0

सुभद्राको मन

Share

सूर्यास्तसँगै मस्र्याङ्दी नदीको किनारबाट उठेको चिसो बतासले सुभद्राको एकान्तलाई हिर्काएर गयो । एउटा तन्द्राबाट ब्युँझिइन् सुभद्रा । अरु दिनभन्दा कुन्नि त्यो हावाले किन आज उनको मनलाई नरमाइलो गरी छोएर गएको थियोे । आँसुले गह्रोै बनिरहेका थिए उनका आँखाका परेलाहरु र आँखामा टिलपिल बनेका आँसुले उनको मनलाई पनि गरुङ्गो बनाइरहेको थियो । धेरै दिनदेखि राति राम्ररी निदाउन नसकिरहेको आँखामा कुनै बोझिलो वस्तुले थिचिरहेको महसुस गरिरहिन् उनले । उनले गह्रौ आँखाले परसम्म हेरिन् एकचोटि । बताससँगै खेलिरहेका गौँथलीहरुको चिर्रचिर्र स्वर उनलाई झनै उच्चाट लाग्दै थियो ।

घामले ओझेल हालेपछि सुभद्रा उठिन् गह्रौ मन लिएरै । काटेर राखेको घाँसको मुठा बाँधिन् र भारी कसिन् । र, भारी लिएर गोठतिर हिँडिन् । चैतको त्यो बतासले सुभद्राको बाटोभरि उराठ पोखिइरह्यो ।

सुभद्रा गोठमा पुग्दा उनका ससुरा भैंसी दुहिरहेका थिए । घाँसको भारीलाई नजिकैको टाँडमा बिसाएर उनी घरतिर लागिन् । सासू पिँढीमा मकै खोसेल्ट्याउँदै थिइन् । सुभद्रालाई देखेर आँखा तरिन् । बज्यैसँग बसिरहेकी सानी छोरी आमालाई देखेपछि पछ्याई ।

‘दुई मुठा घाँस काट्न पनि तँलाई दिनभरि लाग्छ ? घरको अरु काम चैं देख्नु पर्दैन ?’ सासुले पिँढीबाटै रिस ओकलिन् ।

सुभद्रा घरभित्र पसिन् नबोलेरै । चुल्हो हेरिन् । चुल्होमा आगो थिएन । गाग्री छामिन्, सबै रित्तै थिए । गाग्री बोकिन् र बाहिर निस्किन् । उनको सधैंको दिनचर्या यही बनिसकेको थियो ।

‘‘मात लागेकी ।’’ पिँढी काट्दा सुभद्राले सासूको स्वर सुनिन् ।

‘यत्रो गाउँमा अरुको त यस्ती छैनइ ।’ सासूको कटुताले परसम्म पछ्याइरह्यो उनलाई ।

सुभद्राको आँखाबाट आँसु जमिनमा खस्यो तुरुक्क । मन अमिल्लियो । अमिल्लिएर आएको पानीले छाती पोलेको अनुभव भइरह्यो उनलाई ।

राति अबेरसम्म पनि सुभद्राको आँखामा निद्रा परेन । अशान्त बनिरह्यो मन । यो अँध्यारोको एक प्रकारको शून्यता, छटपटी र उकुसमुकुसले सुभद्रालाई लखेटिरह्यो । एकछिन आँखा झप्किन्थ्यो र फेरि निद्रा टुट्थ्यो । मनका अनेक तर्कनाहरु उनको आँखामा आएर खेल्थे । निदाउन खोज्थिन्, सासूको ताडना आएर उनको आँखामा बस्थ्यो र दुखाउँथ्यो । ससुराको सधैं उपेक्षाले भरिएको आँखाले उनलाई बिझाइरहन्थ्यो । लोग्नेका सम्झनाहरुले उनलाई उद्विग्न बनाउँथ्यो र आँखामा एउटा रिक्तता छाड्थ्यो ।

‘‘असत्तीहरु ।’’ सुभद्राको मनबाट एउटा तिक्तता पोखियो ।
‘यी सासू भइ टोपल्नेहरु आफू बुहारी भएको दिन चैं कुन्नि ! किन बिर्सदा हुन् र बुहारीमाथि सासूको बुहार्तन गरिरहन्छन् !’ सुभद्राको मनमा एउटा विषाद उठ्यो ।

सुभद्राले घरमा सासूससुराको व्यवहार सम्झिन् ।

‘आखिर के बिगारेकी छन् उनले र यो घरभित्र सासूससुराले सधैं उनलाई अभद्र व्यवहार गरिरहन्छन् ? किन सासूले उनलाई सधैं काँडाजस्ता वचनले हिर्काइरहन्छिन् ? अलिकति सम्मानले बाँच्न पाउने अधिकार पनि उनको लागि यो घरभित्र किन छैन ? अरुको माया त परको कुरा रह्यो, जसलाई अग्नि अगाडि सात फेरो हालेर लोग्ने मान्यो उसैले सौता हालेर आज किन उनलाई एक्याल्यो ? किन उनको लागि लोग्नेको उपस्थिति सासूससुराको अगाडि सधैं मौन रहन्छ ? यो घरभित्र सधैं किन अपमानले बाँच्न बाध्य छिन् उनी ?’ रातभरि सुभद्राको मनले कोलाहल गरिरह्यो । जति बिर्सन्छु भन्दा पनि उनका आँखाअघि विगतका सम्झनाहरु खेलिरहे ।

सुभद्रा सम्झिन्छिन्– एकदिन छिमेकी आफन्तका छोराको विवाहमा आँगनभरि दाइजोका सामानहरु खसालेका थिए । विवाहको नाचगानको रमाइलो हेरेर फर्किरहेका सुभद्राको ससुराले घरभित्र पस्दै स्वास्नीसँग भनेका थिए, ‘दाइजो त निकै ल्याएछ बैकुण्ठेकी बुहारीले ।’

‘खै, आफ्नाले त ल्याउन जानेको हैन क्यारे ।’ तितो मुख गरिहाली सासूले ।

सासूको कटाक्षले एकैछिन मर्माहत बनिन् सुभद्रा । निरीह देखिइन् । टोल्हाइरहिन् पिँढीमा प्रतिक्रियाविहीन । एउटा ऐँठनजस्तो, सारो चिज आएर उनको छातीमा बेस्मारी अँठ्यायो र एउटा वेदनाले उनको आँखाबाट तुरुक्क आँसु खस्यो भुइँमा । कसैले उसको आँखाको आँसु देखेन । मान्छेको मन फाट्न कतिन्जेल लाग्छ र । लोग्ने र सासूससुराको उपेक्षाले उनको मनलाई गह्रौं बनाइरह्यो । साँघुरो बन्दै गए यो घरका सम्बन्धहरु उनलाई । एक्लिदैं गइरह्यो सुभद्राको मन । बढ्दै गयो उनको लागि एकान्त ।

‘यो दुःख भोग्न लेखेर आएकी रै’छु ।’ सुभद्राको मनलाई विरक्तिले छोयो ।

उनले एकचोटि आफ्ना बाआमालाई सम्झिन् । माइत सम्झिन् । साथीसँगी सम्झिन् । स्कुल सम्झिन् ।

विवाहअघि र पछिका दिनहरु उनका आँखामा आएर सल्बलाइरहे ।

‘सुनिस्, केटो पनि राम्रो छ, घरपरिवारको छ, खान्दानी छ । दश कक्षा पढ्दै रै’छ । आमा चैं अलि बिरामी छ रे । मर्नुअघि बुहारी र नातिनातिनाको मुख हेर्न मन लाग्यो रे । त्यसैले आमाकै करबलले छोराको बिहा गरिदिन लागेका रै’छन् । हेर हाम्री पनि हुर्केबढेकी छोरी, बेलैमा कन्यादान गरिदिन पाए मनलाई सुखशान्ति मिल्थ्यो । एकदिन त त्यसको बिहे गरिदिनै पर्छ । राम्रो घरको कुरा आएको बेला हुन्छ भनिदन किन ढिलाइ गर्नु । राम्रो घरपरिवार र केटो मिले आखिर त्यसको पनि त भविष्यको कुरा हो । के भन्छेस् तँ ।’ एउटा रात बाउले आमासँग गरेको साउतीको स्वर अझै सुभद्राको कानमा ठोक्किएझैं लाग्यो ।

भर्खर सात कक्षा पढ्दै थिइन् सुभद्रा । तेह्र वर्षकी थिइन् । त्यसपछि कसरी उनी बेहुली बनिन् । कसरी डोली चढिन् । कसरी परायाको साथमा लागेर सधैं खेल्दै आइरहेको आँगनलाई छाडिन् । एउटा विस्मृति आएर सुभद्राको आँखामा अल्झिन्छ ।

‘बुझिस्, तँ अब यो घरकी बुहारी होस् । यो घरमा बनाउने, पकाउने, खुवाउने सबै काम तैँले गर्नु पर्छ अब । म त रोगी छु । क्यै गर्न सक्दिन । तैँले नै गर्नु पर्छ यो घरलाई सम्हाल्ने काम । यो पुरु छ नि तेरो लोग्ने । हो, तैले त्यसको ख्याल राख्नुपर्छ ।’ विवाह गरेर गएको एकदिन सुभद्रासँग सासूले भनेकी थिई ।

लोग्नेसँग सुभद्राको आँखा कहिल्यै एक भएर जुधेनन् । लोग्नेसँग सिधा हेर्न सुभद्रालाई सरम लाग्थ्यो । सङ्कोचले उनका आँखालाई झुकाइदिन्थ्यो । लोग्ने उतिसाह्रो ऊसँग बोल्दैनथ्यो । ‘भान्सा तयार भो,’ लोग्नेसँग उनले बोल्ने शब्दहरु पनि बस् यत्ति नै थियो । सुभद्रा र उनको लोग्नेको बिचमा कहिल्यै दोहोरो बोली र शब्दहरु मिसिएनन् । लोग्ने स्कुल हिँड्थ्यो । सुभद्रा दिनभरि घरको धन्दा सम्हाल्थिन् । उमेरभन्दा बढी घरधन्दा, चुलोचौका, घाँसदाउरा, कुँडोपानी, गोठगोबरको दिनभरिको कामले सुभद्रालाई थकित बनाउँथ्यो । थकाइले अलिकति पनि उनका आँखा झप्किन पाउँदैनथे, सासूका आँखाले पछ्याउँथे र सासू डाँट्न सुरु गर्थिन्, ‘तँलाईं काम गर्ने जाँगर त कहाँबाट आउँछ र ? माइतमा सधैं पुल्पुलिएरै खाएकी थिइस् क्यारे ।’

कहिलेकाँही त माइतको सम्झनाको नियास्रोले सुभद्रा एक्लै एकान्तमा बसेर रोइदिन्थिन् ।

‘खुबै छोरीलाई सुख दिन्छु, कुलघर खोजेर पठाइदिन्छु भन्थ्यौ नि आमा,’ सुभद्रा एकालाप गर्दै थिइन् ‘तिमीले जन्म दिए पनि दुःख भोग्ने कर्म त आखिर मसँगै थियो । नर्क भोग्न लेखेर आएकी रै’छु । दुःखको काँडाले किन छोड्दो छ’र ।’

समय बित्दै थियो । सुभद्रा दुई जिउकी देखिइन् । यस्तो बेलामा पनि न उनी लोग्नेसँग खुसी साँट्न सक्थिन् न दुःख साँट्न । उनी लोग्नेको सहारा खोज्थिन् । लोग्नेको आँखामा खुसी खोज्थिन् । लोग्नेको प्रेमपूर्ण सान्त्वनाले भरिएका शब्दहरु खोज्थिन् । तर कुनै दिन लोग्नेले उनलाई ‘कस्तो छ तँलाईं ?’ सम्म पनि सोधेन । लोग्नेको वेवास्ताले उनलाई झनै अरु दुखित बनाउँथ्यो । न उनी लोग्नेसँग कुनै गुनासो गर्न सक्थिन् न लोग्नेको आँखामा कहिल्यै उनले आफ्नो लागि प्रेम भेट्टाइन् । एउटा उजाड समयले भरिएको उनको विवाहका यी आठ वर्षहरु निस्सारलाग्दा थिए । निरर्थक थिए ।

‘हेर दुलही, तैले यो घरको लागि छोरा जन्माउनु पर्छ बुझिस् ।’ मानौं सुभद्राको लागि सासूको यो आदेश हो । र, सुभद्राले छोरा पाउनु अनिवार्य छ ।

सासूको बातैपिच्छेको यो कचकचले कहिलेकाहीँ सुभद्रालाई दिक्क बनाउँथ्यो । उसै त दुई जिउकी । भनेको बेला खानुपिउनु छैन । पोषिलो आहार छैन । फुर्सद र आराम छैन । दुई जिउको खान्की चाहिन्छ । तर उनलाई सधैं अबेलासम्म पनि भोकै बस्नु पथ्र्यो । भोकले रनाहामा पाथ्र्यो । रगत नभएर जिउ पहेँलिएको छ । आफू एक्लैलाई त सुभद्राले कहिल्यै चिन्ता लिइनन् । पेटमा बच्चा आएदेखि उनको पीरसुर्ता बढेको छ । आमालाई खान्की मिले न पेटको शिशुले खान्की पाउँछ । जब पेटको बच्चाले चल्मलाएर उछितो लिन्थ्यो पीडाले सुभद्रालाई एकैछिन त असह्य बनाउँथ्यो । निकै कमजोर देखिन्थिन् । जिउ फतक्क गल्थ्यो ।

सुभद्राले आफ्नो पेटलाई विस्तारै मुसार्थिन् र चल्मलाइरहेको शिशुलाई हातले बाहिरबाट स्पर्श दिन्थिन्् । मनमा अलिकति सुखको अनुभव गर्थिन् । फेरि कताकता मनभित्र भय बस्थ्यो । छटपटी उठ्थ्यो ।

एकदिन सुभद्रालाई प्रसवले छोप्यो । लामो व्यथापछि उनले छोरी जन्माइन् । रगत बगेर निकै गाह्रो भो सुभद्रालाई । पहेँलिसकेकी थिइन् । धन्न, कालको मुखबाट फर्किइन् ।

‘छोरी रै’छ ।’ कताकता सुभद्राले सासूको स्वर सुनिन् । बेहोसजस्तै थिइन् उनी । मान्छेका छायाँहरु धमिलोसँग आफ्नो वरिपरि सल्बलाइरहेको देख्दै थिइन् । कसैले तातो झोल ल्याएर उनलाई दियो ।

‘अलच्छिनाले छोरी पाइहाली ।’ सुभद्राको सासूले टिठ्याई, ‘आफ्नो त कर्म उस्तो ।’

‘त्यसो नभन पुरुकी आमा । तिमीहामी पनि त बुहारी भअर आ’का हौं । तिम्रा हाम्रा नि बिहा अरेका छोरीहरु छन् । यसमा बिचरी यो बुहारीको के दोष ?’ कसैले उनको सासूको प्रतिवाद गरेको मसिनो स्वर उनले अर्धनिद्रामा सुनिन् । प्रसवको यस्तो अवस्थामा पनि सासूको निन्दाले सुभद्राको मनलाई खिन्न र उदास बनाइरह्यो । सुभद्रालाई खुसीले मुन्टो उठाएर त्यो नवजात शिशुलाई एकचोटि हेर्ने उत्साहसम्म रहेन । उनको आँखामा आँसु आएर बस्यो ।

‘सुत्केरी कमजोर छ । अलि ख्वाउ है पुरुकी आमा ।’ जाँदै गर्दा कसैले भनेको सुभद्राले सुनिन् । सुभद्राको लागि यो एउटा वाक्य पनि गर्मीले धापिएको जिउमा एक थोपा चिसो शीतले स्पर्श दिए जत्तिकै शीतल भो । सुभद्राको आँखामा ती स्वास्नीमान्छेप्रति विनयभाव थियो ।

सुभद्राले राम्ररी सुत्केरी उत्रन पनि पाएकी थिइन, सासू बिरामी परिन् । दुईचार दिन माइत जाउँला र आराम गरुँला भन्ने सुभद्राको मनको इच्छामा सासूको बिरामीले तुषारापात गरिदियो । सुभद्रामाथि झनै बच्चा र सासूको स्याहार थपियो । सासूको उपचारको लागि सुभद्राले विवाहमा ल्याएको आफ्नो गरगहना बेच्नुप¥यो । सासूलाई अस्पताल भर्ना गर्नु प¥यो । अस्पतालबाट बिसेक भएर एक महिनापछि सासू घर फर्किन् ।

केही समयपछि लोग्नेले एसएलसी पास ग¥यो र पढ्नका लागि सहर हिँड्यो । हिँड्ने बेलामा लोग्नेले सुभद्रासँग एक शब्द बोलेन । छोरीलाई एकपल्ट नियालेर हेरेको पनि होइन । लोग्नेको व्यवहारले सुभद्राको कोमलतामा चोट पु¥यायो ।

‘छोरीको त ख्याल आउनुपर्ने । निर्दयी ।’ सुभद्राका आँखाहरु एकाङ्की बनिरहे ।

‘कस्तो हुँदो हो यो लोग्नेमान्छेको मन ? सोच्थिन् ।

गाउँबाट पढ्न गएकाहरु कहिलेकाहीँ सहरबाट बिदामा घर आउँदा सुभद्रा उनीहरुसँग लोग्नेको सञ्चोविसञ्चो सोधिरहन्थिन् । तर सुभद्राले कहिल्यै उनीहरुबाट लोग्नेले पठाएको सञ्चोविसञ्चोको खबर पाइनन् । सधैं एकलासले उनलाई लखेट्थ्यो । पिँढीको मौनता उनको आँखामा आएर बस्थ्यो ।

एकदिन सुभद्राले सुनिन्, ‘उनको लोग्नेलाई सहरमा जागिर मिल्यो रे ।’

मन पुलकित थियो उनको । आँखामा खुसीको उज्यालो थियो । मनको बोझलाई बिर्सिदिएकी थिइन् । बिहानको पातलो कुहिरोलाई चिरेर त्यो दिनभरि उनको आँगनमा घाम निश्चिन्त खेलिरह्यो । मन छ्याङ्ग थियो उनको ।

सुभद्राको निस्फिक्री मनमाथि एकदिन फेरि एउटा छकाल आएर बसिदियो । र, एउटा दुविधा, अनिश्चय, र आशङ्काले उनलाई घेरिदियो ।

‘पुरुले सहरमा अर्की विहा गरे अरे ।’ सहरबाट आएको एउटा खबरले उनलाई बेस्सरी हल्लायो । अनिर्णित बनिरह्यो उनको मन ।

छाँगाबाट खसेजस्तै भइन् सुभद्रा । उनले आफू उभिएको जमिन एकाएक भासिएर आफूलाई पातालभित्र खस्दै गइरहेको अनुभव गरिन् । शीताङ्ग बनिन् । शरीरका सबै रक्तकणहरु सुकेर उनले आफ्ना अवयव जड बन्दै गइरहेको महसुस गरिन् । सपनाहरु भत्किएर उनलाई आफ्नो अघिल्तिर सबै उज्यालाहरु समाप्त हुँदै गइरहेझैं लाग्यो । उनलाई जीवन नै भ्रमपूर्ण लाग्दै गइरह्यो । लोग्नेले अर्की विहा गरेको यो खबरले सुभद्रालाई विचलित बनाएको थियो ।

‘पुरुले यो हुनी काम गरेन । घरमा स्वास्नी र छोरी छ । त्यसले के मति हाल्या,’ छरछिमेकले भने

‘एउटा लोग्ने रिझाउन नसक्ने चै त्यो के गतिली भई । व्यहोरा नि त चाहियो । मेरो पुरुमा चै के दोष देख्यौ तिमेर्ले ? र, बिनसित्त बोल्छौ हँ तिमेरु ?’ छिमेकीहरुसँग सुभद्राकी सासूको स्वर चर्को हुन्थ्यो ।

झ्यालको एउटा खापाको अडेस लिएर सुभद्रा लगभग अचेतजस्तै कोठा बाहिर नियालिरहेकी थिइन् । कोठाभित्रको त्यो यथास्थितिलाई आँखाको कापमा च्यापेर सुभद्राले त्यो परको आकासमा हराउँदै गरेको बादललाई हेरिरहिन् । उनलाई आफ्नो जीवन त्यो हराउँदै गरेको बादल जत्तिकै क्षणभङ्गुर लाग्यो । ‘त्यो बादल आफैमा कति निस्सार छ । अलिकति बतासले पनि कति सजिलै त्यसलाई यताउति बहाइदिन सक्छ । यथार्थमा अलिकति पानीको वाफ नै त हो त्यो । फेरि पनि कहिलेकाहीँ घामका किरणहरुले कति आकर्षक जलप लगाइदिन्छ बादललाई र त्यो भ्रमको आवरण बनिदिन्छ,’ सुभद्रा कल्पन्छे ।
एक मुस्लो हावा सुभद्रालाई छोएर कोठाभित्र पस्छ । यतिबेला घाम छैन । घाम हुँदो हो त साँच्चै कति आकर्षक देखिँदो हो यो बादल । र, मनोरम देखिँदा हुन् दृश्यहरु । घाम छैन र त यी निर्जन छन् । रङ हराएका छन् । फिक्का छन् ।

एक दिन सुभद्रा छोरीलाई साथमा लिएर माइत हिँडिन् । सासू ससुरासँग माइत जान्छु भनेर पनि सोधिनन् । विरक्तिएर हिँडिन् । साथमा केही लिएकी थिइनन् । सासू चै पिँढीमा बसेर एउटा असामञ्जस्यमा सुभद्रालाई हेरिरही । छोरीलाई काखमा च्यापेर सुभद्राका पाइलाहरु छिट्छिटो अघि बढिरहे । सासूले केही भन्नु अघि नै सुभद्रा हुर्रिएर पर पुगिसकेकी थिइन् । सासूले केही बोल्नै भ्याइनन् ।

‘तैले यसरी घर छाडेर नहिँड्नु पर्ने । सासू ससुरा हुन्, एकदुई वचन भन्छन् । बुहारीमान्छेले घर छाडेर यसरी हिँडेपछि दुनियाले भन्ने बाटो पाउँछ ।’ त्यो रातभरि सुभद्राकी आमाछोरी दुःख साटिरहे । सुभद्राको यो अवस्थाले उनका बाआमाको आँखामा खुसीभन्दा पनि विषाद थियो । छोरीले यसरी अचानक घर छोडेर हिँड्दा उनीहरु अरु चिन्तित थिए ।

‘ज्वाइँ त्यस्तो होला जस्तो त लाग्थेन । आमा चैं को कारणले ज्वाइँ बिग्रेका हुन् । सहेर बस् । एक दिन त ईश्वरले नि बाटो बिराएकालाई फर्काएर ल्याउँछन् । छोरीको मायाले नि ज्वाइँ आउँछन्,’ आमाले सुभद्रालाई सान्त्वना दिँदै भनी ।

केही दिनपछि सुभद्रा र नातिनीलाई लिएर सुभद्राका बा छोरीको घर पुग्दा सुभद्राकी लोग्ने घर आएर पनि सहर फर्किसकेका रै’छन् । उनीहरु घर पुग्दा सासू ससुराले कुनै चासो गरेनन् । सम्धीसम्धिनीको त्यो रूष्ट व्यवहारले सुभद्राका बा धेरैबेर त्यहाँ बसेनन् र फर्किहाले ।

‘हन, तँलाई किन फर्केर याँ आउनु प¥यो ए ! उतै मुन्टिएर गा’की हैनस् ? किन तेरा बाउआमाले तँलाईं ख्वाउन सकेनन् ?’ सासू सुभद्रासँग जाइलागी ।

सुभद्रा चुपचाप टोल्हाइरहिन् । तातो तावाजस्तै बन्यो उनका लागि यो घर ।

०००
फेरी हालेको आवाजले सुभद्राको तन्द्रा टुट्यो । ओहो ! रात छर्लक्क बितेछ । बाहिर बिहानको मिरमिरे खसिसकेको थियो । अनिदोले उनका आँखाहरु बोझिला थिए । आँसुले परेलाहरु चिसा थिए । पर नदीको किनारबाट आइरहेको हुटिट्याउँको एकनासको बिरसिलो स्वरले उनको मन एकलास बन्दै थियो ।

सुभद्राले दैलो खोलिन् र गाग्री च्यापेर पँधेरो ओर्लिन् । बाटामा पँधेर्नीहरु आउँदैजाँदै थिए । पँधेरो मस्र्याङ्दी नदीको किनारमा थियो । सुभद्राले बगरको अलिकति बालुवालाई हातमा लिइन् र गाग्रीलाई मस्काउन बसिन् । मस्र्याङ्दी नदीको बिहानको चिसो हावा बोकेर बगिरहेको पानीमा उनका आँखाहरु अनिमिष थिए ।

शाल्मलि

%d bloggers like this: