टुक्रिएका घामहरु सिउनु साँच्चै गाह्रो हुन्छ

0
1720

मातृका पोखरेल


नेपाली प्रगतिवादी साहित्यको उमेर, समग्र साहित्यको दाँजोमा धेरै कलिलो र प्रगतिउन्मुख छ । युग परिवर्तन सँगसँगै परम्परागत नेपाली साहित्य निकै कमजोर बन्दै गएको छ र त्यस ठाउँमा आधुनिक चेतले सम्पन्न, वैज्ञानिक दृष्टिकोणलाई आत्मसात गर्दै लेखिएका साहित्यहरु स्थापित हुँदै गएका छन् । यो अवस्था आउनु जरुरी पनि थियो । परम्परागत र पुरानो साहित्यले नेपाली जनताले बलिदान गरेर निर्माण गरेको सभ्यता र गौरवलाई सम्बोधन गर्न सक्दैनथ्यो । नेपालीजनहरुका सुख, दुःख, हर्ष, विस्मातहरुबाट निर्मित संवेदनाहरुलाई अभिव्यक्त गर्न सक्दैनथ्यो । त्यस कारणले पनि परम्परागत त्यो साहित्यले हाम्रो युगलाई प्रतिबिम्वित र प्रतिनिधित्व गर्न सक्ने कुरै थिएन । यताका केही वर्षदेखि नवीन मूल्यबोध गरिएका साहित्यहरु नेपाली जनताका घर आँगनमा पुग्न थालेका छन् । यस खालका नवीन साहित्यबाट नेपाली जनताहरुले मनोरञ्जनका उत्ताउला सन्देशहरु, मनगढन्ते लहडबाजीयुक्त सामग्रीहरु र समयलाई पुरानो सामन्तवादी युग र दासयुगतिर फर्काउन खोज्ने आग्रहको विरुद्धमा नयाँ युगमा जान आव्हान गर्ने आफ्नै अनुभूतिहरुले भरिएका चिजहरु भेट्टाउन थाले । यही नवीन विचारले युक्त साहित्य विश्व जगतमा प्रगतिवादी साहित्यका नाममा प्रचारित हुन थाल्यो । प्रगतिवादी नेपाली साहित्य वर्तमान अवस्थासम्म आइपुग्दा धनी र सम्पन्न हुँदै अघि बढिरहेको छ । यसलाई अघि बढाउन नयाँ पुस्ताका थुप्रै प्रतिभाहरु लागिपरेका छन् । यही नवीन चिन्तनलाई उन्नत सीप दिएर नेपाली प्रगतिवादी साहित्यलाई यो उचाइमा उठाउने एकजना सक्रिय कवि एवं साहित्यकार हुन् अनिल श्रेष्ठ ।

अनिल श्रेष्ठको साहित्यिक क्षमताबाट साहित्यलाई रूचिको विषय बनाउने पाठकहरु पक्कै पनि अपरिचित छैनन् । करिब दुई दशकदेखि उनी निरन्तर अक्षर कर्ममा क्रियाशील छन् । यसभन्दा अघि उनका केही कृतिहरु पनि प्रकाशित भइसकेका छन् । प्रस्तुत सङ्ग्रहमा उनका केही कविता र केही संस्मरणात्मक निबन्धहरु सङ्कलित छन् । यो सङ्ग्रहबाट पनि उनको साहित्यिक क्षमताको उचाईलाई राम्रैसँग अनुभूत गर्न सकिन्छ ।

प्रस्तुत सङ्ग्रहमा दुवै विधाहरु समावेश भएकोले पाठकहरुलाई सुरूमा केही असजिलो लाग्न सक्छ । तर विस्तारै पढ्दै गएपछि पाठकहरु दुवै विधाबाट उत्तिकै आकर्षित हुनेछन् । उनको संस्मरणात्मक निबन्धमा पाइने कलात्मक प्रस्तुतिले पाठकहरुले सुरूको असजिलोपनलाई राम्रैसँग भुल्नेछन् । भूमिका लेख्नका लागि पाण्डुलिपि पाएपछि मैले कवि अनिललाई भनेको थिएँ— “तपाईं कविता र लेखहरु छुट्याएर छाप्नुस् ।” तर पाण्डुलिपि पढ्दै गएपछि उनलाई दिएका सुझावहरु पनि फिर्ता लिन मन लाग्यो मलाई । कवितामा जस्तै उनका लेखहरुमा पनि एउटा काव्यिक स्वाद पाइन्छ ।

यस सङ्ग्रहभित्र उनको सामाजिक चिन्ता र छट्पटीहरु छ्यालब्याल्ल भएर पोखिएका छन् । परम्परावादी साहित्यकारको जस्तो उनले आफ्नो व्यक्तिगत चिन्ता र स्वार्थका दुखाइहरुलाई यसभित्र समेटिएका छैनन् । उनको कवितामा देश यतिबेला अस्पतालको व्यस्त भीडभित्र सघन कक्षको एउटा दुर्गन्धित वेडमा उपचार गराइरहेको छ । हामी देशलाई माया गर्नेहरु अस्पताललाई घेरेर बसेका छौं । सघन कक्षबाट देश सकुशल बाहिर आउला कि नआउला ? उनी चिन्तामग्न छन् । लखन थापाहरुको ठाउँ लखन थापाहरुकै नभएको कुरामा पनि उनलाई चिन्ता छ ।

उनका रचनाहरु पढेपछि उनी उभिएको ठाउँ कतापट्टि हो भन्नेकुरा प्रष्ट बुझ्न सकिन्छ । उनको लेखनमा पक्षधरता छ । त्यसैले उनको साहित्यमा थिचिएका र हेपिएका मान्छेहरुको आवाज पाइन्छ । उनको साहित्यले गरिखाने वर्गको वकालत गरेको कुरा पाठकलाई बुझ्न कुनै गाह्रो पर्दैन ।

कवितालाई श्रमसँग नगाँस्ने र कविता लहडको विधा हो भन्ने भ्रममा रुमल्लिरहनेहरुको सङ्ख्या हाम्रो आन्दोलनभित्र प्रशस्तै पाइन्छ । तर अनिल श्रेष्ठ यो भीडभन्दा पृथक छन् । उनी साहित्यको निर्माणमा प्रशस्त पसिना बगाउँछन् । कवितामा विचारको प्रयोगप्रति पनि उनी गम्भीर र सचेत छन् । उनी कवितालाई गैरजिम्मेवार बनाएर सार्वजनिक गर्न चाहँदैनन् । समाज परिवर्तनका लागि कविता र लेख लेखेर मात्रै आफ्नो भूमिकालाई साँघुरो पार्न नचाहने स्रष्टा हुन् उनी । त्यसका लागि विभिन्न मोर्चाहरु प्रयोग गरेका छन् उनले । यही सङ्ग्रहभित्रको एउटा लेख ‘त्यो साँझ अब बाँच्छु भन्ने लागेन’ ले यस तथ्यलाई राम्रोसँग प्रष्ट्याएको छ । बलिदानको मोर्चामा सहभागी हुँदा पनि उनले साहित्यसँग नजिकको सम्बन्ध राखे । त्यहींभित्र पनि उनले भाषण र साहित्यको भेदका बारेमा बहस गरे । यसै सङ्ग्रहभित्रका कविताहरु पढ्दा मात्र होइन लेखहरु पढ्दा पनि थाहा हुन्छ कि उनीसँग प्रशस्त कवित्वचेत छ ।

अनिलले आफ्ना सिर्जनाहरुलाई कहिल्यै दुरुह र जटिल बनाएनन् । कलाका नाराहरु उचालेर कवितालाई दुरुह र जटिल बनाउने एकाथरीहरुको झुण्ड हाम्रो काव्यिक मैदानमा कुनै न कुनै कुनातिर बसेर आत्मतुष्टिमा रमाइरहेको देखिन्छ । कवि अनिल त्योभन्दा निकै पृथक छन् । उनको साहित्यिक यात्रा उद्देश्यपरक छ । त्यसकारणले पनि उनका कविताहरु मान्छेहरुसँग सम्वाद गर्न रूचाउँछन् । उनका कविताहरु पढ्दा लाग्छ मान्छेहरुसँग संवाद नगर्ने कविताहरु लेख्न उनलाई कतैतिर पनि जाँगर लाग्दैन ।

नेपाली साहित्यको भण्डारमा अनिलका सिर्जनाहरुले दीर्घजीवन बाँच्नेछन् भन्ने ठोकुवा गर्न कुनै द्विविधा लिइरहनु पर्दैन ।

अनिल श्रेष्ठको साहित्यिक यात्रा निरन्तर अघि बढिरहेको छ । उनको यात्रा निरन्तर रहेमा नेपालको प्रगतिवादी साहित्य अझ सम्पन्न हुनेछ । साहित्यको दुई दशक लामो यात्राले हामीलाई उनको निरन्तरताको विश्वास दिलाएको छ । समाज रुपान्तरणका लागि हामी सबैका सम्पूर्ण यात्राहरु जारी छन् । अनिल श्रेष्ठको कवितामा जस्तै हामी अझै पनि अनकन्टारझैं लाग्ने पहाडहरुको बिच खोंचहरु भएर अघि बढिरहेका छौं । पहाडको सिरानमा अलिकति घाम पोखिएको छ । हाम्रो गन्तव्य त्यही सिरानको लागि हो ।

एकजना प्रिय कविको सिर्जनाहरुको एउटा सङ्ग्रह आउन लागेकोमा खुशीले त्यत्तिकै पुलकित भएको छु । स्रष्टालाई हार्दिक बधाई ।

फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरुको भूमिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here