0

मृत्युपीडा र मुक्ति चाहनाले जन्माएका कविताहरु

Share

डा. ताराकान्त पाण्डेय

‘प्रिय पाठक मित्रहरु,
यतिबेला फेरि म असन्तुलित र उद्वेलित छु
देखिरहेको छु
देश मृत्युपीडा भोगिरहेछ
गाउँबस्तीहरु आक्रान्त छन्
सहरहरु अशान्त छन्
हत्याले देश सन्त्रस्त छ….’

त्यसैले,
‘मलाई यस्तो लाग्छ वर्तमानको यो पीडाजन्य दुर्गन्धहरुबाट बाहिर निस्केर मेरा कविताहरु हतियार जस्तै चम्किला र धारिला होऊन् । यी व्याप्त विसङ्गतिहरुप्रति लक्षित होऊन् । मेरा कविताहरु सशस्त्र भएर बोलिरहून् ।’

माथिका कवितात्मक पङ्तिमा देशको कटु वर्तमानबोध छ र ‘त्यसैले’ संयोजनपछि कवितालाई कुरुप वर्तमानको व्यन्जक साथै संहारक बनाउने चाहना छ । पाठकहरु, यो वर्तमानबोध र कविता कामना युवाकवि अनिल श्रेष्ठको हो । बीचको संयोजक बाहेक तलमाथिका उद्धृत विचारहरु कवि श्रेष्ठले उनको भर्खरै प्रकाशित कविता सङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’को भूमिकामा उल्लेख गरेका हुन् । यसै सङ्ग्रहको छोटो चिनारी प्रस्तुत गर्ने क्रममा मैले सुरुमै स्वयं कवि अनिलका विचारहरुको उद्धरण प्रस्तुत गर्न उपयुक्त ठानेको हँु जसबाट यस सङ्ग्रहका कविताको विशेषता बुझ्न मद्दत मिल्ने छ ।

अनिल वर्तमान पुस्ताका अग्रगामी चेतनाका वाहक थुप्रै कविहरु मध्येका एक सक्रिय र सक्षम कवि हुन् । उनी वर्तमानको यथार्थलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चेतनाका कोणबाट हेर्छन् । यो चेतना संसार र समाजलाई बुझ्ने एवं पर्गेल्ने सर्वाधिक उन्नत वैज्ञानिक चेतना हो, त्यसैले कवि अनिलको वर्तमानबोध पनि अत्यन्त यथार्थवादी छ । यही कारण हो, केही व्यक्ति र वर्गलाई वर्तमान संरचना स्वर्गीय अनुभूत भइरहे पनि आम उत्पीडित जनताका लागि वर्तमान अत्यन्त कष्टकर, वीभत्स बनेको र देश मृत्यु उपत्यकामा परिणत भएको कटु यथार्थलाई अनिलले तीव्र रुपमा बोध गरेका छन् र आफ्नो कवितालाई वर्तमानको कुरुपतालाई नङ्ग्याउने, हिर्काउने अस्त्र बनाउन खोजेको विचार व्यक्त गरेका छन् । उनले कवितामा भने जस्तै आफ्ना प्रायः जसो कवितामा यस चेतनाको कलात्मक अभिव्यक्ति दिन खोजेको देखिन्छ । केही साक्ष्यहरु हेरौ ः

(क)
आजभोलि
यो सहरमा उम्रिएको भयानक जाडो मार्न
सडकमा आगो फुक्न मनाही छ
जाडोले नीलडाम पारोस् शरीर
र शीतहरुले एकनास हिर्काइरहोस्
टाउकाहरुलाई
वा लगलगाउँदै काँपिरहून्
सडक छेउछाउका पर्खालहरु
निमोनियाले ग्रस्त रहोस् सहर
र निस्लाम् ओँठहरुबाट
ध्यार्ध्यार्ती छुटिरहोस् आवाज
फेरि पनि यो सहरमा
आगो बाल्न
र न्यानो ताप्न अघोषित रहेको छ
यदि कसैले आगो बाले
उसलाई शान्ति सुरक्षाको उल्लङ्घन
ठहर गरेको छ
(सत्ताको उर्दी, पृष्ठ–४५)

(ख)
रगतका छिटाछिटाहरुले
जब मेरो कविताको हस्तिनापुर कट्कटिरहन्छ
र अन्धा धृतराष्ट्रहरुबाट बलात्कृत
मेरा कविताका छातीहरुमा
दुष्ट शकुनीका धनुकाँणहरु तेर्सिरहन्छन्
म निःशस्त्र बोधिवृक्ष ओछ्याएर
अझै पनि बुद्धको नाममा
शान्तिको प्रवचन दिन सक्दिनँ
(शब्दयुद्ध,पृष्ठ–४७)

(ग)
अहँ ! यो निद्रामग्न कविताहरुको
शयनकक्ष होइन मेरो देश
गिद्धका कुरुप घाँटीहरुलाई
सुन्दर बिम्व प्रयोग गरेर
कविता लेख्ने विषालु कविहरुको
निरर्थक भीड होइन मेरो देश
यातनागृहबाट ग्याँसच्याम्बरको पीडा लिएर
भर्खरै फर्किरहेका निर्दोष नागरिकका विरुद्ध
सडकमा मृत्युउत्सवका गीतहरु गाइरहने
हिँस्रक गायकहरुको
मृत्युपर्व होइन मेरो देश
(मृत्युपर्व होइन मेरो देश, पृष्ठ–५९)

यी केही दृष्टान्तहरु हुन् । तर यिनले मात्रै पनि के देखाइरहेका छन् भने कवि अनिल वर्तमानको कुरुप यथार्थलाई भेदन गर्न सक्षम छन् । मृत्युपर्वको पीडाले आहत भए पनि कविमा निराशाभाव छैन । शोकलाई शक्तिमा बदल्ने र मानवमुक्तिको बाटो पछ्याउने चेतनाले अनिलका कविता आबद्ध छन् । यथास्थितिलाई चिर्ने साहस उनका कवितामा निहित छ र उनी शब्दअस्त्र प्रहार गर्न उद्यत छन् कुरुप यथास्थिति विरूद्ध ।

हुन त हिँस्रक बनिरहेको सत्ताले जसरी देशलाई मृत्यु उपत्यका बनाइरहेको छ, जसरी नेपाली जनताको रगतले कर्णाली–कोशीको विशाल र गहिरो वक्षस्थल रगताम्ये छ र त्यस कुरुपताका विरुद्ध नेपाली जनताले जुन अद्वितीय सौर्य प्रदर्शन गर्दै समर अभियान सञ्चालन गरिरहेका छन् त्यसलाई कवितात्मक अभिव्यञ्जना दिने प्रयास गर्दा हिँस्रक सत्ताद्वारा जोखिम उठाउनुका अतिरिक्त एकथरी सौन्दर्य विवेचकबाट एकरसताको आरोप खप्नु पर्ने जोखिम पनि छँदैछ, तर कवि अनिलले ती जोखिमलाई चिर्ने साहस गरेका छन् र सँगसँगै अभिव्यक्ति कलाको सामथ्र्यले कवितालाई जुन नयाँपन दिने साहस गरेका छन् त्यसबाट उनका कविताहरुलाई एकरसताको आरोप लगाइरहनु सङ्गतियुक्त छैन । नयाँ बिम्व र प्रतिकको खोजीमा अनि अभिव्यक्ति कला वा कथन पद्धतिको ढाँचागत नौल्याइँको खोजीमा कवि अनिलको निकै चासो र चाख रहेको देखिन्छ । प्रस्तुत सङ्ग्रहका कविताले यसै कुराको पुष्टि गर्दछन् । त्यसैले यस सङ्ग्रहका कविता पठनीय छन् । सौन्दर्य बिम्व र समाज रुपान्तरणकारी चेतना बीच सन्तुलनको प्रयास यिनमा भेट्न सकिन्छ ।

यस सङ्ग्रहमा ३० वटा कविताहरु सङ्कलित रहेका छन् । यो अनिलको दोस्रो कविता सङ्ग्रह हो । यस अघि २०५१ मा उनको ‘राष्ट्रले शोकधुन बजाएको छ’ शीर्षकको पहिलो कविता सङ्ग्रह प्रकाशित भएको हो । चालिसको दशकको उत्तराद्र्धमै देखा परेर पनि कविहरुको ठूलो हुलमा आफ्नो अलग पहिचान बनाउन थालेका कवि अनिल शब्द र कर्मको एकतामा विश्वास राख्छन् र प्रस्तुत सङ्ग्रहका कविता त्यसै विश्वासका परिणाम हुन् ।

सङ्ग्रहको भूमिका लेख्ने क्रममा समालोचक डा.ऋषिराज बरालले अनिलको चिनारी दिँदै भनेका छन् ः केही कमी कमजोरीहरुलाई छाडिदिने हो भने कवि अनिल श्रेष्ठ निरन्तर साधना र आत्मसङ्घर्षप्रति प्रतिबद्ध कवि हुन् । उनमा रहेको यसै कवित्व प्रतिभा र क्षमताले उनलाई आफ्ना समकालीनहरुका बीच छुट्टै चिनारी स्थापित गर्न सघाउ पु¥याएको छ भने उनमा रहेको प्रस्ट र र सुसङ्गत दृष्टिकोणले गर्दा उनलाई वर्तमानको यथार्थको एउटा कुशल गायकको रुपमा परिचित गराएको छ । (भूमिकाबाट)

अनिलका कविता कलात्मक शिखरको यात्रामा यात्राशील सिर्जनाका रुपमा रहेका छन् । त्यसैले तिनका कमी कमजोरीहरु फेला पर्नु अस्वाभाविक छैन । शिल्पसन्धानप्रति चिन्तनशील रहँदारहँदै कविता अझ कसिलो र घनिभूत हुन बाँकी नै देखिनु अनि ठाउँ ठाउँमा व्याकरणसँग मितेरी लगाउन भन्दा जुध्नु र व्याकरणले औंलो ठड्याइरहेको देखिनु भने त्यति राम्रो कुरा होइन । यसप्रति उनको सचेतता आवश्यक देखिन्छ । कुशल ललितकला कर्मी वासु क्षितिजले निर्माण गरेको आवरण कलाले यसका कविताहरुको भावलाई राम्रैसँग बोकेको अनुभव हुन्छ । टङ्कनका केही कमजोरी स्वाभाविक झैँ देखिन्छन्,त्यति अनर्थ भएको छैन ।

समय, सिर्जना र संवादबाट

%d bloggers like this: