एक सभासद्को डायरीबाट प्रणय दिवसका कविता

म केही प्रणयका कविताहरु
लेख्न बसिरहेको छु

आज प्रणय दिवस हो
र, एकाबिहानै मेरो मोबाइलको मेसेज बक्समा
आएर बसेका छन् प्रणय दिवसका
केही थान शुभकामना

आज प्रणय दिवस हो
र, जब केही प्रेमपूर्ण शब्दहरुले
प्रेमिल बनाउन बसेको छु
म यो बिहानलाई
वीर बहादुर
किन तेरो विषादले भरिएको अनुहार
मेरो यो कलममा आएर बस्छ ?

यो तेरो दुःख लेख्ने बेला होइन वीर बहादुर
यो प्रणय बन्धनको बेला हो
यो प्रणय सूत्रको बेला हो

वीर बहादुर
एउटा अलच्छिन बिरालोले झैं
किन बेला कुबेला आएर तेरो यो अनुहारले
मेरो कलममा बिध्न हाल्छ

वीर बहादुर
तँ मेरो कलमको नीब समातेर
तेरो दुःख लेख भन्छस्
मेरा आफन्तहरुलाई औंला देखाएर
तँ उनीहरुलाई शत्रु देख्छस्
तँलाई थाहा छैन वीर बहादुर
राजनीतिमा कोही आफन्त
र कोही पराई हुन्न

एउटा ऐँठनजस्तो
सधैं तेरो अनुहार आएर मेरो कलममा किन बस्छ ?
र, युद्धले झैं मलाई लखेटिरहन्छ ?

आज प्रणय दिवस हो वीर बहादुर
तेरो दुःखबाट मुक्त भएर
मलाई आज केही थान प्रणयका
कविता लेख्नु छ

र, मोबाइलको मेसेज बक्सबाट
केही आफन्तहरुलाई पठाउनु छ प्रणय सन्देश ।

आलोक शृङ्खला

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these