आज आइतबार ।
हाट लाग्ने दिन । आइतबारे हटियाको मेला । सडकका दुवै किनारालाई ढाकेर सामानहरु बेच्न राखिएका छन् । हटारूहरुको भीड छ । लाउड स्पिकरहरुबाट बजिरहेका चर्का गीतहरुका ध्वनिले मेलाको कोलाहल र व्यस्ततालाई अरु बढाएको छ । कतै पिङ छ । पिङ खेल्नेहरुको होहल्ला छ । कतै मद्रासेहरुको चटकी छ । चटकी हेर्नेहरुको एकत्र भिड छ । कतै स्थानीय युवा क्लवहरुले आयोजना गरेका खेलकुद प्रतियोगिताहरु छन् । कतै बाँसका टाँड बनाएर बेच्न राखिएका सामानहरुका व्यवस्थित पसलहरु छन् । दशैंको आगमनसँगै विराटनगरको एउटा देहात बस्तीको यो हाटले देहातको पूरै वातावरणलाई रौनकताले भरिदिएको थियो ।
मेरो लागि त्यो देहात बस्ती नौलो थियो । एउटा नयाँ ठाउँ, नयाँ भूगोल र नयाँ वातावरणमा मैले देहात बस्तीको त्यो हाटको एउटा नौलो परम्परालाई पहिलोपटक अनुभूति गर्दै थिएँ । म हाटको त्यो रमाइलोसँगै हराइरहेको थिएँ र त्यो घुइँचोले जता धकेल्थ्यो म उतै धकेलिँदै थिएँ । मनमा एक किसिमको आनन्दानुभूति थियो । फिरन्ता भएर हिँड्नुको एउटा बेग्लै मज्जा चैं यै । अझ जागिरे फिरन्ता । बस्, के चाहियो ! यात्रा नै जीवन । केही समय यहाँ, केही समय त्यहाँ । दरबन्दी र सरुवा पत्र बोकेर अवकास नभएसम्म जागिरको वर्ष र आफ्नो उमेर गन्दैमा ठिक्कै !
भिडले एक ठाउँमा लगेर मलाई किनारा लगाइदियो । उभिएँ एकैछिन र पर परसम्म सल्बलाइरहेका हटारूका चहलपहललाई नियालिरहें । सबैका आँखाहरु मस्त छन् । सबैका मनहरु निस्फिक्री छन् । सबैले गच्छेले भ्याएजतिका सामानहरु किनेका छन् । कोही आउँदै छन् । कोही फर्किरहेका छन् ।
‘दाजु !’
नजिकैबाट एउटा मसिनो नारी स्वर भिडको त्यो कोलाहललाई चिर्दै मेरो कानमा आएर ठोक्कियो । र, हरायो ।
‘रञ्जन दाजु !’
उही स्वर फेरि दोहोरिएर मेरो कानसम्म आइपुग्यो । म एकैछिन अल्मलिएँ यसपटक । कसैले मेरो नाम काढेरै मलाई बोलाइरहेको थियो सायद । मेरा अल्मलिएका आँखाले भिडमा त्यो स्वरलाई पछ्याए । अलिपर काखमा बच्चा बोकेकी एउटी महिला ओँठमा मुसुमुसु हाँसो लुकाउँदै मलाई नै हेर्दै थिई । ती महिला सामान्य भूषामा थिई । जिउमा कुनै सजधज थिएन । आँखामा गहिरो उदासी थियो । खासै परिचित जस्तो नदेखिने ती महिलाको ओँठमा लुकिरहेको हाँसो भने आत्मियपूर्ण देखिन्थ्यो ! एउटा असामञ्जस्यतामा मैले उसलाई एकटकले नियालिरहेँ ।
‘दाजुले मलाई चिन्नु भएन ?’ ऊ अहिले मेरो नजिकै थिई । ऊ जति आत्मविश्वासले मलाई त्यो प्रश्न गर्दै थिई, म त्यत्तिकै अकर्मण्यमा उसलाई हेरेर अल्मलिरहेको थिएँ ।
‘दाजु, म शीला ।’ ऊ मलाई भन्दै थिई ।
अल्मलिएँ ।
म अल्मलिएको देखेर ऊ मलाई पुनः सोध्दै थिई, ‘तपाईं रञ्जन दाजु होइन !’
सायद ऊ मेरो नामसँग सजिलै परिचित थिई ।
‘हो ।’ मैले भनें ।
मैले उसको आँखामा नियालें । म ‘रञ्जन’ नै हुँ भन्ने उसको आँखामा देखिएको दृढ विश्वास र निश्चयको भाव उस्तै बलियो थियो । यस्तो लाग्थ्यो मलाई चिन्नमा ऊ अलिकति पनि कतै भ्रममा छैन । ऊ आफ्नो आँखासँग पूर्ण विश्वस्त थिई ।
‘तर मैले तपाईंलाई चिनिनँ,’ मैले आफ्नो अन्यौलता व्यक्त गरें ।
मेरो यो जवाफले उसलाई अव्यक्त बनायो । उसले सायद मेरो यस्तो खालको जवाफको आशा गरेकी थिइन । यो अनपेक्षित जवाफले यसपटक ऊ अलिकति मुर्झाई र बोली, ‘दाजु, शीलालाई पनि चिन्नु हुन्न ?’
‘को शीला !’ सोधें उसलाई ।
‘काठमाण्डौंको शीला क्या ..। उही तपाईंहरुसँगै म्हैपीमा बस्ने ।’ उसले स्मृतिको एउटा पाटोलाई फुकाई ।
‘शीला !’ मेरो मुखबाट अनायासै निस्क्यो ।
‘तिमी शीला हौ !’ मेरो निधार र आँखा आश्चर्यले एकैचोटि खुम्चिए ।
‘तिमी मालाकी बहिनी हौ ?’ म अझै एउटा विष्मयले उसलाई हेरिरहेको थिएँ ।
‘ह …जुर । म मालाकी बहिनी हुँ, शीला ।’ उसले संकोचले अलिकति लेघ्रो तानेर मसँग जिस्किई र छेवैमा आएर मेरो हातमा चिमोटिदिई ।
‘आत्था …. !.,’ पीडाले चिच्याएँ ।
मलाई हेरेर ऊ मलिन हाँसो हाँसी । तर यतिबेला उसको आँखामा पहिलेझैं त्यो चञ्चलता थिएन । उसको हाँसोमा पहिलेझै त्यो उन्मुक्तता थिएन ।
‘अब त मलाई चिन्नु भयो ?’ मलाई हेरेर फेरि ऊ मुस्कुराई ।
‘तिम्रो यो बानी चैं उस्तै रैछ । छुटेको रै’नछ ।’ मैले उसलाई भनें
हामी दुवै हाँस्यौं एकसाथ ।
‘कसरी चिन्यौ मलाई ?’ सोधें
‘मैले कहिले तपाईंलाई बिर्सिएकी छु र ?’ उसले जवाफ दिई । उसको यो जवाफले फेरि एकसाथ हाँस्यौँ दुवै ।
अघिसम्मको द्विविधाबाट हटेर अब हामी दुवैजना खुलेर एकअर्कासँग कुरा गरिरहेका थियौं । वषौंपछि ऊसँगको त्यो अप्रत्यासित र आश्चर्यजनक भेटले मलाई खुसी बनाएको थियो । ऊ झनै खुसीले पुलकित थिई । उसको अनुहारमा खुसी उर्वर बनिरहेको थियो ।
‘अनि दाजु सञ्चै हुनुहुन्छ ?’
‘सञ्चै । अनि तिमी चैं यहाँ कसरी नि ?’
‘अनि मेरो त घरै यहीं नि दाजु ।’
‘हुँ !’ मैले फेरि एउटा आश्चर्यले उसको आँखामा हेरिरहें ।
ऊ बोलिन । हाँसिरही ।
‘अनि तिमीले त धरानतिर बिहा गरेकी छौ पो भन्ने सुन्या थें त । हामीलाई बिहा खान पनि बोलाएनौ । बच्चा पनि त भएछ तिम्रो । कति छन् नि नानीहरु ? अनि श्रीमान् कहाँ छन् ? सँगै होलान् नि ? मसँग भेटाउँदिनौ ?’ म एउटा उत्सुकताले एकैचोटि ऊसँग यतिधेरै प्रश्नहरु सोधिरहेको थिएँ ।
तर मेरा प्रश्नहरुले एक्कासि उसको अनुहारमा आएको परिवर्तनलाई मैले महसुस गरें । ऊ गम्भीर देखिई । उसको आँखामा अघिको त्यो खुसी थिएन । एकोहोरो पर्तिर हेरिरही । मलिन थिई । एउटा असामञ्जस्यतामा मैले उसलाई हेरिरहें । त्यो कोलाहलमा पनि अहिले हामी दुई बीच एउटा एकान्त थियो, शून्यता थियो । उसको त्यो मौनताले मलाई पनि मौन बनायो ।
‘हैन, यहीँ उभिरहने !’ ऊ एकाग्रबाट फर्किई र मलाई भनी, ‘जाऊँ, हिँड्नुस् न दाजु घर ।’
मैले स्वीकृतिपूर्वक आफ्नो मुण्टो हल्लाएँ । र, उसलाई पछ्याएँ । उसको अनुहारमा देखिएको त्यो मलिनताले मलाई बाटोभरि अनेक प्रश्नहरुले लखेटिरह्यो ।
एकैछिनको हिँडाइपछि हामी एउटा घरको आँगनमा थियौं । किराना सामानहरुको एउटा सानो पसल थियो । पसलमा एउटी बुढी आमै थिइन् । शरीरमा बुढेसकालको अशक्तपन थियो । दमको रोगी थिइन् सायद । सास फेर्दा पनि असहज किसिमले आमैको छातीमा बल परिरहेको देखिन्थ्यो ।
‘मेरो सासूआमा हुनुहुन्छ ।’ शीलाले आमैसँग परिचय गराई ।
मैले आमालाई नमस्कार गरें ।
‘मेरो माइतको दाजु हुनुहुन्छ ।’ शीलाले अलि चर्को स्वरमा आमालाई मेरो परिचय दिई ।
‘दाजु बस्दै गर्नुस् है,’ भनेर शीलाले नजिकैको कुर्सी तानेर मलाई दिई र भान्साकोठाभित्र पसी । एक गिलास पानी ल्याएर मेरो हातमा दिई र फेरि भान्सामा लागी । शीला भान्सामा रहँदारहँदै आमासँग घरपरिवारको कुरा भयो । आमासँगको कुराकानीमा थाहा भयो– शीलाको लोग्ने भारतीय सेनामा जागिरे थिए । भारत पाकिस्तानको कार्गिल युद्धमा शीलाको लोग्नेले ज्यान गुमाए । काखको नानी भर्खरै जन्मिएको थियो । धरानमा उनीहरुको पुस्तैनी जमिन उति थिएन । लोग्नेको मृत्युपछि जीविकोपार्जनको अरु बाटो नभएपछि यही देहातमा रहेको केही कठ्ठा जमिनमा खेती गरेर बस्न पाँच वर्षअघि उनीहरु धरानबाट यो देहात बस्तीमा झरेका रैछन् ।
‘के गर्नु बाबु, एउटा छोरो थ्यो त्यै पनि अर्कैको युद्धले लग्यो । उमेरमै यो बुहारी विधुवा भई । छोरी भने पनि, बुहारी भने पनि अहिले यै एउटा सहारा छ । त्यसको आँखाको एक्लोपनले मलाई लखेटिरहन्छ । उमेर छ, बिहा गर् न त भन्दा नि मान्दिन । म बूढीलाई रोगले थला पारेको छ । कतिन्जेललाई पो होला र यो सास ! म बूढीको स्याहारमा त्यो बसेकी छे । साह्रै सकस छ त्यसलाई ।’ मेरो सामु ती दयालु आमाका भावनाहरु पोखिए ।
शीलाको आँखामा देखिएको त्यो उदासी, उसको अनुहारमा टाँसिएर बसेको त्यो गाम्भीर्य, उसको उत्साहहीन त्यो हाँसो र उसको त्यो एकांकीपन; यी सबै यथार्थ अहिले मेरो सामु छर्लङ्ग थियो । ऊप्रतिको सम्मान, करुणा र प्रेमले मलाई नतमस्तक बनायो । ऊसँगको एउटा विगत मेरो आँखामा आएर बस्यो । उसको त्यो चञ्चलता फेरि मेरो सामुन्ने आएर खेल्यो ।
०००
काठमाडौंको म्हैपीमा रहेको एउटा घर जहाँ क्याम्पस पढ्नका लागि हामी डेरा गरेर बस्थ्यौं । हामी बसेको कोठाको अघिल्लो दुई कोठामा एकजना गुरुङ दम्पती र उनका दुई केटाकेटीहरु थिए । दुई तले घरको त्यो जमिन तल्ला हामी दुई डेरावाल बसेको पहिलो फ्ल्याट थियो । माला दिदी थिई । क्याम्पस पढ्थी । शीला बहिनी थिई, भर्खरै आठ कक्षा पढ्दै थिई । निकै हठी र चञ्चल थिई । बिठ्याइँ गरिरहन्थी । उसका बाउआमा सधैं उसलाई कराइरहेका हुन्थे । हामी बसेको कोठामा आएर छ्यासछुस चलिरहन्थी । बाउआमाले गाली गरेपछि कहिलेकाहीँ ऊ किताब बोकेर हाम्रो कोठामा पस्थी ।
‘दाइहरुलाई फेरि डिस्टर्व गर्न गइस् त्यहाँ !’ बाउआमा उताबाट कराउँथे ।
‘म म्याथ सिक्न आको ।’ झट्ट बहाना बनाउँथी र ऊ हामीतिर हेरेर मुसुक्क हाँस्थी । उसलाई हेरर हामी हाँस्थ्यौं । उसलाई मन नपर्ने, नमिल्ने कुराहरुले ऊ हामीसँग रिसाउँथी र चिमोटेर हिँड्थी । उसका यस्ता हठ र हर्कत हामीलाई रमाइलो लाग्थ्यो ।
एकदिन ऊ हतारिएर काठाभित्र पसी ।
‘दाजु, दाजु !’
‘किन ? के भयो ?’
‘तपाईं पोयम लेख्नुहुन्छ हो ?’
‘कसले भन्यो तिमीलाई !’
‘माला दिदीले ।’
केही बोलिनँ । उसलाई हेरिरहें मात्र । ऊ पनि एकछिन चुपचाप बसी ।
‘दाजु मलाई एउटा पोयम लेखिदिनुस् न । मेरो स्कुलमा पोयम कन्टेस्ट छ ।’
‘पोयम नि अर्काले लेखिदिन्छन् त !’
‘अनि मलाई लेख्न आउँदैन !’
‘म सिकाउँछु नि । अनि तिमी आफै लेख्न सक्छौं ।’
‘साँच्चै हो दाजु !’ ऊ खुसीले उफ्रिई ।
त्यसपछि मैले उसको हातमा एउटा कपी र कलम दिएँ र उसलाई घरको छतमा लिएर गएँ । घाम अस्ताइरहेको निकै सुन्दर दृश्य थियो । नागार्जुनको अग्लो डाँडामाथि निकै आकर्षणपूर्ण सूर्यको रातो गोलाकार चित्र देखिन्थ्यो ।
‘शीला, ऊ त्यो पर डुब्न लागेको घामलाई देख्यौ ?’
‘अँ … !’ उसले निकै उत्सुकतापूर्वक जवाफ दिई ।
‘तिमीले नि केहीबेर त्यो घामलाई हेरि राख्नुपर्छ है । त्यो घामलाई हेरेर तिम्रो मनमा जे विचार आउँछ तिमीले त्यसलाई आफ्नो कपीमा लेखिहाल्नू । तिमीले तिम्रो मनबाट जे लेख्छौ नि, त्यही तिम्रो कविता हो ।’ मैले उसलाई भावनामा लाने कोसिस गरें । उसले ती सबै दृश्यहरुलाई केहीबेर चुपचाप नियालिरही र एक्कासि खित्का छाडेर हाँसी । त्यो वातावरणमा पोखिएको उसको त्यो उन्मुक्त हाँसो मेरो मानसमा चित्रमय बनेर बस्यो र मलाई रोमाञ्चित बनाइरह्यो ।
‘किन हाँस्यौ ?’ उसले हाँस्न छाडेपछि मैले सोधें ।
‘अनि मैले केही त देखिनँ !’ उसको ओँठमा अझै हाँसो थियो ।
हाँसोले उसको गाला रात्तिएको थियो ।
घाम ओर्लिएपछि हामी फेरि कोठामा फक्र्यौ । कोठामा फर्किएपछि उसको हठ सुरू भयो, ‘दाजु मलाई एउटा पोयम लेखिदिनुस् न !’ तर मैले उसका लागि कविता लेखिनँ र भनें, ‘तिमी आफैले लेख्नु आफ्ना लागि कविता ।’
ऊ रिसाई र मलाई बेस्मारी चिमोटेर हिँडी ।
केही समयपछि हामीले त्यो डेरा छाड्यौं ।
‘दाजु हामीलाई नबिर्सनुुस् है !’ हामीले त्यो गुरुङ परिवारसँग बिदा मागेर हिँड्दै गर्दा शीलाले भनेकी थिई । एकदिन कतैबाट मेरो कानमा एउटा खबर प¥यो, ‘शीलाको विवाह कुनै लाहुरेसँग भयो रे, धरान घर भएको ।’ त्यो खबर फेरि सामान्य भएर मेरो सम्झनाबाट हरायो ।
०००
‘दाजु !’ शीलाको आवाजले अनायासै झस्काइदियो ।
हातमा खानेकुराको प्लेट बोकेर ऊ मेरो अघि उभिएकी थिई । उसले एउटा सानो टेबललाई मेरो अघि राखिदिई र त्यसमाथि खाजाको प्लेट । मैले आफ्नो अभिभावकत्वले उसलाई हेरिरहें । उसले आफ्नो आँखाको उदासिनतालाई खुसीले छोप्ने प्रयत्न गर्दै मेरा आँखाबाट आफूलाई लुकाउन खोज्दै थिई ।
‘दाजु के सोच्दै हुनुहुन्थ्यो !’
‘यही कि तिमी कति धेरै फेरिइसकिछ्यौ !’
शीलाको घर परिवारको सम्बन्धमा शीलाकी सासूआमाले बताएका कुराहरुले मलाई अझै पनि तरङ्ति बनाउदै थियो । म शीलाको भावनामा चोट पुग्ने गरी कुनै पनि सहानुभूतिका शब्दहरु ऊसँग गर्न चाहन्नथँे ।
‘बोर लाग्दै होला हगि तपाईंलाई यहाँ !’
‘किन ? धेरैबेर नबसिदेओस् भन्ने लाग्दैछ र तिमीलाई !’ म आफ्ना कुराहरुलाई सकेसम्म रसिक बनाउन चाहन्थें ताकि उसको अनुहारमा कुनै कुराहरुले गाम्भीर्यता नआवस् ।
‘यो छेडछाडको स्वभाव नि अझै छ हगि तपाईंमा !’
‘सिकाएकी त तिमीले नै हौ नि !’
ऊ हाँसी अलिकति । उसको हाँसोमा मैले अलिकति आफ्नो हाँसो मिलाएँ ।
‘अनि दाजु यहाँ कसरी नि ?’
‘अफिसको काममा आएको थिएँ । एक दुई दिनमा फर्किन्छु ।’
मेरो फर्किने कुराले फेरि ऊ अलिकति न्यास्रिन्छ । म सोच्दैछु, सायद मेरो यो उपस्थिति शीलाको लागि अलिकति खुसी हो । अलिकति उज्यालो हो । अलिकति उत्साह हो । यो केही क्षण जसरी उसले आफूलाई बिर्सिएर हाँसेकी छ, म फर्किएपछि जीवनको यो उदास क्षणहरुलाई उसले फेरि एक्लै सामना गर्नु पर्नेछ । फेरि उसका एकांकीपनहरु उसै गरी सुरु हुनेछन् ।
‘दाजु, मान्छेको जीवन पनि हावा लागेको पातजस्तै नि ! हावाले झैं परिस्थितिले नि मान्छेलाई कहिले यता पु¥याउँछ, कहिले उता पु¥याउँछ । यो परिस्थितिबाट मान्छे कहिले मुक्त हुने होला !’ उसको स्वरमा विरक्तिका छायाँहरु थिए ।
‘ए ! ए !! तिमी कहिलेदेखि यति मिठो शायर बन्यौ ! काठमाडौंमा त मलाई कविता लेखिदिनका लागि हैरान गथ्र्यौ त !’ मैले ऊसँग ठट्टा गरें ।
तर यसपटक ऊ फिस्स पनि हाँसिन ।
‘अनि शीला, काठमाडौंमा बाआमा कहाँ गएकी छैनौ ?’ मैले विषयान्तर गरें ।
उसले कुनै प्रतिक्रिया दिइन । मैले चुपचाप उसलाई नियालिरहें । ऊ अव्यक्त बनेर कतै टोल्हाउँदै थिई । घाम निकै पर सरिसकेको थियो । मलाई अफिस फर्कनु त थियो नै ।
‘शीला, मैले अब हिँड्नु पर्छ ।’
उसले एकछिन चुपचाप मलाई हेरिरही र स्वीकृतिमा मुन्टो हल्लाई ।
उसलाई हात हल्लाएर म तल आँगनमा ओर्लिएँ । शीला उदास स्वरले मलाई भन्दै थिई, ‘दाजु, कहिलेकाहीँ आउन नबिर्सनू नि ल !’
म आँगनलाई पार गरेर अलि पर सडकमा निस्कें र शीलाको आँखाबाट ओझेलिएँ । हाट उठिसकेको थियो । सडकमा हाट सकेर हिँड्नेहरुको थकित पदचापहरुको आवाज थियो । म मनभित्र शीलाको अनुपस्थितिको खालीपन बोकेर सडकमा फटाफट हिँडिरहें । आँखामा शीलाको उदास मुद्राले भरिएका तस्बिरहरु खेलिरहे ।
चित्र सौजन्यः रितिका श्रेष्ठ
शौर्य दैनिक