‘मृत्युपर्व होइन मेरो देशमा’ प्रगतिवादी चेतना

att.FYtwCP7vgd2UUclAYn7DQRRMNyoDBetoyjBctB Zl8g

नारायण मरासिनी

अनिल श्रेष्ठ प्रगतिवादी कवि हुन् । २०४६ सालपछिको विषम परिवेशबाट यिनको लेखन आरम्भ भएको हो । २०५२ सालबाट सुरु भएको जनयुद्धमा सशरीर सहभागी भएर नै यिनले काव्यलेखनको यात्रालाई गति दिएका हुन् । निरन्तर साधनामा लागेर यिनले समकालीन कविहरूका बिच आफ्नो छुट्टै एउटा पहिचान स्थापित गरेका छन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रह अध्ययन गर्दा यसभित्रका कविताहरू नारा नभएर प्रगतिवादी कविताका वास्तविक नमुना बनेका छन् ।

सार
प्रगतिवाद जीवन र जगतलाई द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेरेर मूल्याङ्कन एवं विश्लेषण गर्ने सिद्धान्त हो । समाजकेन्द्रित विश्वदृष्टिकोणमा आधारित माक्र्सवादको साहित्यसम्बन्धी अवधारणा नै प्रगतिवाद हो । प्रगतिवादले शोषण–अन्याय र अत्याचारको विरोध गर्दै सभ्य समाजको निर्माणतर्फ मानवीय चेतनालाई उन्मुख गराउँछ । समाजलाई अँध्याराबाट उज्यालातर्फ, कुदिनबाट सुदिनतर्फ, कुरूपताबट सुरूपतातर्फ रूपान्तरित गराउँदै युगानुकूल परिवर्तनका लागि प्रेरणा दिने हुनाले प्रगतिवाद परिवर्तनको सिद्धान्त हो । प्रगतिवाद अन्धकारमय जीवनलाई उज्यालो दिने अर्थात समृद्ध बनाउने सिद्धान्त हो । समतामूलक समाजको निर्माण यसको अभीष्ट हो । अनिल श्रेष्ठ यही सिद्धान्तलाई अङ्गीकार गर्ने प्रगतिवादी सोच भएका कवि हुन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५,/दो.सं २०५७) प्रगतिवादी कविताहरूको सङ्ग्रह हो । यस सङ्ग्रहका कवितामार्फत कविले अन्धकारमय वर्तमानमा रहेर सुन्दर जीवनको खोजी गरेका छन् । प्रस्तुत लेखमा वर्गीय मुक्तिको चाहना अभिव्यक्त यस सङ्ग्रहका कवितालाई नेपाली धरतीमा विकसित जनयुद्ध (२०५२) को सापेक्षतामा व्याख्या–विश्लेषणको विषय बनाइएको छ । आफ्ना कवितामार्फत क्रान्तिलाई निमन्त्रण गर्ने अनिल क्रान्तिकारी कवि हुन् । यिनका कविताहरू प्रगतिवादी चेतनाले ओतप्रोत छन् । राजनीतिक रूपमा सचेत कवि अनिलले आफ्ना कवितामार्फत सर्वहारा वर्गको मुक्तिको चाहना व्यक्त गरेका छन् । जनयुद्धकालमा भएको राज्यआतङ्कको यिनले विरोध गरेका छन् । यिनी जीवनवादी कोणबाट कविता सिर्जना गर्ने कवि हुन् । यिनको वैचारिक चेतनाको खोजी गर्ने क्रममा प्रस्तुत लेखका लागि पूर्वप्रकाशित समीक्षाहरूको सहयोग लिइएको छ । सङ्ग्रहभित्रका ४० वटा कवितामध्ये क्रान्तिकारी विचार अभिव्यक्त ९ वटा कविताका आधारमा प्रगतिवादी चेतनाको खोजी गर्ने काम यस लेखमा गरिएको छ । अध्ययनका क्रममा साक्ष्यहरूसहित यस सङ्ग्रहलाई जीवनको सुन्दरताका लागि क्रान्तिको खोजी गर्ने प्रगतिवादी कविताहरूको सङ्ग्रह हो भनेर निष्कर्ष निकालिएको छ ।

मुख्य पद
प्रगतिवाद, उत्पीडन, स्वाधीनता, क्रान्तिचेतना, तानाशाही प्रवृत्ति, जनयुद्ध, राज्यआतङ्क, सर्वहारा वर्ग, वर्गीय मुक्ति, नयाँ यथार्थ ।

१) विषयप्रवेश
‘मृत्युपर्व होइन मेरो देश’ (२०५५/दो.सं. २०५७) कवि अनिल श्रेष्ठद्वारा रचित कवितासङ्ग्रह हो । यिनको जन्म तनहुँ जिल्लाको अदुवाखर्कमा वि.संं. २०२८ मा भएको हो । यिनले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । आजसम्म यिनी कविता, कथाका साथै निबन्ध विधाका सिर्जनामा साधनारत छन् । यिनका हालसम्म ८ वटा कृति प्रकाशित छन् । ‘प्रजातन्त्र र पागल’ (२०५०) यिनको कथासङ्ग्रह हो भने ‘राष्ट्रले शोकधुन बजाएको छ’ (२०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५/दो.सं. २०५७), ‘आरु फुलेको साँझ’ (२०६३), ‘मफलर युद्ध’ (२०६९/दो.सं. २०७१), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (२०७३) कवितासङ्ग्रह हुन् । ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरू’ (२०६६/दो.सं. २०६७) र ‘टाइगरहिलकी पुनम’ (२०७४) यिनका निबन्धसङ्ग्रह हुन् । यसै गरी समीक्षक तेजविलास अधिकारीद्वारा सम्पादित यिनका काव्यकृतिसँग सम्बन्धित विभिन्न स्रष्टा–द्रष्टाहरूका लेख–समीक्षाहरूको सङ्कलन ‘सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ’ (२०७४/दो.सं. २०७६) पनि प्रकाशित छ ।

२०४६ सालमा स्थापित बहुदलीय व्यवस्थाले थुप्रै जनवादी स्रष्टाहरू जन्माउने काम ग¥यो । उक्त व्यवस्था केही सीमित व्यक्तिहरूलाई मात्र आएको थियो, आम नेपाली सर्वसाधारण जनताका लागि आएको थिएन । उक्त व्यवस्थामा जनतालाई सर्वोच्च शक्ति मानिएको थिएन । केही सीमित अधिकार मात्रै तत्कालीन महाराजबाट जनताले प्राप्त गरेका थिए । आन्दोलनलाई सम्झौतामा टुङ्ग्याएर त्यस समयमा सयौँ वर्षदेखि पूरा हुन नसकेका जनताका इच्छाआकाङ्क्षामाथि कुठाराघात गरिएको थियो । सम्झौतामा टुङ्गिने आन्दोलन तथा युद्धहरू सच्चा क्रान्तिकारीहरूका निमित्त अभिशाप हुन्छन् । जनचाहनाविपरीत गरिने सम्झौताबाट सर्वहारा वर्गको मुक्ति सम्भव हुँदैन । यस यथार्थलाई इतिहासले पनि प्रमाणित गरिसकेको छ । बहुदलीय शासन व्यवस्थाका शासकहरूको स्वेच्छाचारी शासनका कारण नै २०५२ सालमा नेपाली सर्वहारा वर्गले सशस्त्र क्रान्ति अर्थात जनयुद्धको सुरुवात गर्नुपरेको हो । बहुदलीय निरङ्कुशताका गर्भबाट जन्मेका जीवनवादी स्रष्टाहरूलाई २०५२ सालबाट सुरु भएको जनयुद्धले हुर्काउने तथा मलजल पुर्याउने काम ग¥यो । अनिल श्रेष्ठ यही जनयुद्धको खुराक पाएर हुर्केबढेका कवि हुन् ।

सर्वहारा वर्गका नेपाली जनताले चाहना गरेको मुक्तिको उज्यालो २०४६ सालमा प्राप्त नभएकाले नै कवि अनिलले ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५) प्रकाशन गर्न पुगेका हुन् । यस सङ्ग्रहमा सङ्कलित सम्पूर्ण कविता गद्य शैलीमा संरचित छन् । आकारका दृष्टिमा फुटकर कविताको औसत आकारमै सिर्जिएका छन् । ‘प्रसव’ शीर्षकको ११ पङ्क्तिको कवितादेखि लिएर ‘लिनोस् महोदय, बिक्रीमा छ यो देश’ शीर्षकमा ७८ पङ्क्तिसम्मको कविता गरी जम्मा ४० वटा कविता यस सङग्रहमा सङ्गृहीत छन् । यिनका ‘आरु फुलेको साँझ’ र ‘मफलर युद्ध’ प्रगतिवादी
कविताक्षेत्रका महत्वपूर्ण कवितासङ्ग्रह हुन् । यिनका कवितामा पाइने वैचारिक पक्षलाई विशेष महत्व दिँदै समीक्षक गोपीरमण उपाध्यायले लेखेका छन्ः

‘आरु फुलेको साँझ’ले दसवर्षे सशस्त्र युद्धका बिचमा भीषण रक्तपात, खर्बौअर्बको भौतिक संरचनाहरूको ध्वंस मात्र होइन, भविष्यका लागि सुन्दर रचना गर्ने सङ्कल्पलाई पनि जन्म दिएको छ । विगत दस वर्षमा रक्तपातपूर्ण युद्ध मात्र भएन, त्यहाँ सुन्दर साहित्य पनि सिर्जना भएको थियो भन्ने कुराको जब्बर प्रमाण हो अनिलको कवितासङ्ग्रह ‘आरु फुलेको साँझ’ । (उपाध्याय, २०६४, पृ. ४९)

अनिल सुन्दर कविताहरू सिर्जना गर्ने कवि हुन्, सुन्दर भविष्यको चाहना गर्ने आशावादी कवि हुन् । यिनका कवितालाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । यद्यपि यस लेखमा मूलतः ‘मृत्युपर्व होइन मेरो देश’मा सङ्गृहीत ४० वटा कवितामध्ये ९ वटा कविताका अंशलाई साक्ष्यका रूपमा प्रस्तुत गरी प्रगतिवादी चेतनाका कोणबाट ‘मृत्युपर्व होइन मेरो देश’को पर्यावलोकन गरिएको छ ।

२०४६ सालको परिवर्तनपछि नेपाली जनताले भोग्नुपरेका पीडालाई विषयवस्तु बनाइएका यस सङ्ग्रहका कविताहरू बहुदलीय अराजकता, सांसद खरिद–बिक्रीका प्रकरण, राष्ट्रियता तथा स्वाधीनताको वास्ता नगर्ने संसदीय नेतृत्व, भ्रष्ट प्रशासन र दलका स्वार्थी नेताहरूप्रति तीव्र घृणा एवं आक्रोशित भावको अभिव्यञ्जनाका साक्षी बनेका छन् । साहित्य परिवर्तनकामी जनताका लागि अदम्य साहस र शक्तिको स्रोत बन्छ भन्ने उद्देश्यबाट प्रेरित अनिलले आफ्ना कवितामार्फत नयाँ आलोकको खोजीमा हिँडेका यात्रीहरूलाई ऊर्जा दिएका छन् । जनमुक्तिको महासमरमा होमिएका अनिल सङ्घर्षलाई उचाइमा पु¥याएर सर्वसाधारण जनताका लागि सुकिला दिन ल्याउन चाहने कवि हुन् । सर्वसाधारण जनताका दुश्मनहरूप्रति घृणाभाव व्यक्त गर्दै यिनले आफ्ना कवितामार्फत क्रान्तिको बिगुल फुकेका छन् । ‘समीक्षा सन्दर्भ’ (२०६५) मा समीक्षक तेजविलास अधिकारीले अनिलको कवितात्मक प्रवृत्तिका सन्दर्भमा लेखेका छन्, “नेपाली धर्तीमा भएका र हुने हरेक परिवर्तनलाई अत्यन्त सजग भएर विचारधारात्मक मोडबाट सफलताको श्रेणीमा पु¥याउन तल्लीन स्रष्टा अनिल दस वर्षे जनयुद्धकालमा समेत जोखिम मोलेर नेपालीलाई परिवर्तनको दिशामा लैजान क्रियाशील सर्जक हुन्” (अधिकारी, २०६५, पृ. ९३) ।

अनिल क्रान्तिचेतनाले युक्त कलात्मक कविता सिर्जना गर्ने कवि हुन् । यिनै सर्जकको कवितासङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’मा अभिव्यक्त प्रगतिवादी चेतनालाई नै यस लेखमा मुख्य विषय बनाइएको छ ।

२) समस्याकथन र उद्देश्य
अनिल श्रेष्ठ सबै किसिमका विभेदको अन्त्यको चाहना राख्ने कवि हुन् । सर्वहारा वर्गको मुक्ति नै यिनको कविता सिर्जनाको मुख्य वैशिष्ट्य हो । यिनी प्रगतिवादी विचारका आधारमा जीवनलाई समृद्ध बनाउन चाहने कवि हुन् । यिनका कवितामा वर्गद्वन्द्वको प्रस्तुति कुन रूपमा भएको छ र यिनले कुरूप यथार्थका बिचबाट सुरूपको खोजी कसरी गरेका छन् ? कवितामा आशावादी चिन्तन र क्रान्तिप्रतिको निष्ठा कुन रूपमा अभिव्यक्त छ भनेर अध्ययन गर्नु यस लेखको समस्या हो । जनयुद्ध (२०५२) मा लामबद्ध यात्रीहरूलाई यिनका कविताले कस्तो ऊर्जा प्रदान गरेका छन् भनेर अध्ययन गर्नुलाई पनि यस लेखमा समस्याका रूपमा प्रस्तुत गरिएको छ । ‘मृत्युपर्व होइन मेरो देश’ भित्रका कवितामा अभिव्यक्त क्रान्तिचेतलाई नेपाली भूमिमा विकसित जनयुद्ध (२०५२)बाट स्थापित नयाँ यथार्थको सापेक्षतामा अध्ययन एवं विश्लेषण गर्नु नै यस अध्ययनको उद्देश्य हो । कवितामा व्यक्त वर्गद्वन्द्वको प्रस्तुति, वर्गीय मुक्ति र कवितामा व्यक्त भएको आशावादी चिन्तनलाई प्रगतिवादी कोणबाट अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य हो ।

३) अध्ययनविधि/सैद्धान्तिक पर्याधार
यस लेखका लागि अनिल श्रेष्ठद्वारा सिर्जित कवितासङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’ का साथै द्वितीयक सामग्रीहरूको सहयोग लिइएको छ । पुस्तकालयमा गई विभिन्न विद्वान् समीक्षक÷समालोचकहरूले लेखेका सन्दर्भसामग्रीहरूको अध्ययन गरेर प्राप्त तथ्यसूचनाका आधारमा वर्णन र विश्लेषण गरिएको छ । द्वितीयक सामग्रीका रूपमा कवि अनिलका अन्य कृति तथा कवितासङ्ग्रहहरू एवं विभिन्न पत्रपत्रिकामा विभिन्न समयमा प्रकाशित अनिल श्रेष्ठका रचनासँग सम्बन्धित सान्दर्भिक लेख–समालोचनाको उपयोग गरिएको छ ।

प्रस्तुत लेखमा कवि अनिल श्रेष्ठको परिचयका साथमा प्रगतिवादी कोणबाट उनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रहको विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारमा प्रगतिवादी मान्यताअनुरूप यस सङ्ग्रहभित्रका कवितामा अभिव्यक्त क्रान्तिचेतनाको अध्ययन गरिएको छ । कविले जीवन र जगत्लाई हेर्ने द्वन्द्वात्मक भौतिकवादी कोणबाट कविताको विश्लेषण गरिएको छ । समाजकेन्द्रित विश्वदृष्टिकोणमा आधारित माक्र्सवादको साहित्यसम्बन्धी अवधारणाअनुरूप यस सङ्ग्रहमा सङ्मलित कविताहरूको अध्ययन गरिएको छ । कवितालाई कविताका सम्पूर्ण तत्वका आधारमा नभई वैचारिक दृष्टिलाई आधार मानेर अध्ययन गरिएको छ । २०५२ सालबाट नेपाली धर्तीमा विकसित जनयुद्धको सापेक्षतामा कविताहरूको विश्लेषण गरिएको छ । कवितामा शोषण–अन्याय र अत्याचारको विरोध गर्दै सभ्य समाजको निर्माणतर्फ मानवीय चेतनालाई उन्मुख गराइएको छ कि छैन भनेर प्रगतिवादी वैचारिक कोणबाट अध्ययन गरिएको छ । वर्गीय मुक्तिको चाहना एवं समाजलाई अँध्याराबाट उज्यालातर्फ र कुरूपताबाट सुरूपतातर्फ रूपान्तरण गर्नका लागि अपनाइएको विचारलाई माक्र्सवादी सौन्दर्यका आधारमा अध्ययन गरिएको छ । कवितामा अभिव्यक्त क्रान्तिकारी आशावाद र युगानुकूल परिवर्तनको भावलाई अध्ययन गर्न माक्र्सवादी सौन्दर्यको आधार लिइएको छ ।

प्रस्तुत लेखमा सङ्कलित तथ्यहरूका आधारमा कविता ‘मृत्युपर्व होइन मेरो देश’ कविता सङ्ग्रहभित्रका कविताहरूको विश्लेषण गरिएको छ । सङ्कलित तथ्य एवं विषयवस्तुको विश्लेषण वर्णनात्मक शैलीमा गरिएको छ, नेपाली भूमिमा सञ्चालित जनयुद्ध (२०५२)का सापेक्षतामा यस सङ्ग्रहका कविताहरूको विश्लेषण गरिएको छ । व्याख्या–विश्लेषणका क्रममा विभिन्न उपशीर्षकहरूको योजना गरिएको छ । विश्लेषण खण्डको अन्त्यतिर गएर कवितामा प्रयुक्त विम्ब र प्रतीक संयोजनको सङ्क्षिप्त चर्चा गरिएको छ । प्रसङ्बस अन्य कृतिका केही सन्दर्भसङ्केत आए पनि कवि अनिलका सबै कवितासङ्ग्रह र यसै सङ्ग्रहभित्रका पनि सबै कविताको अध्ययन यहाँ गरिएको छैन ।

४) सीमाङ्कन
प्रस्तुत लेखमा कवितामा हुनुपर्ने सम्पूर्ण तत्वका आधारमा नभई विचार पक्षलाई आधार मानेर कविताहरूको अध्ययन गरिएको छ । ‘मृत्युपर्व होइन मेरो देश’ कविता सङ्ग्रहभित्रका सबै कविताको अध्ययन–विश्लेषण यसमा गरिएको छैन, सङ्गृहीत ४० वटा कवितामध्ये ‘आजभोलि स्यालहरूको दरबारभित्र’, ‘भोलिको मेरो बिहान र युगको एउटा कथा’, ‘रोल्पाली आमा’, ‘शब्दयुद्ध’, ‘भुइँकुहिरो र समर गीतहरू’, मृत्युपर्व होइन मेरो देश’, ‘सपनाहरूको अर्थ’, ‘प्रेयसीसँग’ र ‘म तिम्रो नाम पढिरहेको छु’ गरी ९ वटा कवितामा अभिव्यक्त प्रगतिवादी चेतनाको विश्लेषणमा यस अध्ययनलाई सीमित गरिएको छ ।

५) ‘मृत्युपर्व होइन मेरो देश’मा अभिव्यक्त प्रगतिवादी चेतना
अनिल श्रेष्ठ अग्रगामी चेतनाका कवि हुन् । यिनी पुरानो सत्ताको ध्वंस गरेपछि मात्रै सुनौलो संसार अर्थात सुन्दर समाज निर्माण हुने कुरामा विश्वस्त छन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रहका कवितामा नेपालमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वको समयमा नेपाली जनताले भोग्नुपरेको त्रासदी पाइन्छ । तत्कालीन कुरूपताका विरूद्धमा सिर्जित कविताका आधारमा यिनको प्रगतिवादी चेतनालाई निम्न उपशीर्षकमा राखेर अध्ययन–विश्लेषण गरिएको छः

५.१ नयाँ यथार्थको प्रतिविम्बन र आशावादी चिन्तनको अभिव्यक्ति
नेपाली साहित्यमा नेकपा माओवादीले जनयुद्ध सुरु गरेपछि अर्थात २०५२ सालदेखि विकसित यथार्थ नयाँ यथार्थ हो र ‘मृत्युपर्व होइन मेरो देश’ भित्रका अधिकांश कवितामा सशस्त्र युद्धबाट विकसित यही नयाँ यथार्थको प्रतिविम्बन छ । यस सङ्ग्रहका कवितामा कविले पुरानो सत्ताप्रति निर्मम प्रहार गर्दै सामन्ती अभिजात्यवादका विरुद्धमा आप्mनो लेखनीलाई सशक्त बनाएका छन् । जीवनप्रति आशावादी हुँदै यिनले सुन्दर जीवनका लागि सुनौलो बिहानीको खोजी गरेका छन् । निरन्तरको सङ्घर्षपछि नयाँ जीवनको सुरुवात हुने कुरामा कवि आशावादी देखिन्छन् । ‘भोलिको मेरो बिहान र युगको एउटा कथा’ शीर्षकको कवितामा कविको आशावादी चिन्तन यस रूपमा प्रस्तुत भएको छः

सदियौंदेखि
कमलपित्तले ग्रस्त शरीरभित्र
नयाँ उज्यालोले दिनेछ एउटा नयाँ रक्तसञ्चार
आँखाहरूमा मिल्नेछ एउटा नयाँ दृष्टि
फेरि एकपटक हामी इतिहासमा
वयस्क देखिनेछौँ
र नयाँ स्फुर्तिमा एउटा नयाँ जीवन
रमाउनेछौं । (पृ.२०)

यहाँ कवि आशावादी देखिएका छन् । उनी वर्तमान अन्धकार हट्छ भन्नेमा विश्वस्त छन् र भोलिका सुदिनहरूका लागि प्रतिक्षारत छन् ।

५.२ कुरूप वर्तमानको यथार्थ चित्रण
देशको सुन्दर मानचित्र कोर्ने अभियानका कुशल अभियन्ता हुन् अनिल । किसान, मजदुर, उत्पीडित, दलित, जनजाति, महिला लगायत गरिबनिमुखाहरूको हकअधिकारका पक्षपोषणमा अनिलका कविताहरू बेजोड देखिन्छन् । समीक्षक घनश्याम ढकालले ‘यथार्थवादी नेपाली समालोचना’(२०६२)मा यिनका काव्यप्रवृत्तिमाथि प्रकाश पार्दै यिनलाई क्रूर र कुरूप यथार्थको चित्रण मात्रै नगरी त्यसलाई परिवर्तन गरी सुरूपमा फेर्ने आकाङ्क्षाका कवि हुन् भन्दै लेखेका छनः

‘अनिल समकालीन यथार्थको नयाँ पक्षलाई प्रभावकारी ढङ्गले उद्घोष गर्ने कवि हुन् । यिनका कवितामा जनसमरका कारण सिर्जित राज्यआतङ्क र प्रतिरोध प्रतिध्वनित भएका छन् । यिनका कविताले वर्तमानको क्रूर र कुरूप यथार्थको चित्रण मात्रै गर्दैनन्, त्यसलाई परिवर्तन गरी सुरूपमा फेर्ने आकाङ्क्षाका साथ नयाँ सौन्दर्यको उपासना पनि गर्दछज् । मृत्युको खेल, रगतको होली, पीडा, भय, दर्द, उत्साह, प्रेरणा र भविष्यको आशाले जटिल बनेको वर्तमानमा अनिलका कविताहरू उभिएका छज् । (ढकाल, २०६२, पृ. १४६–१४७)

यसबाट स्पष्ट हुन्छ, अनिल सर्वहारा वर्गको मुक्तिका लागि कलम चलाउने कवि हुन् र यिनका कवितामा मुक्तिको चेतना प्रबल पाइन्छ । जनयुद्धकालमा तत्कालीन राज्यसत्ताको क्रूरतालाई यिनले यथार्थ रूपमा प्रस्तुत गरेका छन् ।

अनिल वर्तमानमा छाएको अन्धकारलाई चिरेर उज्यालो दिन ल्याउन चाहने कवि हुन् । गरिबनिमुखा जनताका लागि सुदिन भिœयाउन चाहने कवि हुन् । यसै सन्दर्भमा ‘मृत्युपर्व होइन मेरो देश’ को भूमिकामा ऋषिराज बरालले लेखेका छन्ः
‘२०४६ सालपछि आम जनमानसले जेजस्तो स्थिति र परिवेशको चाहना गरेको थियो त्यसको बदलामा सत्तामा पुगेकाहरूले जनतालाई हत्या, आतङ्क, असुरक्षा, महङ्गी र भ्रष्टाचार सिवाय केही दिन सकेनन् । पञ्चायती निरङ्कुशताका विरुद्ध आन्दोलनमा सरिक भएका नेपाली जनताको थाप्लामा बहुदलीय निरङ्कुशता बज्रियो । सत्तामा पुगेकाहरूले कालालाई रातो र रातालाई कालो भनेर जनतामा दिग्भ्रमित पार्ने काम गर्दै रहे । देश राज्यआतङ्क र जनहत्याको अटुट शृङ्खलामा डुबिरह्यो । आमाहरूले आफ्ना सन्तान गुमाए, साना नानीहरूको कोमल छातीमा समेत सरकारी आतङ्कका बुटहरू बज्रिरहे । लालीगुराँस फुलेका राता पहाडहरू लगायत तराईका फाँटहरूमा सत्ताआतङ्कको ताण्डवनृत्य चलिरह्यो, चलिरहेकै छ । कविको आँखाले बलात्कृत आमा, दिदी र बहिनीको पीडालाई नजिकैबाट देखेको छ र रगतपच्छे भएर लडिरहेका वीरहरूको आँखाको भाषालाई अनुभूत गरेको छ । कविले अँध्यारो बुझेको छ, विकृति र विसङ्गति सबै देखेको छ र यसका विरुद्ध उठिरहेका मुट्ठीहरू पनि देखेको छ र देखेको छ सङ्गीतको धुनसँग परेड खेलिरहेका राता मान्छेहरूको जुलुस । त्यसैले अनिलका कविताहरू वर्तमान कुरूपताका विरुद्ध सौन्दर्यको खोजीतर्फ प्रयासरत छन् । अँध्यारालाई चिर्ने उज्यालो प्राप्तिका लागि सङ्घर्षको उद्घोष बनेका छन् (बराल, २०५७, भूमिका) ।

यसबाट स्पष्ट हुन्छ कि २०४६ सालमा आएको प्रजातन्त्र गरिबनिमुखाहरूका लागि थिएन, केही सुकिलामुकिलाहरूका लागि मात्र थियो । बहुदलीय शासनकालमा केही दलका शासकहरूले आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखे, तिनीहरूले जनताको चाहनाअनुरूपको समाजवादको स्थापनामा चासो दिएनन् । तत्कालीन राज्यव्यवस्थाले गरिबनिमुखाहरूको हितमा काम गर्न सकेन उल्टै जनवादी शासन प्रणालीका पक्षधरहरूलाई सरकारले दमन गर्न थाल्यो । तत्कालीन राज्यसंयन्त्रले समाजवादको स्थापनामा कुनै चासो देखाएन । कविले गरिबनिमुखाहरूको शासन व्यवस्था ल्याउन चाहेका छन् र यही चाहनालाई उनले आफ्ना कवितामार्फत व्यक्त गरेका छन् ।

५.३ क्रान्तिप्रतिको प्रतिबद्धता
अनिल क्रान्तिप्रति प्रतिबद्ध र समर्पित कवि हुन् । यिनले आमालाई सृष्टिकर्ताका रूपमा सम्मान गर्दै विद्रोही चेत बोकेको तत्कालीन नेपाली क्रान्तिलाई ‘रोल्पाली आमा’ मार्फत सम्बोधन गरेका छन् । रोल्पा तत्कालीन क्रान्तिको उद्गम थलो पनि हो । रोल्पाबाट नै क्रान्तिको विकास भएको हो, विस्तार भएको हो । आमाहरू आफूले दुश्मनका प्रहार खेप्दाखेप्दै पनि क्रान्तिको बिउ जोगाइरहेका हुन्छन् अर्थात आफूभित्रको भ्रुणलाई सुनौलो बिहानका निमित्त जोगाउनुलाई आमाहरूले आफ्नो कर्तव्य ठानेका हुन्छन् । सुनौलो भविष्यका लागि भु्रणहरूले जन्म लिनु पर्छ । क्रान्तिका फिलिङ्गा हुन् भु्रणहरू जसलाई क्रूर, आततायी राज्यसत्ताले गर्भभित्रै रोकिराख्न सक्दैन भन्दै कवि लेख्छन्ः

शत्रुका अपशकुन आँखाहरूबाट
कसरी सुरक्षित राख्नुपर्छ आफ्ना शिशुहरूलई
त्यो मलाई थाहा छ
तिमी सङ्गीनले भरिएका रातहरू खडा गर
सयौं कुकृत्य गर
या बन्द गर
चेतना कुँज्याउने तिम्रा कालकोठरीहरूका
सम्पूर्ण काला पर्खालहरू
र मृत्युका कठिन घण्टाहरू सुनाऊ
तर तिम्रो क्रूर सत्ता
मेरो भु्रणहत्या गर्न सक्दैन । (पृ.३५)

वैचारिक कोणबाट जीवनको मूल्यबोध गराउँदै अनिलका कविताले सामाजिक रूपान्तरणका लागि क्रियाशील हुन आह्वान गरेका छन् । यिनका कविताको मुख्य स्वर मानवमुक्तिका लागि सङ्घर्ष हो । वर्गसङ्घर्षलाई आत्मसात गर्दै त्यसलाई गति दिने काम यिनका कवितामा भएको छ । साहित्य राजनीतिको शक्तिशाली हतियार हो र कविता पनि सङ्घर्षकै एउटा रूप हो भन्ने यथार्थलाई कविले स्वीकार गरेका छन् । क्रान्तिप्रतिको प्रतिबद्धताबाट कवि विचलित भएका छैनन् ।

५.४ स्वतन्त्रताको चाहना, विद्रोही चेतना र संशोधनवादको विरोध
कवि अनिल राष्ट्र र जनतालाई अन्याय–अत्याचार, शोषण, उत्पीडनबाट मुक्त पार्न चाहन्छन् । यिनले आफ्ना कवितामा स्वतन्त्रताको पारिलो घाम छेक्नेहरूको दोहोलो काढेका छन् । घाम सबैका लागि साझा हुनुपर्छ । घाममा सबैको अधिकार बराबर हुन्छ । घामका किरणमाथि सीमित व्यक्तिले आधिपत्य जमाएकामा कवि आक्रोशित बनेका छन् । यिनी सुन्दर बिहानीको आशामा उदाउँदै गरेको घामको गीत गाउन चाहन्छन् । घामलाई स्वतन्त्रताको प्रतीक बनाउँदै ‘भुइँकुहिरो र समर गीतहरू’ कवितामा यिनी लेख्छन्ः

यो समर ऋतुमा
मलाई अति प्रिय लाग्छ घामका नयाँ किरणहरू
घामले नै मलाई न्यानो दिन्छ
र रातहरूबाट कठ्याङ्ग्रिएका हातहरूलाई प्रेरणा दिन्छ
म पक्षपाती हुँ घामको
यो सुन्दर बिहान बोकेर उदाइरहेको घामको
म एउटा गीत गुनगुनाइरहेको छु । (पृ. ४४)

केही व्यक्तिहरू भुइँबाट टिपिरहेछन्
र झोलाभित्र कैद गरिरहेछन् धामका राता किरणहरू
म भन्छु– छाड, घामलाई खेल्न देऊ
घामलाई अझै फुल्न देऊ
खोचहरूसम्म पुग्न सकेको छैन घाम
घामलाई खोचहरूसम्म पुग्न देऊ । (पृ. ४५)

विद्रोहको आगो ओकल्दै कवि निरन्तर सङ्घर्षमा लाग्न सबैलाई आग्रह गर्दछन् । समयको मागअनुसार व्यक्तिवादको सङ्कीर्णताभन्दा माथि उठेर शोषित, उत्पीडित, दलित तथा सङ्घर्षको मैदानमा ओर्लेका जनतालाई अनिलका कविताले सहयोग पु¥याएका छन् । कविले आफ्ना सबैजसो कवितामा साम्यवादी समाजको सपनालाई प्रस्तुत गरेका छन् । सौन्दर्यशास्त्री चैतन्य लेख्छन्, ‘२०४६ मा केही शक्तिले सामन्तवादी सत्तासँग सम्झौता गरी युद्ध टुङ्ग्याएकामा अनिल आक्रोशित भई निर्णायक युद्ध लड्नुपर्छ भन्दै वर्गसङ्घर्ष र युद्धका पक्षमा जोडदार आवाज व्यक्त गर्दछन्’ (चैतन्य, २०६४, पृ. ११४) । संशोधनवादी एवं प्रतिक्रियावादीहरूप्रतिको घृणाभाव अनिलका कवितामा अभिव्यक्त छ । दिनमा दुई छाक खान नपुगेर बैँसमै चाउरी परेका ग्रामीण अनुहारमा देखिने पीडालाई उनले राम्ररी बुझेका छ्रन् । शासकहरूले यही गरिबीलाई मागेर खाने भाँडो बनाएकामा उनको चित्त दुःखेको छ । गरिबीको मार खेपेका सर्वसाधारणलाई साम्राज्यवाद, विस्तारवाद र पुँजीवादका मतियारहरूले निर्ममतापूर्वक गोली बर्साएकामा कवि क्रूद्ध बनेका छन्, यिनमा विद्रोही चेत प्रबल छ । सर्वहारा वर्गमाथिको यस किसिमको प्रहारको प्रतिकारमा उत्रेपछि अन्तिममा जित न्यायप्रेमीकै हुनेछ र अवश्य पनि सुकिलो दिन आउनेछ, क्रान्ति सफल हुनेछ भन्ने दृढ विश्वास यस सङ्ग्रहका कवितामा अभिव्यक्त छ ।

५।५ सामन्तवादप्रति घृणा र राष्ट्रियताप्रतिको मोह
अनिलका कवितामा सामन्तवादप्रति चरम घृणाको अभिव्यक्ति पाइन्छ । नेपालमा सर्वहारा वर्गद्वारा साङ्गठनिक रूपमा सुरु गरेर उत्कर्षमा चुल्याइँदै गरेको मुक्तिको अभियानलाई क्षतविक्षत पारेर निरन्तर कालरात्री जगाउने उद्देश्यले यही देशभित्रको सामन्ती शक्तिले विस्तारवादी एवं साम्राज्यवादी शक्तिसँग गुहार मागिरहेको अवस्थामा तिनीहरूका विरुद्धमा पनि अनिलका कविता लक्षित छन् भन्दै नारायण मरासिनी लेख्छन्ः ‘आफ्नो राष्ट्रियतालाई सर्वोपरि मान्दै राष्ट्र र जनहितका विरुद्धमा लाग्नेहरूप्रति कडा विषवमन गर्ने काम अनिलका कवितामा भएको छ । यी कवितामा क्रान्तिकारीहरूमाथि राज्यले गरेको बर्बर यातना तथा दमनको विरोध पाइन्छ’ (मरासिनी, २०६७, पृ. २९२) । क्रान्तिकारीहरूका नाउँमा दलित र जनजातिका बस्तीहरूमा गोली बर्साएर निम्न वर्गलाई माथि उठ्नै नदिने सत्तासीन दमनकारी शासकीय प्रवृत्तिमाथि कविले प्रहार गरेका छन् । विकृत दिन हटाएर गरिबनिमुखाका लागि सुखका दिन भिœयाउने चाहनामा सिर्जित अनिलका कवितामा निरङ्कुश तानाशाही प्रवृत्तिको पतन अवश्यम्भावी छ भन्ने विश्वास अभिव्यक्त छ । जबसम्म देशमा सामन्तवाद रहन्छ तबसम्म समतामूलक समाजको निर्माण हुन सक्दैन । सामन्तवादको अन्त्यपछि मात्रै गरिबनिमुखाहरूका दिन फिर्छन् भन्दै कवि लेख्छन्ः

एक–एक चोटहरूको प्रहारले
जब एउटा बुढो गिद्धसँगै जर्जराउँदै
ढल्नेछ एउटा आदिमता
र मसानघाटमा बेपर्वाह सडिरहेको हुनेछ बुढो गिद्ध
त्यसबेला हामी गाउने छैनौँ
कुनै मृत्युञ्जयी गीतहरू
बदलामा हर्षोल्लासपूर्वक उठिरहनेछन् विजयी जुलुसहरू (पृ. ५१)

सामन्तवाद, विस्तारवाद र साम्राज्यवादप्रति घृणा व्यक्त गर्दै कवि अनिलले राष्ट्रियताका पक्षमा निर्भीकताका साथ कलम चलाएका छन् । सामन्तवादको जरा नउखेलेसम्म राष्ट्रियता बलियो हुन सक्दैन भन्दै यिनले राष्ट्रियता जोगाउनका निमित्त पराधीनताको विरोध गर्दै स्वाधीनताको गीत गाएका छन् ।

५.६ आमूल परिवर्तनको सपना
क्रान्तिकारीहरूले सपना देख्नुपर्छ भन्ने यथार्थलाई कवि अनिलले आत्मसात गरेका छन् । यिनी सपना देख्ने कवि हुन् । सपना देख्नुको अर्थ भोलिका लागि समृद्ध समाजको परिकल्पना गर्नु हो । समाजका विविध प्रवृत्तिका बिचमा रहेर यिनले सुनौलो भविष्यनिर्माणको सपना देखेका छन् । अनिल परिवर्तनका पक्षधर कवि हुन् र यिनका कवितामा विषयवस्तुको विविधता एवं व्यापकता पनि छ भन्दै समीक्षक रमेश भट्टराईले लेखेका छन् ‘उनले नेपाली समाजको वर्गीय, जातीय, लिङ्गीय उत्पीडनको चित्रण आफ्ना कवितामा सशक्त रूपमा गरेका छन्’ (भट्टराई, २०६९, भूमिका) । कवि अनिलले नेपालमा जातीय, लिङ्गीय, क्षेत्रीय लगायत सबै खालका विभेद र उत्पीडनको अन्त्यको सपना देखेका छन् । भोलिको उज्यालो बिहानको सपना देखेका छन् । समग्रमा यिनले साम्यवादको सपना देखेका छन् । वर्तमान विषम परिवेशमा उभिएर यिनले ‘सपनाहरूको अर्थ’ कविता’ मा सपनाको अर्थ खोजेका छन्ः

म मेरा सपनाहरूको अर्थको
खोजीमा छु । (पृ. ५२)

 प्रगतिवादी कविहरू सपना मात्रै देख्दैनन्, त्यस सपनालाई विपनामा परिणत गर्न क्रियाशील रहन्छन् । क्रान्तिको सपना, सुनौलो बिहान ल्याउने सपना अर्थात शोषण र विभेदरहित समाजको परिकल्पना यहाँ कवि अनिलले देखेको सपना हो । कविले आमूल परिवर्तनको सपना देखेका छन्, वर्गीय मुक्तिको सपना देखेका छन्, समाजनिर्माणको सपना देखेका छन् ।

५.७ राज्यआतङ्कको विरोध र क्रान्तिप्रतिको निष्ठा
राज्यआतङ्कको विरोध गर्दै कवि अनिलले तत्कालीन दमनकारी शासकहरूका विरुद्धमा अभिव्यक्ति दिएका छन् । २०५२ सालबाट सुरु भएको जनयुद्धको समयमा राज्यआतङ्कले चरम रूप लिई ताण्डवनृत्य गरेकामा यिनका कवितामा तीव्र रोष प्रकट गरिएको छ । सिर्जनशीलहरूमाथिको धरपकड, दिनदहाडै अबला तथा ग्रामीण महिला एवं स्कुले नानीहरूमाथि तत्कालीन शाही सैनिकले गरेको बलात्कार, बिनाकसुर निहत्था किसान, दलित अर्थात सम्पूर्ण न्यायका पक्षधर सर्वसाधारणहरूलाई निरङ्कुशताको गोली प्रहार जस्ता कुकृत्य गरी मृत्यपर्व मनाउनेहरूका विरुद्ध अनिलका कविता दह्रो र खरो रूपमा उत्रेका छन् । यिनका कवितामा यस किसिमका प्रवृत्तिका विरुद्ध एकजुट भई महासमरमा ओर्लन सर्वहारा सबैलाई आग्रह गरिएको छ । जनयुद्धबाट नै यस कटु यथार्थको अन्त्य हुने विश्वास यिनका कवितामा अभिव्यञ्जित छ । जनयुद्धले क्रान्ति चेतना गर्भाधान गराएको यथार्थलाई कविले ‘प्रेयसीसँग’ शीर्षकको कवितामा यसरी प्रतिविम्बन गरेका छन्ः

भर्खरै सूर्य गर्भाधान भएको यस धर्तीबाट
टिपेर बिहानीका कलरव ध्वनिहरू
म तिमीलाई दिन्छु चराहरूको एउटा मिठो गीत (पृ. ६८)

यहाँ सूर्य गर्भाधान हुनुको अर्थ उज्यालो आउँछ अर्थात क्रान्ति सम्पन्न हुन्छ भन्ने हो । भोलि सुनौलो बिहानको उदय हुन्छ भन्नु कविको क्रान्तिप्रतिको निष्ठाभाव हो ।

५.८ सहिदहरूप्रति सम्मान
उत्पीडित जनताको सङ्गठित सङ्घर्षका क्रममा नेपाल आमाका होनहार छोराछोरीहरूले बलिदान गर्नु प¥यो । क्रूर यथास्थितिका विरुद्धमा लडाइँ लड्ने क्रममा देशले हजारौँको सङ्ख्यामा सहादत बेहोर्नु प¥यो । कतिपय निहत्था मानिसहरू राज्यआतङ्कको सिकार बन्न पुगे । कवि अनिलका कवितामा वर्ग सङ्घर्षको मैदानमा सहादत प्राप्त गर्ने नेपाली सन्ततिहरूप्रति सम्मानभाव व्यक्त गरिएको छ । ‘म तिम्रो नाम पढिरहेको छु’ सहिदप्रति समर्पित कविता हो । यस कवितामा अभिव्यक्त सहिदप्रतिको सम्मानभाव हेरौँः

दरौँदीका किनारहरुमा
निरन्तर फुलिरहेका छन् अजम्बरी कमलाहरू
र अत्यन्तै सुन्दर फूलको बिजारोपण भइरहेछ यस धर्तीमा
पानीको बेगवान् प्रवाहसँगै
तिम्रो नाम प्रज्वलित छ पानीभित्र
मानौँ आकाशमा देखिने
ती रातका प्रकाशपुञ्जहरू हुन् । (पृ. ४२)

नेपाल आमाका सपूतहरूको बलिदानले नै नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । कमला भट्ट छापामार योद्धा थिइन् । जनयुद्धको मैदानमा उनको सहादत भएको थियो । तिनै सहिद कमला भट्टको सम्मानमा कवि अनिलले यस कविताको सिर्जना गरेका हुन् । एउटा क्रान्तिकारी कविले सहिदहरूप्रति जुन किसिमको सम्मानभाव दर्साउनुपर्दछ त्यस किसिमको भाव कविले आफ्नो काव्यात्मक अभिव्यक्ति मार्फत व्यक्त गरेका छन् ।

५.९ विम्ब र प्रतीक योजना
बहुदलीय शासनकालमा तत्कालीन शासकहरूको निर्देशनमा सामूहिक रूपमा क्रान्तिकारीहरूलाई हत्या गरिएका स्थान विशेषका विम्बहरूको संयोजनका साथै कला, गला एवं लेखनका माध्यमबाट क्रान्तिचेतनाको विगुल फुक्ने क्रममा सहादत प्राप्त गर्न पुगेका जनवादी गायक, कलाकार तथा सर्जकहरूको योगदानको कदरस्वरूप पनि अनिलका केही कविताहरू सिर्जित छन् । सशस्त्र युद्धमा लामबद्ध हुन नचाहने तर आफूलाई प्रगतिवादी÷प्रगतिशील भनाउन रुचाउने जो हजारौँको बलिदान हुँदा पनि टुलुटुलु हेरेर बसेका छन् तिनीहरूप्रति अनिलले आफ्ना केही कवितामा आक्रोश पोखेका छन् ।

विम्ब र प्रतीक प्रयोगका दृष्टिले अनिलका केही कविताहरू अलिक अमूर्त पनि देखिन्छन् । अधिकांश कविता सरल हुँदाहुँदै पनि केही कवितामा यस्तो स्थिति देखिन्छ । ‘शब्दयुद्ध’ शीर्षकको कविताका सन्दर्भमा ताराकान्त पाण्डेय लेख्छन्, ‘अनिलले आफ्ना कवितामा देशमा चारैतिर हिंस्रक जङ्गल उम्रेको र ऐँजेरु समय व्याप्त रहेको विम्ब प्रस्तुत गर्छन् । ऐँजेरु पलाएकैले र देश त्यसको हिंस्रक जङ्गलमा परिणत भएकैले त जनताको जीवन असुरक्षित भएको छ’ (पाण्डेय, २०५९, पृ. १९०) ।

अनिलका कविताहरू सर्वसाधारण पाठकका लागि अलि सहज छैनन् भन्ने कुराको सङ्केत गर्दै घनश्याम ढकालले लेखेका छन्, ‘अमूर्त विचार र जटिल विम्बको प्रयोगले अनिलका कविताहरू केही दुरुह पनि बनेका छन्’ (ढकाल, २०६२, पृ. १४७) । ‘मृत्युपर्व होइन मेरो देश’ को भूमिकामा ऋषिराज बरालले लेखेका छन्ः ‘अनिल प्रतीक मन पराउने कवि हुन् । यिनी कतिपय कविताका सन्दर्भमा केही भावुक, केही अमूर्त र बढी बौद्धिकतायुक्त पनि देखिन्छन् । कतिपय सन्दर्भमा यिनका कविता प्रयोगात्मकतातिर लहसिएका पनि अनुभूत हुन्छन् । शिल्पसचेतता विचारको मूर्तिकरणको बाधक बनेको छ । यसले कविताको सरलता, सहजता र सम्प्रेषणीयतालाई बोझिलो बनाएको छ । (बराल, २०५७, भूमिका)

अनिलका कविताहरू सबै गद्य भाषामा संरचित छन् । कुनै कुनै कवितामा शिल्प पक्ष अलि जटिल किसिमको देखिन्छ । लयसंयोजनका दृष्टिमा अधिकांश कवितामा कविले सचेत रूपमै अन्तर्लयको आयोजना गरेका छन् । कविताहरू प्रतीकात्मक छन् । ग्रामीण समाज, राजनीतिक द्वन्द्व, प्राकृतिक परिवेश आदिसँग सम्बन्धित विम्ब र प्रतीकहरूको प्रयोग अनिलका कवितामा पाइन्छन् । कवितामा नयाँ किसिमका विम्बहरूको संयोजन पाइन्छ ।

५. उपसंहार
अनिल श्रेष्ठ प्रगतिवादी कवि हुन् । २०४६ सालपछिको विषम परिवेशबाट यिनको लेखन आरम्भ भएको हो । २०५२ सालबाट सुरु भएको जनयुद्धमा सशरीर सहभागी भएर नै यिनले काव्यलेखनको यात्रालाई गति दिएका हुन् । निरन्तर साधनामा लागेर यिनले समकालीन कविहरूका बिच आफ्नो छुट्टै एउटा पहिचान स्थापित गरेका छन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रह अध्ययन गर्दा यसभित्रका कविताहरू नारा नभएर प्रगतिवादी कविताका वास्तविक नमुना बनेका छन् । यिनी वर्तमान यथार्थलाई द्वन्द्वात्मक एवं भौतिकवादी चेतनाले हेर्ने कवि हुन् । यस सङ्ग्रहभित्रका कवितामा जनयुद्धकालीन यथार्थको अभिव्यक्ति पाइन्छ । ‘मृत्युपर्व होइन मेरो देश’ युद्धकालको कठिन घडीमा सिर्जित र प्रकाशित कवितासङ्ग्रह हो । यसमा मरणशील चिन्तन होइन, जीवनवादी चिन्तन छ । कविले जनताका दुश्मनहरूप्रति व्यक्त गरेको घृणाभाव तथा आक्रोश नाराका रूपमा आएका छैनन् । प्रगतिवादी कोणबाट अध्ययन गर्दा कविता कमजोर छैनन् सुन्दर छन् । सङ्ग्रहभित्रका कवितामा कला र विचारको सन्तुलन कायम भएको छ । विकृत वर्तमानलाई कविले दह्रो गरी प्रहार गरेका छन् । सर्वहारा वर्गको मुक्ति अभियानमा सिर्जित यी कवितामार्फत कविले सुन्दर भविष्यको खोजी गरेका छन् । कविताहरू कुरूपताका विरुद्धमा लक्षित छन् । क्रान्तिबाट नै गरिबनिमुखा नेपालीहरूको जीवनलाई सुन्दर बनाउन सकिन्छ भन्ने क्रान्तिकारी आशावादको भाव अनिलका यी कवितामा पाइन्छ । कविताहरू क्रान्तिचेतनाले ओतप्रोत छन् र यी कवितामा वर्गीय मुक्तिको चाहना व्यञ्जित भएको पाइन्छ ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these