0

म कुँडुलेटार

Share

म कुँडुलेटार
मेरो छेवैबाट बग्छ मस्र्याङ्गदीको पानी
मलाई छोएरै भाग्छन् किनाराहरू
तर ब्राह्मण टोलकी एउटी दलित यौवना
मानौं, एउटी अछुत कुमारी म कुँडुलेटार
मैले चाहेरै कसैलाई
मुन्टो ठाडो गरी हेर्न सक्दिनँ

म सधैंकी एउटी बाँझी कुँडुलेटार
म सधैंकी प्यासी कुँडुलेटार
अल्लि पर पुगेर
पानीको ऐनामा आफ्नो यौवनका
छायाँहरूलाई नजिकैबाट
कहिल्यै नियाल्न पनि सकिनँ

म कुँडुलेटार
म एउटी अछुता
सधैं मस्र्याङ्दीको पानीले बाढीहरू ल्याउँछ
र, अँध्यारोमा
पानीका उत्तेजनाहरूले
मेरा अङ्गहरूलाई भत्काएर जान्छ
जब देख्छु, दिनको घामले सुकिरहेका बगरहरू
बगरले कुल्चिएका मेरा आफ्नै बाँझोपनहरू
मलाई दुर्गन्धित लाग्छन्

म कुँडुलेटार
थुप्रै कुमारी बैंसहरू खेल्छन्
मेरो आँखाको डिलमुनि
र, काँसहरूजस्तै
रहरहरू मेरो छातीमाथि फुल्छन्

तर म अपहेलित
म कुँडुलेटार
बयरका काँडाघारीहरूले
सधैं अँध्यारोमा कोतारिनु पनि छाडिनँ

आऊ ! ए मान्छेहरू
मलाई खनजोत गर
ममाथि सिँचाई सुरु गर
पानी पटाऊ
र, तिम्रा हातहरूले मलाई
उर्वर बनाऊ

म कुँडुलेटार
म बाँझी
म फुटाउन चाहन्छु आफ्नो कौमार्य
म चाहन्छु सौन्दर्य
म चाहन्छु बीजहरूको बीजाङ्कुरण

म तिमीलाई यो मौसमकै
सबैभन्दा सुन्दर फसलहरू दिन चाहन्छु ।

२०६५

(कुँडुलेटारः आँबुखैरेनीको एउटा सिँचाइविहीन भूमि)

%d bloggers like this: