0

घाइते विपना

Share

पुष महिनाको बेलुकीको घामको स्पर्शले धर्तीलाई सुम्सुम्याएर सूर्य भर्खरै स्वयम्भु पारिको डाँडाबाट ओझेल प¥यो । सडकछेउमा आफ्नो ठेलागाडीलाई अड्याएर घामको न्यानो पाहार ताप्दै आफ्नो दुवै हत्केलालाई सिरानी हालेर सुतिरहेको धनेको शरीरले अब भने जाडोको महसुस ग¥यो । बतासिँदै आएको हावाको एउटा चिसो झोंक्काले ऊ ब्युँझियो । उसको ब्युँझाइसँगै नजिकैको सेकुवाघरबाट आएको कोइलाको धुँवा र मासुको गन्धले उसको नाकलाई एकपल्ट बेस्सरी गिजोल्यो । उसको पेटभित्र भोक उछित्तोसँग खेल्यो । भोकले अमिल्लिएर उसको अनुहार सोहोरियो, बेस्वादले ।

उसले एकचोटि वरिपरि नियाल्यो र सडकको परपरसम्म आफ्ना आँखाहरुलाई हुत्यायो । बेलुकीको अफिस छुटेर आउनेजानेहरुको भीडभाड र ओहोरदोहोरले सडकलाई छोपेको छ । उसले नजिकै आउँदैजाँदै गरिरहेका मान्छेहरुलाई चिहाउँथ्यो र एउटा आशापूर्ण दृष्टि उनीहरुतिर दौडाउँथ्यो । तर जब उसले त्यहाँ कोही त्यस्ता मान्छेहरु भेट्दैनथे, जसलाई उसको ठेलागाडाको आवश्यकता परेको होस् । र, जब बाटोे हिँड्नेहरु उसको ठेलागाडाको छेवैबाट बेपरवाहसँग अघि बढ्थे, उसको अनुहारमा निराशा छाउँथ्यो ।

धनेका आँखा दिक्दारीपूर्वक माथि उठ्थे र केही पर रहेको एउटा आलिसान घरको बार्दलीमा पुगेर अड्किन्थे । त्यो आलिसान घर, त्यसको चमकदार रङरोगन, हावालाई चुमिरहेको त्यसका झ्यालहरु, आकाशतिर अग्लिदै गइरहेको त्यसको छत, छतबाट खसिरहेको घामको उज्यालो । लोभलाग्दो दृश्य । साँच्चै नै त्यो घरको एउटा आकर्षणले धेरैबेरसम्म उसका आँखालाई बाँधेरै राख्थ्यो त्यहाँ सधैं । त्यसैले त प्रत्येक दिनजसो वीर अस्पताल र महाबौद्ध छेउछाउको त्यो सडकको एउटा कुनामा आफ्नो ठेलागाडालाई अड्याएर धनेका आँखाहरुले सधैं त्यसरी नै धितलाग्दोसँग महिनौंदेखि हेर्दै आइरहेको छ त्यो घरलाई । एक किसिमको मुहुनी बाँधिएको छ त्यो घरसँग उसको । कहिलेकाहीँ त्यो घरको छतमा खेल्ने बतासजस्तै धनेका आँखामा बेलगाम भएर उसको कल्पना खेल्थ्यो । सधैं तन्द्रामा हुन्थ्यो ऊ ।

‘यो घरको शौकतले जिन्दगी बाँच्न पाए कस्तो पो हुन्थ्यो ए !’– सोच्थ्यो ।

क्षणभरको लागि उसको आँखा धपक्क बल्यो र फेरि निभ्यो । भर्खरै, ऊ ब्यँुझनुअघिको निद्रामा देखेको सपनालाई सम्झ्यो उसले । यो सपनाको आनन्दमा बाँच्न पाउनुको खुसी पनि बेग्लै । सायद मान्छे, आफ्नो जीवनभरि ऊ आधी सपना÷कल्पनामा बाँच्छ र आधी यथार्थ÷वर्तमानमा ।

साँच्चै, कति फरक थियो केही क्षणअघिको उसको सपना र अहिलेको विपनामा । अघि सपनामा ऊ त्यही आलिसान घरको मालिक थियो । उसको कार थियो । नोकरचाकर थिए । खानेकुराका अनेकौं व्यञ्जन र परिकारहरु थिए । खुसीले फुक्काफाल थियो ऊ ।

‘थुक्क ! त्यो चिसो बतास !’ एकछिन ऊ बर्बरायो– ‘निद्रै बिथोल्ने गरी यही बेला त्यसलाई मेरो आङमाथि बतासिनुपर्ने ।’

नमिठोगरी बिग्रियो उसको मुखमुद्रा ।

त्यो बतासले उसको जिउलाई कहर हुने गरी छोएर नगइदिएको भए यसरी उसको निद्रा बिथोलिने त थिएन । ऊ त्यो निद्राबाट ब्युँझने त थिएन । उसको त्यो सपना टुट्ने त थिएन ।

निद्राबाट ब्युँझदा पहिले त ऊ साँच्चै झस्क्यो । आफ्ना वरिपरिका सबै दृश्यहरुलाई उसले नियाल्यो । मनमा एउटा विस्मात् उठ्यो । सबै कुराहरु खल्लो लाग्यो उसलाई । एउटा हेलुसिनेशनले नजिकैका बस्तुहरु पनि उसलाई खुट्याउनु गाह्रो हुँदै थियो ।

‘निधाराँ नि लेख्नु प¥यो ए । रहरले मात्र हुन्न ।’ एउटा विषाद्ले ऊ एक्लै आफ्नै मनसित बोल्यो । उसका आँखाबाट स्खलित भएर उसको वर्तमान खस्यो ।

०००

‘ए दाइ, ए ठेलागाडावाला दाइ ।’

अनायासै झस्क्यो ऊ । उसको सोचाइका श्रृङखलाहरु भत्किए । उसले देख्यो, उसको अघिल्तिर एउटा विद्यार्थीझैं देखिने अनुहार उभिएको छ ।

‘एउटा खाट र अलिकति सामान छ, लाने हो ? विद्यार्थी अनुहारले सोध्यो

‘काँ सम्म लाने हो ?’ धनेको मनमा आशाले अलिकति अङ्कुरायो ।

‘ठमेलसम्म ।’ विद्यार्थी बोल्यो

‘लाने नि हजुर, किन नलाने ।’

‘कति लिन्छौ ?’

‘तीस रुप्याँ ।’ धनेले भन्यो

‘तीस हैन, बीस दिन्छु ।’ विद्यार्थीले बार्गेनिङ ग¥यो ।

‘मर्का पर्छ कि हजुर । टाढै छ ।’ धनेले विद्यार्थीतिर हे¥यो, प्रतिक्रिया बुझ्न ।

‘सक्छ भने लैजाऊ, नत्र अर्को खोजुम्ला ।’ विद्यार्थीले भन्यो ।

विद्यार्थीले धेरै नबोली टुङ्गो लाइदियो । अब के भनेर भाउ द¥याउने, धनेलाई अप्ठ्यारो भो । धेरैबेरसम्म अल्मलिरहे विद्यार्थी हिँडिदेला । बिहानैदेखि आज उसको ठेलागाडा चलेको छैन । आजको आम्दानीको नाउँमा एक रुप्याँ परेको छैन उसको हातमा । ‘त्यै बीस रुप्याँ पनि बेलुकी स्वास्नीको सुत्केरी खर्च उत्रन्थ्यो ।’ उसले सम्झ्यो– ‘भरैलाई कोठामा चामल छैन । तेल, तरकारी त्यसैले किन्नु पर्छ ।’

उसले एउटा विनयभावले विद्यार्थीको अनुहारमा पुलुक्क हे¥यो । सामानलाई ठेलागाडामा राख्यो र गाडालाई अगाडि घचेट्यो । पैतालीस वर्षको हाराहारीमा पुगेको उसको जीवनको लगभग आधी उमेर त उसले यही ठेलागाडी धकेलेरै बितायो । गाउँबाट भागेर हिँड्दा अल्लारे थ्यो मन । सहर खोज्न हिँडेको । सहरको सपनाले फेरि गाउँ फर्कन दिएन । सहरमै कुल्ली ग¥यो । ढुङ्गामाटो बोक्यो । खोलाका किनारहरुमा गिटीबालुवा चाल्यो । विष्णुमतीको किनारमा गिटी, बालुवा चाल्दाचाल्दै जिस्किएर पूर्व सिन्धुपाल्चोकतिरकी एउटी तामाङ्नी केटीसँग माया बस्यो र उसको विहे भो । त्यहीं विवाहले विष्णुमतीको किनारमा उनीहरुको एउटा झुप्रा बस्यो ।

‘सुकुम्बासी बस्तीमा बुल्डोजर लगाइँदै छ ।’

असननिर आइपुग्दा धनेको कानमा एउटा अस्पष्ट हल्ला आइपुग्यो ।

भीडबाट अप्रत्यासित रुपमा आएको यो होहल्लाले ठेलागाडा घचेट्दै गरेको धनेका हातहरु एकैछिन् रोकिए । उसका गोडाहरु शिथिल भए । एउटा सम्भावित आशङ्काले उसको मन बेस्सरी अत्तालियो । एउटा भयले यो जाडोका पनि उसको जीउबाट पसिना चिट्चिट् छुट्यो । उसले एकचोटि पछाडि फर्केर हे¥यो । सम्भवतः ऊ त्यो अघिको भीडबाट आएको हल्लासँग विश्वस्त हुन चाहन्थ्यो । साँच्चै त्यो खबर यो भीडभित्र कसले ल्यायो होला ? यो हल्लाको वास्तविकता के होला ? त्यो बुल्डोजर लगाएको कुन चैं सुकुम्वासीबस्ती होला ? त्यो भीडमा कसलाई पो के सोध्ने ? त्यो हल्लाको सत्यता बुझ्ने पो अब कसरी ? एउटा दुविधा र अन्तद्र्वन्द्वले ऊ अल्झिरह्यो ।

त्यसैबेला ठेलागाडाको अगाडिपछाडिबाट आएको गाडी र मोटरसाइकलको एकोहोरो हर्नले ऊ झस्क्यो । त्यो कोलाहलले उसको तन्मयतालाई भत्काइदियो । उसले देख्यो, त्यो बीचसडकमा रोकिएको उसको ठेलागाडाले त्यो साँघुरो सडकमा कुदिरहेको गाडीको ओहोरदोहोरलाई नै बन्द गरिदिएको थियो । र, त्यहाँ बन्द भएका गाडीका ऐनाबाट चिहाइरहेका एकहुल तीखा आँखाहरुले उसलाई नै घुरिरहेका थिए । त्यो गालबाट बच्न उसले ठेलागाडीलाई अरु बल गरेर घचेट्यो । र, ठेलागाडीलाई किनारा लगायो । तर सधैंजस्तो आफ्नो विराम हुँदा क्षमायाचनाले मुस्काइरहने ओंठको हाँसो यतिबेला उसको अनुहारमा थिएन । उसको आँखाको चञ्चलता थिएन । केहीबेर अघिसम्म ‘बिनाभी’ ‘बिनाभी’ भनेर कराइरहेझैं अहिले ऊ कराइरहेको पनि छैन । त्यो भीडको कोलाहल पनि अहिले उसको लागि एकान्त बनिरहेछ । ऊ चुपचाप छ र उसका गोडाहरु भने आतुरतापूर्वक छिट्छिटो ठेलागाडाको पाङ्ग्रासँगै अघिल्तिर धकेलिइरहेको छ । अझ भनौं भने उसका हातहरुले ठेलागाडालाई धकेल्दै छ र ठेलागाडाको पाङ्ग्राले उसका पाइतालाहरुलाई अघिल्तिर लतार्दै छ । उसका आँखाहरु अघिल्तिर सुकुम्बासी बस्ती छ । बुल्डोजर छ । उसकी सुत्केरी स्वास्नी छ । र, जाडोले लखेट्दै गरिरहेको उसका भन्ट्याङ्भुन्टुङ केटाकेटीहरु छन् ।

आँखा अघिल्तिर खेलिरहेको आफ्नो सुकुम्बासी बस्तीको एउटा सम्भावित र अत्यासलाग्दो कल्पनाले उसलाई घरीघरी लखेट्छ । क्षणभरमै दर्किहाल्ने मुसलधारे पानी बोकेको बादलजस्तो, अनुहारको उज्यालो हराएको छ उसको । बिजुलीजस्तै प्रश्नहरु उसको मस्तिष्कबाट चम्किन्छन् र हराउँछन् । आखिर सुकुम्बासी बस्तीहरु पनि धेरै पो छन् । कहाँको बस्ती परे होलान् ? कतै बुल्डोजरका निर्मम चक्काहरुले उसकै बस्तीहरु त भत्किरहेका छैनन् ? उसकै घर त परिरहेको छैन ?

कठै ! आशङ्कैआशङ्काले जेलिएका उसका जवाफ खोज्ने सबै प्रयत्नहरु यतिखेर असफल बनिदिन्छन् । सम्झँदा मात्रै पनि उसको जिउ जिरिङ्ग भएर फुल्छ । हुँदो हो त ठेलागाडीलाई त्यतै कतै गल्लीको एउटा खाली कुनातिर धेकेलर यतिखेर ऊ आफ्नो बस्ती पुगिसक्दो हो । तर अहिले ऊ त्यसो गर्न पनि सक्दैन । अहिले यही ठेलागाडीमा राखेको त्यो सामान पनि उसलाई भारी भएर थिचिरहेझै भएको छ । छाडेर हिँड्न मिल्दैन ।

धनेलाई थाहा छ– उसको छाप्रोमा स्वास्नी सुत्केरी भएर थलिएकी केही दिन भयो । भोकले छटपटाइरहेका केटाकेटीहरु उसैलाई पर्खिरहेका छन् । लोग्ने हुनुको दायित्व र बाउ हुनुको कर्तव्य छ उसको सामु । आखिर यही ठेलागाडा नै त उसको जहान पाल्ने औजार हो । यही ठेलागाडाको गति छ । र, त उसको परिवारको गति चलेको छ । जीवनको निर्वाह चलेको छ । छाक चलेको छ । त्यही छाक जुराउने भाँडोलाई मिल्काएर कता हिँड्ने ? धनेको मन अनियन्त्रित छ ।

मन किन थामिन्थ्यो र ! मन तुलबुलिन्छ । मन अस्थीर भएर खेल्छ । उसले फेरि बुल्डोजर सम्झ्यो । सुत्केरी स्वास्नी सम्झ्यो । छोराछोरी सम्झ्यो । परिवारप्रतिको जिम्मेवारी सम्झ्यो । र, आफैलाई फेरि सबैभन्दा बढी निरीह सम्झ्यो ।

ठमेलमा पुगेर सामानलाई उसले झटपट भुइँमा बिसायो । ठेलागाडालाई बेतोडले विष्णुमतीको किनारतिर ओराल्यो र एउटा ब्यग्र मनले ऊ सुकुम्बासी बस्तीतिर हानियो । अफसोच ! बस्ती नजिकै पुगेका उसका गोडाहरु एकाएक धर्मराए र लुला भए । उसका पाइलाहरु रोकिए । उसका आँखाहरु तिर्मिराए । उसले देख्यो, एउटा बडेमानको हात्तीसुँडे बुल्डोजर विष्णुमती किनारमा रहेको पूरै सुकुम्बासी बस्तीमाथि कर्कश ध्वनि फ्याँक्दै एउटा उन्मत्त साँढेलेझैं बस्तीलाई उधिनिरहेको थियो । वरिपरि बर्दीधारी प्रहरीको भीडले बस्तीलाई घेरा हालेर बुल्डोजरलाई सुरक्षा दिइरहेका थिए । एउटा आक्रोश र उत्तेजनाले सुकुम्बासी बस्तीको भीडले प्रहरीको घेरालाई धकेल्दै अघि बढ्न खोज्दै थियो । र, प्रहरीहरु उनीहरुमाथि लाठी प्रहार गरिरहेका थिए ।

धनेले एकचोटि ती दृश्यहरुलाई विश्वासै गर्न सकेन । पूरै युद्धरत् थियो सुकुम्बासी बस्ती । पूरै हृदयविदारक र मुटु चुड्ने खालको थियो सुकुम्बासी बस्तीभित्र भत्काइएका ती झुप्राहरुको दृश्य । ओहो, आफ्नै नागरिकमाथि सरकारी मान्छेहरुको त्यो हिँस्रक आक्रमण । कति अमानवीय । यस्ता दृश्यहरु त उसले टिभीका समाचारहरुमा मात्र देखेको थियो विदेशका, लडाईले ध्वस्त । तर, आज आफ्नै देशमा आफ्नै सरकारले आफूहरुमाथि यसरी पिट्दै लखेटिरहेको दृश्यले ऊ भक्कानियो । वर्षौवर्षदेखि आफ्नो रगत र पसिनाले अलिअलि गर्दै साँचेर बनाएका ती सुकुम्बासी झुप्राहरु यसरी कल्पनै नगरीकन भत्कन सक्छ र सपनाहरु क्षणभरमै यसरी टुट्न सक्छ भनेर उसले कहिल्यै सोचेन ।

साँझको धमिलो छायाँ विष्णुमती किनारको सुकुम्बासी बस्तीमाथि पोखियो । बस्तीमा उठेको आर्तनादलाई कुल्चदैं सरकारी बुल्डोजरका घर्रर्ररर ध्वनिले अझै पनि वातावरणमा कोलाहल गरिरहेको थियो । धनेले प्रतिक्रियाविहीन मुद्रामा परै उभिएर त्यो उजाड बन्दै गइरहेको बस्तीलाई हेरिरह्यो ।

हठात् धनेलाई सम्झना आयो आफ्नी सुत्केरी स्वास्नी र केटाकेटीहरुको । एउटा ऐठनबाट मुक्त हुन खोजिरहेझै ऊ जोडले चिच्यायो । र, जोडले उसको एउटा मुठ्ठी हावामा उचालिएर माथि आकाशतिर उठ्यो ।

‘यो जनतामारा सरकार चाहिँदैन ।’ उसको मुखबाट निस्किरहेको थियो ।

साप्ताहिक मातृभूमि

%d bloggers like this: