0

मृत्यु उत्सव

Share

म सृष्टिको कुरा गरिरहेको छु
तिमी मभित्र ताप हराएको कुरा गरिरहेका छौ !

आऊ
तिमी मलाई एकचोटि
छोएर त हेर
मेरो मित्र,
मेरो तापको अघिल्तिर
तिमी स्वयम् कति चिसा छौ ?

जब बेजोडले चल्छ आँधी
त्यो परबाट मुस्कुराउँदै आइरहेको
रुहानी युगसँग
म पनि मुस्कुराउँछु
उस्तैगरी
जसको गतिलाई
म आफ्ना श्वासले गरिरहेको छु महसुस
र, जसको आगमनलाई पर्खेर
यो सङ्गम समयमा
उभिएको छु म यो पृथ्वीमा
दृढतापूर्वक

अब
एउटा आँधी आउनु छ बाँकी

तिमी चुपचाप
त्यसको यो पूर्वसन्ध्यामा उभिएर
यो गहिरिँदै गइरहेको रातको सन्निकटलाई हेर
र पर्ख त्यो आँधी

सम्पूर्ण पृथ्वीलाई
एकैचोटि दपेट्ने आगाका फिलिङ्गाहरुको
त्यो आँधी अब लरतरो हुने छैन

अब
एउटा निश्चय छ बाँकी

म यो समयको
मृत्युको उत्सवमा छु
र हर्षोल्लासपूर्वक यो समयलाई
बिदा गर्दैछु

म त्यो चल्मलाइरहेको
उज्यालोको कुरा गरिरहेको छु
र, तिमी संशयले मलाई हेर्दै मेरो कुरा गरिरहेका छौ ।

शाल्मलि,