मृत्युपर्व बोकेको २०५५ साल र ‘मृत्युपर्व होइन मेरो देश’ का कवि

0
1714

जीतवीर राई


नेपाली पात्रोमा २०५५ साल बितेर २०५६ साल लागेको छ । यो ५५ सालभरि नै हाम्रो देशमा जनपक्षीय साहित्यकार कलाकारहरुको हत्याको एक प्रकारको लहर चलेको पाइयो । यस प्रसङ्गमा सबैभन्दा पछिल्लो घटना काभ्रेको अनेकोटमा घट्यो । सुन्नमा आए अनुसार यो वीभत्स हत्याकाण्डका योजनाकार एमाले पार्टीका केही नेताहरु थिए र उनीहरुकै सुराकीमा एमाले काङग्रेस सरकारको नेतृत्व र निर्देशनमा सात जनकलाकारहरुको हत्या गरियो । च्याङ्वा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनिमाया लामा, डम्बर श्रेष्ठ, गुम्बसिँह तामाङ् र मञ्जु कँवर अनेकोटमा मारिनु पूर्व मस्तबहादुर विष्ट, अञ्जान विरही आदि जनपक्षीय कलाकार साहित्यकार पनि मारिएका थिए । एमाले काङ्ग्रेस सरकारले नेपाली जनतालाई दिएको ५५ सालको अविस्मरणीय उपहार सायद यही हो ।

जहाँ पनि र जहिले पनि सत्ताधारीहरु खास गरी प्रतिक्रियावादी बुर्जुवाहरु जब तर्क र विचारद्वारा पराजित हुन थाल्छन् अनि देशका प्रतिभाहरु उनका आँखाका कसिङ्गर बन्छन् र हत्याका बीभत्स घट्नाहरु घटाउन थाल्छन् । यो संसारको इतिहास र स्थान त्यस्तो छैन जहाँ बुर्जुवा शासकहरुले आफ्ना देशका सपूतहरु नमारेका होऊन् । चाहे बर्तोल्त बे्रख्त, फेदेरिको गार्सिया लोर्का या पाँल रब्सन होऊन् चाहे सुब्बा राव पाणिग्रही र सरोज दत्त होऊन् या नेपाली जनकलाकार साहित्यकार होऊन् फासीवादीको हातबाट मारिने क्रम यथावत चलेको छ । यसरी प्रतिभाहरुको हत्याको क्रमबद्ध श्रृङ्खला नै चलेको देखेर पनि यहाँका एकथरी बुद्धिजीवीहरुको होस खुलेको छैन र उनीहरु विचलित भएका छैनन् । हुन् पनि कसरी ? दास मनोवृत्तिका तथाकथित बुद्धिजीवीहरु !

‘तँलाई खाने बाघले मलाई पनि खान्छ’ भन्ने नेपाली उखानलाई बिर्सिएर नै होला, आज सबै चुपचाप देखिएका छन् । २०५५ सालभरि नै देशले एक प्रकारले मृत्युपर्व मनायो । यी र यस्ता पर्वहरु कसैका निमित्त हृदयविदारक भए भने कसैका निमित्त उन्मत्त बसन्तोत्सव पनि भए । यस्ता मृत्युपर्वलाई बसन्तोत्सवको रुपमा मनाउनेहरु सत्ताधारी र सत्ताका आसेपासे भएर बाँचेका कुनै समयमा जनपक्षीय भनेर सम्मान गरिएका कलासाहित्यकार एवं बुद्धिजीवीहरु देखिए भने साँच्चै नै जनताका आवाजलाई उराल्ने र उनीहरुको हितमा लागिपरेका जनपक्षीय कलासाहित्यकार द्रवित पनि भएको पाइयो । यसै प्रसङ्गमा कवि अनिल श्रेष्ठको “मृत्युपर्व होइन मेरो देश” कविता सङ्ग्रह स्मरणीय कृतिको रुपमा प्रकाशित भएको छ । यसको प्रकाशन वर्ष पनि २०५५ साल नै हो ।

गत वर्षभरि नै एकातिर सत्ताधारीहरुले मृत्युका विभिन्न रङ्गमञ्चहरुको आयोजना गरे भने अर्कातिर कवि अनिल श्रेष्ठ मृत्युपर्वका आयोजक आततायीहरुका विरूद्ध प्रतिरोधमा शब्दबाण लिएर उभिएका देखिन्छन् । उनका अनुसार देशमा घटेका अनेकौँ बीभत्स घटनाप्रति आँखा चिम्लनु बुद्धत्व होइन, बरु–

मैले पनि अब धराल बोकेर
हिँड्नुपर्ने भएको छ
आफ्नो काँधमा धनुकाँणहरु
भिर्नुपर्ने भएको छ
त्यसैले अब त
निर्वाध बोकेर हिँडिरहेको छु
केही आगोका शब्दहरु
र शब्दहरुको
म निरन्तर प्रहार गरिरहेको छु
युद्धअस्त्र

भन्दै कवि ‘शब्दयुद्ध’मा उत्रिएका छन् । यो पूरै वर्ष कहीँ खाली भएनन् बुकी र गुराँस फुल्ने लेक होस् या सुनगाभा र चमेली फुल्ने बेसीका फाँट । कस्तुरीको सुगन्धमा आज रगतको बासना आउँछ, शाकाहारी गैँडाले रगत मिसिएको पानी पाउँछ । हरिणहरु तर्सिएर भाग्न थालेका छन् भने न्याउलीले रोएर आततायीहरुलाई सरापेका छन् । फासीवादी आततायीका घाँटीमा नरमुण्डको माला देखेर, क्रुर सत्ताका नग्न एवं ताण्डव नृत्य देखेर नै सायद कविले घोषणा गरेका छन् र भनेका छन् ‘मृत्युपर्व होइन मेरो देश’ ।

कविले जतिसुकै हुँकार गरे पनि पुरै ५५ साल देश जल्लादका हातबाट लुटिइरह्यो । द्रवित हृदयहरु विचलित बनेर छटपटिइरहे । आज नागरिक अधिकार खोसिँदा नेपालीहरु मूक बनेर बस्नु पर्ने भयो । जताततै आक्रमण र धडपकड अझै कायम छ । देशमा कहीँ कतै केही घटना घट्छ त्यसको कारकतङ्खव आफै सत्ताधारी बनेकोले आफ्नो घृणित अनुहार लुकाउन र कसैले केही नदेखून्, कसैले केही नसुनून् भनेर सरकार पत्रकार र बुद्धिजीवीलाई पक्रेर जेलमा कोच्छ । यो देखेर कविलाई सह्य हँुदैन किनभने कविलाई थाहा छ–पत्रकार र बुद्धिजीवी भनेका यो समाज, अझ यो देश मात्रै नभएर पूरै मानव समाजका, चिन्तन जगतका मूल स्रोत हुन्, साथै कवि पनि । त्यसैले कवि हृदय बोल्छ–

म जरा हँु
मलाई जराहरु भएर फैलन देऊ

तर कवि हृदयको यो पुकार सुनिदिने को छ र ? शासकहरु समाजको बागडोर आफ्नो हातबाट खुस्किदै गरेको देखेर अत्तालिएका छन् । बौलाहा कुकुरले जताततै मान्छेलाई टोकी हिँडेझैं गाउँगाउँमा चेतनाको विस्तार होला भनेर, चेतनाका बाहक कलाकार साहित्यकारलाई गोलीले उडाउँदै र जिउँदै घरमा थुनेर आगो लगाउँदै मुठभेडको मुचुल्का तयार पार्दै अझैसम्म हिँडिरहेका छन् ।

यसरी २०५५ साल मृत्युपर्वका क्रमबद्ध र बीभत्स श्रृङ्खलाहरुमा बेरिएर नै बित्यो भने यसले कवि, कलाकार, साहित्यकार, पत्रकार र बुद्धिजीवीलाई मात्रै नभएर सम्पूर्ण नेपाली जनतालाई नै एउटा तीतो यथार्थ भोग्न बाध्य एवं विवश बनायो । यहाँ कवि अनिल श्रेष्ठको उपर्युक्त शीर्षकको कृतिमा उनको स्वीकृतिसूचक बोलीमै मैले पनि लोली मिलाउँदा ०५५ सालको मेरो देशको अनुहार छर्लङ्ग हुने ठानेको छु–

कुर्सी कुर्सीवालहरुको लागि बनियाँको गुलियो बनिरह्यो
र जनताले त्यसको तीतो यथार्थ भोगिरह्यो
प्रिय पाठकहरु
यतिबेला म फेरि असन्तुलित र उद्वेलित छु
देखिरहेको छु
देश मृत्युपीडा भोगिरहेछ
गाउँ बस्तीहरु आक्रान्त छन्
सहरहरु अशान्त छन्

जनादेश,२०५६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here