एकदिन यस्तो हुनेछ
एकदिन
तुसारोझैं आकाशबाट बर्षिने छन्
कुरुप झुसिल्कीराहरु
बढ्नेछन्
पृथ्वीमा झुसिल्कीराहरु
र त्यसको प्रकोप
र, मान्छेहरु
लाग्नेछन् झुसिल्कीराहरुजस्तै
र विस्तारै
एकदिन
झुसिल्कीराहरुमा
रुपान्तर हुनेछन् मान्छे
चारैतिर बहनेछ
उष्ण हावा
र झुसिल्कीराहरु धमाधम
मर्न थाल्ने छन्
त्यो दिन
हिमालबाट हिउँ रित्तिएको हुने छ
एकदिन
फेरि एउटा बिहान उदाउने छ
खुल्नेछ न्यानो आकाश
र फैलिरहेको हुनेछ
घामको पहेँलो किरण
र बाँकी रहेका झुसिल्कीराहरु
सुन्दर मानिसहरुमा
फेरिने छन्
त्यो दिन
हिमालयमा फेरि सेता हिउँ देखिन थाल्नेछ
पैयुँ फुल्न थाल्नेछन् ।
जनमत
२०७६ माघ