रोल्पाली आमा

WhatsApp Image 2026 08 15 at 5.10.24 PM

रोप
मेरा निर्वस्त्र छातीभरि
तिम्रा क्रूर सङ्गीनहरु रोप
सैनिक पहराहरु लगाऊ
चारैतिर
र, बन्दी बनाऊ
वा सयौं बुट र लाठीहरुले
मलाई घाइते बनाऊ
र, वर्वरतापूर्वक
घाउहरु बनाऊ

तर म तिम्रा यातनाहरुबाट
कत्ति पनि भयभित छैन
र कमजोर छैन

तिमी मलाई निर्घात चुट
हतकडीहरुले बाँध
वा नेलहरु ठोक
र, कडा सुरक्षामा निगरानी राख
तिमीहरुझैं म कायर पनि छैन

म आमा हुँ
मैले पीडालाई दहन गर्न सिकेकी छु ।

म आमा हुँ
र त म गर्भाधारण गर्छु
मेरै गर्भमा हुर्किरहेछ सिस्ने र जलजला
मेरै गर्भमा विकसित भइरहेछ इरिवाङ र थवाङ
सन्तान जन्मिसकेपछिको पहिलो सुख
कस्तो हुन्छ हँ ?
म सोचिरहेकी छु

म आमा हुँ
शत्रुका अपशकुन आँखाहरुबाट
कसरी सुरक्षित राख्नुपर्छ आफ्ना सन्तानहरुलाई
त्यो मलाई थाहा छ ।

तिमी सङ्गीनले भरिएका
रातहरु खडा गर
सयौं कुकृत्य गर
या बन्द गर
चेतना कुँज्याउने तिम्रा कालकोठरीका
सम्पूर्ण काला पर्खालहरु
र, मृत्युका कठिन घण्टाहरु सुनाऊ
तर तिम्रो क्रूर सत्ता
मेरो भ्रूण हत्या गर्न सक्दैन

म आमा हुँ
मेरो प्रसवको पहिलो घडी
कसरी लोप हुनेछ
तिम्रो शासनको क्रूरताको रङ
त्यो मलाई थाहा छ ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these