प्रजातन्त्र र पागल

0
1715

‘खबरदार,….. ।’

ऊ चिच्याउँदै त्यो व्यस्त सडकको भीडको एक छेउमा आएर टक्क उभिई । उसले एकपल्ट माथि आकाशतिर आफ्नो नजरलाई दौडाई र अलि पर ठडिएको एउटा अग्लो महलतिर घृणाले हेरी । एकछिन शान्त देखिई । टोल्हाइरही, एकतमास । र, भुइँमा थुक्क थुकी । 

ऊ एकटकले त्यो सडकमा उभिइरही, धेरैबेर । छिनमै उज्यालिन्थ्यो उसको अनुहार । र, फेरि अँध्यारिन्थ्यो । घरि ऊ रोइदिन्थी र फेरि हाँस्थी । आफैसँग एक्लै बर्बराउँथी । मसिनो स्वरमा लय हाल्थी । उसको छेउछाउबाट हिँड्नेहरु उसलाई हेरेर त्यहाँ एकैछिन अल्मलिन्थे । उसको हाउभाउ र कटाक्ष हेर्थे । र, अघि बढ्थे । 

ऊ मुस्कुराउँथी एक्लै, आफैसँग । के के सोचे झैं गर्थी र भुइँमा हेरेर टोल्हाउँथी । छिन छिनमै उसका आँखामा गम्भीरता खेलिरहन्थ्यो । 

हेर्दा सामान्य राम्री । छरिएको लामो कपाल । जिउमा अस्तव्यस्त कपडा । सामान्य श्रृङ्गार गर्ने हो भने पनि लावण्य देखिने उसको जिउ डाल । यो अवस्थामा पनि उसको रुप र उसको शरीरको आकर्षणलाई छर्लक्क अन्दाज गर्न सकिन्थ्यो । र भन्न सकिन्थ्यो, ऊ पक्कै एउटी शिक्षिता थिई । र, रुपवती पनि । 

‘ऊ ! ऊ !!’ उसको ओँठ विस्तारै चल्यो । 

उसका आँखाहरु उचालिए । हतास देखिई ऊ । र, त्यो परको महलतिर फर्किएर ऊ बेस्सरी चिच्याई, ‘खबरदार ! ऊ …….त्यो आउँदैछ । त्यसलाई रोक । त्यसलाई रोक ।’

उसले भुइँबाट केही टिपेझैं गरी र एउटा आक्रोशले महलतिर हिर्काई । हावामा उसको हात मात्र हल्लियो । मान्छेहरु अचम्भित मानेर उसलाई हेरिरहे । 

‘खाइस् !’ उसको मुखबाट क्रोध र प्रतिरोधको एउटा स्वर निस्क्यो । 

अनि ऊ खित्का छाडेर हाँसी । उसको त्यो हाँसो त्यो व्यस्त सडकको भीडको त्यो कोलाहललाई चिरेर परपरसम्म छरियो । उसको हाँसोले अल्मलिएर मान्छेहरुको एउटा बाक्लो भीड जम्यो सडकको किनारामा । 

‘बिचरी !’ उसलाई पहिलोचोटि देख्नेहरु भन्दै थिए ।

‘मान्छे त राम्री रै’छ, कसरी बिग्रिछे ?’ कसैको सहानुभूति सुनिन्थ्यो । 

‘ह्या ! बौलाही ।’ कसैले तिरस्कारपूर्ण शब्दहरु फ्याँकेर अघि बढ्थे । 

प्रायः ऊ यो सडकमा देखिइरहन्थी । र, यो भीड बीच ऊ एउटा कथाजस्तै बनिसकेकी थिई । कहिले उसको त्यो आकर्षणपूर्ण शरीरसँग जोडिएका किस्साहरु सुनिन्थ्यो भीडमा । कहिले त्यहाँ उसका असफल प्रेमका कथाहरु सुनिन्थे । कहिले ऊसँग त्यो परको महल जोडिएर आउँथ्यो । कहिलेकाहीँ यस्तो पनि सुनिन्थ्यो– ऊ जनआन्दोलनकी नेतृ थिई । पुलिसको गिरफ्तारी र बेपत्तापछि एकदिन ऊ सार्वजनिक गरिई । उसलाई चर्को शारीरिक यातना दिइएको थियो । ऊ पटकपटक हिरासतभित्र बलात्कार भई । विक्षिप्तताले उसले आफ्नो मानसिक सन्तुलन गुमाई । प्रजातन्त्रको बहालीपछि उसको पार्टीले उसलाई अघि सारेर सहानुभूतिको चुनावी राजनीति ग¥यो । उसलाई पार्टीको भोट ब्याङ्क बनायो । सरकारमा नजाउन्जेल पार्टीले उसको मुद्दालाई उठायो । सरकारमा पुगेपछि उसका नेताहरुले उसलाई छाड्यो । मानौं अब ऊ कुनै रद्दीमा फ्याँकिने अनुपयोगी बस्तु थियो । जसको उपयोगिता अब सकिएको थियो । उसको पार्टीलाई उसको संरक्षण गर्नुपर्ने कुनै आवश्यकता रहेन । पार्टीले उसको संवेदनामाथि खेल्यो । यो अपमानलाई उसले सहन सकिन । र, ऊ झनै विक्षिप्त भई । 

यस्ता अनेक अड्कलबाजीहरुले भीडभित्र उसको चर्चा हुन्थ्यो । तर यी सबै हल्ला र चर्चाहरुबाट ऊ बेसरोकार थिई । र, ऊ सधैं त्यो भीडभित्र चिच्याइरहेकी हुन्थी– ‘खबरदार ! खबरदार मान्छेहरु !’  

‘सावधान ! सावधान !’ अहिले पनि ऊ यसै गरी चिच्याइरहेकी थिई । 

‘होसियार ! यहाँ धोका हुँदै छ । षड्यन्त्र हुँदै छ । ऊ ….. षड्यन्त्रकारी यतै आइसके । रोक त्यसलाई । रोक त्यसलाई ।’ 

उसका आँखाहरु संत्रस्त देखिए ।

फेरि छिनमै क्रोधले उसका आँखाहरु राता देखिए । उसको कपाल उसका आँखाअघिल्तिर सोहोरिएर अस्तव्यस्त थियो र अनुहारलाई छोपिरहेको थियो । मानौं एउटा दैंत्यको बध गर्न तम्सिएकी देवीको रौद्र रुप थियो उसको मुखमुद्रा । 

उसको यो असामान्य व्यवहारले भीडलाई एकैछिन स्तब्ध पा¥यो ।

‘तँ कालो सर्प …… । तँ फेरि यो सहरलाई डस्दै छस् ?’ ऊ फेरि एक्कासि चिच्याउँदै थिई – ‘अब सक्दैनस् । तँ यो सहरलाई डस्न सक्दैनस् । तँ यी मान्छेहरुलाई डस्न सक्दैनस् ।’  

‘ती बेइमानहरुको अनुहारलाई च्यात ।’

‘तिनीहरुलाई अब त्यहाँबाट बाहिर निकाल ।’

ऊ चिच्याउँदै थिई, चारजना लाठीधारी पुलिसहरु भीडलाई धकेलेर उसको नजिकै आइपुगे र उसलाई च्याप्प अँठ्याए । तर ऊ पुलिसको हातबाट फुत्केर बाहिर भागी । मान्छेहरु सशङ्कित भएर त्यो घट्नालाई हेरिरहे ।

त्यसको एकैछिनपछि ऊ सडकमा दगुरिरहेकी थिई । पुलिसहरु उसको पछिपछि सडकमा उसलाई लखेटिरहेका थिए । ऊ पुलिसतिर हेरेर घरि एक्लै खित्का छाडेर हाँस्दै थिई । घरि एक्लै चिच्याउँदै थिई– ‘खबरदार ! खबरदार मान्छेहरु !’

एउटा नाटकीय मञ्चनजस्तो लाग्दै थियो सडक । एकछिनपछि पश्चिमबाट उठेको साँझको निशाले सडकको त्यो दृश्यलाई छोप्दै लगिरह्यो । 

२०४९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here