मानवीय मूल्यको कसीमा ‘मफलर युद्ध’

0
1060

माधब घिमिरे ‘अटल’

हँसियाहरु खिएपछि
धेरै चीजहरु
खोसिँदै जाँदा रै’छन् आफैबाट
उज्यालोहरु खोसिँदा रै’छन् ।
खुशीहरु खोसिँदा रै’छन् ।
निद्राहरु खोसिँदा रै’छन् ।

हँसिया खिएपछि
सबैभन्दा बढी त देश दुख्दो रै’छ
मन दुख्दो रै’छ
(हँसियाहरू खिइएपछि, पृ. ४५)

कवितांश आफैं काफी छ, प्रतिक्रान्तिको यात्रातिर उन्मुख देशको रामकहानी कहन । एक दशकसम्म देखेका सुन्दर सपनाहरु दिनानुदिन धुमिल बन्दै गएका परिदृश्यहरु एक पछि अर्को सतहमा आएको यथार्थलाई समेटेर आफ्नो तेस्रो कविताकृतिमार्फत् आफूलाई सशक्त रुपमा उभ्याएका छन् मोफसलमा रहेरै पनि उर्वर सिर्जनशीलताले ओतप्रोत सिद्धहस्त कवि अनिले श्रेष्ठले । मुलुकको भाग्य र भविष्य खोज्न अहोरात्र खटिरहेका जनसमरका योद्धाहरु र सधैँसधैंँ इमानदार कर्ममा तल्लीन हुनेहरुलाई डाम्ने गरेका सत्ताका स्वार्थी आँखा विरूद्ध शाब्दिक तीरहरु सोझिएका छन् उनका र त उनी चुम्न सफल भएका छन् सफलताका शिखरहरु ।

वर्गीय मुक्तिको लडाइँमा आफ्नो भर्भराउँदो वैंश रित्याएकाहरु, आमाको मायालु काख खोसिएकाहरु, बाबुको न्यानो माया लुटिएकाहरु र शारीरिक रुपमा विकलाङ्गहरूको छियाछिया बनेको हृदयमा मलमपट्टी बाँध्न र समरका अधुरा सपनाहरु पूरा गर्न सधैँ दत्तचित्त हुनुपर्ने अभिमत छ उनको । कतै अधुरो क्रान्तिमा निष्फलताको ग्रहण लाग्ने त होइन भन्ने कुरामा ज्यादै चिन्तित छन् उनी र मट्याङ्ग्रो उजाउँछन् हरामी हर्कतहरु विरुद्धः–

मेरो अगेनासंँग
संंंशय छ प्रधानमन्त्रीका आँखाहरुलाई
किनकि, मेरो अगेनाको राप
अझै मरेको छैन
र भुँग्राहरु ज्युँदा छन् ।
(विसर्जन, पृष्ठ–२७)

निरीह जनतालाई सत्ताको सोपान मात्र सोच्नेहरुले शासनको साँचो हात पर्नासाथ तिनै जनताको टाउकोमा मलमूत्र त्याग गर्ने गरेका विद्रुप किस्साहरु हाम्रो राजनीतिमा मनग्गे छन् । जनतालाई स्वार्थको साधन मात्र सम्झने प्रवृत्ति अत्यन्त कुरुप र घातक छ । यो प्रवृत्तिलाई निमिट्यान्न नपारेसम्म स्वाभिमानी, इमानदार र मानवीय प्रवृत्तिले फक्रन पाउने छैन भन्ने नै निचोड हो कविको । विहारीकरण भइरहेको राजनीति निःसन्देह ढलको पानीभन्दा फरक छैन । यही नग्नसत्य उद्घाटित भएको छ अहिले । राजनीतिलाई जनमुक्तिको औजार बताउनेहरु अहिले यसैलाई विसङ्गतिको मुहान बनाउन निर्लिप्त हुँदा आफ्नो धज्जी त यसैपनि उडेको छ नै, अझ जनमुक्तिको कोरा नारा तीखो व्यङ्ग्य बनेको छ, विकृत वर्तमानमा । सर्वहारा चिन्तनलाई गिज्याइरहेछन् अगुवाहरुको हिजोआजका व्यवहार, पद्धति र कार्यशैलीहरुले । तथापि कवि अझै पनि क्रान्तिप्रति पुरापुर आशावादी छन्ः–

एक एक पाइलाहरुबाट
म आरोहण गर्छु
पुर्खाका सभ्यताहरु
म त्याग्छु निद्रा
मेरा सबै ढलमलहरुका विरुद्ध
म लड्छु
र म प्राप्त गर्छु
मानव जातिका खुशीहरु
(म उभिएको जमिन , पृष्ठ–२०)

विगत यस्तो थियो कि सामन्तहरुले आफ्ना स्वार्थ अनुकूल तमसुक तयार गर्थे र गिर खेल्ने गर्थे अनपढ जनताका टाउकामा । तमसुकमा ल्याप्चे लगाउनु मृत्युपत्रमा हस्ताक्षर गरेसरी हुन्थ्यो र जनता भयग्रस्त जीवन ज्यूँन बाध्य हुन्थे । तिनै जनविरोधीहरुको राइँदाइँमा घातक धक्का लाग्यो पचासको दशकमा । हायलकायल अवस्थामा बाँच्न विवश भए उनीहरु । लुटको स्वर्गमा भुइँचालो त गयो, कम्पायमान पनि भयो तर त्यसको जग ध्वस्त भएन । उनीहरु पुच्छरतिर हिर्काइएका साप जस्ता भए । अलिकति तेजोबध भएका ती सामन्तहरु लुटको स्वर्ग फिर्ता गर्न कटिवद्ध भएर अघि बढिरहेछन् र बलबुत्ताले भ्याएसम्म उनीहरु आप्mनो दुस्कर्ममा तल्लीन नै हुनेछन् । तसर्थ पुनः एकपटक अन्तिम युद्ध लड्नु पर्नेमा निश्चित छन् कविः–

हामी फेरि
गोल पोल्न हिँडिरहेका छौं
विष्टका नयाँ तमसुकहरुका बिरुद्ध
आरन जुटाइरहेका छौं
(तमसुकहरूका विरुद्ध, पृष्ठ–४१)

समीक्षित कविता सङ्ग्रहको शीर्षक ‘मफलर युद्ध’ पनि निकै समसामयिक र सार्थक छ जसले कुलीनता र दरिद्रता बिचको खाडलमा कुलीनताको प्रतिनिधित्व गरेको छ । किमती मफलर हुनेखानेको प्रतीकका रुपमा अथ्र्याइएको छ यहाँ । यस्ता दामी वस्तुहरु बुकुरा भन्दा धेरै पर छन्, सम्भ्रान्तका सन्दुसमा सजिएका छन् र सुकिलामुकिलाहरुका सयलका निम्ति उत्पादन हुन्छन् । वर्गीय युद्ध कविता कृतिमा अथ्र्याइएको मफलर युद्ध नै हो । मुठ्ठीभर शोषकका गलामा गलबन्दी झुण्डिएसम्म आम जनताले चयनको सास फेर्न पाउँदैनन् । बरु गलबन्दी उनीहरुलाई गलफन्दी भएको दिनमात्र सारा सासनाबाट श्रमिक वर्गले मुक्ति पाउने छन् भन्ने नै कविको निष्कर्ष हो ।

त्यसरी नै कवि आफूलाई अब्बल ठान्ने गरेका समालोचकप्रति समेत क्रुद्ध छन् । यो क्रोध कुनै आवेग नभईकन एक सचेत चिन्तन हो । विषयवस्तुबारे भएको छिपछिपे ज्ञान र भूगोल एवं बाह्य कलेवरका आधारमा जसरी बक्रदृष्टिले हेरिन्छ सिर्जनालाई तब स्वाभाविक रुपमा रोष प्रकट हुन्छ नै । त्यसको स्वाभाविक प्रकटीकरण छ यो कृतिको कवितांशमा पनि ।

समग्रमा कविता सङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ । जम्माजम्मी तेत्तीसवटा लामा छोटा रचनाहरु सङ्गृहीत छन् यो सङ्ग्रहमा । मोफसलका स्थापित एवम् देदीप्यमान मणि अनिल श्रेष्ठ गण्डक क्षेत्रका श्रीखण्ड नै हुन् भलै बक्रदृष्टि बोक्नेहरुका आँखाद्वारा उनी खुर्पाको बिँड नै किन नदेखियून् । क्रान्तिको चिराग अझै एकपटक झोस्नुपर्छ भन्ने मान्यताको पक्षपोषण गरिरहेछन् उनले । विचार र व्यवहारबीचको सही तादात्म्यता उनको पृथक पहिचान हो । एकाध कमजोर रचनाहरु पनि समेटिएका हुन् कि भन्नेजस्ता नितान्त मानवीय र स्वाभाविक सीमाबाहेक अन्य पक्षहरु निकै सवल छन् । उत्पीडित वर्गको संवेदना उद्बोधन उनको सबैभन्दा अद्भूत पक्ष हो । किन्तु कलमका टुप्पामा अझै साँध भने लगाउनै पर्छ अझ धारिला र सशक्त सिर्जना पाठकमाझ पस्कनका निम्ति ।

हिमालय टाइम्स दैनिक, २०६९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here