सुमिना ८० को दशकको पूर्वार्धमा देखा परेका नेपाली कविहरुको पछिल्लो पुस्तामध्येको एक प्रखर कवि हुनुहुन्छ । आफ्ना फुटकर कविताहरुले पाठकका माझ परिचय बनाइसक्नु भएका कवि सुमिनाका कविताहरु वैचारिकी र विद्रोही छन् । ‘बागी स्त्रीको आत्मकथा’ (२०८०) उहाँको पहिलो काव्यकृति हो ।
कवि निभा शाहको शब्दमा, ‘पिरामिडजस्तो व्यवस्थाको पिँधमा रहेका महिलालाई पार्टीहरुले प्रजातन्त्र, समाजवाद र साम्यवादको प्वाँख लगाइदिएका छन् । तर, पिँध उड्न नसकेर थला परेको छ । पिँधले यस व्यवस्थालाई ढाल्दै आफू मुक्त हुन नसक्नुको कारण खोज्दै हिँडेको कविता हो बागी स्त्रीको आत्मकथा ।
यहाँ कवि सुमिनाको बागी स्त्रीको आत्मकथा सङ्ग्रहबाट दुई ओटा कविताहरु प्रस्तुत गरिएको छ ।
म एक श्रमिक
तिम्रो शरीरमा मगमगाउँछ गुलाफ
मेरो शरीरमा पसिना
तिमी त्यसलाई ‘फ्लेवर’ भन्छौ
म भन्छु, ‘गन्ध’
छ तिमी र ममा भाषागत भिन्नता
समानता छैन हाम्रा अभिरुचिहरुमा पनि
मलाई प्रेम छ पसिनाको गन्धसँग
तिमी त्यसलाई घृणा गर्छौ
र भन्छौ, दुर्गन्ध !
तिम्रो सम्बन्ध छ
उच्च महत्त्वकाङ्क्षाहरुसँग
म भने बाध्य छु
भोको पेट र जिजीविषाका आदेशहरुसँग
मेरै श्रमको आँगनमा उभिएर
आफ्ना आदेशका औंला ठड्याएर
तिमी आफूलाई मालिक भन्छौ
आफ्नै पसिनाका धाराबाट
उब्जनीको मूल फुटाएर म कहलिन्छु दास
तिम्रो उत्पीडनको पराकाष्ठा
म एक उत्पीडित
तिम्रो शासन व्यवस्थाले लुटेको
म एक सर्वहारा
गरिखाने एक श्रमिक
मेरा सपनाहरुमा
वर्गीयताको अङ्कुश लगाउने
२१ औं शताब्दीका
ए अत्याचारी मालिकहरु हो !
सुखसयल, आराम र विलासी जीवन
भोग गरिरहेका ए सुकिला मान्छेहरु हो !
अनुमान गर
के हुन्छ
माटोले मुछिएका
श्रमले चिथोरिएका
यी वलिष्ठ खस्रा हातहरुले
अब लस्करै उठाए भने मुठ्ठी !
०००

शृङ्गार
जब बज्छ
तिम्रा नाडीहरुबाट
छिनछिन छिनछिन चुराको चर्को आवाज
सायद, तिमीलाई पनि हुँदो हो आभास परिबन्दको
प्रत्येक पाइलाबाट जब सुनिन्छ
पाउजुको चर्को झङ्कार
बोध गराउँदा हुन् कदम कदमले सीमारेखाहरुको
पतिको दीर्घायुको निम्ति
लगाएकी छौ शिरमा सिन्दुर
साउन महिनासँगै
लगायौ होला हत्केलामा मेहन्दी
र, मेहन्दीको गाढापनमा
खोज्यौ होला पतिको अगाध प्रेम
भन
कुन गहना
कुन शृङ्गार
तिमीले केवल आफ्नो खातिर ग¥यौ ?
आफ्नै शरीरका अङ्गहरुलाई बन्धक बनाएर
जसमा पतिको भलाई नभनिएको होस्
खोल चेतनाका आँखा
नियाल पितृसत्ताको मनोविज्ञान
जसले तिम्रो सोह्र शृङ्गारमा सुन्दरताको स्रोत देख्छ
तिम्रो लज्जालाई
गहना बनाएको छ र आभूषण भनेको छ
जसले रुढ परम्परालाई
तिम्रो मर्यादा भनेको छ
सोच एक पटक
अनि मुक्त गर आफूलाई मानसिक दासताबाट
परित्याग गर
त्यस्ता आभूषणहरुको मोह
जसले तिम्रो
स्वतन्त्रतालाई हनन मात्र गरेको छैन
भारी बनाएको छ
फुर्तिलो शरीरको वजनलाई पनि
त्यागिदेऊ शृङ्गार
र मुक्त गर
आफूलाई आफ्नै शरीरका
एक एक बन्धक अङ्गहरुलाई ।
०००