उज्यालाका खोजीमा अनिलका कविताहरु

0
1706

नारायण मरासिनी


२०४६ सालमा स्थापित बहुदलीय प्रजातन्त्रले थुप्रै जनवादी स्रष्टाहरु जन्माउने काम ग¥यो । उक्त प्रजातन्त्र केही दलका नेता र तिनका आफन्तहरुलाई मात्र आएको थियो, नेपाली जनताका लागि आएको थिएन । उक्त प्रजातन्त्रमा जनतालाई सर्वोच्च शक्ति मानिएको थिएन । त्यस समयमा केही सीमित अधिकार मात्रै तत्कालीन महाराजबाट जनताले प्राप्त गरेका थिए । यही प्राप्तिलाई सर्वस्व ठानी हामी सार्वभौमसत्ता सम्पन्न भयौं भनेर जनतामा भ्रम छर्दै अबिर जात्रा मनाएका तत्कालीन केही शक्तिहरु अहिले पनि सिंहदरबार कब्जा गरेर बसिरहेका छन् । त्यत्रो ठुलो आन्दोलनलाई सम्झौतामा टुङ्ग्याएर त्यस समयमा सयौं बर्षदेखि पुरा हुन नसकेका जनताका इच्छा आकाङ्क्षामाथि बलात्कार गर्ने काम भएको थियो । सम्झौतामा टुङ्गिने आन्दोलन तथा युद्धहरु सच्चा क्रान्तिकारीहरुका निमित्त अभिशाप हुन्छन् । जनचाहना विपरीत गरिने सम्झौताबाट सर्वहारावर्गको मुक्ति सम्भव हँुदैन । यस यथार्थलाई इतिहासले पनि प्रमाणित गरिसकेको छ । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका मतियारहरुको हैकमवादी शासनका कारण नै २०५२ मा नेपाली सर्वहारावर्गले सशस्त्र क्रान्तिको सुरुवात गर्नुपरेको हो । बहुदलीय निरङ्कुशताका गर्भबाट जन्मेका जीवनवादी स्रष्टाहरुलाई २०५२ सालबाट सुरु भएको जनयुद्धले हुर्काउने र मलजल प¥याउने काम ग¥यो । यही जनयुद्धरुपी खुराक पाएर हलक्क बढेका कवि हुन् – अनिल श्रेष्ठ ।

२०२८ सालमा तनहुँको अदुवाखर्कमा जन्मेका अनिल अखिल नेपाल लेखक सङ्घ, प्रगतिशील लेखक सङ्घ लगायतका प्रगतिवादी प्रगतिशील सङ्घसंस्थामा आबद्ध छन् । उनले कविताका अतिरिक्त कथा र संस्मरणात्मक शैलीका केही निबन्धहरु पनि लेखेका छन् । हालसम्म उनका पाँचवटा पुस्तकाकार कृतिहरु प्रकाशित छन् । ‘प्रजातन्त्र र पागल’ (२०५०) उनको कथासङ्ग्रह हो भने ‘राष्ट्रले शोकधुन बजाएको छ’ (२०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५), ‘आरू फुलेको साँझ’ (२०६३) उनका कवितासङ्ग्रहहरु हुन् । यसरी नै उनले संस्मरणात्मक अनुभूति र कविताहरुको संयुक्त सङ्ग्रह ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ (२०६६) प्रकाशन गरेका छन् । अनिलका कविताहरु प्रगतिवादी चेतले ओतप्रोत छन् । उनले आफ्ना कविता मार्फत् सुन्दर भविष्यको खोजी गरेका छन् । उनी आजको अन्धकारलाई हटाएर भोलिको उज्यालो ल्याउन चाहन्छन् । उनका सबै कविता सङ्ग्रहका अधिकांश कवितामा यो पक्ष देखिन्छ । अर्थात उज्यालो खोज्ने प्रयत्न प्रबल रुपमा देखापर्छ ।

नेपालीले चाहना गरेको उज्यालो २०४६ सालमा प्राप्त नभएकोले नै कवि अनिल श्रेष्ठले ‘राष्ट्रले शोकधुन बजाएको छ’ र ‘मृत्यपुर्व होइन मेरो देश’ प्रकाशन गर्न पुगेका हुन् । उनको ‘आरू फुलेको साँझ’लाई प्रगतिवादी काव्यका फाँटमा नमूना कृतिका रुपमा लिन सकिन्छ । ‘आरू फुलेको साँझ’लाई सङ्क्षेपमा चर्चाको विषयवस्तु बनाउने समीक्षक गोपीरमण उपाध्यायका अनुसार दसबर्षे जनयुद्ध बिचमा भीषण रक्तपात, खर्बौखर्बको भौतिक संरचनाहरुको ध्वंस मात्र होइन, यसले भविष्यका लागि सुन्दर संसार रचना गर्ने सङ्कल्पलाई पनि जन्म दिएको छ । विगत दसबर्षमा खालि रक्तपातपूर्ण युद्ध मात्र भएन, त्यहाँ सुन्दर साहित्य पनि सिर्जना भएको थियो भन्ने कुराको जब्बर प्रमाण हो अनिलको कविता सङ्ग्रह ‘आरू फुलेको साँझ’ (उपाध्याय,२०६४ः पृष्ठ ४९) । अनिलका कवितालाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । तर यस आलेखमा मूलतः मृत्युपर्व होइन मेरो देश र अंशतः आरू फुलेको साँझमा सङ्ग्रहीत केही कविताका आधारमा उनको उज्यालो खोज्ने प्रयत्नको पर्यावलोकनको जमर्को गरिएको छ ।

२०४६ सालको परिवर्तनपछि नेपाली जनताले भोग्नुपरेका पीडालाई विषयवस्तु बनाइएका यी कविताहरु बहुदलीय अराजकता, सत्ताको भत्तामा ¥याल चुहाउँदै गरिएका सांसद खरिदबिक्रीका प्रकरणहरु, राष्ट्रियता तथा स्वाधीनता बिक्री गर्न विदेशतिर डुलेर ग्राहक खोज्ने संसदीय प्रणालीलाई शिरोपर गर्ने दल र ती दलका नेताहरुप्रति तीव्र घृणा एवम् आक्रोशित भावको अभिव्यन्जनाका साक्षी बनेका छन् । साहित्य परिवर्तनकामी जनताका लागि अदम्य साहस र शक्तिको स्रोत बन्छ भन्ने उद्देश्यबाट पे्ररित अनिलले आफ्ना कवितामार्फत नयाँ आलोकको खोजीमा हिँडेका यात्रीहरुलाई ऊर्जा दिएका छन् । जनयुद्धको पूर्वाद्ध चरण एवम् सङ्कटकालीन सुरूवाती परिवेशसम्म लेखन र विचारमा मात्र नभई सशरीर जनमुक्तिको महासमरमा होमिएका अनिल सङ्घर्षलाई उचाइमा पु¥याएर सुकिला दिन ल्याउन चाहने कवि हुन् । ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’मा मोदनाथ मरहट्टाले लेखेको चिनारी अनुसार अनिल ज्यादै असहज घरेलु परिस्थितिसँग जुधेर हुर्किएका कवि हुन् । आफ्नो बाल्यकाल जति सङ्घर्षपूर्ण रह्यो उनको, मुलुकभित्रको सामाजिक, सांस्कृतिक र राजनीतिक जीवन पनि उस्तै विभेदपूर्ण रह्यो । यिनै परिस्थितिबाट किचिएर बाँचेका कविले सङ्घर्षपूर्ण जीवनदर्शन अँगालेका छन् । सर्वसाधारण जनताका दुश्मनहरुप्रति घृणाभाव व्यक्त गर्दै कविले यी कवितामार्फत आपूmलाई सम्पूर्ण रुपमा जनवादी क्रान्तिमा होमेका छन् । तेजविलास अधिकारीका अनुसार नेपाली धर्तीमा भएका र हुने हरेक परिवर्तनलाई अत्यन्त सजग भएर विचारधारात्मक मोडबाट सफलताको श्रेणीमा पु¥याउन तल्लीन स्रष्टा अनिल दसबर्षे जनयुद्धको कालमा समेत जोखिम मोलेर नेपालीलाई परिवर्तनको दिशामा लैजान क्रियाशील सर्जक हुन् । (अधिकारी, २०६५ः९३)

पुरानो सत्ताको ध्वंस गरेपछि मात्रै सुनौलो संसार निर्माण हुने कुरामा कवि अनिल विश्वस्त छन् । ‘भोलिको मेरो बिहान र युगको एउटा कथा’, ‘शब्दयुद्ध’, ‘भुइँकुहिरो र समर गीतहरु’, ‘आजभोलि स्यालहरुको दरबारभित्र’, ‘तिम्रा आँखाहरुबाट उदाउँदै गरेको एउटा सूर्य’, ‘निर्णायक युद्ध लड्नुपर्छ’, ‘आरू फुलेको साँझ’ लगायतका अधिकांश कवितामा जनयुद्धबाट विकसित नयाँ यथार्थको प्रतिबिम्बन छ । यी कवितामा कविले पुरानो सत्ताप्रति निर्मम प्रहार गर्दै सामन्ती अभिजात्यवादका विरुद्धमा आफ्नो लेखनीलाई सशक्त बनाएका छन् । कविको भविष्यदृष्टि स्पष्ट छ र सबल पनि छ । जीवनप्रति आशावादी हुँदै उनले नौलो बिहानीको खोजी गरेका छन् । निरन्तरको सङ्घर्षपछि नयाँ जीवनको सुरुवात हुने कुरामा कवि आशावादी देखिन्छन्–

सदियौंदेखि
कमलपित्तले ग्रस्त शरीरभित्र
नयाँ उज्यालोले दिनेछ एउटा नयाँ रक्तसञ्चार
आँखाहरुमा मिल्नेछ एउटा नयाँ दृष्टि
फेरि एकपटक हामी इतिहासमा
वयस्क देखिनेछौं
र नयाँ स्फुर्तिमा एउटा नयाँ जीवन
रमाउनेछौं
(श्रेष्ठ, २०५७ः२०, मृत्युपर्व होइन मेरो देश, दो.सं.)

देशको सुन्दर मानचित्र कोर्ने अभियानका कुशल अभियन्ता हुन् अनिल । किसान, मजदुर, उत्पीडित, दलित, जनजाति, महिला लगायत गरिब निमुखाहरुको हक अधिकारको पक्षपोषणमा अनिलका कविताहरु बेजोड देखिन्छन् । समीक्षक घनश्याम ढकालका अनुसार अनिल समकालीन यथार्थको नयाँ पक्षलाई प्रभावकारी ढङ्गले उद्घोष गर्ने कवि हुन् । उनका कवितामा जनसमरका कारण सिर्जित राज्यआतङ्क र प्रतिरोध प्रतिध्वनित भएका छन् । उनका कविताहरुले वर्तमानको क्रुर र कुरुप यथार्थको चित्रण मात्रै गर्दैनन् त्यसलाई परिवर्तन गरी सुरुपमा फेर्ने आकाङ्क्षाका साथ नयाँ सौन्दर्यको उपासना पनि गर्दछन् । मृत्युको खेल, रगतको होली, पीडा, भय, दर्द, उत्साह, प्रेरणा र भविष्यको आशाले जटिल बनेको वर्तमानमा अनिलका कविताहरु उभिएका छन् । (ढकाल, २०६२ः १४६–४७)

वैचारिक कोणबाट जीवनको मूल्यबोध गराउँदै अनिलका कविताले सामाजिक रुपान्तरणका लागि क्रियाशील हुन आह्वान गरेका छन् । उनका कविताहरु मानवमुक्तिका लागि सङ्घर्षरत् छन् । वर्गसङ्घर्षलाई आत्मसात् गर्दै त्यसलाई गति दिने काम उनका कवितामा भएको छ । कविता सङ्घर्षकै एउटा रुप हो भन्ने यथार्थलाई स्वीकार गर्ने कवि अनिलले स्वतन्त्रताको पारिलो घाम छेक्नेहरुको दोहोलो काढेका छन् । घाम सबैको साझा हो । घाममा सबैको अधिकार बराबर हुन्छ । घामका किरणमाथि सीमित व्यक्तिले आधिपत्य जमाएकोमा कवि आक्रोशित बनेका छन् । उनी सुन्दर बिहान बोकेर उदाउँदै गरेको घामको गीत गाउन चाहन्छन् । घामलाई स्वतन्त्रताको प्रतीक बनाउँदै उनी लेख्छन् ः

केही व्यक्तिहरु भुइँबाट टिपिरहेछन्
र झोलाभित्र कैद गरिरहेछन् घामका राता किरणहरु
म भन्छु– छाड, घामलाई खेल्न देऊ
घामलाई अझै फुल्न देऊ ।
(श्रेष्ठ, २०५७ः४५)

विद्रोहको आगो ओकेल्दै कवि निरन्तर सङ्घर्षमा लाग्न सबैलाई आग्रह गर्दछन् । समयको माग अनुसार व्यक्तिवादको सङ्कीर्णता भन्दा माथि उठेर शोषित, उत्पीडित, दलित तथा सङ्घर्षको मैदानमा ओर्लेका जनतालाई अनिलका कविताले सहयोग पु¥याएका छन् । कविले आफ्ना सबैजसो कवितामा साम्यवादी समाजको सपनालाई प्रस्तुत गरेका छन् । समीक्षक चैतन्यका अनुसार २०४६ मा केही शक्तिले सामन्तवादी सत्तासँग सम्झौता गरी युद्ध टुङ्ग्याएकामा अनिल आक्रोशित हँुदै निर्णायक युद्ध लड्नुपर्छ भन्दै वर्गसङ्घर्ष र युद्धका पक्षमा जोडदार आवाज व्यक्त गर्दछन् (चैतन्य,२०६४ः११४) । संशोधनवादी एवम् प्रतिक्रियावादीहरुप्रतिको घृणाभाव अनिलका कवितामा अभिव्यक्त छ । दुई छाक खान नपुुगेर बैंसमै चाउरी परेका ग्रामीण अनुहारमा देखिने पीडालाई उनले राम्ररी बुझेका छन् । गरिबीको मार खेपेका पँुजीवादका मतियारहरुले निर्ममतापूर्वक गोली बर्षाएकोमा कवि क्रुद्ध बनेका छन् । सर्वहारावर्गमाथिको यस किसिमको प्रहारको प्रतिकारमा उत्रेपछि अन्त्यमा जित न्यायप्रेमीकै हुनेछ र अवश्य पनि सुकिलो दिन आउनेछ भन्ने दृढ विश्वास कविमा देखिन्छ ।

यस देशमा सर्वहारावर्गद्वारा साङ्गठनिक रुपमा सुरु गरेर उत्कर्षमा चुल्याइँदै गरेको मुक्तिको अभियानलाई क्षतविक्षत पारेर निरन्तर कालरात्री जगाउने उद्देश्यले यही देशभित्रका केही शक्तिले विस्तारवादी एवम् साम्राज्यवादी शक्तिसँग गुहार मागिरहेको अवस्थामा तिनीहरुका विरुद्धमा अनिलका कविता लक्षित छन् । आफ्नो राष्ट्रियतालाई सर्वोपरि मान्दै राष्ट्र र जनहितका विरुद्धमा लाग्नेहरुप्रति कडा विषवमन गर्ने काम उनका कवितामा भएको छ । यी कवितामा क्रान्तिकारीहरुमाथि राज्यले गरेको बर्बर यातना तथा दमनको विरोध पाइन्छ ।

क्रान्तिकारीहरुका नाउँमा दलित र जनजातिका बस्तीमा गोली बर्साएर निम्न वर्गलाई माथि उठ्नै नदिने सत्तासीनहरुको प्रवृत्तिमाथि कविले प्रहार गरेका छन् । विकृत दिनहरु हटाएर गरिबनिमुखाका लागि सुखका दिन भिœयाउने चाहनामा सिर्जित अनिलका कवितामा निरङ्कुश तानाशाही प्रवृत्तिको पतन अवश्यम्भावी छ भन्ने विश्वास अभिव्यक्त छ ः

एकएक चोटहरुको प्रहारले
जब एउटा बूढो गिद्धसँगै जर्जराउँदै
ढल्नेछ एउटा आदिमता
र मसानघाटमा बेपर्वाह सडिरहेको हुनेछ बूढो गिद्ध
त्यसबेला हामी गाउने छैनौं
कुनै मृत्युन्जयी गीतहरु
बदलामा हर्षोल्लासपूर्वक उठिरहनेछन् विजयी जुलुसहरु
(श्रेष्ठ, २०५७ः५१)

जनयुद्धका समयमा राज्यआतङ्कले चरम रुप लिई ताण्डवनृत्य गरेकोमा अनिलका कविताले रोष प्रकट गरेका छन् । सिर्जनशीलहरुमाथिको धरपकड, दिनदहाडै अबला तथा ग्रामीण महिला एवम् स्कुले नानीहरुमाथि तत्कालीन शाही सैनिकको बलात्कार, बिनाकसुर निहत्था किसान, दलित अर्थात सम्पूर्ण न्यायका पक्षधर सर्वसाधारणहरुलाई निरङ्कुशताको गोली प्रहार जस्ता कुकृत्य गरी मृत्युपर्व मनाउनेहरुका विरुद्ध अनिलका कविता दह्रो र खरो रुपमा उत्रेका छन् । उनका यी कवितामा यस प्रवृत्तिका विरुद्ध एकजुट भई महासमरमा ओर्लन सर्वहारा सबैलाई आग्रह गरिएको छ । कवि वर्तमानको कालो हटाउन चाहन्छन् । जनयुद्धबाट नै यस क्रूर यथार्थको अन्त्य हुने विश्वास उनका कवितामा अभिव्यक्त छ । जनयुद्धले उज्यालो गर्भाधान गराएको यथार्थलाई उनले यसरी प्रतिबिम्बन गरेका छन् ः

भर्खरै सूर्य गर्भाधान भएको यस धर्तीबाट
टिपेर बिहानीका कलरव ध्वनिहरु
म तिमीलाई दिन्छु चराहरुको एउटा मिठो गीत
(श्रेष्ठ, २०५७ः६८)

बहुदलीय शासनकालमा तत्कालीन शासकहरुको निर्देशनमा सामूहिक रुपमा क्रान्तिकारीहरुलाई हत्या गरिएका स्थान विशेषका बिम्बहरुको संयोजनका साथै कला, गला एवम् लेखनका माध्यमबाट उज्यालो खोज्ने क्रममा सहादत प्राप्त गर्न पुगेका जनवादी गायक, कलाकार तथा सर्जकहरुको योगदानको कदरस्वरुप पनि अनिलका केही कविताहरु सिर्जित छन् । जनयुद्धमा लामबद्ध हुन नचाहने तर आपूmलाई प्रगतिवादी÷प्रगतिशील भनाउन रूचाउने जो हजारौंको बलिदान हँुदा पनि टुलटुल हेरेर बसेका छन् तिनीहरुप्रति अनिलले आफ्ना केही कवितामा आक्रोश पोखेका छन् ।

बिम्ब र प्रतीक प्रयोगका दृष्टिले अनिलका कविताहरु केही बौद्धिक र केही अमूर्त पनि देखिन्छन् । अधिकांश कविताहरु सरल हुँदाहुँदै पनि केही कवितामा यस्तो स्थिति देखिन्छ । ‘शब्दयुद्ध’ शीर्षकको कविताका सन्दर्भमा डा. ताराकान्त पाण्डेयका अनुसार अनिल आफ्ना कवितामा देशमा चारैतिर हिंस्रक जङ्गल उम्रेको र ऐँजेरू समय व्याप्त रहेको बिम्ब प्रस्तुत गर्छन् । ऐँजेरू पलाएकैले र देश त्यसको हिंस्रक जङ्गलमा परिणत भएकैले त जनताको जीवन असुरक्षित भएको छ (पाण्डेय,२०४९ः१९०) । उनका कविताहरु सर्वसाधारण पाठकका लागि अलि सहज छैनन् भन्ने कुराको सङ्केत गर्ने घनश्याम ढकालका अनुसार अमूर्त विचार र जटिल बिम्बको प्रयोगले अनिलका कविताहरु दुरुह बनेका छन् (ढकाल, २०६२ः१४७) । ‘मृत्युपर्व होइन मेरो देश’को भूमिकामा डा. ऋषिराज बरालका अनुसार अनिल प्रतीक मन पराउने कवि हुन् । उनी कतिपय ठाउँमा केही भावुक, केही अमूर्त र बढी बौद्धिकतायुक्त पनि देखिन्छन् । कतिपय सन्दर्भमा उनका कविता प्रयोगात्मकतातिर लहसिएका पनि अनुभूत हुन्छन् । शिल्पसचेतता विचारको मूर्तिकरणको बाधक बनेको छ । यसले कविताको सरलता, सहजता र सम्प्रेषणीयतालाई बोझिलो बनाएको छ ।

अनिलका कविताहरु सबै गद्यभाषामा संरचित छन् । कुनै कुनै कवितामा शिल्प पक्ष अलि जटिल किसिमको देखिन्छ । लय संयोजनका दृष्टिमा अधिकांश कवितामा कविले सचेत रुपमै अन्तर्लयको आयोजना गरेका छन् । कविताहरु प्रतीकात्मक छन् । ग्रामीण समाज, राजनीतिक द्वन्द्व, प्राकृतिक परिवेश आदिसँग सम्बन्धित बिम्ब र प्रतीकको प्रयोग यी कवितामा छन् । नयाँ किसिमका बिम्बहरुको संयोजन यी कवितामा देखिन्छ । अन्त्यमा, आम नेपालीहरुका लागि उज्यालो बिहान ल्याउनुपर्छ भन्ने भाव मुखरित अनिलका यी कविता दसवर्षे नेपाली संवेदनाका ऐतिहासिक अभिलेखहरु हुन् ।

माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्यबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here