आदिम ओढार

WhatsApp Image 2026 08 15 at 5.24.53 PM

भर्खरै
एउटा उज्यालो प्रवाहित भयो
अँध्यारो गुफाभित्र

शताब्दीऔं पुरानो हो गुफा
प्राचीन ओढार

हिंसाका आँखाहरु खेलाइरहेका छन् विषालु सर्पहरु
उज्यालोलाई झम्टिरहेछन् स्तनधारी चमेरो
र विचित्र भावले
एकोहोरो हेरिरहेका छन्
वीभत्स काला माकुरा

भूगोल
र इतिहासका अनुसन्धाताहरु
तल्लीन छन्
कुनै नयाँ खोजको

नजिकै
कतै कुलकुलाउँदै गरेको आवाज
यो कुनै दलदल हो आदिम पोखरीको
जहाँबाट आलो तातो बाफ
उडिरहेछ रगतको

केहीपर देखिन्छ भग्नावशेष
दुईसय पचास वर्षअघिको यो कुनै
भव्य शाहकालीन दरबार हो
र यी असङ्ख्य
छरिएर रहेका कङ्काल
भर्खरै हत्या गरिएका एक्काइसौं शताब्दीका
मानव जिवाशेषहरु हुन्

भूगर्भविद्
र इतिहासका अन्वेषकहरु
क्रमशः नोट गरिरहेका छन्
निजी डायरीमा
‘एउटा आदिम क्रूर ओढार हो
यो मुलुक ।’

मधुपर्क, भदौ २०७६

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these