कवि अनिल श्रेष्ठका कवितात्मक अभिव्यक्ति

0
1732

बिन्दा मैनाली


जेठ महिनाको अन्तिम शनिबार, प्रतिभा प्रवाहमा दुई जना राम्रा कविहरुको कविता सङ्ग्रहको समीक्षा गरिएको थियो । एउटा कवि कुमार दिङ्लालीको ‘लालपाती’ कविता सङ्ग्रहको र अर्का कवि अनिल श्रेष्ठको ‘मफलर युद्ध’को । यस लेखमा कवि अनिल श्रेष्ठको कविता सङ्ग्रह ‘मफलर युद्ध’को बारेमा चर्चा गर्ने प्रयास गरेको छु । ‘मफलर युद्ध’को चर्चा गर्नुपर्ने आवश्यकताका बारेमा भने उनको यो कवितांशबाट शुरू गर्छु ।

अधिकांश नाकहरु
यतिबेला रुघाले ग्रस्त छन्
सबैभन्दा बढी ग्रस्त छन्–संसदघरभित्रका
सांसद सदस्यहरु
तिनीहरुको ‘हाच्छ्यूँ’ले
नागरिकका नाक र आँखाहरु
दुवैलाई,एकैचोटि सङ्क्रमण गरिरहेछ
………………….
म पर्खिरहेको छु
संसदघरभित्रबाट रुघा विरुद्वको
अध्यादेशपत्रहरु
(सांसदको रुघा,पृष्ठ–५५)

०६५ सालमा लेखिएको यो कविताले नेपालको समग्र राजनीतिको विकृत अवस्थातर्फ सङ्केत गरेका छन् । संसदीय भासमा फसेका पार्टीका शीर्षस्थ नेताहरु कुर्सीकै लागि मरिमेट्ने गरेकाले जनयुद्धका तेह्र हजार नेपालीहरुले दिएको बलिदानको कदर नभएको कुरालाई कविले यहाँ इङ्गित गरेका छन् । २०६४ देखि २०६८ सालसम्म रचना गरिएका उनका कविताले तत्कालीन अवस्थाको नेपालको राजनीतिक अवस्थाको राम्ररी चित्रण गरेका छन् । यो अवधि भनेको नेपालको इतिहासमा संविधान बन्नको लागि संविधानसभाको चुनाव भएदेखि संविधानसभा मृत बनेको २०६९ जेठ १४ सम्मको अवधि हो । कवि अनिल तनहुँमा बस्छन् र राजधानी बाहिर मोफसलमै बसेर पनि उनी संविधानसभा भवनमा नै केन्द्रित छन् ।

‘मफलर युद्ध’ यो शीर्षकमा नै व्यङ्ग्यको प्रयोग गरेका छन् कविले । ०६५ सालमा रचिएको यस कवितामा कविले जनसंविधान नबन्ने स्पष्ट सङ्केत गरेका छन् । एकीकृत माओवादी पार्टीले जनताको सङ्घीय गणतन्त्रको संविधान बनाउनुपर्छ भनेर निर्णय गर्दा पनि लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन कम्मर कसेका नवसंशोधनवादीले जेठ १४ को परिणामलाई निम्त्याएर छाडे ।

कवि अनिलले ‘मफलर युद्ध’ कविता सङ्ग्रहमा यिनै प्रतिक्रान्तिकारीहरुको चरित्रलाई भण्डाफोर गरेका छन् र संसदमा अवसरवादीहरुको प्रवेशले गर्दा नै जनसंविधान बन्न नसकेको कुरालाई उनले उद्घाटन गरेका छन् । नेताहरु विलासी बन्दै गएका, जनताका समस्या भन्दा कुर्सी, पद, पैसामा लोभिएको सङ्केत ‘जुत्ताको दाम’, ‘सिंहदरबार’, ‘वेसोमति झिँङ्गाहरु’, ‘झुसिल्कीराहरु’, ‘लुतो’, ‘अग्निसेचनका यामहरु’, ‘हँसियाहरु खिएपछि’, ‘संसद ठिकठाक चलिरहेछ महोदय ?’, ‘भालेमुङ्ग्राको रङ’ कवितामा गरेका छन् । ‘भालेमुङ्ग्राको रङ’मा यो भालेमुङ्ग्रो एउटा बिम्ब हो । यसले छिनछिनमा रङ बदल्छ । नेताहरु जनताका घरदैलोमा मत माग्ने बेलामा जनतालाई दाता मान्छन्, चुनाव जितेपछि आपूm नै विधातामा परिणत हुन्छन् । यसरी भालेमुङ्ग्रोको जस्तो छिनछिनमा रङ फेरेर जनताका सेवक भन्नेहरु आज शासक भएकामा कविले यहाँ दुःख व्यक्त गरेका छन् ।

कवि अनिलले वर्तमानबाट भविष्य हेर्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । ‘विर्सजन’ कवितामा विसर्जनकारीहरुमाथि प्रहार गर्दै क्रान्तिस्थलको रुपमा आगो बलिरहेको अगेनालाई क्रान्तिकारी आशावादको रुपमा प्रस्तुत गरेका छन् । यससँग सम्बन्धित उनको एउटा कवितालाई हेरौं,

अहिले कसरी तिनीहरु
आगोका विसर्जनका खेलहरु
खेलिरहेका छन् ?

कसरी यो अँध्यारोमा फेरिदै गइरहेछ
तिनीहरुको छालाको रङ्ग ?
र तिनीहरुको
आँखाको राप हराइरहेको छ ?
………………………..
मेरो अगेनासंँग
संंंशय छ प्रधानमन्त्रीका आँखाहरुलाई
किनकि, मेरो अगेनाको राप
अझै मरेको छैन
र भुँङ्ग्राहरु ज्युँदा छन् ।
(विर्सजन,पृष्ठ–२७)

नेपाली कम्युनिष्ट आन्दोलनमा देखिँदै गएको विर्सजनवादी प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै कविले यहाँ क्रान्तिलाई विर्सजन नगर्ने अठोट गरेका छन् । कवि अनिलका कविताहरु नेपाली राजनीतिमै केन्द्रित भए पनि विषयगत विविधता भने व्यापक रुपमा रहेको छ । नेपाली समाजको वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको चित्रण उनका कवितामा पाइन्छ । ‘म कुँडुलेटार’, ‘किनकि ऊ हलियाको छोरो थियो’, ‘र यी लखन थापाहरु’, ‘साइँली कमिनीको देश’ मा यो स्वर तिब्र रुपमा प्रस्तुत गरिएको छ । कवि अनिलका कविताहरु एकातिर नीति निर्माणको केन्द्र सिंहदरबार र संसदभवनतिर केन्द्रित भएका छन् भने अर्कातिर नेपालका उत्पीडित जात, वर्ग, भूगोलतिर केन्द्रित भएको पाइन्छ ।

नेपाली समाजका धेरैजसो मानिस कुनै न कुनै रुपमा सामन्ती, पँुजीवादी र साम्राज्यवादी शोषण र उत्पीडनका शिकार भएका छन् । समाजका मुख्य जातिभित्रै पनि अमानवीय विभेद छ भने अरु उत्पीडित जातिको कुरै छाडौं । यसलाई चिर्न भनेर स्थापित भएका कम्युनिष्ट दलका नेताहरु नै यसका शिकार भएका छन् । जनताले रगत र पसिना बगाएर नेतृत्व तहमा पठाएका नेतृत्वगणहरुको कार्यशैली ठिक नभएको र उनीहरुको अवसरवादी चरित्रले गर्दा जनताले चाहेको संविधान बन्न सकेन । त्यसैले कविले उनीहरुको तीव्र आलोचना गरेका छन् र अब जनताको मुक्तिका लागि क्रान्तिको आगो बाल्ने र यो निभ्न नहुने कुरामा कवि दृढतापूर्वक लागेका छन् । उनले कवितामा अधिकांश उत्पीडित वर्गको दयनीय अवस्थाको चित्रण गरेका छन् र उत्पीडित वर्गको मुक्तिको लागि क्रान्तिको अगेना ननिभ्ने विश्वास पनि गरेका छन् ।

‘मफलर युद्ध’मा मफलरलाई कविले ओहदाको रुपमा प्रस्तुत गरेका छन् । उत्पीडित वर्गको नेतृत्व गर्नेहरु नै उत्पीडक बनेका छन् । जनताका मुक्तिका लागि क्रान्ति गर्नेहरु नै ओहदाका लागि लडाईं गरिरहेका छन् । उनीहरु ओहदामा पुग्न शीर्षस्थ नेताहरुको चाकडी गर्न पछि परेका छैनन् । जनताका मुक्तिका लागि स्थापित भएका पार्टीहरु अहिले पद बिक्री गर्ने कम्पनी जस्ता भएका छन् । पदका लागि मरिमेट्नेहरु जनताका समस्याहरु सबै बिर्सिएर पदीय भागबण्डामा तँछाडमछाड गरिरहेका छन् । यस्तो पद खरिद बिक्री गर्नेहरुले जनआन्दोलनको मर्मलाई नबुझेकोमा कवि दुःखी छन् । राजनीति गर्नेहरु जनताका मुक्तिका लागि सङ्घर्ष गरेको भन्दा पनि पदका लागि युद्ध गरिरहेको भन्ने ‘मफलर युद्ध’को आशय हो ।

२०६९ जेठमा प्रकाशित भएको यो कवितासङ्ग्रहमा कविले नेपालका ठूला भनिने राजनैतिक पार्टीहरुको अवस्था, नेपालको राजनीतिक अवस्था र पार्टीभित्रका नेताहरुको कार्यशैलीको चित्रण र त्यसप्रतिको व्यङ्ग्य प्रयोग गरेका छन् । सत्ता प्राप्तिपछि सुधारवाद र नवसंशोधनवादको भासमा फस्दै गएको कम्युनिष्ट पार्टीको विरुद्धमा विद्रोहको वकालत गर्दै पार्टीभित्रका क्रान्तिकारी तप्काको पक्षमा कवि अनिल उभिए । जनताको जनविद्रोहको अधिकारको झण्डालाई सुरक्षित उठाउँदै कवि अनिलले विद्रोह रोजे । उनी विद्रोही कवि थिए र जनविद्रोहको बाटो पहिले नै निर्धारण गरिसकेका थिए भन्ने कुरा उनका कविता पढिसकेपछि बुझ्न सकिन्छ । कवि अनिल युद्धले जन्माएका कवि हुन् । उनी निरन्तर लेखनकर्ममा लागिरहेका छन् । उनको यो कलमले अरु निरन्तरता पाइरहोस् भन्ने कामना गर्दै सुन्दर कविताहरुको लागि कवि अनिललाई बधाई दिन चाहन्छु ।

जनदिशा दैनिक, २०६९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here