मफलर युद्ध अर्थात यथार्थवादी कवितामा कोशेढुङ्गा

0
1734

शारदारमण नेपाल

अहिले नेपालीमा सबैभन्दा बढी उत्पादन हुने गरेको र सबैभन्दा बढी अनिकालमा परेको साहित्यिक विधा कविता नै हो । गोष्ठीहरुमा दिनभरि कविता सुन्दा सुनिएका मध्ये एकाध कविता पनि थिए कि थिएनन् अन्तमा घोत्लिनुपर्ने स्थिति भेटिनु पनि स्वाभाविक हुनथालेको छ । सक्कली कविता त सुन्दै मनमस्तिष्कले टिप्छ । टिप्छ मात्रै होइन शब्द र भावको अनुभूति र चित्रणको गाढा छाप बस्छ मनमस्तिष्कमा । भोगाइ त धेरै थोरै सबैसँग हुन्छ । त्यस भोगाइलाई क्षमतावान् कविले शब्द, बिम्व र प्रस्तुतिको कारीगरी समेतबाट जबर्जस्त विस्फोटनसदृश प्रभाव प्रक्षेपण गर्नसक्छ । यसका लागि शब्दहरु दुर्धर्ष, विकट र हुंकारमय हुनु पर्दैन, भएर पनि हुँदैन । मुख्य कुरा त प्रभावसृजनसामथ्र्य हो, अनुभूति सम्प्रेषणसामथ्र्य हो जो साँच्चिकै कविमा मात्र पाइन्छ । यस्तो सामथ्र्यसज्जित कविहरु नेपालीमा अहिले केही छन् । ती मध्येका एकजना तनहुँका तरुण कवि अनिल श्रेष्ठ पनि देखिएका छन् ।

अनिल श्रेष्ठको पहिलो कविता सङ्ग्रहमा नै यो लक्षण मनग्गे देखिएको हो । त्यस सङ्ग्रहले चर्चा पाउनु पर्ने थियो । पाएन । न्यूनतम पनि पाएन । नेपाली साहित्यमा सामाजिक दायित्ववोधपूर्ण र सन्नद्ध समालोचकहरुको अभाव पनि द्योतक हो यस्तो हुनुमा । प्रोत्साहित हुनुपर्ने काव्यप्रतिभा यसबाट निराश भयो । निराशा समेतलाई उर्जा बनाएर लेखिएजस्ता लाग्ने कतिपय कविता समेत समाविष्ट अन्य अनेकाँै कविताहरुको सङ्ग्रह ‘मफलर युद्ध’ अहिले बजारमा आएको देख्न पाइएको छ ।

‘मफलर युद्ध’मा सुन्दर समुन्नत ढङ्गबाट अभिव्यक्त भएका व्यक्तिगत जीवनानुभूतिका कविताको भङ्गालो पनि छ जो सशक्त र मर्मस्पर्शी छ । कविका कविताको मूल प्रवाह चाहिँ सामाजिक र राजनैतिक स्थितिबोध र वोधनको प्रवाह हो । जुन प्रवाहले मुलुकको परिस्थिति र जनताका मनस्थितिलाई सटीक अभिव्यक्ति दिने प्रयास गरेको स्पष्ट अनुभूत हुन्छ । कवितामा विगतका कुरा पनि छन् । तर सघन उपस्थिति आगतको छ र अनागततिरको सङ्केत पनि ध्वनित भएका छन् । कवितामा राजनीतिक दृष्टिकोण र पक्षधरता छ तर त्यो नाराका रुपमा छैन । यसले पनि कतिपय कवितालाई नमूनालायक र विशेष पठनीय समेत बनाएको छ ।

सङ्ग्रहको पहिलो कविता बर्षौँ अघि बितिसक्नु भएकी आमाका बिषयमा छ । ‘छायाँचित्र’ शीर्षक यस कवितामा कविकी ममतामयी आमा र उनको माया ममता एवं वात्सल्यभावको सम्झना जीवन्त र मर्मस्पर्शी बनेर व्यक्तिएको छ । जस्तैः

बत्तीको धमिलो उज्यालो
थालमा खसेपछि
साँझको दैलो टेकेर
आमाका संझनाहरु घरभित्र चिहाउँछन्
र सोध्छन्–“भात खाइस् छोरा ?
भाइबहिनीहरुले खाइसके ?”

‘जुत्ताको दाम’ शीर्षक कवितामा सीमान्त गरीबी र नियमित कर भुक्तानीभारले जर्जर जनताका रगत पसिना घोलेर आफ्ना जुत्ता टल्काउने र टल्किएका जुत्ता किन्ने विलासी मन्त्रीलाई सम्बोधन गर्दै यस्ता मन्त्रीका विलास वैभवका लागि अब आफ्नो रगतपसिना खर्च गर्न नदिने नेपाली जनताको अठोटपूर्ण ललकारलाई कविताको संयमित प्रश्नहरुमा प्रस्तुत गरिएका हरफहरु छन् । ती एकएक प्रभावकारी र पठनीय बनेका छन् । जस्तैः

माफ गर्नुहोला मन्त्रीज्यू,
तपाईंको त्यो टल्किरहने जुत्ताको दाम
कति पर्छ ?
………
हामी जोत्छांंंैं
र बारीमा अन्न उमार्छौं
हाम्रा पाइतालाहरु
धुलोले पटपटी फुटेका छन्
……….
हामी भकारो सोहर्छांै
र गाईबस्तुहरुको लागि
घाँस काट्छौं
हाम्रा निधारहरु नाम्लोले
बेस्सरी डामिएका छन्
………..
हामी बेसी झर्छौं
र केटाकेटीका लागि निमेक भर्छौ
साँझ, भारी बोकेर उकालो हिँड्छौं
हाम्रा जिउहरु
निद्रामा करकर्ती लुछिएका छन्
…………
तर,सधैं सर्पदंशझैं
यो महँगीले किन हामीलाई नै डसिरहेछ ?
हाम्रै दैलो टेकेर नाङ्गो बतासले
सधैं किन अभाव पस्किरहेछ ?

‘म कुँडुलेटार’ करेसामै अगाध जलमय नदी भएर पनि सिँचाइले बन्चित रहनु परेर तड्पिएको उर्बर भूमिको छटपटीको कविता हो । विभिन्न बहानामा नेता कार्यकर्ताहरुबीच राष्ट्रिय ढुकटी वितरण गर्न सधैँ अघि सर्ने तर मुलुकको आधारभूत व्यवसायकै रुपमा रहन बाध्य कृषिको उत्थान र विकासमा भने सिन्को नभाँच्ने सरकारहरुको प्रवृतिमाथिको यो कविता व्यङ्ग्यजस्तो बनेर अभिव्यक्त भएको छ । जस्तै ः

म कुँडुलेटार
मेरो छेवैबाट बग्छ मस्र्याङ्गदीको पानी
मलाई छोएरै भाग्छन् किनाराहरु
तर ब्राह्मण टोलकी एउटी दलित यौवना
मानौं,एउटी अछुत कुमारी म कुँडुलेटार
चाहेरै मैले कसैलाई
मुन्टो ठाडो गरी हेर्न सक्दिनँ
…………….
जब देख्छु,दिनको घामले सुकिरहेका बगरहरु
बगरले कुल्चिएका मेरा आफ्नै बाँझोपनहरु
मलाई दुर्गन्धित लाग्छ

प्रस्तुत सङ्ग्रहका कविले पस्किएको ‘सिंहदरबार’ शीर्षक अर्को कवितामा मुलुकको प्रमुख शासन प्रशासन केन्द्र सिंहदरबारलाई राजधानीमा उभिइरहेको भयङ्कर कालो गिद्धका रुपमा चित्रण गरिएको छ । गिद्धका नङ्ग्राहरुले मुलुकको नक्सा नै घाइते बनिसकेको देख्छन् कवि ।

सिंहदरबारको बडेमानको अतिरिक्त भँुडी बनेर भरिने गरेको संविधानसभा आज दिवंगत भइसकेको छ । श्राद्धसंस्कारमा हुर्केका राजनेतृत्वहरु पितृकै रुपमा किन नहोस् त्यसलाई पुनः ब्यँुताएर भोजको आयोजना चलाउने हुटहुटीमा पनि देखिएका छन् । कवि अनिलले यस संविधानसभालाई यसको विस्तारित जीवनकालमै आफ्ना दुव्र्यसनका आकाङ्क्षापूर्तिका लागि पनि निर्लज्जताका साथ विदेशी दाताहरुसँग हात थाप्ने एक मगन्ते केटाका रुपमा चित्रण गरेका छन् । जस्तैः

एउटा माग्ने ठिटो
मागेरै सल्काउँछ एक खिली चुरोेट
र सडकको एक छेउमा
उभिएरै फुरुरुरु
एकोहोरो छाड्छ धुँवा

प्रस्तुत कविता सङ्ग्रहकै शीर्षक बनाइएको कविता ‘मफलर युद्ध’ मा कविले मफलरलाई प्रतिनिधि चरित्र बनाएर समाजमा विद्यमान आर्थिक विषमता तथा वर्गसङ्घर्षलाई सबैले बुझ्ने भाषाशैलीमा कवितात्मक चित्रण गरेका छन् ।

भ्रष्ट आचरण नै खास पहिचान बनेको यस कालखण्डका मन्त्रीहरुको दैनन्दिन ताउरमाउरका चित्रण गर्ने कविता ‘लुतो’ यस सङ्ग्रहका अर्को एउटा उद्धरणीय कविता हो । यस कवितामा आनन्दमग्न भएर लुतो कन्याइरहेका मन्त्रीलाई सम्बोधन गर्दै कवि भन्छन्

नजिकैबाट, मेरो एकजना इमान्दार
कार्यकर्ता भन्छ–‘मन्त्रीज्यू,
तपाईंका हातका औंलाहरुलाई
एकैछिन थाम्नोस्
भीडले हेरिरहेका छन् ।’

मुलुक र जनता भीषण भृगपतनबीच उँभो न उँधो भई अड्किएर कहालिदै आर्तनाद गरिरहेका हृत्कम्पमय क्षणहरुमा पनि ख्यालठट्टा, हाँसो र भोगविलासमा अलमस्त रहनसक्ने विश्वका कति शासक, प्रशासक र राजनेताहरुको विशेषता बनिआएको आजको विकृतिग्रस्त राजनीतिक संस्कृतिलाई कवि अनिल श्रेष्ठले ‘सभासद् सपना मल्लको हाँसो’ शीर्षक कवितामा पाठकको मनमस्तिष्कलाई चरप्प पार्न सक्षम शब्दशैली, विम्व र प्रस्तुतिमा प्रस्तुत गरेर नेपालको एउटा राजनैतिक यथार्थलाई सडकमा छताछुल्ल पारिदिएका छन् । यो प्रत्यक्ष वर्तमानकै जीवन्त दृष्टान्त सहितको एक मर्मस्पर्शी कविता हो । राजनीतिमा रहेको हृदयहीनतालाई भयावह आकारका साथ सडक चौबाटोमा उभ्याउन उद्यत कविता हो यो । जो पठनीय मात्र नभएर मननीय पनि छ । कविताभित्र कवि भन्छन् ः

र मलाई याद आउँछ
सातदलको
बैठक स्थगनपछि
बाहिर निस्किरहेका अध्यक्ष प्रचण्डका
थकित आँखाहरु
……………
लोडसेडिङ्गले थला परेको सहर
र अन्तराषर््िट्रय सम्मेलन केन्द्रभित्र
संविधानसभाको
बैठकहलबाट उठिरहेको
सभासद् सपना मल्लको हाँसो

‘तमसुकहरुका विरुद्व’ शीर्षक कविता कवि अनिल श्रेष्ठको प्रगतिवादी चिन्तन,त्यस चिन्तनका आधारमा देखिएको हिजोको उज्यालो परिदृश्य, अन्धकार पुनस्थापना प्रयासका वर्तमान दुर्दिन र कहिल्यै नथाक्ने,नहार्ने जनताको भविष्यबोध तथा अठोट सँगेटिएको एक सुन्दर कविता हो । कविताका पछिल्ला हरफहरुमा कवि भन्छन् ः

हामी फेरि
गोल पोल्न हिँडिरहेका छौं
विष्टका नयाँ तमसुकहरुका बिरुद्ध
आरन जुटाइरहेका छौं

परम्परागत अन्योक्तिपरक शैलीलाई अधूनातनीकरण गरेर लेखिएको भएर पनि नि आदिकालदेखि अन्तसम्म असरदार प्रतीक दगुरेको कविता हो ‘बेसोमति झिँगा’ । यसमा झिँगागा प्रतीक मात्र छैन राजनेताहरुको वीभत्स बिम्ब बनेर कविताभरि भुन्भुनाएको छ ।

कवि अनिल समग्रमा आशावादी छन् र पनि ‘हँसियाहरु खिएपछि’ जस्ता कतिपय कवितामा कविका किञ्चित निराशाभाव र चित्तदुखाइ अभिव्यक्त भएका छन् । जस्तै ः

हँसियाहरु खिएपछि
सपनाहरु कमजोर बन्दा रै’छन्
भ्रमहरु खेल्दा रै’छन्
विस्तारै फेरिँदो रै’छ अँध्यारोमा
काँडाहरुको रङ्ग
र क्रूर हुँदो रै’छ अँध्यारो
………..
हँसियाहरु खिएपछि
सबैभन्दा बढी त देश दुख्दो रै’छ
मन दुख्दो रै’छ

जतिसुकै मन दुखे पनि कवि हतास छैनन् । अलमलमा छैनन् । उनी अदम्य जोस जाँगरका प्रगतिप्रवाही आम जनताका साथमा छन् । जननदीका साथमा छन् । यसैले ‘अग्निसेचनका यामहरु’ शीर्षक कवितामा कवि भन्छन्–

म नदी हूँ
म अग्निसेचनको प्रक्रियामा छु
र म आफ्नो गर्भभित्र
आगोका भ्रुणहरु हुुर्काइरहेकी छु ।

अर्को एउटा सुन्दर कविता छ ‘साइँली कमिनीको देश’ । यो उपेक्षित, दलित, पीडित, विपन्न जनताका विपत्ति, पीडा, परिवर्तन प्रयास, त्याग तपस्या, आशा निराशा, सङ्घर्ष, सपना, कल्पना र प्रतिफलका रुपमा उपलव्ध राजनीतिक बज्रलातको मर्मवाही कविता हो । उदाहरणको लागि एउटा अंश, जस्तैः

यस्तै जाडोको एकदिन
जुलुसमा हिँड्दा हिँड्दै
यिनीहरुका बाउआमाको ज्यान गयो
ऊ त्यो भित्तामा टाँगेको फोटाहरुमध्ये
दुई जना यिनीहरुकै बाउआमाहरु हुन्
शहीद भए भन्छन्
………….
दुबै जना गिट्टी कुट्ने काम गर्थे, हजूर
कहिले बालुवा चाल्थे
कहिले इट्टा भर्थे
………………….
हजूर, कस्तो हुन्छ लोकतन्त्र ?
म बूढीलाई लोकतन्त्रमा यी टुहुराहरु
हाँसेको हेर्न असाध्यै रहर छ

यसरी यस सङ्कलनमा सङ्कलित धेरै कविता राम्रा र समयबोधक छन् । कविका प्रतिभा र प्रयत्नका साक्ष्य पेस गर्न सक्षम छन् । उदितका लागि स्पर्धा र उदीयमानका लागि प्रेरणा उत्प्रेरणा गर्न सक्ने तरुण कवि अनिल श्रेष्ठका ललित पदावली र उर्जस्वी विचारप्रवाहका कविताहरु पढ्नै पर्ने खालका छन् । बहुसङ्ख्यक कविताले आलोचनात्मक यथार्थवादको सीमा पार गर्न नखोजेको पाइए पनि सङ्कलनमा प्रगतिवादी कविताहरु मनग्गे छन् । यति धेरै कवितामा उल्लखनीय भाषिक त्रुटि तीन चारवटा मात्र छन् । त्रुटिहरु नै नभइदिएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो ।

६९ पृष्ठको सङ्कलित ३३ वटा कविताहरुको प्रस्तुत सङ्कलनमा प्रयुक्त कागज गुणस्तरीय रहेको देखिन्छ । छपाइ राम्रो छ । गाता आकर्षक छ । यो सबै हेर्दा मूल्य रु ९५ रुपैया धेरै जस्तो लाग्दैन । अन्तमा यति राम्रा कविता तयार गरेर पस्कनुभएकोमा कवि अनिल श्रेष्ठलाई बधाई ! प्रकाशक पाठ्यसामग्री पसल घण्टाघरलाई बधाई !

ज्योति,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here