0

सर्पहरु र असुरक्षित सपना

Share

मेरा सपनाहरुलाई
नीला आँखा भएका सर्पहरुबाट खतरा छ
किनकि अझै हिँस्रक सर्पहरुकै
अधीनमा छ यो रात

जोडजोडले हल्लिरहेछ हावामा एउटा आदिम दरबार
मानौं, कम्पित भएर उठिरहेझैं यो धर्ती
र हावामा तरङ्ति बन्दै/उठ्दै
लहराउँदै/हराउँदै
आदिम दरबारका प्रतिबिम्वित छायाँहरु

आँखाहरु विस्मित छन्
कुनै अदृश्य रहस्यझैं
दरबारको जगजगबाट फुटिरहेका छन्
सर्पहरुको पूर्ण विकसित अण्डा
र जबरजस्ती अतिक्रमण शुरु गरिरहेका छन्
मेरा सडकहरुमाथि

सर्पहरु अँध्यारो रुचाउँछन्
र अँध्यारोमा शासन गर्न मन पराउँछन्
यो धर्तीमा सर्पहरुको राज्यको
म सधैं विरोध गर्छु

सर्पका नीला आँखाहरु
मेरा हरेक पाइलाहरुलाई पछ्याइरहन्छन्
र मेरा क्रियाकलापहरुलाई नियालिरहन्छन्
म हिँड्ने बाटाहरु अझै
असुरक्षित छन् सर्पहरुबाट
सर्पहरु अँध्यारोमा
जोडजोडले मलाई फुँकारिरहन्छन्

मलाई संत्रस्त
र भयभित बनाइरहन सर्पहरु
बारम्बार आक्रमण गरिरहन्छ मेरो मस्तिष्कमा

सर्पहरुबाट
सुरक्षित राख्न मेरा सपनाहरुलाई
तर म कदापि स्वीकार गर्दिन
सर्पहरुको अधीन

म कहिल्यै
कुनै प्रसस्ति गाउँदिन
सर्पहरुको ।
०००

%d bloggers like this: