0

विभाजित आकाश

Share

‘……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हातपाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको धर्म यहाँभन्दा बढी अरु सायद के हुन सक्थ्यो होला र ……….. !’

चिठी पढ्दै गरेका सुब्बा दुर्गाप्रसादको आँखाबाट आँसुका मसिना ढिकाहरु बरररर भुइँमा खसे । छोराको चिठीका शब्दहरुले उसलाई निरीह बनायो । हातहरु लगलगाएर काँपे । कमजोर हुँदै गइरहेको आँखाको शक्ति झनै तिरमिर तिरमिर हुन थाल्यो । शरीरलाई शिथिलताले अरु विस्तारै लडायो । छातीभित्र भक्कानो थियो । गानोले पेट हिर्काएझैं एउटा हिक्का आएर दुर्गाप्रसादको घाँटीमा बस्यो । र, बूढालाई एकचोटि हिरिक्क पा¥यो । बूढा धरमराएर पिँढीमा थचक्क बसे ।

अघि दुर्गाप्रसादको औंलाले च्यापिएको चिठी अझै उसैगरी उसको हातमा थियो । दुर्गाप्रसादले चिठीलाई हे¥यो । किन यो पातलो एक टुक्रा कागज पनि गरुङ्गो लाग्दै थियो अहिले उसलाई । गह्रौं बनाइरहेको थियो उसको हात । चिठीलाई नचाहँदा नचाहँदै पनि बूढाले फेरि अगाडि पढ्यो ।

‘ ….. बुबा, मैले तपाईंहरुका लागि धेरै बोझ बन्न चाहिनँ । मलाई थाहा थियो तपाईं र कान्छीआँको दिनहुँको कलहको कारण म नै थिएँ । आमा नरहेसी बिरानो बनेको घर तपाईं र कान्छीआँको झगडाले मेरा लागि झनै अरु बिरानो बनेको थियो । कान्छीआँको गाली र तपाईंको आँखाको शून्यताले मलाई सधैं लखेटिरहन्थ्यो । मैले गाउँलेका आँखाहरुमा तपाईंको आत्मसम्मान खोसिँदै गइरहेको कसरी हेर्न सक्थें र ? तपाईंहरुलाई सुख होला भन्ने निश्चय गरेर मैले घर छाडेर हिँडे । घर छाडेर हिँड्दा भोलि आफू कहाँ पुगुँला ? र के गरुँला ? सोचिनँ । सहर पसें । दुःख गरें । भोक खपें । उसै त पहिल्यै पनि भोकलाई सहने बानी नपरेको कहाँ थियो र ! तर धेरैदिनको भोकले अत्याउँदो रै’छ । घर फर्किन मनले मानेन । भौतारिँदै एकदिन आइपुगेँ यो बिरानो मुलुक । कोलकत्ताको यो ठाउँ । हामै्र पल्लो गाउँको सुबेदार माइलाबासँग आइपुगें यहाँ । सानै देखेर उनले पल्टनमा बर्तन माझ्ने काम लगाइदिए । उनको यै उपकार पनि ठूलो थियो मलाई ।

‘सुर्ता नलिस् केटा । उमेरले टेकेपछि पल्टनमा लाइदिन्छु,’ भन्थे । यै ठूलो थियो, दुःख भने पनि, आशा भने पनि । तर परदेश भनेको परदेश नै । नरकतुल्य ! पराइ मुलुक आफ्नो मुलुकजस्तो नहुँदो रै’छ । दुःख, हेंला, भोक, कष्ट, अपमान यी सबै सहेर बाँच्नु पर्ने । यसरी जीवन बाच्नु केलाई रै’छ र झैं लाग्ने कहिलेकाहीँ । हामी नेपालीसँग उनीहरुले गर्ने व्यवहार अपमानको भन्दा बढी अरु के छ र यहाँ ? सधैं हामी यहाँ कुल्ली, दरबान, ढोके, बहादुर र कान्छा नै त छौं नि ! आफ्नाले त निचोर्छन् । यहाँ त झन् पराइको कुरा । पराधीनको कुरा । सजिलो पो कहाँ र ? मनमा सधैं अँध्यारो !’ ……….

चिठीका शब्दहरुले विस्तारै थिच्दै लगिरहेको थियो दुर्गाप्रसादलाई । भारी लाग्दै थियो उसलाई आफ्नै जिउ । दुख्दै थियो छाती । वेदनाले छटपटिए । उसले चिठ्ठीभित्र छोराको अनुहारलाई खोज्यो । बूढ्यौलीले दिनदिनै कमजोर बन्दै गएको उसको मनलाई छोराको चिठीले झनै आहत बनायो । उसको आँखामा वर्षौअघि हराएको छोराको धमिला सम्झनाहरु बतासिएर खेलिरहे ।

‘आज वर्षौपछि त्यसको चिठी त आइपुग्यो ।’ उसले सोच्यो ।

चिठी खोल्नुअघि उसको मनमा विस्मय खेलेको थियो । उसको आँखामा आधा आश्चर्य थियो र आधा खुशी । नसोचेकै कुरा थियो । उसले माया मारिसकेको, आशा हराइसकेको छोराको चिठी थियो यो । हराएको पन्ध्र वर्षपछि छोराको यो चिठी उसले हातमा पाएको थियो आज । त्यसैले पनि खुशीले आधा आँखा छचल्किएको थियो उसको ।

उसले छोराको बाल्यकाल सम्झ्यो । छोराले टुकुटुकु हिँडेको, दौडेको, काँधमा चढेर घोडचढी खेलेको, हाँसेको, खेलेको क्षणहरुको एउटा सुखानुभूति ग¥यो उसले । तर छोराको चिठीको अन्तिम हरफहरुले उसलाई फेरि एकचोटि निराश बनायो । र, फतक्क गाल्यो । चिठीमा छोराको घर फर्किने कुनै खबर थिएन । बरु चिठीमा उल्टै लेखिएको थियो– ‘….. के गर्नु ! घर फर्किन सकिनँ । परदेश लागेपछि घर फिर्नु गाह्रै हुँदोर’छ । अर्काको नुनको सोझो गर्नैपर्ने ।’

बूढाको मनले फेरि एकचोटि हरेश खायो ।

‘बजिया, बाउआमाको रिसले विदेशको दुःख भोग्न पुगिस् हगि !’ उसले छोराप्रतिको अलिकति रोष र धेरै मायालाई एकैचोटि पोख्यो ।

दुर्गाप्रसादले मनलाई थाम्ने प्रयत्न ग¥यो । आँखाको डिलमा बसेको आँसुलाई हातले मिच्यो । र, चिठीलाई कमिजभित्र घुसा¥यो । पिँढीबाट उठ्ने बल ग¥यो । तर, एउटा नातागतले उसलाई विस्तारै धर्म¥यायो । दलिनको खाँबो नजिकै थियो । सहारा लियो । पिँढी टेकेर उभिँदा दैलोनिर झुण्डिएको जेठी स्वास्नीको फोटोमाथि उसका आँखा ठोक्किए । ध्वाँसोले मैलिएकोे र खुइलिन आँटेको काठको फ्रेमभित्र अलिकति हाँस्तै गरेकी जेठी स्वास्नीको श्यामश्वेत फोटोले उसलाई एकछिन विचलित बनायो । एउटा अपराधबोधले बूढाका आँखाहरु झुके ।

‘पापी, निर्दयी ।’ फोटोको काँचभित्रबाट स्वास्नीको एउटा पातलो आवाज आइरहेको आभास भयो दुर्गाप्रसादलाई । र, स्वास्नी लक्ष्मीले सोधिरहेझैं लाग्यो– ‘छोरा खै ? मेरो चिनो खै ?’

फोटोभित्रको स्वास्नीको त्यो श्यामश्वेत अनुहारको कालो लाम्चो आँखाले दैलो छेकेर आज उसलाई केरिरहेझैं लाग्यो । बर्षौदेखि दैलोको यो फोटो छोएर उसले कयौंपल्ट घरको भित्रबाहिर ग¥यो । यसअघि यो फोटोको ख्याल उसलाई कहिल्यै भएको थिएन । तर यही फोटोलाई सामना गर्न उसलाई किन गाह्रो परिरहेको छ अहिले ? जीवन आज जस्तो दुविधाग्रस्त उसलाई कहिल्यै लागेको थिएन । उसको आँखामा आत्मग्लानी थियो । स्वास्नीको फोटोमा धेरैबेर हेरिरहन सकेन उसले ।

बिजुलीगतिमा झल्याकझुलुक्क सत्ताइस वर्षअघिको एउटा विगत आएर खेल्यो दुर्गाप्रसादको अघिल्तिर । फोटोबाट ओर्लिएर दैलोमा पोखियो उसकी स्वास्नी लक्ष्मीको गालाको लालिमा ।

लक्ष्मीसँगको त्यो पहिलो विवाहलाई दुर्गाप्रसादले सम्झ्यो ।

लक्ष्मीलाई बिहे गरेर ल्याएपछि दुर्गाप्रसादको घरको आँगनमा खेल्यो उनीहरुको खुसी । चुल्हामा बज्यो लक्ष्मीको हातको चुरा । ओछ्यानमा खेल्यो लक्ष्मीको खिल्खिलाएको हाँसो । लक्ष्मीले आँगनमा बनाइन् तुलसीको मठ । सारिन् तुलसी । तुलसीसँगै हुर्काइन् आफ्नो सपना । हुर्काइन आँखामा खुसीहरु । प्रत्येक बिहान लक्ष्मीले तुलसीमा पानी चढाउँथिन् । तुलसीले सिँचाइ पाउँथ्यो । र, अर्को बिहान तुलसीले नयाँ पाउलो हाल्थ्यो ।

अर्को साल लक्ष्मीको कोख गह्रुँगो भयो । बाहिरै देखियो, पुटुक्क । दुवैजनाको खुसी असिमित थियो । खुसीले दुवैजना फुलेल थिए । स्वास्नीलाई जिस्क्याइरहन्थे दुर्गाप्रसाद । स्वास्नी चाहिँ शरमले पग्लन्थी । दुवैजना एकले अर्कालाई हेर्थे । र, हाँस्थे मायालु हाँसो । त्यो प्रेमपूर्ण आलापले यसैगरी उनीहरुका दिन बितिरहेका थिए ।

एउटा रात, आकाशमा जूनको टहटह उज्यालो थियो । जुनेली रातको त्यो एउटा प्रहर लक्ष्मीले छोरा जन्माइन् । प्रसवको निकै सास्ती सहेर लक्ष्मीले छोरालाई जन्म दिइन् । जूनको उज्यालोमा एउटा अर्को खुसीको उज्यालो दुर्गाप्रसादको आँगनमा खस्यो ।

बेलुकी खाना खाएर सँगै ओछ्यान गएकी स्वास्नी अचानक पेट दुख्ने व्यथाले छट्पटाएपछि आत्तिएको थियो दुर्गाप्रसाद । यसअघि कहिल्यै पेट दुखेर यसरी उसकी स्वास्नी छट्पटाएको देखेको थिएन उसले । स्वास्नीले सँगै उसलाई च्यापेर बसी । व्यथाले छोड्लाभन्दा झन्झन् च्याप्दै लगिरहेको थियो लक्ष्मीलाई । सहनै गाह्रो हुनेगरी छट्पटाइरहेकी थिइन् लक्ष्मी । पसीनाले खल्खली रुझ्दै थिइन् । छिनभरमै जब व्यथाले अरु च्याप्थ्यो, उसकी स्वास्नीले उसलाई बेस्सरी समात्थिन् र पीडालाई अरु बल गरेर सहने प्रयत्न गर्थिन् । स्वास्नीको यो अवस्थाले दुर्गाप्रसादलाई झनै अत्यायो । एकैछिन स्वास्नीलाई छाडेर ऊ बाहिर निस्क्यो र छिमेकीलाई ढक्ढक्यायो । छिमेकी आइमाईहरुले उसकी स्वास्नीको व्यथा पत्ता लगाइहाले । र, खासखुस चल्यो ।

‘बाउ हुने लक्षण छ है दुर्गे ।’ अनुभवले पाकी एउटी आइमाईले उसलाई भनिन् ।

उसले बल्ल बुझ्यो । स्वास्नीलाई प्रसवले छोएछ । उसलाई अहिले भने अलिकति लाज, डर र सङ्कोचले एकैचोटि छोप्यो । मनमा कुतकुती खेल्यो । उसलाई पिँढीमा छाडेर केही आइमाईहरु घरभित्र पसे । स्वास्नीको व्यथाले छट्पटिएको चीत्कारलाई उसले पिँढीमा बसेरै सुन्यो । भित्र आइमाईहरु भन्दै थिए ।

‘पहिलोपल्ट यस्तै हो । गाह्रो हुन्छ । नआत्तिऊ नानी ।’

‘विस्तारै बल गर ।’

‘आइमाईको लागि त सास्ती नै हो यो व्यथा ।’

‘के गर्नु । लोग्नेमान्छेलाई पो सजिलो ।’

भित्रबाट आएको यस्तै सान्त्वना र संवेदनाका स्वरहरुलाई दुर्गाप्रसादले बाहिर पिँढीमा बसेर सुन्यो । रात छिप्पिदो थियो । जूनको उज्यालोमा अरु एकदुई लोग्नेमान्छे बाहिर आँगनमा उभिएर उसलाई ढाडस दिइरहेका थिए । दुर्गाप्रसाद चुपचाप थियो । स्वास्नीको व्यथाको पीर बाहिर बसिरहेको उसलाई पनि थियो ।

‘बल गर नानी । नआत्तीकन विस्तारै बल गर्दै जाऊ ।’ भित्रबाट आवाज आउँदै थियो । एकैछिनमा त्यो नीरव रातलाई चिर्दै दुर्गाप्रसादको घरभित्र नवजात शिशुको एउटा कोमल चीत्कार उठ्यो – ‘च्याँहा ….’

‘छोरो र’च ।’ भित्रबाट आएको आवाजलाई दुर्गाप्रसादले सुन्यो ।

आह्लादित थियो दुर्गाप्रसाद । एउटा कौतुहलले उसका आँखाहरु दैलोभित्रबाट बाहिर आइरहेको अलिकति उज्यालोलाई चिहाइरहेका थिए । उत्सुक थिए उसका आँखाहरु । ‘दौडेर भित्र जाऊँ र लक्ष्मी र बच्चालाई एकैचोटि हेरुँ’ झैं एउटा आतुरता थियो उसलाई ।

‘लौ नानी, भाग्यमानी रैचौ तिमी’, उसले फेरि सुन्यो ।

अघिसम्म व्यथाले छट्पटाइरहेकी उसकी स्वास्नी पनि अहिले शान्त थिई । अहिले फेरि दुर्गाप्रसादको छाती छचल्किएर उठ्यो खुशीको आवेगले । भित्र अँगेना जोरेको, आगो फुकेको, भाँडा बसालेको आवाजलाई उसले बाहिरबाटै सुनिरह्योे । स्वास्नी र बच्चाको मुख हेर्ने उसको आतुरता त्यहाँ अरु एकाधघण्टा लम्बियो ।

‘लौ दुर्गे भाग्यमानी रच’स् । छोरै पाइ’छ नानीले ।’ बाहिर निस्केर एउटी पाकी महिलाले भनिन्– ‘बच्चा ठूलो रै’च । अलि गारो भो नानीलाई । तातो पका’र दे’का छौं । ख्याल गर्नू । आराम चाहिन्छ । सुत्न देस् ।’

यति कुरा नि धेरै सञ्चो भो दुर्गाप्रसादलाई ।

‘तपाईंहरुको यो गुन बिर्सन्न ठुलीआँ’ ।’ उसले भन्यो ।

उसको आँखामा ती छिमेकी महिलाहरुप्रतिको कृतज्ञता थियो । सबैलाई हेरेर जूनको उज्यालोमा अलिकति ऊ फिस्स हाँस्यो ।

०००

धेरै वर्षअघि, दुर्गाप्रसादका बाआमा पहिरोमा परेर बेपत्ता भएका थिए । मध्यसाउनको बर्सादको एक दिन त्यो पहिरोले उसलाई कसरी छक्यायो, छक्यायो ! उसका बाआमा गुमे र ऊ बाँच्यो । उसका गाईबस्तु, घरगोठ केही बाँकी रहेनन् । बग्न बाँकी रहेको घरको आधा पाखोबाट गाउँलेहरुले उसलाई निकालेका थिए । उसलाई यो आङ जिरिङग पार्ने घट्नाको अलिअलि सम्झना छ । अहिले पनि झस्काइरहन्छ । बाउआमाको सम्झना आउँछ र नरमाइलो बनाउँछ । आज बाउआमा भाको भए नि उसलाई यति गाह्रो हुने थिएन । आफै टुहुरो । घरमा जेठोबाठो नभएपछि चिन्ता र सुर्ताले त्यसैत्यसै छोपिहाल्छ । धन्न, गतिला छिमेक छन् । गाह्रो साँघुरो पर्दा हेरिदिन्छन् । बाउआमा नभएपछि दुखकष्ट झेलेरै हुर्केको, हिँडेको यो जीवन । अलिकति आडभरोसा दिने काका काकी थिए । धेरथोर पढाइदिए । जागीरतिर लागेपछि बिहा गरिदिए र उसलाई गाउँको यो घर रेखदेख गर्ने जिम्मा छाडेर चितवन झरे ।

गाउँको जागीर । घरपायक थियो । सरकारी सेवासुविस्ता थियो । उबेलाको पढाइ । महत्त्वको हुने भइहाल्यो । स्वास्नी शीलस्वभावकी थिई । यै स्वास्नी ल्याएदेखिन् उसले सम्हालेको थियो जीवन । त्यसैले बेलाबेलामा स्वास्नीलाई जिस्क्याउँथ्यो ऊ – ‘तेरो माया खुब लाग्छ मलाई ।’

स्वास्नी ओँठ लेप्¥याउँथिन्– ‘उस् ! यस्तै होला तपाईंको माया ।’

‘नपत्याएकी ?’ ऊ भन्थ्यो ।

‘हेरौंला नि ।’ स्वास्नी जिस्कन्थी र उसलाई चिमोटिदिन्थी ।

‘आत्था ।’

ऊ अनायासै करायो । उसले दुखेकोे ठाउँनिर हात पु¥यायो । एउटा रातो मसिनो कमिलाले उसको घाँटीनिरको छालालाई चिल्दै रैछ । एउटा विस्मृतिले फेरि उसलाई छक्यायो । दैलोमा झुण्डिएको स्वास्नीको फोटोको अघिल्तिर उभिएर ऊ एकैछिन टोल्हाइरह्यो । र, घरभित्र पसेर थकित मुद्रामा ओछ्यानमाथि डङ्ग्रङ्ग पल्टियो ।

एउटा अतीत आएर बस्यो उसको सिरानीमा ।
र, उसलाई फेरि अँठ्यायो ओछ्यानमै ।
ऐठनजस्तै ।

‘छोरा सानै छ । त्यसलाई हेलाँ हुन नदिनू । सधैं मेरो माया दिनू त्यसलाई । बाबु त भइहाल्नुभयो । अब आमा पनि हुनू । मेरो मायाको कहिल्यै कमी हुन नदिनू । मेरो यो जुनीको साथ यत्तिकै रैछ तपाईंसँग । मैले तपाईंसँग कहिल्यै ठूलो स्वर गरेकी रैछु भने पनि मेरो भूल सम्झेर मलाई माफ गरिदिनू ।’ वाक्य बस्नुअघि उसकी स्वास्नी लक्ष्मीको अन्तिम वाक्य थियो यो । स्वास्नीको पहेंलिदै गइरहेको अनुहारबाट आफ्नो जीवनको घाम डुब्दै गरेको उसले देख्यो । उसलाई लाग्दै थियो उसकी स्वास्नीले जीवनको एउटा किनारामा विस्तारै उसलाई एक्लै छाड्दै छ । र, उनीहरुका हातहरु त्यो किनारामा एकअर्कासँग विस्तारै छुट्दै गइरहेका छन् । सबभन्दा गाह्रो हुँदोरै’छ आफ्नै आँखाबाट आफ्नाको मृत्युलाई हेरिरहनु ।

‘जिन्दगी के रै’छ !’ भरङ्ग थियो उसको मन ।

उसले एकटकले उँभो छानोलाई नियालिरह्यो । कोठामा एउटा विरह खेल्यो । हाँस्दै खेल्दै गरिरहेको उनीहरुको खुशीमा खै कहाँनिर नियतिको यो दोष लाग्यो ! हरि जन्मिएपछिको एउटा अर्को खुशी थपिएको थियो उसको घरभित्र । दुखसुख थियो । छोरा हुर्कदैं थियो । उसको काँध चढेर हिँड्थ्यो । लक्ष्मी स्वस्थ थिई । छोराले पाँच साल पनि नाध्यो ।

एकदिन छिनभरिको पेट दुख्ने व्यथाले लग्यो लक्ष्मीलाई । लामो रोग नि हैन । अचानक पेट दुखेर फत्र्याकफत्र्याक भएकी थिई । दुर्गाप्रसाद दिउँसो अफिसको काममा नै थियो । स्वास्नीले बोलाइपठाएपछि घर पुग्यो । रक्तश्राब देखिन्थ्यो । साह्रो भइसकेछ । रगत धेरै बगेको थियो । गलेर निस्लाम देखिन्थी । स्वास्नीको अवस्थाले दुर्गाप्रसाद आत्तियो । स्वास्नीलाई स्वास्थ्यचौकी लाने तरखर ग¥यो दुर्गाप्रसादले ।

‘उपचार गर्न लानु पर्दैन,’ लक्ष्मीले भनिन् ।

लक्ष्मीले लोग्नेलाई छेवैमा तानेर बसालिन् र भनिन् ‘एकछिन् यहीँ बस्नू, मेरो नजिकै ।’

दुर्गाप्रसाद अल्मलियो ।

लक्ष्मीले लोग्नेलाई केही भन्न खोज्दै थिइन् । सकिनन् । वाक्य बस्यो । आँखाबाट आँसु खस्यो तुरुक्क । उसले छोरातिर पुलुक्क हेरिन् र शिथिल भइन् । दुर्गाप्रसादले स्वास्नीलाई छाम्यो । चिसो भइसकेकी थिइन् । फेरि नियतिले एकपल्ट झुक्यायो दुर्गाप्रसादलाई । लक्ष्मीको मृत्युले दुर्गाप्रसादलाई बेस्सरी टुटायो । उसको जीवनको एउटा बैशाखी टुट्यो । ऊ फेरि जीवनमा एकपल्ट हा¥यो । र, रोयो ।

लक्ष्मीको असामयिक मृत्युले धेरैदिनसम्म ऊ विक्षिप्तजस्तै बन्यो । आफ्नो भन्दा नि छोराको कारणले । छोराले आमा खोज्थ्यो र उसलाई पिरल्थ्यो । छोराको आँखामा खेलिरहेको एकान्तपनले उसलाई झनै एक्ल्यायो । रुँदारुँदै थाकेर छोरो निदाउँथ्यो, भोकभोकै । छोराको खेल्ने, खाने रुचिहरु हराउँदै थिए । एउटा अस्तव्यस्तताले हुर्कन सुरु गरेको थियो त्यो घरभित्र ।

दुर्गाप्रसादको एकाङ्कीले छिमेकीहरुलाई पनि सुर्ता बढाएको थियो । छोरा सानै छ । दुर्गाप्रसाद एक्लैको स्याहार पुग्न सक्ने कुरा पनि रहेन । छिमेकीहरु दुर्गाप्रसादलाई अर्को बिहे गर्न जोडबल गरिरहन्थे ।

‘स्वास्नीको सम्झनाले पिरोल्लिएर मात्र पनि अब हुने होइन, सिङ्गो उमेर छ बाँकी । छोरालाई सम्हाल्न पनि बिहे गर्नैप¥यो ।’ छिमेकीहरु भन्थे

एकदिन नजिकका केही आफन्तहरुले दुर्गाप्रसादलाई अर्को बिहे गराइ नै दिए । छिमेकीहरु सबैले नयाँ दुलहीलाई स्नेहले कान्छी सुब्बिनी भन्न थालेका थिए । केही वर्ष त ठिकै चल्यो । कान्छी सुब्बिनीको हरिप्रतिको मायामा फरक थिएन । सौतनी साइनो भए नि छोरालाई जाती नै गरेकी थिई । मीठो मसिनो बनाउँथी, खुवाउँथी । स्याहार पु¥याएकी नै थिई । छिमेकीले हेर्दा नि दोष दिने ठाउँ थिएन । कान्छी स्वास्नीको छोराप्रतिको व्यवहारले दुर्गाप्रसादले पनि अलिकति शीतलको अनुभव ग¥यो ।

केही वर्षपछि भने विस्तारै कान्छी सुब्बिनीका व्यवहारहरु फेरिन थाले । दुर्गाप्रसादको हरेक कुराहरुमा झर्कन्थी । रुखो बोली गर्थी । चोथाले हुँदै गइरहेकी थिई । उसका स्वभावहरु र रुचिहरु फेरिँदै गइरहेका थिए । स्वास्नीको अनावश्यक विवाद र झगडाले दुर्गाप्रसादलाई तनाव सुरु ग¥यो । कान्छी सुब्बिनीको ज्यादती अब हरिमाथि बढ्दै थियो । उसले हरिलाई पिट्न सुरु गरेकी थिई । हप्की र गाली खानु त हरिलाई सामान्यजस्तै बनेको थियो । कान्छी स्वास्नीको यो व्यवहारसँग दुर्गाप्रसाद सधैं मौन बसिदिन्थ्यो । कान्छी सुब्बिनीको ज्यादती अब हरिमाथि बढ्यो । अब घरभित्र हरिको वेवास्ता पनि अरु बढ्दै थियो ।

‘जस्तै नभए नि एकचोटि घर बिग्रिएपछि खोट रहँदो रैछ । दुर्गाप्रसादले छोरालाई टुहुरा बनाइ छाड्यो ।’ गाउँलेहरु भन्थे ।

एकसाँझ, अबेरसम्म पनि हरि घर आएन ।

‘कस्तो हँ ! यतिन्जेलसम्म पनि अत्तोपत्तो नहुने गरी हराउने ?’ दुर्गाप्रसाद सुर्तायो । ‘छिमेकतिर छन् कि ? बिहानतिर त आइहाल्ला’, सोच्यो उसले ।

तर, भोलिपल्ट पनि हरि घर फर्केनन् । दुर्गाप्रसादले ओल्लोपल्लो छरछिमेकतिर सोधीखोजी ग¥यो । अघिल्लो साँझ कतै पनि बास बसेको थाहा लागेन । छरछिमेक कतै न कतै हरि बसेको हुँदो हो भन्ने लागेको हो दुर्गाप्रसादलाई । तर, कतै पनि हरिको उपस्थिति नदेख्दा दुर्गाप्रसादको मनमा चिन्ताले खेल्यो । सोध्ने र जाने ठाउँ काहीँ बाँकी रहेन । अब सोध्न जानु पो कहाँ ?’ चिन्ता र दुविधाले उसलाई लेखेट्यो ।

आज एक दिन र भोलि दुई दिन गर्दै बित्यो समय । बित्यो वर्र्षौ । हरिका सम्झनाहरु दुर्गाप्रसादका आँखाहरुबाट पातलिँदै गए । आँखाअघि थिइन् कान्छी सुब्बिनी । कान्छी सुब्बिनीको नखरमाउलो रुप थियो उसको अघिल्तिर । एकाध दिन हरिको सम्झनाले ल्याउने विस्मात् बाहेक दुर्गाप्रसादलाई अरु दिन हरिको उस्तो ख्याल रहेन ।

हरिले घर छाडेर हिँडेको आठ वर्षपछि एकदिन अचानकै कान्छी सुब्बिनी पोइल हिँडी । यो चोटले फेरि विक्षिप्त बनायो दुर्गाप्रसादलाई । सम्हालिने ठाउँ थिएन । परिस्थितिले उसलाई ठग्ने खाली ठाउँ कतै रहेन ।

यतिबेला चिठीले झनै बूढाको मनमा विषाद् कोरिदियो । उसको अनुहारबाट केही क्षणअघिका सबै खुसी हराए । छातीभित्र केही बस्तुले थिचिरहेको महसुस भयो । चिठी पढ्दापढ्दै उसको आँखाअघिल्तिर तिरमिरतिरमिर जालोजस्ता धर्साहरु उठिरहे । हरि फर्कने आशामा बसेको दुर्गाप्रसादको मनलाई हरिको चिठीले भाँचिदियो ।

‘यो मर्ने बेलामा एकमुठ्ठी पानी पनि खुवाउन नआउने भइस् बाबै !’ दुर्गाप्रसादले खुइई काढ्यो ।

दुर्गाप्रसादको मनमाथि बादल उठ्यो । र, अलिकति पश्चाताप र आत्मग्लानीले भरिएको आँखाले उसले दैलोमाथि झुण्डिएको स्वास्नीको फोटोलाई हेरिरह्यो । र, निष्प्राण टोल्हाइरह्यो ।

२०४९
साप्ताहिक ललकार

%d bloggers like this: