सौन्दर्यको खोजी तर्फ उद्दत कविताहरु

0
1014

डा. ऋषिराज बराल

साहित्यको माध्यमबाट यथार्थको उद्वोधन गर्ने अभियानमा कविता विधा सबभन्दा सशक्त माध्यम बनेको छ वर्तमानमा । अनिल श्रेष्ठ यस्तै कवितामार्फत समकालीन यथार्थको सशक्त उद्वोधन गर्ने कविको नाम हो । समकालीन यथार्थको उध्र्वगामी पक्षलाई संश्लेषण गर्दै कवितालाई सङ्घर्ष अभियानको रुपमा अघि बढाउन उद्यत् रहेका कवि अनिल श्रेष्ठ २०४६ सालको जनआन्दोलन पश्चात् नेपाली कविताको क्षेत्रमा देखा परेका युवा पुस्ताका प्रतिनिधि कवि हुन् । निरन्तर साधना र आत्मसङ्घर्षको भावना उनको लेखनमा अनुभूत गर्न सकिन्छ । यसै अर्थमा समकालीन कविहरु बीच आफ्नो छुट्टै परिचय र पहिचान स्थापनार्थ सङ्घर्षरत् कवि हुन्–अनिल श्रेष्ठ । यथार्थको उदात्त र अग्रगामी पक्षको महागाथात्मक वर्तमानलाई समवेत स्वर दिन उद्यत छन् उनी । उनी वर्तमान सत्ताको उर्दीलाई चुनौती दिएर सहीदहरुको गीत गाउने कवि हुन् । उनी कविता मार्फत जनसमरको संगीतमा समाहित हुने कवि हुुन् ।

अनुभूत यथार्थको तात्क्षणिक अभिव्यक्तिका लागि कविता सबभन्दा प्रभावशाली र अनुकुल विधा हो । अझ जब क्रान्तिकारी दृष्टिकोणयुक्त कुनै कविले यथार्थको अग्रगामी पक्षलाई उदात्तीकरण गर्दछ, कविता साँच्चिकै सुन्दर बन्दछ । यतिखेर नेपाली साहित्यको समग्र पक्षमै कविता विधा सबभन्दा अगाडि रहेको छ र यस कार्यमा प्रगतिवादी नेपाली कविहरुको भूमिका महङ्खवपूर्ण बनेको छ । २०४६ सालपछि रुपवादी क्षेत्र एकदमै जड बनेको देखिन्छ भने प्रगतिवादी आन्दोलनभित्र पनि एउटा तप्का पलायनवादको दिशातिर तीव्र रुपमा अघि बढेर जाने क्रममा अग्रजहरुले अगाडि बढाएका समवेत स्वरमा स्वर थप्न केही युवा कविहरु प्रतिस्पर्धात्मक रुपमा प्रगतिवादी कविता आन्दोलनको क्षेत्रमा देखा पर्दछन् । यिनै युवा कविहरुको बीचमा चिनिएको एउटा नाम हो–अनिल श्रेष्ठ । वास्तवमा जब हामी प्रगतिवादी कविता लेखन र आन्दोलनको कुरा गर्दछौं र ०४६ सालपछिको युवा प्रतिभाहरुको नाम लिन्छौं हाम्रा सामु अनिल श्रेष्ठ, पुण्य कार्की, गंगा श्रेष्ठ, चेतकान्त चापागाईं, मोदनाथ मरहट्टा, नव गाउँले, ऋषि बस्ताकोटी, पूर्ण इन्फादा, लोकेन्द्र बिष्ट, के.एल.पीडित, अन्जान विरही, मुकेशचन्द्र राजभण्डारी, आदि युवा कविको नाम आउँछ । अनिल श्रेष्ठका आफ्नै केही निजी विशेषताहरु पनि छन् । कविता सिर्जना आफैमा एउटा सङ्घर्षको रुप हो र स्रष्टा निष्क्रिय भोक्ता बन्न सक्दैन । सिर्जनाको प्रमुख स्रोत उत्पादनकार्य र श्रमचेतना हो भन्ने कुरामा उनको कवित्वचेत प्रष्ट रहेको छ ।

यस सङ्ग्रहमा जम्मा ३० वटा कविता समाविष्ट छन् र कविले उल्लेख गरेझैं २०५० सालदेखि यताका कविताहरु यसमा सङ्ग्रहित छन् । त्यसैले यस सङ्ग्रहका कविताहरु २०४६ सालपछिको सामाजिक जीवनप्रतिको कविको सोच र समझका उपज हुन् । २०४६ सालपछि आम जनमानसले जेजस्तो स्थिति र परिवेशको चाहना गरेको थियो त्यसको बदलामा सत्तामा पुगेकाहरुले जनतालाई हत्या, आतङ्क, असुरक्षा, महङ्गी र भ्रष्टाचार सिवाय केही दिन सकेनन् । पञ्चायती निरङ्कुशताको विरुद्ध आन्दोलनमा सरिक भएका नेपाली जनताको थाप्लोमा बहुदलीय निरङ्कुशता बज्रियो । सत्तामा पुगेकाहरुले कालोलाई रातो र रातोलाई कालो भनेर जनतालाई दिग्भ्रमित पार्ने काम गर्दै रहे । देश राज्यआतङ्क र जनहत्याको अटुट श्रृङ्खलामा डुबिरह्यो । आमाहरुले छोराछोरी गुमाए, साना नानीहरुको कोमल छातीमा समेत सरकारी आतङ्कका बुटहरु बज्रिरहे । लालीगुराँस फुलेका राता पहाडहरु लगायत तराईका फाँटहरुमा सत्ता आतङ्कको ताण्डव नृत्य चलिरह्यो र चलिरहेकै छ । कविको आँखाले बलात्कृत आमा, दिदी र बहिनीको पीडालाई नजिकैबाट देखेको छ र रगतपच्छे भएर लडिरहेका वीरहरुको आँखाको भाषालाई अनुभूत गरेको छ । कविले अँध्यारो बुझेको छ, विकृति र विसङ्गति सबै देखेको छ र यसका विरुद्ध उठिरहेका मुठ्ठीहरु पनि देखेको छ र देखेको छ सङ्गीतको धुनसँग परेड खेलिरहेका राता मान्छेहरुको जुलुस । त्यसैले यसमा समाविष्ट कविताहरु वर्तमानको कुरुपताको विरुद्ध सौन्दर्यको खोजीतर्फ प्रयासरत् छन् । अँध्यारोलाई चिर्ने उज्यालो प्राप्तिका लागि संघर्षको उद्घोष बन्न पुगेका छन् । यसै अर्थमा यस सङ्ग्रहका कविता जनसमरको महान् यात्रामा हिँडेका यात्रीहरुका गीतहरु बनेका छन् । कवि सङ्घर्षको सगौरव घोषणा गर्दछन् । सिर्जनाका सम्पूर्ण फूलहरुलाई निरङ्कुशताका बुटले कुल्चेर मृत्युपर्व मनाउनेहरुका विरुद्धको आह्वान हुन् अनिलका कविताहरु । यिनले वर्तमानको सिङ्गो यथार्थ र यसले निर्दिष्ट गरेको दिशातर्फ पाइलालाई औंल्याएका छन् ः

अब म निर्वाध बोकेर हिँडिरहेको छु
केही आगोका शब्दहरु
र शब्दहरुबाटै
म निरन्तर प्रहार गरिरहेको छु युद्धअस्त्र
(शब्दयुद्ध)

कवि अनिल श्रेष्ठ शुरुमा कविता मार्फत मूलतः वर्तमानको चिरफार गर्दछन् । वर्तमानलाई देखाउँछन् र गाउँका मुखियाहरुको काला घोडाका टापहरुले गाउँलाई कुल्चेको यथार्थ प्रस्तुत गर्दछन् र काला कागहरुबाट हुने संयमित आक्रमणप्रति चिन्तित देखिन्छन् । क्रुर र कुरुप यथार्थलाई वर्तमानको सबभन्दा अकाट्य सत्य मानेर पैरवी गर्न तयार छैनन् उनी । उनी आफ्नो कवितालाई यसै क्रुरताको विरुद्ध उभ्याउन चाहन्छन् ।

सत्तामा रहेकाहरुले जेलाई सत्य र सुन्दर भनेका छन् त्यसभित्र घिनलाग्दो कुरुपता कविले देखेका छन् । राष्ट्रघातका विरुद्ध उठेका हातहरुलाई आततायी हातहरुले कसरी दिनदहाडै गोलीको शिकार बनाइरहेका छन् भन्ने कुरा कवि यसरी व्यक्त गर्दछन् ः

नागरिकता हराएर अनागरिक बनिरहेको छ देश
सीमा हराएर अतिक्रमण भोगिरहेछ देश
सुरक्षा हराएर असुरक्षित बनिरहेछ देश
भर्खरै आफ्नो हराएको सीमा खोज्दा
पिपलको बोटनेर हत्या भएको छ एउटा नेपाली ठिटो
(देश, कवि र कविता)

रातो झण्डा बोकेर रातो झण्डाकै विरोध गर्नेहरुसित होस् या रातो झण्डा देख्नेवित्तिकै आफ्नो मानसिक सन्तुलन गुमाउने तङ्खव होस् कवि उनीहरुको चिनारी आम जनतालाई गराइरहेका छन् । कवि निर्भिक भएर उनीहरुलाई चिनाउने र स्यालहरुको दरबारभित्रको नाटकको पर्दाफास गर्दै उनी भन्छन् ः

सूर्य माथिमाथि चढिरहेछ
र स्यालहरुको दरबारभित्र एउटा
महाभूकम्प उठिरहेछ
सूर्यलाई खसाल्ने प्रयत्नमा
असफलसिद्ध भएका छन् तिनीहरुका
कम्प्युटर जडानयुक्त हतियारहरु
र सम्बन्धविच्छेद भएका छन् टेलिफोन सर्किटका तारहरु
(आजभोलि स्यालहरुको दरबारभित्र)

‘रोल्पाली आमा’देखि कविको चिन्ता अब सोझै जनसमरसित गाँसिन्छ । कवि वर्तमानको विदु्रपता विरुद्ध अब सौन्दर्यको सम्बहनतिर उन्मुख हुन्छन् र जनसमरको गीततर्फ पाठकलाई प्रवृत्त गराउँछन् । ०५२ सालपछि महान् जनयुद्धको शुरुवातसँगै प्रतिक्रियावादी वर्गमा मात्र होइन आपूmलाई वामपन्थी भन्न चाहने कतिपय पार्टीहरुमा समेत एक किसिमको भूकम्प नै आएको यथार्थ हाम्रा सामु छन् । जनसमरले राजनीतिक क्षेत्रमा मात्र होइन सिङ्गो नेपाली समाजको संवेदनालाई हल्लाइदियो । यसले जमेर बसेको अनुभूति र संवेदनालाई पगाल्ने काम ग¥यो । जनसमरका गर्भबाट निस्केको यथार्थको नवीन पक्षले सिङ्गै नेपाली साहित्यलाई प्रभावित पा¥यो । अब एउटा सीमारेखा कोरियो –कतापट्टी ?

लेखक, कविका सामु त्याग, बलिदान र सौन्दर्यका अथाह उपमा र उदाहरण देखापरे । नयाँ नयाँ आदर्श नायक र सौन्दर्य बिम्बहरु निर्माण भए । ठाउँ अब केवल भूगोल र परिवेश रहेनन् । ती इतिहास बने । बेथान, धरमपानी, हापरे, त्रिवेणी, सिरुवानी, झिम्पे यी अब ठाउँको नाम मात्र रहेनन्, यी सौन्दर्यका नयाँ आयाम बने । अब छनौट प्रष्ट भयो । नवीन यथार्थको यो द्वन्द्वरत् स्थितिमा स्रष्टा उभिएको ठाउँ र विन्दुको खोजी हुनु असान्दर्भिक थिएन । महासमरको यो दृश्यलाई अगाडि राखेर हेर्दा समकालीन कविता लेखनको क्षेत्रमा कवि अनिल श्रेष्ठ हातमा शस्त्र लिएर निरन्तर दुश्मनको किल्लामा धावा बोलिरहेका कविको रुपमा देखिन्छन् । त्यसैले उनी घोषणा गर्छन् ः

यो युद्धस्तरबाट
म आफ्नो हृदयलाई सकुशल जोगाएर राख्ने छु
मेरो प्रिय मानिस
सुरक्षित राख्न आफ्नो हृदयलाई
मैले आफ्नो युद्धकवच भिरिसकेको छु
(युद्धोस्तरबाट)

यो देशमा चलिरहेको मुक्तिअभियानलाई तहसनहस पार्न साम्राज्यवादी शक्तिहरु को कसरी क्रियाशील छन् त्यो पनि कविलाई थाहा छ र संसारका तानाशाह र निरङ्कुश शासकका अनुहार सोहोरिएर कसरी नेपाली तानाशाहहरुको अनुहारमा अनुहार थुप्रिएको छ त्यो पनि कविलाई थाहा छ । सुन्दर बिहानीको घाममा मुस्कराएका लालीगुराँसका ओँठहरुलाई, जब आफ्नै मुक्त धरतीको निर्माणमा जुटेका जनसमरकर्मीहरुलाई बुट र सङ्गीनले क्षतविक्षत पारिन्छ, जब गोलीको पर्राले रक्तरञ्जित पारिन्छ, कविभित्रको मुक्ति चेतना घोषणा गर्दछ– ‘मृत्युपर्व होइन मेरो देश’ । कुनै पनि नादिरशाही प्रवृतिले मुक्ति धुनको गुन्गुनाहटलाई छेक्न सक्ने छैनन्,शहीद हुन लामबद्ध छन् मान्छेहरु भन्दै कवि भन्दछन् ः

एकएक चोटहरुको प्रहारले
जब एउटा बूढो गिद्धसँगै जर्जराउँदै
ढल्नेछ एउटा आदिमता
र मसानघाटमा बेपर्वाह सडिरहेको हुनेछ बूढो गिद्ध
त्यसबेला हामी गाउने छैनौं
कुनै मृत्युन्जयी गीतहरु
बदलामा हर्षोल्लासपर्वक उठिरहनेछन् विजयी जुलुसहरु
(मृत्युपर्व होइन मेरो देश)

जब हामी प्रगतिवादी नेपाली कविताको कुरा गर्दछौं, हाम्रो सामु प्रष्ट रुपमा एउटा इतिहास देखापर्दछ । कृष्णचन्द्र प्रधान, भूपी शेरचन, केवलपुरे किसान, गोकुल जोशी, युद्धप्रसाद मिश्र, पारिजात, नरेश शाक्य, वम देवान, यज्ञराज प्रसाई, विक्रम सुब्बा, कृष्ण पाख्रिन, वेणु आचार्य, विमल निभा, कुन्ता शर्मा, मञ्जुल आदिको एउटा इतिहास हाम्रा सामु देखा पर्दछ । आज यी कविहरु कहाँ छन् ? के गर्दैछन् ? कति जीवित छन्, कति क्रियाशील छन् ? कुन बाटोमा छन् ? अध्ययन र मूल्याङ्कनको बिषय बनेको छ तर इतिहासको निश्चित कालखण्डमा यी कविहरुले निर्माण गरेको बाटोलाई इच्छुक, पूर्णविराम, दिल साहनी, यज्ञबहादुर डाँगी, ईश्वरचन्द्र ज्ञवाली, आहुती, मणि थापा, बलभद्र भारती, राजकुमार केसी प्रभृति कविहरुले वर्तमानमा गति दिइरहेका छन् र यसै यात्रामा एउटा सशक्त हस्ताक्षर थपिएको छ–अनिल श्रेष्ठ । अनिलका कविता पढिसकेपछि सहजै अब यो कुरा घोषणा गर्न सकिन्छ ।

अनिल श्रेष्ठ प्रतीक मन पराउँछन् । कतिपय ठाउँमा केही भावुक, केही अमूर्त र बढी बौद्धिकतायुक्त पनि देखिन्छन् । कतिपय सन्दर्भमा उनका कविता प्रयोगात्मकतातिर लहसिएका पनि अनुभूत हुन्छन् । यथार्थतः बौद्धिकता, प्रयोगात्मकता आफैमा खराब कुरा होइनन् । तर बौद्धिकता र प्रयोगात्मकताको नाममा कविताको संरचना र विचारको प्रवाहतर्फ अमूर्तता र जटिलतातिर लाग्नु भने खतरनाक पनि हुनसक्छ । पहिलेको तुलनामा यस पक्षमा कवि सचेत देखिन्छन् । तापनि यस पक्षमा कविले अझै ध्यान दिनपर्ने आवश्यक देखिन्छन् । यसैगरी कवि अनिल श्रेष्ठ शिल्पप्रति एकदमै सजग देखिन्छन् । उनी शिल्प सचेतता भएका कवि हुन् । यसमा उनी प्रशंसायोग्य रहेका छन् तर शिल्प सचेतता विचारको मूर्तीकरणको बाधक बनेको छ । यसले कविताको सरलता, सहजता र संप्रेषणीयतालाई बोझिलो बनाएको छ । यस पक्षमा पनि कवि सचेत हुनु आवश्यक देखिन्छ । यस्ता केही कमी कमजोरीहरुलाई छाडिदिने हो भने कवि अनिल श्रेष्ठ निरन्तर साधना र आत्मसङ्घर्षप्रति प्रतिबद्ध कवि हुन् । उनमा रहेको यसै कवित्व प्रतिभा र क्षमताले उनलाई आफ्ना समकालीनहरुको बीच छुट्टैै चिनारी स्थापित गर्न सघाउन पु¥याएको छ भने उनमा रहेको स्पष्ट र सुसङ्गत दृष्टिकोणले गर्दा उनलाई वर्तमानको यथार्थको एउटा कुशल गायकको रुपमा परिचित गराएको छ ।

वर्तमान सत्ता असन्तुलित बन्दै गएको छ र पछिका दिनहरु यस्ता कविहरुका लागि अझ कष्टकर हुनेछन् । तर मलाई लाग्छ यस्तै कष्टकर दिन र समयहरुबाट नै अझ सुन्दर कविताहरु कविबाट जन्मनेछन् ।

‘मृत्युपर्व होइन मेरो देश’को भूमिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here