0

भुइँकुहिरो र समरगीतहरु

Share

अलिकति घामको झुल्को पोखियो सिस्ने र जलजलामा
चिर्बिराउँदै चराहरूले गणेश हिमालको फेदीबाट
बिहानीका सुन्दर गीतहरू गाए

पहाड छोप्दै उठिरहे
शीत बोकेका भुइँकुहिराहरू
धुमिल–धुमिल आकाश
धुपी
सल्ला
र लालीगुराँसका
कलिला बोट र बुट्यानहरू
बादलका कापहरूबाट
एउटा बिहान सूर्यका पुष्पकिरणहरू
बीजाङ्कुरण गर्छ आँखाहरुमा

यो समरऋतुमा
मलाई अतिप्रिय लाग्छ घामका नयाँ किरणहरू
घामले नै मलाई न्यानो दिन्छ
र, रातहरूबाट कठाङ्ग्रिएका
हातहरूलाई प्रेरणा दिन्छ
म पक्षपाती हुँ घामको
यो सुन्दर बिहान बोकेर उदाइरहेको घामको
म एउटा गीत गुन्गुनाइरहेको छु

भर्खरकी नव–सुत्केरी आमाका
सन्तुष्ट आँखाहरू
र नवजात शिशुको हाँसो
कति मीठो लाग्छ यो घाममा
कति सुखद लाग्छ आँगन

बिहानीको कलिलो घाम
फक्रँदै गरेको गुलाफ
र, पाखाबारीको लालीगुराँस
के कहिल्यै यसले तिम्रो मन छोएका छैनन् ?

हावा मन्द बहिरहेछ
र, कलिला बिरूवाहरू लहलहराइरहेका छन्
टाढा कतै लहराउँदै उठिरहेका गीतहरू
र बाँसुरीको मधुर धुन
के ती धुनहरूमा तिमीले
प्रिय सहिदहरूका पदचापहरूलाई सुनेका छौ ?

केही व्यक्तिहरू भुइँबाट टिपिरहेका छन्
र झोलाभित्र कैद गरिरहेका छन् घामका राता किरणहरु
म भन्छु– छाड, घामलाई खेल्न देऊ
लेकहरूमा
खर्कहरूमा
घामलाई अझै फुल्न देऊ
खोंचहरूसम्म
अझै पुग्न सकेको छैन घाम
घामलाई खोंचहरूसम्म पुग्न देऊ

बादलहरू उठिरहेछन्
र घामलाई छेक्ने कुत्सित खेलहरू खेलिरहेछन्
बादलहरू किन छेलिरहेछ घाम ?
बादलहरूसँग
मेरो कडा प्रतिवाद छ

बादलहरू जहिल्यै पनि
अँध्यारोका महान् पक्षपाती हुन्छन् ।

२०५५

%d bloggers like this: