँस अनायासै साथीको तिघ्रामा बेस्मारी बज्रियो । साथी इन्तु न चिन्तु भएर थचक्क बस्यो । नजिकैको साथीले प्रहरीको लाठी खोसेर पर हुत्याइदियो ।        

‘तिमीहरुसँग मान्छेको दया छैन ?’ ऊ करायो 

निकैबेरसम्म त्यहाँ प्रहरीसँगको हाम्रो छिनाझपटी चलिरह्यो । हामीमाथि लाठीहरु प्रहार भए । एकैछिनपछि एकजना साथी उभिँदाउभिँदै डङ्ग्रङ्ग भुइँमा लड्यो । सायद चर्को घामको यातनालाई उसले सहन सकेन र ऊ बेहोस भएर लड्यो । दुईजना साथीहरुले उसलाई बोकेर सियाँलतिर लगे । 

‘पानी ल्याऊ, पानी ल्याऊ ।’ साथीहरु भन्दै थिए ।

केही प्रहरीहरु उनीहरुनिर आए । 

‘अइ जा, पानी ल्याइज ।’ एउटा प्रहरीले अर्कोलाई आदेश ग¥यो । 

‘तिमीहरु लाइनमा जा ।’ उसले साथीहरुलाई फेरि कडा स्वरमा भन्यो । साथीहरुलाई पूर्ववत् उभिइरहेको देखेर ऊ फेरि चिच्यायो– ‘सुन्दैनस् ?’    

त्यो पूरै दिन असह्य यातनाले बित्यो । बेलुकी हामीलाई दुई छुट्टाछुट्टै समूहमा बाँडियो । एउटा समुहमा कृष्ण, दिलीप र म लगायत बाह्र जना थियौं । अँध्यारो खसेपछि हामीलाई हिजोकै त्यो साँघुरो कोठाभित्र पठाइयो । बाँकी साथीहरुलाई कहाँ पठाइए थाहा भएन । एक महिनासम्म त्यो कोठा हाम्रो निम्ति यातनाको कालो कोठा बनिरह्यो । कतैबाट अलिकति बाहिर चियाएर हेर्ने छिद्रसम्म पनि त्यहाँ हामीले पाएनौं । हाम्रो लागि प्रायः अँध्यारोमा खाना ल्याइन्थ्यो । खाना खाइन्जेल सानो टुकी बल्थ्यो । खाना खाइसकेपछि टुकी निभ्थ्यो । 

एकदिन दिउँसो हाम्रो निम्ति त्यो कोठाको ढोका खुल्यो । हामीलाई त्यहाँ त्यसरी एक महिना राखिएपछि हामीलाई अदालत लगिएको थियो । तर आँखामा कालो पट्टी बाँधेर समानताको तराजु बोक्ने न्यायालयको त्यो मूर्तिले हाम्रो शरीरका नीलडामहरुलाई देख्न सक्ने कुरा पनि थिएन । कानुन राजाको, न्याय राजाको र शासनप्रणाली राजाको । हामी यो राज्यमा राजाको विरोधी थियौं । अनि किन सुनुवाइ हुन्थ्यो हाम्रो चीत्कारको ? हामीलाई दुई वर्षको कैद सजाय सुनायो अदालतले । हामीमाथि विप्लवको मुद्वा थियो । शान्ति सुरक्षाको मुद्वा थियो । 

हामीलाई जेल चलान गर्ने अदालतको आदेश थियो र हामीलाई प्रहरीको भ्यानमा राखिएको थियो । तर, अदालत बाहिर एकत्र मान्छेको भीडबाट भने चर्का नाराहरु उठिरहेका थिए । हामी बसेको प्रहरी भ्यान भीडलाई छिचोलेर अघि बढ्यो । भ्यान भीडबाट निकै पर पुगिसक्दा पनि  नारा गुञ्जिरहेका थिए । 

‘झुट्टा मुद्दा – खारेज गर ।’

‘हत्यारा सरकार – मुर्दावाद ।’

‘निर्दोष बन्दी – रिहा गर ।’

पछाडि फर्किएर कृष्ण भन्दै थियो – ‘साथीहरु, हेर्नोस् त क्रान्ति कहिल्यै मर्दैन ।’

हामी सबै एकपल्ट मुस्कुरायौं । र, न्याय र अन्यायको यो कुरुमैदानमा फेरि पनि भेट हुने सङ्कल्प गर्दै हामीले भीडतिर बिदाइका हातहरु हल्लायौं ।

००००

ऊ बोल्दाबोल्दै एकैछिन अडियो । र, उच्छवास लियो । 

क्रान्तिबाबुको अनुहारमा दृढतापूर्ण हाँसो थियो यतिखेर । उसको आँखामा कतै पनि अलिकति विचलन थिएन । क्रान्तिप्रतिको एउटा दृढ विश्वास थियो उसको । र, एउटा बलियो आस्था पनि । जेलभित्रका एकांकीहरुले कहिल्यै पनि उसलाई हतास बनाएन । 

‘ …. र, त्यसपछि काका थुप्रै जेलहरु सरुवा भएँ । र, आज म यहाँ छु तपाईहरुसँग ।,’ उसले भन्यो । एकैछिन ऊ मौन रह्यो । र, फेरि भन्यो, ‘हामीलाई अट्ने जेल पनि भएनन् । प्रशासनले हामीलाई कहिल्यै एउटा जेलमा राख्न चाहेनन् । हामी एउटै जेलमा बस्नु उनीहरुलाई डर हुन्थो ।’

र, ऊ हाँस्यो । 

एकदिन बिहानैदेखि क्रान्तिबाबु देखिएन । बिरामी पनि होइन । ऊ यहाँ खासै बिरामी भएर सुतेको थाहा छैन मलाई । ऊ अबेलासम्म सुत्ने मान्छे होइन । ऊ सुत्ने कोठामा पनि ऊ थिएन । दिउँसोसम्म पनि जेलभित्र उसको उपस्थिति कतै देखिएन । बोली पनि कतै सुनिएन । मेरो मनले उसको अनुपस्थितिमा एकप्रकारको रिक्त अनुभव गरिरह्यो । पछि मात्र थाहा लाग्यो, अघिल्लो रात नै उसलाई जेल सरुवाको लागि यहाँबाट लगिएछ । 

उसको जेल सरुवाको खबरले मेरो मन बोझिलो बन्यो । मध्यरातको उसको जेल सरुवाले मलाई छटपटी खेलाइरह्यो । खै ! किन मेरो मन खुलदुल खुलदुल बनिरह्यो । एउटा अपशकुनजस्तो आज रातिको सपनामा देखेको कालो आकाश मडारिएर मेरो आँखा अघिल्तिर खेलिरह्यो । आजको दिन जस्तो नरमाइलो मलाई कहिले लागेको होइन । साँझ छिट्टै ओछ्यानमा पसेर ढल्किरहें । रेडियोले साँझको समाचार फुक्यो– ‘क्रान्ति नाम गरेको बन्दी हिजो साँझ जेल सरुवा गर्ने क्रममा हिरासत तोडेर भाग्दा प्रहरीको गोली लागि मृत्यु ….. ।’

समाचारले खङ्ग्रयाङग खुङ्गु्रङ्ग पा¥यो मलाई । एउटा बलियो भूकम्पले जेलको म बसेको छत भत्किएर ममाथिबाट मलाई सयौं भारहरुले एकैचोटि तल थिचिइरहेंझै भान भइरह्यो । सास लिन पनि अप्ठ्यारो बनाइरह्यो मलाई । एउटा ऐँठन आएर बस्यो छातीमाथि । औडाहा उठ्यो छातीभित्र । छटपटीहरुले मनलाई अशान्त बनाइरह्यो । मन थिर हुन सकेन । एउटा भक्कानो छातीभित्र उठिरह्यो । कतिखेर आँखाबाट आँसु छुट्यो थाहा भएन । र, अँध्यारोमा एक्लै बर्बराइरहें –

‘क्रान्ति मर्दैन ।’

‘अहँ, क्रान्ति मर्दैन ।’

२०४९

साप्ताहिक मातृभूमि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here