कविताको क्षेत्रमा सधैं ऊर्जाशील भएर लेखिरहने र पाठकले सधैं पढिरहने नाम हो गौरी देवकोटा । स्वाधीनताको रोजाइ(२०६३) कवितासङ्ग्रह, मुक्तिको क्यानभासमा(२०६८) कवितासङ्ग्रह, र सारथी (२०७३) खण्डकाव्य प्रकाशित गरिसक्नु भएका गौरी देवकोटा मूलतः प्रगतिवादी कवितामा स्थापित स्रष्टा हुनुहुन्छ । प्रतिरोध(२०७७) कवितासङ्ग्रह उहाँको चौथो काव्यकृति हो र अखिल नेपाल जनसांस्कृतिक महासङ्घले यस कृतिलाई प्रकाशनमा ल्याएको हो । साहित्य लेखनसँगै विभिन्न साहित्यिक सङ्घसंस्था र सामाजिक कार्यहरुमा पनि उहाँको उत्तिकै सक्रियता रहेको देखिन्छ ।
प्रतिरोध कवितासङ्ग्रहभित्र उहाँका ५२ ओटा कविताहरु समाविष्ट छन् । र, यी २०६९ सालदेखि २०७७ सालसम्म लेखिएका कविता हुन् । त्यसैले पनि देशको तत्कालिन राष्ट्रिय राजनीतिले नेपाली समाज र सामाजिक जीवनमा पारेको प्रभाव यस सङ्ग्रहमा रहेका कविताहरुको भावभूमिको रुपमा रहेको छ ।
यहाँ प्रतिरोध कवितासङ्ग्रहभित्र रहेका दुई कविताहरुलाई प्रस्तुत गरिएको छ ।
अवैध पुल र पर्खालहरु
पुल बन्नुपर्ने ठाउँमा
पर्खाल बनेपछि
तरिँदैन पारि
पारि तर्न त पुल चाहिन्छ
पुल बन्नुपर्ने मनहरुले
पराइकै गुन गाएपछि
पारि तर्न पर्खेको आँखामा
आगो नबलेर
पानी मात्र बगाउन
हुँदैन सबैसँग माक्र्सलाई
बुद्ध देख्ने आँखाहरु
पर्खाल बन्नुपर्ने ठाउँमा
पुल बनेपछि
रोकिँदैन माटो
माटो रोक्न पर्खाल नै चाहिन्छ
पर्खाल बन्नुपर्ने मनहरु
पुल भएपछि
माटोमा ज्वालामुखी नफुटेर
शान्तिको मुल फुट्न
हुँदैन सबैसँग माक्र्सलाई
बुद्ध भन्ने मनोदोष
माक्र्सको जुक्ति लगाउनुपर्ने ठाउँमा
शान्तिको जोकर बनेपछि
समशान्ति खोज्नेहरुको हृदयमा
आक्रोश नउब्जिएर स्तुति गाउन
हुँदैन सबैसँग भिक्षु बन्ने अभिलाषा
भिक्षुहरु फिक्री गर्दैनन् घरको
माया मान्दैनन् माटोको
रमाउँछन् स्वयं शान्त रहनमा
चलाइरहन्छन् ऐन मौकामा
जोकरहरुले राज
बनिरहन्छन् ठाउँ कु–ठाउँ
पुल र पर्खालहरु
तर, माटोसँग हार्दिकता हुनेहरु
चलाइरहन्छन् स्वाभिमानको बुल्डोजर
अवैध पुल र पर्खालहरुमाथि
निरन्तर, निरन्तर, निरन्तर ।
०००

सज्जनवृन्द !
हो तिमी सज्जन छौ
तिम्रै सज्जनताको राडीले
घर्लप्प छोपेर
निसास्सिएकी म
राडी हुत्याएर
न्यानोको निम्ति
चिप्लिँदै चिप्लिँदै हिउँमा
उक्लिरहेँ शिखरतिर
तिमीले मलाई
जोगाउने बहानामा
थरीथरी नारा लगाउँदै
तानिरह्यौ, तानिरह्यौ
अनेकन हन्डर खेपेका खुट्टाहरु
तिम्रा सज्जनताबाट जोगिँदै जोगिँदै
उक्लिरह्यो, उक्लिरह्यो
हो तिमी भद्र छौ
तिम्रै भद्रताको महासागरमा
चुर्लुम्म डुबाइएकी म
शीतलताको निम्ति
हाम्फालेँ भुत्भुतेतिर
तिमीले मलाई
बचाउने बहानामा
लोरी गाउँदै, गाउँदै
थुम्थुम्याइरह्यौ, थुम्थुम्याइरह्यौ
अनेकन दाउपेच छिचोलेका मेरा स्नायुहरु
तिम्रा भद्रताहरुबाट जोगिँदै, जोगिँदै
उछिट्टिरह्यो, उछिट्टिरह्यो ।
हो मैले
मलमल मोडेको
दुम्सिकाँडे राडी हुत्याइदिएँ
त्यसैले म अभद्र
तिम्रा भद्रताका
मुखौटोहरु च्यातिदिएँ
त्यसैले म दुर्जन
चाहिँदैन मलाई
तिम्रा सज्जन र भद्र सम्बोधन
थन्क्याऊ आफूभित्रै आफ्ना भद्रताहरु
प्रदर्शन नगर आइन्दा
तिम्रा कुटिल सज्जनताहरु
नबनाऊ दूषित यो हावा
किनकि
बालिकाहरु श्वास फेरिरहेछन्
बालिकाहरु श्वास फेरिरहेछन् ।
०००