0

दोसाँध

Share

कहिलेकाहीँ रोगले साह्रै च्यापेपछि निद्रा पर्दैन । नत्र त रोगको सामान्य दुखाइ सहेरै निदाउनु आदत बनिसकेको छ । जीवनमा पाउनु र गुमाउनुसँग कुनै मोह नरहेपछि मन सबै वस्तुसँग बेफिक्री बन्दोरै’छ । कतिपय सपनाले ल्याउने खुसीहरु हुन्छन् । कतिपय सपनाले ल्याउने दुःखहरु हुन्छन् । आँखामा सपना नै नरहे त्यसले न खुसी बोकेर ल्याउँछ न दुःख बोकेर ल्याउँछ । सुख त क्षणभरलाई हो । मनबाट उठेर ओँठको हाँसो बन्न आइनपुग्दै सुख त हराइ जान्छ, कताकता । सुख आफ्नो हुन्न भने बिनसित्तै दुःखलाई समातेर आफू किन दुखी बनिरहनु र ! बहकिनलाई पनि त आँखामा सपना हुनुपर्दो रै’छ । खुसी हुन वा दुखी हुनका लागि पनि सपनाको बहानाबाजी त चाहिँदो रै’छ । सपना नै नरहे जीवनसँगको मोह पो के ?

आँखामा सपना नरहेपछि दुनियाँमा कोही आफ्नो रहन्न ।

हिजो रातिदेखिको चर्को छाती दुखाइ आज बिहान अबेरसम्म रह्यो । रातभरि निदाउन सकेकी होइन । लाग्छ एड्सका असङ्ख्य कीराहरुले मेरो फोक्सोलाई बेस्मारी कोपरिरहेछ र एउटा जिउँदो मान्छेको मासुको आलो स्वादको आह्लाद लिइरहेछन् । मलाई थाहा छ मभित्र एड्सका किटाणुहरुले बोकेर ल्याएको एउटा भयानक ज्यानमारा रोग हुर्किरहेको छ र यो रोगमाथि औषधि पनि दिनदिनै प्रभावहीन बन्दै गइरहेको छ । यस्तो लाग्छ अब त मेरो शरीरमा रगत होइन सयकडौं कीराहरु सल्बलाउँदै बगिरहेछन् र त्यसले वर्षेनि मेरा अङ्गहरुलाई छिद्र बनाउँदै छ । औषधि नै किराहरुका लागि गुड बनिसकेपछि औषधिले जीवन बाँचुला भन्ने भ्रम बोकेर आफैलाई कतिन्जेल छक्याइरहन सकिन्छ र ! जति मोह, उति दुःख टाँसिएरै आउँछ । त्यसैले दुःखलाई पनि स्वाभाविक बनाउन सकेकी छु आजकल । फेरि पनि कहिलेकाहीँ त भुतुक्क हुने गरी दुखाइले अँठ्याउँछ । एकछिन मुर्छा पार्छ । एकनासको खोकी चल्छ र हुलुक्क एकमुठी रगत बान्ता हुन्जेलसम्म मृत्युले फेरि एकबाजि हुँडलेर जान्छ । बरु एकैचोटि हिरिक्क पार्नु नि ! त्यो नि हुन्न ।

अबेरसम्म ओछ्यानमै छु । अनिदोले आँखा राम्ररी खुल्न सकेको छैन । ओछ्यानलाई छाडेर बाहिर जाऊँ, मन लाग्दैन । राति हावाहुरी पनि कस्तरी चलेको ! हावाहुरीसँगै सुरु भएको पानीको मुसलधारा । लोडसेडिङको अँध्यारो । अलिकति कतै क्यै हुनुहुन्न, प्राधिकरणले बत्तीको लाइन काटिहाल्छ । केही न केही निहुँ चाहिन्छ, सुरु हुन्छ प्राधिकरणको लोडसेडिङ र सहरको अँध्यारो । सबैतिर अन्नाधुन्न । अँध्यारोमा गुहार्दै कसकहाँ हिँड्नु । एकरातको कुरा होइन । सधैं साध्य चल्दैन । पानीमा डुब्दै गरेको नाउलाई पनि किनारा लगाउन हिम्मतले बहना चलाउनै पर्छ । जब नाउले आफ्नो ठाउँ सर्दैन र बहनाले पनि काम गर्न छोड्छ, तब नजिकैबाट आफ्नो मृत्युको आफैलाई साक्ष्य बनाएर हेरिरहनु बाहेक अरु केही गर्न सकिँदैन । जसरी गहिरोसँग काटेको घाउले दुख्दैन त्यसगरी नजिकै आएको मृत्युले भय उत्पन्न गर्दैन ।

अझै घरभित्र बत्ती छैन । बिहानै कोठाको गर्मी बढेको छ । झ्यालबाट बाहिर हेर्छु, रापिलो घाम आँखाको डिलको परेलामाथि आएर बस्छ । बिहानैको यो घाम पनि कति उखरमाउलो । रातिको पानीले नि चिसो ल्याउन सकेको होइन । यो सुविधाले पनि मान्छेको आदत बिगारेको छ । अलिकति असुविधा आउनु हुन्न, छटपटी बढ्छ । अत्तालिन्छ मन ।

रातभरिको हावाहुरी र असिनापानीले सडक छेउछाउका रुखका पात र हाँगाहरुलाई लछारेर सडकभरि अलपत्र छरिदिएको छ । यो त बाहिरको प्रकृतिको कुरा भयो । देखिने कुरा । तर नदेखिनेगरी रोगले लछारेर आफ्नै जीवनसँग टुट्दै आइरहेकी म वर्षौदेखि यसरी नै आफैसँग छरपस्ट छरिँदै आइरहेकी छु । मलाई थाहा छ भोलि बिहान पाउलिँदै गरेका ती रुखका हाँगाहरुझै त्यहाँ मेरा खुसीहरु भने पाउलिन्न । मलाई यो पनि थाहा छ कुनै बिहानले अब मेरा लागि कुनै उज्यालो बोकेर ल्याउन्न । न कुनै साँझले त्यहाँ मेरा लागि अँध्यारो बोकेर ल्याउँछ ।

अब कुनै गुनासो बाँकी छैन जिन्दगीसँग । न जित्नका लागि कुनै दौड छ न कुनै पराजयका लागि प्रायश्चित । मृत्यु जीवनको गन्तव्य हो भने यो जीवन पनि दोषरहित त हुँदै होइन । यो दुनियाँ कमजोर मान्छेहरुका लागि होइन । फेरि पनि मान्छे जति कमजोर दुनियाँमा अरु कोही छैन ।

दोषरहित त ऊ पनि थिएन । तर एउटी स्वास्नीमान्छे हुनुको नियति र अझ उसकी स्वास्नी हुनुको भागीदारी मैले पनि हुनु थियो । त्यो मुक्त आकाश कतिखेर मेरो लागि जेल बन्यो र उसको आलिङ्गन मेरा लागि जेलभित्रका फलामका बारहरु, पत्तै भएन । उडिहिँड्न पनि उमेर चाहिँदो रैछ । बैँसालु रहरहरु मभित्र पनि थिए । रहरले घरी पाइतालाहरुलाई उचाल्थ्यो । रहरले घरी छातीभित्र काउकुति ल्याउँथ्यो । रहरले घरी गालामा लाली खेल्थ्यो । यही रहरहरुको मसिना धागाहरुको इन्द्रणी रङहरुसँगै उसले एकदिन मेरो जीवनमा प्रवेश गरेको थियो । तर, के थाहा यही इन्द्रेणी रङहरुले क्षणभरलाई मेरा आँखामा खुसी ल्याउने छ र हराएर जानेछ ।

मलाई सधैं प्रिय लाग्ने उसको आलिङ्गनको त्यो तातोले एकदिन मलाई नै यस्तरी डढाएर जाने छ मैले कल्पनै गरिनँ ।

‘तिमीलाई सधैं यसरी बाँधेर राख्छु ।’ ऊ भन्थ्यो

‘भो धेरै चेपारो नपार्नुस् ।’ म उसँग जिस्किएरै आफूलाई अरु बढी उसको छातीमा टाँसिदिन्थें ।

काउकुति खेल्थ्यो छातीभरि । सपना उम्रन्थे आँखामा । मादकता पोख्थ्यो भित्ताको रातो गुलुब । सर्माएर बहन्थ्यो हावा । तर आज यही कोठा, यही हावा किन यति रिक्त छ । किन लाग्दैन आफ्नो ! र, घरीघरी बिझाइरहन्छ वर्तमानलाई । किन सम्झन्न भन्दाभन्दै पनि उसका यादहरुको एउटा ऐँठन आएर बस्छ सिरानीमा ? बल्झाइरहन्छ अतित !

‘तिमीलाई ईश्वरले बनाएको पनि मेरै लागि ।’ ऊ प्रेमिल बन्थ्यो

‘तिमीलाई सधैं सुखमा राख्छु । दुःख दिन्न, कहिल्यै ।’ भन्थ्यो

‘उस् । हेरौँला ।’ जिस्कन्थें म

‘बाचा भो ।’ ऊ अरु रोमान्टिक देखिन्थ्यो ।

‘कतिन्जेललाई पो हो ।’ म कटाक्ष गर्थें ।

वर्षौदेखि उसको साथमा रहेर पनि खै ! कहाँनिर ग्याप रह्यो मैले उसलाई बुझ्नका लागि । मेरो विश्वाससँग कसरी खेल्न सक्यो ऊ ? उसको प्रत्येक श्वासको गतिसँग परिचित छु । उसको शरीरका अङ्गहरुबाट आउने गन्धबाट परिचित छु । उसको स्वभाव, उसको रुचि, उसको बानीब्यहोरा । उसँग जोडिएका हरेक सम्बन्धहरुसँग एउटी स्वास्नी हुनुको मेरो परायणता कहीँ न कहीँ ऊप्रति जोडिइरह्यो । ऊ मेरो आसक्ति थियो । मेरो अनुराग थियो । मेरो प्रेम थियो । तर, कहाँनिर ऊसँग म झुक्किएँ । कहाँनिर कमजोर रहें म उसलाई परख्न ।

सहरको राम्रै कम्पनीको जागिर थियो उसको । मार्केट हेर्ने काम गथ्र्यो । हप्तापन्ध्र दिन बिराएर घर आउँथ्यो । व्यापारको काम । धेरै समय घर बाहिरै रहन्थ्यो । विवाह गरेको यतिका वर्ष बिते । कहिल्यै उसले मलाई दिने मायामा कुनै कमी रहेन । दुई छोरीहरु हुर्किएर स्कुल हिँड्न थालिसके । घरभित्र लोग्नेका गुनासाहरु कहिल्यै सुनिएन । जोरी पारीहरु भन्ने गर्थे, ‘लोग्ने र स्वास्नी भनेका त अँगेनाका दाउरा हुन् । दाउरालाई ठाकठुक नपारी चुल्हो बल्दैन । लोग्ने, स्वास्नी ठाकठुक नपरी घर चल्दैन ।’ के भनेका हुन् यस्तो भन्ने लाग्थ्यो । एक मन ‘कहिलेकाहीँ त लोग्ने घरभित्र पस्दा नि रिसाएरै पस्नु नि । कस्तो हुन्छ लोग्नेको रिसले भरिएका आँखाहरु भन्नेझैं पनि लाग्थ्यो । अर्को मन सोच्थें, ‘व्यापारको कामबाट थाकेको लोग्नेको अनुहारमा देखिने त्यो उज्यालो खुसीको सट्टामा त्यो आवेगपूर्ण रिसको कल्पना पो मैले व्यर्थमा किन गरेँ हुँला । भो यस्तो अनर्थ कहिल्यै सोच्न नि नपरोस् ।’

अहिले सोच्छु, ‘बरु मै पो किन रिसाइनँ होला आफ्नै लोग्नेसँग ? किन उठ्न सकेन लोग्नेको त्यो शान्त अनुहारसँग मेरो मनमा रिस ? कहिल्यै किन उसँग मेरो आक्रोश उठेन ? किन मैले कहिल्यै लोग्नेमाथि शङ्का गरिनँ ? सधैं मेरो अघिल्तिर शान्तपूर्वक मुस्कुराइरहेको लोग्नेको अनुहारको खुसीको त्यो जलपलाई मैले पहिल्यै किन चिन्न सकिनँ ? किन मैले च्यातचुत पारेर उसको अनुहारभित्र लुकेको पाखण्डलाई उसकै सामु उदाङ्गो बनाइनँ ? उसको त्यो सधैं हाँसिरहने अनुहारले मलाई कसरी शीतलता दिन्थ्यो ? तर, त्यही अनुहारभित्र कति ठूलो अपराध लुकिरहेको छ भन्ने भेउ मैले किन कहिल्यै पाउन सकिनँ ? त्यस्तो भएको भए सायद आज यो दुर्घट्नालाई भोग्नु पर्ने थिएन । छेपारोलेझैं रङ बदलेर उसले मलाई कसरी धोका दिन सक्यो होला ! मैले बढी नै विश्वास गरें उसलाई । सायद चाहिनेभन्दा बढी नै । त्यसैले यी सब दुःख झेल्दैछु । आखिर दुःख झेल्ने त एक्लैले न हो ।

एकदिन ऊ घर आयो र बेस्मारी बिमारीले थलियो । ज्वरो र खोकीले अलिकति पनि छाडेन । यसअघि यस्तरी बिमारीले उसलाई सुताएको कहिल्यै थिएन । सामान्य रुघाखोकीको ज्वरो होला भन्ने सोच्यौं । तर कम भएन । औषधिले छोएन । नजिकैको क्लिनिकमा देखाएर औषधि खाँदै थियो । ज्वरोले झनै च्याप्दै लगेपछि क्लिनिकले पनि अस्पताल पठाइदियो । सबै जाँच भयो– रगतको, पिसाबको, खकारको । सबै जाँचको रिपोर्ट आएपछि ऊ एक्लैलाई कोठाभित्र राखेर के के हो सोधिरह्यो डाक्टरले । म बाहिर थिएँ । एकछिनमै मलाई पनि भित्र बोलाइयो । एउटी नर्स मेरो छेउमै आइन् र निकै सावधानीले मेरो रगत जाँचको लागि हातको नशाबाट सिरिञ्जले रगत लिइन् । कोठाको वातावरण निकै असामञ्जस्य थियो ।

निकैबेरको मौनतालाई तोडेर डाक्टरले भने, ‘तपाईंको श्रीमान्को रगतको परीक्षणबाट एचआईभी पोजिटिभ देखियो । त्यसैले हामीले तपाईंको रगत जाँचको लागि बाध्य भयौं ।’

एक्कासि डाक्टरको यो जवाफले मलाई स्तब्ध बनायो । एकैचोटि हजारौं बिच्छीहरुको विषले मलाई बेस्सरी पोलिरहेको अनुभव मैले गरें । भाउन्न भएँ । आँखाहरु तिर्मिराए । आँखाअघि एउटा शून्यता थियो । सामुन्ने कुर्चीमा डाक्टर र लोग्नेको धमिलो छायाँ मात्र खेलिरह्यो । गाह्रो गरी सम्हालिएँ ।

‘नआत्तिनुस् ।’ मेरो अवस्थालाई ख्याल गरिरहेका डाक्टरले मलाई सान्त्वना दिँदै थिए, ‘उहाँमा यस्तो देखिएकोले एउटा शङ्का निवारणका लागि हामीले तपाईंको रगतलाई पनि जाँच गरेका हौं । कहिलेकाहीँ एउटामा देखिए पनि यो रोग अर्कोमा नदेखिन सक्छ ।’

त्यसपछि धेरै कुराहरु डाक्टरले मसँग सोधे ।

‘उहाँको अवस्था अलि गाह्रो छ । केही दिन अस्पतालमा बस्नु पर्ने हुन्छ । भर्ना लेखिदिएको छु । भोलि तपाईंको रगतको रिपोर्ट पनि आउला । अनि फेरि कुरा गरौंला ।’ डाक्टरले भन्यो ।

त्यसपछि कसरी म बिरामीलाई लिएर डाक्टरको कोठाबाट बाहिर निस्कें ? कतिखेर वार्डमा पुगें ? र, औषधि पसलमा पुगेर औषधि ल्याएँ ? नर्सले के के भने ? म अर्धचेतनमा हिँडिरहेँ ।

वेडमा निस्लोटसँग सुतिरहेको लोग्नेलाई हेरिरहेँ । जस्तै भए पनि लोग्ने हो । माया लाग्यो । यस्तोबेला उसका दोषहरुलाई सम्झेर मैले आफ्नो मनलाई ऊप्रति आवेगपूर्ण बनाइरहन सकिनँ । निकैबेरदेखि एकतमासले सिलिङ नियालिरहेको उसले मलाई पुलुक्क हे¥यो । आँखामा अपराधबोध थियो उसको । निरीह देखिन्थ्यो । ओँठमा कुनै शब्द थिएन । आँखामा याचना थियो । ऊ आँखाले केही बोलिरहेको थियो मसँग । आँखाले भन्दा बढी मनले बोलिरहेको थियो ऊ सायद । यतिखेर उसलाई देखेपछि लाग्यो क्षणिक वासना र त्यसको तुष्टिले मान्छेलाई दिने परिणाम आखिर यो दुःखपूर्ण अन्त्य भन्दा बढी अरु के थियो र !

एकदुईदिनमा उसको अवस्था अरु बिग्रिएर गयो । मेरो रगतको एचआईभी परीक्षणको रिपोर्ट पोजिटिभ थियो । स्वाभाविक थियो, एउटा आततायी रोगले मेरो आफ्नै लोग्नेको शरीरबाट मभित्र प्रवेश गरेको छ । अघिल्तिर जीवन र मृत्युको दोसाँध थियो । अगाडि बढ्नका लागि बाँकी अब एउटै कहालीलाग्दो बाटो थियो । उदास र जीवनहीन सुस्केराहरुले आँखामा ओस्सिदै गइरहेका सपनाहरु थिए । झुठले उभ्याएको जीवनका रङगीन फ्रेमहरु भत्किरहेका थिए ।

लोग्नेलाई हेरें । मान्छेभित्रको एउटा सभ्यता मर्दै गरिरहेको देखिरहें । मेरो नाकभरि वाक्वाकी लाग्ने गरी वासनाको भोकले डढ्दै गरिरहेको लोग्नेमान्छेको एउटा नमिठो कुहिएको गन्ध आइरह्यो ।

एकदिन मेरो लोग्ने म¥यो । जसरी केही दिनदेखि ऊ अस्पतालको आफ्नो वेडमाथिको सिलिङलाई नियालिरहन्थ्यो त्यसरी नै सिलिङ नियालेरै ऊ म¥यो । मलाई थाहा छ जसरी ऊ म¥यो उसले मेरो शरीरमा छोडेको रोगका कीराहरुले उसले जस्तै गरेर म पनि केही दिनपछि मर्नेछु । मलाई यो पनि थाहा छ जसरी ऊ मर्दा मेरा आँखामा आँसु थिएन त्यसरी नै मेरो मृत्युमा रुने आँखाहरु हुने छैनन् ।

००००

‘आमा भात पस्कने होइन ?’ भान्साकोठाबाट आएको ठूलीछोरीको आवाजले मेरो तन्द्रा टुटाइदिन्छ ।

झ्यालबाट बाहिर हेर्छु । सडकमा स्कुल हिँड्ने केटाकेटीहरुको चहलपहल देखिन्छ । अझै उखरमाउलो बनिरहेको छ घाम । वातावरण उष्ण छ । र, गर्मीले उँघिरहेको छ बिहान ।

‘स्कुल जान अबेर भइसक्यो ।’ ठूलीछोरी फेरि चिच्याउँछे ।

ओछ्यानबाट बाहिर निस्कन्छु र सधैंझैं अनुहारमा खुसी ल्याउने प्रयत्न गर्दै म ऐनाछेउ उभिन पुग्छु । कपाललाई स्याहार्छु । अनुहारमा कुनै अस्वाभाविकता नदेखियोस् भनेर दुबै हातले अनुहारलाई बिस्तारै पुछ्छु ।

फेरि पनि यी रिक्त आँखामा आएर बस्छ यो एउटा रिक्त बिहान ।

२०७५ बैशाख ३०

%d bloggers like this: