एक कामदारको दैनिकी

att.Ysmz6sHScXPlAfhKQHH9u7EjcDYy3YGn6 J7PvfrgRM

१५ मे २००३, शुक्रबार

प्रिय जुनमाया, आजदेखि केही लेख्न सुरु गरुँ भन्दैछु । खास गरी डायरी लेख्न सके विदेश बसाइका केही आफ्ना अनुभूतिहरुलाई पछिसम्म पनि सम्झनामा राख्न सकिन्थ्यो भन्ने लागेको छ । तर लेख्नु भनेको काम पनि सजिलो किन छ र ! जुन बेला तिमीलाई भेटें र हाम्रो प्रेम चल्यो, भावुकतावस् लहडले तिमीलाई लेखिएका तिनै प्रेमपत्रहरु त थिए लेखेको भन्नु । तिनताका खुब पढियो प्रकाश कोविद र युधिर थापाका उपन्यासहरु । ती उपन्यासहरु पढेरै तिम्रा लागि लेख्न सिकियो प्रेमपत्र । तिमीलाई लेखिएका प्रेमपत्रहरुमा सबैभन्दा बढी लेखिए होलान् ‘जून र तारा’ शब्द । तिमीलाई इम्प्रेस गर्न अनेक शायरीका किताबहरु किनेरै ल्याएँ बजारबाट र किताबबाट खोजेरै प्रेमपत्रहरुमा तिम्रा लागि लेखें शायरीका प्रेमले भरिएका हरफहरु । बनाएँ प्रेमपत्रहरुलाई लालित्यपूर्ण । पारें चिटिक्कका अक्षर । तिम्रो प्रेमका लागि म साँच्चै ‘फीदा’ बनें । बनें तिम्रो प्रेममा दिवाना । एकपटक बेला आउँदो रै‘छ यस्तो । कहिलेकाहीँ यसो घोत्लिन्छु एक्लै, तिमीले भागेर मलाई साथ दिन नआएकी भए साँच्चै जुनमाया यतिबेला म के गर्दै हुन्थेँ हुँला ? तिम्रो प्रेममा पागल हुन्थेँ कि ! एउटा प्रेमी पागल ! कि वियोगमा शायरी कोरिरहेको एउटा घघडानको शायर पो बन्थें हो ? हा हा हा जुनमाया, मनको ताना न हो । बह कसलाई पोख्नु, तिमीलाई लेख्ने यही चिठी नै त छ । तर धेरै पो भयो त हो चिठी लेख्नै छाडेको पनि । यहाँ आएपछि यो तीन महिनाको बीचमा मैले तिमीलाई तीन वटा चिठी लेखेछु । बस् यत्ति हो । लेख्नु पनि धेरै गाह्रो कुरा हुँदो रै’छ । छटपटी लाग्छ कहिलेकाहीँ । पीडा हुन्छ छुट्टै । दिनभरिको कामको थकाइ बोकेर बेलुकी कम्पनीको क्याम्प फर्कियो । ओछ्यानमा यसो ढल्कियो निद्राले छोपिहाल्छ । घरको सम्झनाले त किन छोड्छ र । तर लेख्नसजिलै सकिन्न रै’छ । त्यसैले दुख्छ । मनभित्र कताकता दुखिरहँदो रै’छ ।

हिजोअस्तिभन्दा आज निकै गर्मी बढेको छ यहाँ । हावाले उडाएर ल्याएका बालुवाका कणहरुले पूरै वातावरणलाई ढाकिदिएको छ । नजिकैको वस्तुलाई पनि सजिलै देख्न सकिँदैन । वरिपरि आँखाले देखिने जति सबै वस्तु र रुखपातहरु धुलोले छोपिएका छन् । स्याण्डस्टोर्म भन्दा रैछन् है यसलाई । यस्तो मौसम देखियो भने यो रेगिस्तानी गर्मी अरु बढ्छ भन्छन् बर्षौदेखि यो रेगिस्तानमा कहरको जीवन बिताउँदै आएकाहरु । हिजो दिनभरि यस्तै थियो । अझै अरु केही दिन यहाँको मौसम यस्तै रहने उनीहरु बताउँछन् । हाम्रो पहाडमा लाग्ने बाक्लो हुस्सुले झैं यहाँको मौसम सधैं धुलोले ढाक्दो रै’छ । हामी धुलोबाट बच्न कोठाभित्र छौ र पनि कोठाभरि धुलोको गन्ध टाँसिएको छ । 

२१ मे २००३, बिहीबार

प्रिय जुनमाया, आज बिहानै मैले तिम्रो रजिष्ट्री चिठी पाएँ । बिहानको ड्युटी सकेर कोठामा फर्किएपछि तिम्रो यो चिठी पढ्दैछु । तिमीहरुको कुशलताको खबरले मलाई पनि खुसी बनाएको छ । म पनि यहाँ सञ्चै छु । केही दिनदेखि तिमीहरुको सम्झनाले मन नियास्रिरहेको थियो । तिम्रो चिठीले मन रमाएको छ ।

जुनमाया, मैले अस्तिको पाली तिमीलाई पठाएको चिठीसँगै एक सानो टुक्रा छोराको लागि लेखेको थिएँ र पढ्न दिनू भनेको थिएँ । पढ्यो कि पढेन त्यसले । पढेर बाउले के लेख्या हो यो भनेर एकपल्ट हाँस्यो पनि होला त्यो । अँ साँच्चै, तिमीले मलाई पठाएको चिठीसँगै त्यो बिहान मेरा अरु तीन जना साथीहरुले पनि रजिष्ट्री चिठी पाएका थिए । मसँगै काम गर्ने साथी रोहिणीको श्रीमतीले दुखलाग्दो गरी लेखेर पठाएकी रहिछ । तीन महिनाकी काखकी छोरी रहिछ । भैंसीलाई पराल किनेर खुवाएकी छु भनेर लेखेकी थिइन् । दुध बेचेर घरको खर्च चलाइरहेकी रहिछन् । घरमा बाआमा बुढा र असक्त । सधैं अंश छुट्याइ दे भनेर रोहिणीका दाइभाउजु भन्दा रहेछन् । रोहिणी चिठी पढेर हामीलाई सुनाउँदै थियो । एकछिन सबैलाई नरमाइलो बनायो चिठीले ।

‘के गर्नु साथीहरु, घरमा सहारा हुन्छन् कि भनेर श्रीमती र केटाकेटीलाई एक्लै छाडेर विदेश आइयो । आफन्तहरु नै शत्रु भइदिन्छन् ।’ रोहिणी अँध्यारियो । 

१८जनवरी २००५, मंगलबार

प्रिय जुनमाया, हामीले काम गर्ने क्याटरिङ कम्पनीले यो अल–जुबैल क्षेत्रबाट केही कामदार इराकको लागि पठाउँदै छ भन्ने हल्ला सुुन्यौं । यो हल्लाले खास गरी इण्डियन कामदारहरु त्यहाँ जानका लागि इच्छुक देखिन्थे । हामी बसेको लोकेशनबाट केही इण्डियन र श्रीलङ्कन कामदारहरु इराकका लागि अल–खोबार हेड अफिस गएका थिए । केही समयअघि इराकमा काम गर्न गएका बाह्र जना नेपाली कामदारहरुको वीभत्स हत्या र त्यसको त्रासद यहाँ काम गर्ने नेपाली कामदारहरुमा अझै थियो । त्यो हत्याको घटनालाई प्रत्यक्ष गरिएको भिडियो टेप हामीले हेरेका थियौं । त्यो निन्दनीय घटनाको कारण यहाँ काम गर्ने नेपाली कामदारहरुमाझ इराकप्रतिको दृष्टिकोण सकारात्मक थिएन । भिडियो टेप हेरेपछि हामी सबैको मन उदास थियो । 

५ फेब्रुवरी २००५, शनिबार

प्रिय जुनमाया, साँझ स्यालरी बुझें । साउदी ३६० रियाल । त्यो पनि ओभरटाइम जोडिएको थियो । केही तिर्नु पर्ने सापटी छुट्याएँ । बाँकी बचेको १६० रियाल थियो । एकछिन आफैलाई दिक्क लाग्यो । स्यालरी बुझेको दिन मन खुसीले भन्दा बढी विषादले दुख्छ । 

६ फेबु्रवरी २००५, आइतबार

प्रिय जुनमाया, बिहान अबेरसम्मै अल्छी गरेर सुतिरहें । ५ बजे ड्युटी जानु थियो ।गइनँ । हिजोको स्यालरीका कारण काममा जानै मन लागेन । जाँगर म¥यो । ओछ्यानमै गुटुमुटु परिरहें ।

‘श्रम र दुःख जति सबै अर्काकै लागि । हैन विदेशमा आएर यति दुःख गर्नु चैं किन हँ ? एउटा मृगतृष्णाजस्तो सधैं हामीलाई विदेशका सपनाहरु किन आँखामा आएर बस्छ ! विदेशको मोहमा कसरी बत्तीको कीराझैं हामी जल्दै छौं ।’ मनमा तन्द्रा खेल्छ ।

६ः३० बजे मसँगै काम गर्ने मोख्तार नाम गरेको एकजना इण्डियन वेटर मेरो कोठाभित्र पस्यो र मलाई सोध्यो, ‘रामु ड्युटी किन नआएको ? सुपरभाइजरले सोध्दैछ ।’

‘टाउको दुख्दैछ । सुपरभाइजरलाई लञ्चको ड्युटीमा आउँछ भन्देऊ ।’ मैले मोख्तारलाई भनें ।

‘ल, दबाइ लिउ र आराम गर ।’

ऊ यति भनेर हिँड्यो । एकैछिन पछि म ओछ्यानबाट बाहिर निस्कें र नुहाउन हिँडें ।

बेलुकी, रोशन र चन्द्रकान्त दुवैजनाले भोलिदेखि काममा नजाने कुरा ग¥यो । स्यालरी र ओभरटाइमको बारेमा उनीहरुको आज सुपरभाइजरसँग भनाभन भएछ । उनीहरु दुवैजना हामीसँगै एउटै कोठामा छन् । दुवैजना नयाँ हुन् । नेपालबाट यहाँ आएको भर्खरै तीन महिना हुँदैछ । अलमोजिल कम्पनीका हुन् । गार्डेनरको काम गर्छन् । यसपटक पनि उनीहरुलाई कुनै ओभरटाइम दिइएनछ । यो महिनाको तलब २३० रियाल बुझेछन् । सुपरभाइजर धूर्त छन् । बंगाली हुन् । ओभरटाइमको कुरा ग¥यो भने ‘तँ नेपाल जा, कम्पनीले तँलाई ओभरटाइम दिन्छु भनेको छैन भनेर सुपरभाइजरले उनीहरुलाई हप्काउँदा रै’छन् । 

यहाँ काम गर्न आउने सबै कम्पनीका नेपाली कामदारहरुको कथा उस्तै छन् । विभिन्न सुविधाहरुको प्रलोभन देखाएर म्यानपावरका एजेण्टहरु असी नब्बे हजार असुल्छन् । यसरी अझै पनि कति नेपालीहरु विदेशिन र उनीहरुबाट ठगिन बाध्य छन् । 

२२ मार्च २००५, मंगलबार

प्रिय जुनमाया, बिहान हामी बसेको क्याम्पभित्र एकजना नेपाली कामदारको मृत्यु भएको छ भन्ने खबर सुन्यौं । मर्ने कामदार तामिमी कम्पनीमा काम गर्ने तेह्रथुम जिल्लाका लिम्बु थरका रै’छन् । हिजो रातिसम्म ऊ ठिकै थियो । साँझमा पनि भलिबल खेलेर साथीहरुसँगै कोठामा फर्केको हो भन्ने सुनियो । बिहान ५ बजे कोठाकासबै साथीहरु काममा निस्कन तयार भइसक्दा पनि ऊ नउठेपछि साथीहरुले उसलाई झक्झक्याएछन् । तर ऊ मरिसकेको अवस्थामा थियो । बिहानै साउदी प्रहरीहरु आएर उसको शव र कोठामा सँगै बस्ने साथीहरुलाई सोधखोजको लागि लिएर गएछन् । सोचें, अब कति समय उसको त्यो शव यहाँको हस्पिटलमा मिल्किएर रहने हो ? भोलि उसको घरपरिवारले उसको त्यो मृत शरीर पनि पाउने हुन् वा होइनन् । मान्छेले कति बेखबर भएर बाँच्नु पर्छ र बेखबर भएरै मर्नु पर्छ यहाँ !

१४ अप्रिल २००५, बिहीबार

प्रिय जुनमाया, आज १४ अप्रिल अर्थात नेपाली क्यालेण्डर अनुसार वैशाख १ गते । नयाँ वर्ष । २०६१ सालको अन्त र २०६३ सालको सुभारम्भ । अर्थात नयाँ दिनहरुको सुरुवात । तर लाग्छ, फेरि पनि ती आँसु र उदासीले भरिएका आँखाहरुमा बितेका वर्षहरुले झैं नयाँ आउने क्यालेण्डरका अङ्कहरुले पनि उही विषादहरु ल्याउने छ । र, खुसीहरु …. …. ! त्यो आउँदा दिनहरुले नै देखोस् । म सोच्दै छु, कति उत्साहहीन हातहरुले आफ्ना शुभचिन्तकहरुलाई यसपटक पनि नयाँ सालको शुभकामनाका कार्डहरु बाँड्दै होलान् । कति ओंठहरुले यो नयाँ बिहानको सुस्केरापूर्ण गीत गाउँदै होलान् । पक्कै पनि त्यहाँ छुटेका छैनन् सुख, शान्ति र समृद्धिका शब्दहरु । जुनमाया, म यो बिहान भने एउटा हिन्दी गीत सुनेरै बिताइरहेको छु–

कुछ पाकर खोना है, कुछ खोकर पाना है 

जीवनका मतलब तो आना और जाना है

दो पल के जीवन से एक उम्र चुरानी है

जिन्दगी और कुछ भी नही तेरी मेरी कहानी है ।

१८ अप्रिल २००५, सोमबार

प्रिय जुनमाया, हामीले काम गर्ने र हामी बसेको ठाउँ साउदी अरबकै सबैभन्दा ठुलो तेल खानी रहेको क्षेत्र पर्छ । यो क्षेत्रमा थुप्रै कम्पनीहरु छन् ।र, यिनै कम्पनीहरु मार्फत यहाँ काम गर्न आएका अधिकांश कामदारहरु इण्डियन, बंगाली, पाकिस्तानी, श्रीलङ्कन, नेपाली र फिलिपिनो रहेका छन् । हामी काम गर्ने क्याटरिङ कम्पनीले यहाँ उनीहरुलाई खाना खुवाउने गर्छ । 

हामीले काम गर्ने लोकेशन अल जुबैल टेक्निकल इन्टिच्युट गर्मी बिदाको कारण हामीलाई दुई महिनाको लागि अर्को नयाँ लोकेशनमा पठाइएको छ । क्याटरिङमा हामी दुईजना नेपाली छौं, नवीन राई र म । अरु सबै बंगाली छन् । यसअघि क्याटरिङमा काम गर्ने यहाँ कुनै नेपाली थिएनन् । प्रायः लोकेशनमा क्याटरिङको काममा इण्डियन वा बंगाली नै देखिन्छन् । त्यसैले नेपाली कामदारहरुप्रतिको उनीहरुको व्यवहार पक्षपाती हुन्छन् । यहाँ पनि काउण्टरमा खानेकुरा बाँड्दा बंगाली वेटरहरुको व्यवहारको कारण उनीहरुसँग जहिल्यै पनि नेपाली कामदारहरुको भनाभन चल्दोरै’छ । 

यहाँ इण्डियन, बंगाली र नेपाली, श्रीलङ्कन र पाकिस्तानी, फिलिपिनी र अरबी गरी तीन अलग अलग काउण्टरहरु छन् । र, उनीहरुका खानेकुराको मेनु पनि अलग बन्छन् । 

एकदिन, बिहानको खाजा खान आउनेहरुको भीड काउण्टरमा कम भइसकेको थियो । सात बजे काउण्टर बन्द भइसक्थ्यो । र, सात बज्न अझै पन्ध्र मिनेट बाँकी थियो । कामदारहरु प्रायः ६ः३० बज्नुअघि नै बिहानको खाजा खाएर काममा निस्किसकेका हुन्थे । मान्छेहरु आउन बन्द भइसकेकाले काउण्टर बन्द गर्नुअघि म पनि मेसहलको एउटा टेबलमा बसेर खाजा खाँदै थिएँ । एकजना बंगाली वेटर काउण्टरका सामानहरु उठाउँदै थिए । दुईजना कामदार मेसहलमा छिरे र काउण्टरमा पुगे । 

‘नास्ताछैन,’ बंगाली वेटरले भन्यो ।

‘तिम्रो डिसमानास्ता छ त । त्यो देऊ न ।’ कामदारहरुले भने ।

‘तिमीहरु यतिबेला आएर नास्ता गर्न बस्छौ । हाम्रो ड्युटी सकियो । हामीलाई रुम जानु छ ।’ बंगाली भन्दै थियो ।

उनीहरु हिन्दीमा बोल्दै थिए । एकछिन् ती दुवै थरीको त्यहाँ चर्काचर्की चल्यो । 

‘सात अझै बजेको छैन । सात बजेसम्म यो मेसहल खुल्ला रहने सूचना तिम्रो त्यो ढोकामा लेखेको छ । हामीलाई कसरी नास्ता दिदैनौं, हेर्छौ । तिम्रो मुदिरलाई बोलाऊ । हामी उसँग कुरा गर्छौ ।’ ती कामदारले भने । 

‘मुदिरलाई मैले किन बोलाउने ? मेरो ड्युटी सकिएको छ । काउण्टर बन्द भइसक्यो । जाऊ तिमीहरुलाई कहाँ गएर कम्प्लेन गर्नु छ गर ।’ बंगालीले भन्यो । 

ती दुई कामदार रिसले रातोपिरो हुँदै काउण्टरबाट बाहिरिए । मेसहलको ढोकाबाट उनीहरु बाहिर निस्केपछि बंगालीले अलि चर्को स्वर ग¥यो, ‘चुतिया नेपाली ।’

उसको गालीको त्यो निकृष्ट शब्द प्रयोग मलाई मन परेन । नास्ता सकेर म काउण्टरको आफ्नो कामतिर लागें । बंगाली सँगै थियो । 

‘तिमीले अघि उनीहरुसँग त्यस्तो व्यवहार नगर्नु पर्ने ।’ मैले उसलाई भनें 

‘किन ? तेरो नेपाली भनेर ?’ उसले रुखो स्वरले मसँग भन्यो । 

‘कुरो नेपाली र बंगालीको होइन । फेरि उनीहरु नेपाली हुन् भन्ने कुरा मलाई के थाहा ? उनीहरुसँग यति नै चर्काचर्की गर्नु पर्ने थिएन भन्ने मेरो कुरा हो । हामी क्याटरिङमा काम गर्नेहरुले त अलिकति संयमित बन्नै पर्छ नि ।’ मैले भनें

‘ल, ल तेरो यो सल्लाह मलाई चाहिन्न । तँ आफ्नो काम गर ।’ उसले रुखो स्वरमा बोल्यो । 

मैले उसँग धेरै गलफती गरिरहनु आवश्यक ठानिनँ । 

दिउँसो लञ्चको समयमा मैले बिहानको ती दुई कामदारहरुलाई लाइनमा उभिएको देखें । उनीहरु काउण्टरतिर हेर्दै साथीहरुसँग भनिरहेका थिए, ‘यो बंगालीको आज अनुहारै हेर्न मन लाग्या छैन । कुन दिन जाठाको अनुहारै भत्काइदिन्छु ।’

बंगाली वेटर काउण्टरबाट भात बाँड्दै थियो । मतरकारी बाँड्दै थिएँ । त्यो दिनको मेनु मटन गे्रभी थियो । उनीहरु भातको थाली लिएर मनिर आइपुगेपछि मैले गे्भी सहितको मटन उनीहरुको बटुकोमा हालिदिएँ । 

‘और ग्रभी डालो ।’ पछि हुने एकजनाले अलि कडा स्वरमा मसँग हिन्दीमा बोले । सायद बिहानको बंगालीसँगको झोंक थियो त्यो र मलाई पनि उनीहरुले बंगाली नै ठानेका थिए । 

‘ग्रेभी त छैन । झोल चाहिँ छ ।’ मैले ठट्टापूर्वक उसलाई हेरेर नेपालीमा भनें ।

उसले जिल्ल परेर मलाई हे¥यो । र, सोध्यो– ‘नेपाली हो ?’

केही बोलिनँ । फिस्स हाँसिदिएँ ।

२९ अप्रिल २००५, शुक्रबार

प्रिय जुनमाया, दिउँसो ड्युटी जाँदै गर्दा हामीले काम गर्ने डाइनिङ हलको प्रवेशद्वारमा रहेका फूलका बोटहरु एउटै थिएनन् ।सबै उखेलिएर फ्याँकिसकेका थिए । अलि पर उखेल्न नभ्याइएका तर ओइलाएका केही फूलका झ्याँङहरु भने देखिन्थे । हिजोसम्म त्यही ठाउँहरु फूलहरुले कति रङिन लाग्थ्यो । कति जीवन्त लाग्थ्यो । त्यहाँ रङहरुको जीवन थियो र हावाले त्यसलाई अझै बैसालु बनाउँथ्यो । आउँदा जाँदा हामी ती फूलहरुको रङलाई आफ्ना आँखाहरुमा समेट्थ्यौं । आफ्ना हातहरुले त्यसको कोमलतालाई स्पर्श गथ्यौं । तर आज ती फूलहरुले पनि झर्नु पर्ने, ती बोटहरुले पनि ओइलाउनु पर्ने । समय पुगेपछि सबैले एकदिन नष्ट हुनु नै पर्ने, यो भौतिक अस्तित्वलाई छोड्नु पर्ने । यो विधिको विधान । …. ……

नोटः प्रिय पाठक मित्र, यसपछिका दैनिकीका बाँकी अंश फेला पार्न सकिएको छैन । यो दैनिकी लेखक जसले मेरो हातमा आफ्नो यो बेनाम पार्सल पठायो अहिले ऊ स्वयं अरबको खाडीमा बेपत्ता छ । पत्रिकामा यो बेनाम दैनिकी पढेपछि पक्कै पनि कसैले यो दैनिकी आफ्नो भएको दाबी गर्न आउने छ भन्नेमा म आशावादी छु ।

  ०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these