हाम्रो विसङ्गत अवस्थाः ‘प्रजातन्त्र र पागल’

0
1033

डा. कृष्णराज अधिकारी


तनहुँको आँबुखैेरेनीलाई कर्मथलो बनाएर पचासको दशकदेखि नै कविता, निबन्ध र कथा सिर्जनामा निरन्तर लागिपर्ने अनिल श्रेष्ठ साहित्यका उर्जाशील साधक हुन् । आधा दर्जन बढी कृतिहरु प्रकाशन गरिसकेका अनिलको वैशिष्ट्य चाहिँ कवितामै रहेको हुँदा अन्य विधामा पनि काव्यात्मक शैलीको प्रभाव पाइन्छ । देशमा विद्यमान सामाजिक–सांस्कृतिक विकृति, विसङ्गति, सामाजिक विभेद र उत्पीडन अनि तिनीहरुको पक्षपोषक बनेको विभेदकारी र निरङ्कुश राज्य–व्यवस्था विरुद्धको चेतनालाई सशक्त आवाज दिने अनिल प्रगतिशील लेखक हुन् । लेखनलाई स्वान्त सुखायका रुपमा नभएर सामाजिक रुपान्तरणको एउटा माध्यम सम्झने अनिलका हरेकजसो रचनाहरु उद्देश्यमूलक रहेको पाइन्छ ।

‘प्रजातन्त्र र पागल’ २०७५, मूलतः २०४६ वरपरको नेपाली राजनीतिक–सामाजिक अवस्था र त्यसबाट सिर्जित घटना–सन्दर्भहरुलाई विषयवस्तु बनाएर लेखिएका कथाहरुको सङ्ग्रह हो । १०४ वर्षसम्मको जहानिया राणा शासनले निस्सासिएका जनताका लागि न २००७ सालपछिको प्रजातन्त्र न त २०१७ पछिको पञ्चायती व्यवस्था नै सार्थक र उपयोगी रहन सक्यो । २०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्था हटाएर बहुदलीय शासन व्यवस्था स्थापना गरे पनि राजनीतिक विकृति, विसङ्गति र विभेद अन्त्य हुनुको सट्टा झनै मौलाउँदै गयो । २०५२ देखि सुरु भएको माओवादी जनयुद्धले सामन्तवादको जरा हल्लाउँदै गएपछि त्यसकै आडमा भएको २०६२/०६३ को जनआन्दोलनले सामन्तवादको मियोका रुपमा रहेको राजतन्त्रकै अन्त्य गरी गणतन्त्रको स्थापना गर्न पुग्यो । तर गणतन्त्रको स्थापना भई आन्दोलनबाट आएका नेताहरु नै सत्तामा पुग्दासमेत सत्ताको चरित्रमा परिवर्तन आउन सकेन, प्रवृत्ति उस्तै रहन पुग्यो । सत्ता र शक्तिको आगो ताप्न पाउनेहरुको मात्र विकास र समृद्धि हुँदै जानु तर त्यसबाट टाढिएका आम जनताको अवस्थामा सुधार हुन नसक्नु आज राजनीतिक विडम्बना बनेको छ । कवि अनिल श्रेष्ठले आफ्ना कतिपय कविताहरुमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा कवितात्मक स्वरहरु उरालेको भए पनि प्रस्तुत कथासङ्ग्रहमा भने जनयुद्धकालीन र त्यसपछिको गणतन्त्रकालीन राजनीतिक–सामाजिक अवस्थालाई समेटेको देखिँदैन । पञ्चायतको उत्कर्ष र बहुदलीय शासनको पुनस्थापनापछिका घटना–सन्दर्भहरुलाई मात्र यहाँ समेटिएको देखिन्छ । धेरैजसो कथाहरु उक्त समयावधिमा लेखिएको हुनाले पनि पछिल्लो राजनीतिक–सामाजिक अवस्थाले कथामा प्रवेश नपाएको हुन सक्छ ।

‘प्रजातन्त्र र पागल’ भित्र पन्ध्रवटा कथाहरु सङ्गृहीत छन् । सङ्ग्रहभित्रका कथाहरुले मूलतः राजनीतिक र सामाजिक विषय–सन्दर्भहरुलाई उठाउन पुगेका छन् । कथामा एकातिर राजनीतिक सत्ता र शक्तिको आडमा आम जनतामाथि गरिने उत्पीडन र शोषण अनि अर्कातिर हाम्रो सामन्ती संस्कारले जन्माएका सामाजिक–पारिवारिक विकृति, विसङ्गति र विभेदलाई उधिन्न खोजिएको छ । सङ्ग्रहभित्रको पहिलो कथा ‘बन्दी बुबालाई पत्र’ रहेको छ । यो पत्रात्मक शैलीमा लेखिएको संस्मरणात्मक कथा हो । यसमा २०४६ को जनआन्दोलनपश्चात स्थापित प्रजातन्त्र र त्यसले थोपरेको विभेद, भ्रष्टता, अन्याय र शोषणजन्य गतिविधिलाई कथाको रुपमा प्रस्तुत गरिएको छ । जेलमा रहेको राजनीतिक बन्दीले आफूले अनुभूत गरेका कुराहरु र त्यहाँ भोग्नु परेको कष्टप्रद अवस्था बारे सोच्दै जाँदा एउटा पत्रिका उसको हातमा पर्छ, जसको एउटा स्तम्भमा ‘बन्दी बुबालाई पत्र’ लेखिएको हुन्छ । पत्रमा छोरीले आफ्नो बुबाको स्मरण गर्दै आफ्ना विचार र भावना प्रस्तुत गरेकी हुन्छे । उसले बाबुलाई केवल बाबु मात्र नभएर एउटा असल गुरुका रुपमा पनि देख्छे । पत्रमा देशको अवस्था, महिलामाथिको विभेद, शासकको निरङ्कुशता र स्वेच्छाचारिता, हाम्रो सामन्ती संस्कार र महिलालाई हेर्ने दृष्टिकोण, न्याय र समानताको आवाज उठाउनेहरुप्रति सरकारको निरङ्कुश व्यवहार अनि शासन फेरिए पनि चरित्र र प्रवृति नफेरिएको अवस्थालाई विस्तृतमा उल्लेख गरिएको हुन्छ । पत्रमा बन्दीले आफ्नो छोरीको विम्ब देख्छ र पत्रले बन्दीको छाती गर्वले फुल्छ । छोरीमा देशको नेतृत्व क्षमतासमते देख्न पुग्छ र कथा सकिन्छ । विगतका स्मृतिहरुलाई वर्तमानका घटना शृङ्खलासँग जोड्दै पूर्वदीप्तिका माध्यमबाट प्रस्तुत गर्ने शैली अन्य कथामाझैं यसमा पनि पाइन्छ । कथाशिल्पका दृष्टिले भन्दा पनि कथ्य वा विचारका दृष्टिले प्रस्तुत कथा उद्देश्यमूलक र सुन्दर लाग्दछ ।

‘प्रजातन्त्र र पागल’ सङ्ग्रहभित्रको दोस्रो कथा हो र यसै कथाको शीर्षकबाट सिङ्गो पुस्तकको समेत नाम राखिएको छ । यसमा एउटी पागल देखिने महिला सडकमा ‘खबरदार’ भन्दै कराउँदै हिँड्छे र एउटा अग्लो महलतिर हेर्दै ढुङ्गा टिपेर हान्न खोजेझैं गर्छे । कुनै सडक नाटकको दृश्यझैं लाग्ने गरी उसको विद्रोहात्मक गतिविधि सडकमा देखिन्छ । सडकको अग्लो महलतिर हेर्दै आक्रोशपूर्ण अभिव्यक्ति दिने उक्त महिलालाई एकछिन पछि प्रहरीहरु आएर समाउन खोज्छन् । तर ऊ तिनका हातबाट फुत्केर हिँड्छे । यसरी यो कथाले नाटकीय स्वरुप लिन्छ र अग्लो महलतिर आक्रोश पोख्दै टुङ्गिन्छ ।

सडकमा कराउने बौलाही महिला र अग्लो महलप्रतिको उसको आक्रोशले एउटा गहिरो सन्देश दिएको देखिन्छ । आन्दोलनमा लागेर जेल, नेल, यातना, बलात्कार र मृत्युसमेत बहन गरेका व्यक्ति र तिनका परिवार बौलाही महिलाझैं सडकछाप बनेर वा विक्षिप्त बनेर हिँड्नुपरेको छ भने आन्दोलन दबाउने दमनकारी, भ्रष्ट र पीडकहरु चाहिँ पुनः सत्तामा हालिमुहाली भएको अवस्था छ । वर्ग–सङ्घर्षको कुरा गर्नेहरु समेत आफैं सम्भ्रान्त वर्गमा फेरिँदै गई उत्पीडित वर्गलाई उपेक्षाको दृष्टिले हेर्ने गरेको अवस्थालाई यस कथामा साङ्केतिक रुपमा प्रस्तुत गरिएको छ ।

पागल महिलाको मुखबाट अग्लो महलतिर हेर्दै व्यक्त भएका ‘खबरदार’, ‘शहरलाई डस्न आएको कालो सर्प’ जस्ता आक्रोशपूर्ण शब्दहरुले सत्तामा पुगेर शोषण, अन्याय, विभेद र भ्रष्टाचारमा लिप्त रही अनैतिक गतिविधि गर्ने वर्ग वा चरित्रप्रति तीव्र आक्रोश र घृणा व्यक्त गरेको छ । पागल देखिएको महिलाको मुखबाट त्यति धेरै कुराहरु नआएको हुँदा महिला त्यसरी हुनुपर्ने कारण अनि उसले व्यक्त गरेको आक्रोशको निशाना कस्तो व्यक्ति, वर्ग वा चरित्र बारेका थियो भन्ने कुरा कथाले स्पष्ट गरेको देखिँदैन । तर शहरको महलतिर औंलो सोझ्याउँदै खबरदारी गर्नु र त्यतैतिर ताकेर ढुङ्गा हानेझैं गर्नुले छिटै वर्ग–उत्थान भई विलासी जीवन बिताइरहेका पार्टीका नेता–कार्यकर्ताहरुप्रति लक्षित रहेको अनुमान गर्न सकिन्छ । पागल महिला आन्दोलनकारी आम जनताकी प्रतीक हो र प्रजातन्त्र संसदीय व्यवस्थाको प्रतीक हो जहाँ जनता उत्पीडित रहन्छन् अनि उत्पीडक, भ्रष्ट र सत्ताको निकटका केही व्यक्तिहरु सम्पन्न र सुखी बन्छन् भन्ने सङ्केत यसले गरेको छ ।

‘विभाजित आकाश’ कथा सामाजिक–पारिवारिक समस्यामा आधारित रहेको छ । आफूले बिहे गरेर ल्याएकी श्रीमती मरेर वा अन्य कारणले लोग्नेले अर्को बिहे गर्नु, कान्छी श्रीमतीले सौताको छोरालाई हेलाँ गर्नु तथा पिट्नु अनि त्यसकै कारणले पारिवारिक कलह निम्तिनु हाम्रो गाउँ समाजमा हुँदै आएका समस्या हुन् । उमेर–अवस्थामै पति वा पत्नीको निधन जो कसैका लागि पनि पीडादायी बन्ने गर्छ । जीवन–यात्राको प्रारम्भिक वा बीचको चरणमै हुने यस्ता दुःखान्त घटना हाम्रो जस्तो संस्कार भएको समाजमा झनै कष्टकर हुन जान्छ । अधिकांश महिलाहरु यस्तो पीडा र कष्टपूर्ण जीवनलाई चुपचाप सहेर बस्ने गर्छन् । अझ बच्चा भइसकेको भए त त्यो एक किसिमको बाध्यता नै बन्ने गर्छ । तर हाम्रो जस्तो पुरुषप्रधान समाजमा पत्नीको निधन पश्चात् दोस्रो बिहे गर्नुलाई आवश्यक ठानिन्छ । यसैले दोस्रो बिहे गर्न पुरुषलाई जति महिलालाई सहज हुँदैन । पहिलो पत्नी मरेर दोस्रो बिहे गर्ने पुरुषको परिवार पनि अशान्त र कलहपूर्ण भएको हुन्छ । अझ कान्छी श्रीमती आफूभन्दा धेरै नै कम उमेरकी भएको अवस्थामा त अझ बढी असन्तुष्टि र कलह बढ्छ र कतिपय श्रीमतीहरु बूढो लोग्नेलाई छाडेर अर्को बिहे गर्न पुग्छन् । यो हाम्रो समाजमा घटिरहने घटना हो र यसैलाई कथाकारले आफ्नो कथावस्तु बनाएका छन् ।

छोरा जन्मेको चार पाँच वर्षमै श्रीमतीको निधन भएपछि अर्की श्रीमती बिहे गरेका दुर्गाप्रसादको परिवारमा कलह बढ्छ । सुरुमा सौताको छोरालाई माया गरेझैं गर्ने कान्छी आमाले पछि उसलाई गाली गर्ने र पिट्ने गर्छे अनि कान्छी आमाको दुव्र्यवहार सहन नसकी किशोर उमेरमै छोरो हरि घर छाडेर हिँड्न पुग्छ । उता केही वर्षपछि कान्छी श्रीमती पनि अर्कैसँग हिँडेपछि दुर्गाप्रसाद नितान्त एक्लो बन्न पुग्छन् । बुढेसकालमा चिन्ता र पीडाले घर रुँगिरहेका बेला एकदिन छोरोका चिठी आउँछ । चिठी देखेर अलिकति पलाएको बाबुको मन छोरोले घर नफर्किने कुरा लेखेको पाएपछि झनै पीडित बन्न पुग्छ ।

सौतेनी आमाको व्यवहारले घर छाडेर हिँडेको भएपनि कान्छी आमाले पनि छाडेर हिँडेपछि बाबुको अवस्था कस्तो होला भन्ने छोरोले बुझ्नु पर्ने हो र तत्कालै आउन नसके पनि बाबुलाई सम्झाउनु पर्नेमा त्यस्तो देखिँदैन । हुन त विदेश गएको लामो समयपछि आएको चिठी हुनाले उसले घरको स्थिति थाहा नपाएको हुनसक्छ । तर बाबुले यथार्थ अवस्था बताउँदै चिठी पठाउने र त्यो बुझेपछि छोरो फर्किने आशा बाबुमा भर्न सकेको भए कथाको टुङ्ग्याइ निराशाजनक हुँदैनथ्यो । जे भएपनि कथाले हाम्रो परिवार र समाजमा घट्दै आइरहेको एउटा समस्याजन्य घटनालाई आख्यानीकरण गरेको छ । कथाको शैली विगतको स्मरणलाई वर्तमानमा जोड्ने गरी पूर्वदीप्ति शैलाीमा प्रस्तुत गरिएको छ ।

‘क्रान्ति मर्दैन’ कथाले २०४६ अघिको पञ्चायती शासनको दमनकारी नीतिलाई देखाउन खोजेको छ । आफ्नो शासन सत्ता जोगाउन क्रान्तिकारीहरुलाई गिरफ्तार गर्ने, यातना दिने र जेल सार्दा भागेको निहुँमा हत्यासमेत गर्ने गरेको अवस्था कथामा प्रस्तुत गरिएको छ । जेल सरुवा गरी केही दिनअघि ल्याइएको एकजना क्रान्ति नामक युवकले अर्को बन्दीलाई आफ्नो परिचय दिने सिलसिलामा आफू कसरी गिरफ्तार भयो र कसरी परिबन्धले जेलसम्म पु¥यायो भन्ने घटना विवरण सुनाउँछ । तर त्यही युवकलाई जेल सार्ने भन्दै फेरि लगिन्छ र ‘जेल सरुवा गर्ने क्रममा भाग्न खोज्दा प्रहरीको गोली लागेर मृत्यु भएको’ समाचार प्रचार गरिन्छ । पञ्चायतले आखिरी दिनतिर आफ्नो शासन टिकाउन विभिन्न भिजिलान्ते र गुण्डाहरु पाल्ने गरेको थियो । तिनीहरु गाउँका पञ्च प्रधानपञ्चहरुको निर्देशनमा चल्ने गर्दथे । तिनीहरु आफ्ना र व्यवस्थाका विरोधीहरुलाई गिरफ्तार गरी जेलमा हाल्न मात्र होइन हत्या समेत गर्न लगाउँथे । पञ्चायतको आखिरी अवस्थातिरको त्यस्तै एउटा घटनालाई यहाँ कथाको रुप दिइएको छ । कथाको नायक ‘क्रान्ति’ नामक युवकको गाउँको प्रधानपञ्चसँगको झगडा परेपछि यस युवकलाई व्यवस्था विरोधीको आरोपमा समातिन्छ र पछि जेल सार्ने निहुँमा हत्या गरिन्छ ।

क्रान्ति नामक युवकको हत्याको खबरले जेलमा रहेको ‘म’ पात्र स्तब्ध हुन्छ । ऊ पीडा र आक्रोशले क्रान्तिप्रति अझ प्रतिबद्ध हुँदै ‘क्रान्ति मर्दैन’ भन्ने उद्गार निकाल्छ । यहाँ क्रान्ति शब्दले जेल सार्ने क्रममा हत्या गरिएको युवक ‘क्रान्ति’ र अर्को आमूल परिवर्तनकारी शब्दलाई एकसाथ जनाएको देखिन्छ । कथाकारले ‘क्रान्ति’ नामक पात्रलाई क्रान्तिकारी विचारले लेस भएको र विचारकै कारणले जेलमा परी हत्या गरिएको देखाउनुको साटो प्रधानसँगको झगडा र तिनले पालेका गुण्डाहरुका कारण जेलमा परेको र पछि सरकार विरोधी बनेको देखाइएको छ । यसैले कथाले नायकको चरित्रलाई त्यति राम्ररी विकास गर्न र उजिल्याउन सकेको देखिँदैन । जेलभित्रका गतिविधि र यातनाहरुसँग नायकलाई जोड्न सकेको भए कथा अझै प्रभावकारी बन्ने स्थिति हुन जान्थ्यो ।

संस्मरणात्मक शैलीमा लेखिएको ऊ अझै जीवित छ कथामा कथाकारले २०४६ को पञ्चायती विरोधी आन्दोलनको घटना र त्यसमा मारिएको पुरानो साथी महेशका बारेमा उल्लेख गरेका छन् । पञ्चायत विरोधी आन्दोलनमा जुलुसमाथि प्रहरीले गोली चलाउँदा आफ्नै छेउको एकजना व्यक्तिलाई गोली लाग्छ जुन आफ्नै साथी भएको पछि थाहा हुन्छ । अस्पताल पु¥याउँदा उसको मृत्यु हुन पुग्छ । साथीको अन्त्यष्टि सकिँदा रात परेको हुन्छ । लेखक गोली लागेर मरेको उक्त साथीको बारेमा सोच्दै जान्छन् । ऊसँग पहिलो भेट, सँगै पढेको अवस्था र ऊसँगको अन्तरङ्ग कुराकानी, उसको घरायसी अवस्था, आर्थिक अभाव, आमाबाबुको ऊप्रतिको माया र भरोसा अनि उसको विक्षिप्तता जस्ता कुराहरुको स्मरण गर्दै लेखक सोचमग्न बन्दछन् ।

‘एउटा जीवनको अन्त्य’ पनि पञ्चायतकालीन परिवेश अनि पञ्चहरुले गाउँमा गरेका हैकम, शोषण र दमनमध्येको एउटा घटनालाई लिएर लेखिएको छ । प्रधानपञ्च ढुण्डिराजले एउटा गरिब दमाईको छोरोले आफ्नो इच्छा विपरितका कार्यहरु गरेको र पञ्चायती विरोधी गतिविधि गरेको सह्य हुँदैन । यसैले ऊ आफैले कसैको हत्या गरी त्यस गरिब दमाईलाई हत्याको आरोप लगाउँदै जेलमा सडाउँछ अनि पत्नी र छोरीको पनि बलात्कार गरी हत्या गराइन्छ । वर्षौपछि जेलबाट छुटेर आएको बुधे दमाई जब घरमा परिवारलाई भेट्न जान्छ, बाटैमा परिवार र छोरीको हत्याको खबर सुन्छ । पीडा र आक्रोशले विक्षिप्त जस्तै बनेका ऊ प्रधानको घरै गई उसको हत्या गर्दछ र आफू स्वयं पनि आत्महत्या गर्दछ । बुधे पञ्चायत विरोधी गतिविधि र हत्याको आरोपमा जेल पर्दा पञ्चायती शासन र थियो भने ऊ जेलबाट निस्कँदा बहुदल आइसकेको थियो । तर प्रधानपञ्चको ठाउँमा उही ढुण्डिराज गाविस अध्यक्ष बनेको र गाउँलेलाई उस्तै दुःख दिने र जिल्लाका हाकिमको उस्तै गरी चाकडी गर्ने गरेको थियो । लेखकले जेल परेको र छुटेको समयावधि लम्ब्याएर बहुदल आएर पनि शासकीय प्रवत्ति र शैलीमा कुनै परिवर्तन नआएको यथार्थलाई औंल्याएका छन् । गरिब, निमुखा र सोझा व्यक्तिलाई बहुदल आएर पनि उस्तै पीडा, दुःख र अन्याय हुने गरेको यथार्थलाई पनि यहाँ सङ्केत गरिएको छ । कथानक, चरित्र, उद्देश्य र परिवेशलाई हेर्दा यो कथा अन्य कथाहरुभन्दा बढी कसिलो, मार्मिक र जीवन्त रहेको पाइन्छ । घटनाको स्वाभाविक विकास र उत्कर्ष अनि पात्रको जीवन्त चित्रणले यो कथालाई सङ्ग्रहभित्रको उत्कृष्ठ कथा मान्न सकिन्छ ।

‘घाइते विपना’ ठेलागाडा चलाएर जीवन निर्वाह गर्दै आएको एकजना सुकुम्बासी र बस्तीमाथि बुलडोजर चलाएर तिनको विचल्ली पार्ने सरकारको प्रवृत्तिलाई लिएर लेखिएको कथा हो । ठेलागाडामा कसैको सामान लिएर हिँडेको सुकुम्बासी मजदुर जब सामान झारेर बस्तीमा पुग्दा त्यहाँ सरकारले डोजर चलाउँदै बस्ती भत्काउन थालेको देख्छ तब आफ्नी सुत्केरी पत्नी र साना केटाकेटी सम्झन पुग्छ । बस्तीमा डोजर चलाउने सरकारप्रति उसमा आक्रोशको आगो बल्न थाल्छ र सरकार विरुद्ध नारा लगाउन थाल्छ । यो वास्तविकतामा आधारित कथा हो । वास्तविक सुकुम्बासीलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी तिनले रगत र पसिनाको कमाइबाट बनाएको ओत बस्ने ठाउँमा जब सरकार र उसका प्रहरी आएर डोजर चलाउँछन् तब उसमा सरकार विरुद्ध आक्रोश जन्मनु स्वाभाविक हुन जान्छ । आफ्ना नागरिकको गुँड भत्काउँदै तिनका परिवारको विचल्ली पार्ने सरकारप्रति कथाले विरोधको आवाज ओकलेको छ । एउटा पक्की घरको अगाडि आफ्नो ठेलागाडामा बसेर ढुक्कसँग निदाएको मजदुर सपनाबाट ब्युँझेको केही समयमै आफ्नो ओत बस्ने झुपडीलाई सरकारले डोजर चलाएर भत्काएको देख्नु उसको विपनामाथिको प्रहार थियो । सपना जति मीठो थियो विपना त्यति नै कठोर, पीडादायी र घाइते बन्न पुगेको एउटा मजदुरको अवस्थाको चित्रण गरिएको यो कथा मार्मिक र यथार्थवादी रहेको छ ।

ज्याला मजदुरी गरेर पेट पाल्ने, आर्थिक अवस्था कमजोर भएका र चेतनाको स्तर पनि नउठेका परिवारको दुःखान्त कथा हो ‘स्मृतिभित्र’ । कथामा जँड्याहा बाबु र दुःखजिलो गरेर छोराछोरीलाई हुर्काउँदै गरेकी आमाकी आठ–दश वर्षिय बालिका लुरीको निधनको खबरसँगै लेखकको मनमा उब्जिएका भावनाहरुलाई प्रस्तुत गरिएको छ । परिवार पाल्ने दायित्व बोकेको घरको मूली वा लोग्ने नै जथाभावी रक्सी खाएर हिँड्ने र स्वास्नी पिट्ने भएपछि ज्याला–मजदुरी गरेर वा अर्काको खेतमा काम गरेर छोराछोरी पाल्नुपर्ने वाध्यता स्वास्नीमाथि आइपर्छ । आर्थिक अवस्था कमजोर भएपनि परिवारप्रतिको माया र जिम्मेवारीबोध गर्दै पारिवारिक मेल र स्नेह कायम गर्नुपर्नेमा कतिपय परिवारका मूली भनिने लोग्ने मानिसहरु नै जथाभावी रक्सी खाएर हिँड्ने, स्वास्नी पिट्ने अझ उल्टै उनीहरुलाई गरीखान नदिने जस्ता कुलत र कुप्रवृत्ति बोकेका मानिसहरु पनि छन् । तिनले घरपरिवारमा झगडा गरी अशान्ति मच्चाउने मात्र होइन परिवारकै लागि अभिशाप बन्न पुगेका हुन्छन् । त्यस्तै परिवारको कथालाई यसले समेटेको छ ।

जनआन्दोलनकै सन्दर्भलाई लिएर लेखिएको ‘सहिद दिवसले जन्माएको सहिद’ कथाले आन्दोलनमा बाबु गुमाएर सडकमा भौतारिँदै हिँडेको एउटा बालकको अवस्था र सहिद दिवसमा भएको आन्दोलनले उसको बाल मस्तिष्कमा पारेको विद्रोहात्मक स्थितिलाई खोतल्दै पछि ऊ पनि आन्दोलनमै मारिएको घटनालाई प्रस्तुत गरिएको छ । बाबुलाई आन्दोलनकै क्रममा प्रहरीले गोली हानी हत्या गरेको आफैंले देखेको बिर्खे अर्काकाृ घरमा भाँडा माझेर जीवन गुजारा गर्ने आमालाई सम्झँदै सडकमा पुग्छ । उता सडकमै नाङ्लो पसल थापेर बस्ने व्यक्तिको पनि छोरा आन्दोलनमै मारिएको हुन्छ । बिर्खेले आफ्नो बाबुलाई आन्दोलनका क्रममा प्रहरीले हत्या गरेको सुनाउँदा नाङ्लो पसले पनि आन्दोलनमा मारिएको आफ्नो छोरोलाई सम्झन पुग्छ । बाबुको हत्या सम्झँदै जुलुसको अघि निस्केको बिर्खे प्रहरीको गोली लागेर ढल्छ । यसरी एउटा आन्दोलनमा बाबु र सहिद दिवसकै दिन गरिएको अर्को आन्दोलनमा छोरा मारिएको मार्मिक घटनालाई कथाले प्रस्तुत गरेको छ ।

कहिल्यै नरिसाउने, आफूलाई माया गरिरहने र जागीर पनि राम्रै भएको लोग्ने कसरी आफ्नी श्रीमतीलाई माया गरेझैं गरी भित्रभित्रै परस्त्री गमन गर्दोरहेछ र आफूले एड्स बोकेर आई श्रीमतीलाई सार्दोरहेछ भन्ने सन्दर्भलाई ‘दोसाँध’ कथामा देखाइएको छ । सुखद दाम्पत्य जीवन बिताइरेकी महिला जब लोग्ने अप्रत्यासित रुपमा बिरामी हुन्छ र उसको रगत परीक्षणमा एच. आइ. भी पोजेटिभ देखिन्छ त्यो बेलाको महिलाको मनस्थिति कति विचलित, कति उदास र निराश बन्न पुग्छ भन्ने कुरालाई यहाँ मार्मिक रुपमा प्रस्तुत गरिएको छ । लोग्नेको चारित्रिक दोषको सजाय महिलाले भोग्नुपर्ने र उसकै कारण आफ्नो जीवनयात्रालाई असमयमै टुङ्याउनुपर्ने अभिसप्त जीवन भोग्न विवश छन् हाम्रो समाजका महिलाहरु । आफ्नो सक्कली रुप लुकाउँदै पत्नीसँग पवित्र मायाको स्वाङ् रच्ने अनि बाहिर अनियन्त्रित र स्वच्छन्द यौन सम्पर्कका माध्यमबाट घातक रोगको समेत सिकार हुने पुरुषहरुको ढोंगी चरित्र यस कथाले देखाएको छ । यहाँ कथाकी मुख्य पात्र आफ्ना अवस्थालाई आत्मकथात्मक रुपमा प्रस्तुत गर्छे ।

‘सुभद्राको मन’ पनि हाम्रो ग्रामीण क्षेत्रमा पाइने नारी समस्यालाई लिएर लेखिएको कथा हो । यहाँ नेपालको ग्रामीण जीवनमा बुहारीहरुले भोग्नु परेको बुहार्तन र उत्पीडन अनि सासुको दुर्वचनका साथ सहरमा पढ्न भनी झरेपछि उतै जागीर गर्ने र उतै कान्छी श्रीमती राख्ने शिक्षित जागीरे लोग्नेहरुको प्रवृत्तिलाई देखाउन खोजिएको छ । यहाँ सुभद्रा नामकी पात्र पढ्दा पढ्दैको कलिलो उमेरमा बिहे भई घरको कामधन्दामा लाग्छे । सासुका तीखा वचन, लोग्नेको उपेक्षा अनि घरको कामको सास्ती सहँदै छोरी जन्माउँछे । छोरी जन्माएकोमा बुहारीको दोष देख्ने सासु अझ तिखा वचनले घोच्दै उसको पीडामा नुनचूक छर्दछे । उता पढ्न सहर गएको लोग्नेले अर्को बिहे गर्छ । सुभद्रा अरु पीडित बन्छे । असह्य भएर माइत जान्छे र घर छाडेर हिँड्न नहुने भन्दै छोरीलाई घरमै पठाइन्छ । सुभद्रा यी सबै सास्ती र पीडा सहेर बस्न बाध्य हुन्छे ।

यसरी कथामा ग्रामीण क्षेत्रमा बुहारीहरुले भोग्नुपरेको पीडा, सहनुपरेकोे उपेक्षा र विवशतालाई यथार्थ रुपमा देखाइएको छ । कथामा यति धेरै बुहार्तन, उपेक्षा र सास्तीलाई पनि बुहारीले चुपचाप सहेर बसेको देखाउनु प्रगतिशील लेखकका लागि सुहाउँदो मानिँदैन । सुभद्राले सासु र लोग्नेप्रति कुनै पनि विरोध वा विद्रोह नगर्नुबाट समाजको यथार्थलाई त प्रस्तुत गर्छ तर यसले पीडक प्रवृत्तिलाई नै सहयोग पु¥याउन पुग्छ । गाउँबाट सहर पसेका शिक्षित पुरुषहरुले भित्रभित्रै कान्छी श्रीमती राख्ने गरेको र गाउँका सासुहरुमा अझै पनि परिवर्तन आइनसकेको अवस्थालाई कथाले यथार्थ रुपमा चित्रण गरेको भए पनि आजको बदलिँदो समाजमा बुहारीहरु पनि सचेत र शिक्षित हुँदै गएकाले कुनै न कुनै प्रकारले त्यस अवस्थाको विरोध वा विद्रोह गर्ने स्थितिमा रहेका हुन्छन् । कथाले यो पक्षलाई पनि देखाउन सकेको भए अझै बढी यथार्थ र प्रगतिशील बन्दथ्यो ।

‘सयपत्री’ कथामा विदेश गएर घर फर्किन लाग्दा जहाज दुर्घटना भई निधन भएको लोग्नेको स्मरण गर्दै तिहारमा पत्नी सर्वदाको मनस्थितिलाई उतार्न खोजिएको छ । बारीका डिलभरि सयपत्री फूलहरु लटरम्मै फुले पनि उसको मन विगततिर फर्किन पुग्छ । विगतमा लोग्नेलाई विदेश जान आफैले कर गरेको, लोग्नेले विदेशमा राम्रै काम पाएर सहर घरसमेत बनाएको हुँदा परिवारमा आनन्दका दिन आउन लागेको बेला अप्रत्यासित रुपमा जहाज दुर्घटनाको खबरले पत्नी सर्वदाको मन भक्कानिन्छ । मानिसको जीवनमा अप्रत्यासित दुःख र पीडा पनि आइपर्छन् र अकल्पनीय घटनाहरु पनि आउन सक्छन् जसले सुख र आनन्दमा बितेका जीवन पनि दुःख र पीडामा गुज्रन पुग्छ भन्ने सन्देश प्रस्तुत कथाले दिएको छ । त्यसै गरी परिवारसँग सुख–दुःख जीवन निर्वाह गरिरहेको अवस्थाप्रति सन्तुष्ट नभई मानिस भौतिक सुख सुविधाको लालसाले विदेश जान्छ । विदेश गएकाको स्थिति पनि सबैको सुखद हुँदैन । हुन त प्राकृतिक प्रकोप र दुर्घटनाहरु जहाँ र जहिलेसुकै आइपर्न सक्छन् तर पनि परिवारसँग सुखदुःखमा सहभागी भएर आफ्नै देशमा बसेको भए यस्तो दुःखद स्थिति आउँदैनथ्यो कि भन्ने भाव पनि कथाले प्रस्तुत गरेको छ ।

पहुँच र शक्ति भएकाहरुले बेरोजगार आफन्तहरुको कमजोर अवस्थाको फाइदा उठाउँदै कसरी ठग्न पुग्छन् भन्ने कुरा ‘आफ्नो मान्छे’ कथाले देखाउन खोजेको छ । कथामा बेरोजगार एउटा युवक जागिरका लागि आफन्तकहाँ पुग्छ र उसले एउटा हाकिमलाई भनिदिएर जागिरको व्यवस्था गरिदिन्छ । तर जब महिना पुगेर पनि सो कर्मचारीले तलब पाउँदैन तब उसले यस बारेमा सोधखोज गर्न हाकिमकहाँ पुग्छन् हाकिमले अझै अरु एकदुई महिना तलबका लागि उसलाई पर्खन भन्छन् । तिमी त आफ्नो मान्छे भन्दै जागिर लगाइदिएकोमा हाकिम आफै कृतध्न बन्न खोज्छन् । कथाले स्पष्ट सङ्केत नगरे पनि यो एकप्रकारको घुसको रुपमा हाकिमले उसको तलब आफूले राखेको र केही महिना अझै आफ्नो तलब हाकिमलाई दिनु पर्ने बाध्यता रहेको र उसले आफू भने महिनाभरिको खर्चको हिसाब गर्दै निरीह बन्नु परेको कथाले उल्लेख गरेको पाइन्छ । कथाको बुनाइ छोटो र लघुकथाको आकारमा लेखिएको हुँदा कथाले भन्न खोजेको कुरा त्यति प्रभावकारी देखिँदैन ।

‘हाट’ कथामा लेखकले धेरैअघि काठमाडौंको डेरामा बस्दा परिचित एक महिलालाई हाट बजारमा देखेपछि उब्जिएका पुराना कुराको स्मरण गरिएको छ । सानैमा देखेकी एउटी चञ्चल स्वभावकी केटी हातमा बच्चा लिएर उभिएको देख्दा लेखक आफ्नो काठमाडौंको डेराको बसाइँलाई सम्झन्छन् र एउटै घरमा बस्ने अर्को डेरावालका दुई छोरीहरु र तिनको चञ्चल स्वभावलाई सम्झँदै जान्छन् । शीला नामकी उक्त केटीकी सासुले उसको एउटै छोरो भारत र पाकिस्तानको युद्धमा मारिएको र बुहारीले नै आफूलाई रेखदेख गर्ने गरेको कुरा सनाउँदै बुहारीप्रति संवेदनशील बन्छिन् । उनले बुहारीलाई अर्को बिहे गर भनेर प्रस्ताव गरेकी तर बुहारीले अर्को बिहे गर्न अनिच्छा गरेकी पनि सुनाउँछिन् । यसरी बिहे गरेको केही समयमै विधवा बन्नु परेकी एउटी युवतीको पीडाजन्य अवस्थालाई कथामा व्यक्त गरिएको छ ।

‘एक कामदारको दैनिकी’ मा कामको खोजीमा अरब पुगेको एउटा नेपालीले आफ्नी पत्नीलाई सम्बोधन गरेर लेखेको डायरीका केही पानालाई उतारिएको छ । २००३ को मेइ महिनादेखि २००५ को अप्रिलसम्म करिब दुई वर्षको समयावधिमा लेखिएको उक्त दैनिकीमा त्यहाँको वातावरण, कामको प्रकृति, अति न्युन ज्याला, भारतीय र बंगलादेशी कामदारहरुको नेपालीप्रतिको अनुदार व्यवहार, राति कोठामा सुतेको नेपाली कामदारको बिहान ओछ्यानमा मरिरहेको अवस्था, इराकमा भएको १२ जना नेपाली कामदारहरुको नृशंस हत्या गरिएको खबर जस्ता विषय प्रसङ्गहरु दैनिकीमा पाइन्छ । यसले नेपालीहरुले अरब मुलुकमा भोगेको अवस्थालाई बुझ्न केही हदसम्म सघाउ पु¥याएको देखिन्छ ।

कथाकार अनिलले आफैले देखे भोगेका पात्र, परिवेश र घटनालाई नै कथामा समेटेको हुँदा घटनामा स्वाभाविकता र पात्रमा जीवन्तता आएको पाइन्छ । अधिकांश कथाहरुमा आत्मकथनात्मक शैलीको प्रयोग गरिएको छ । कुनै पनि विषयलाई पात्रका माध्यमबाट नभनी लेखक आफै अघि सरेर भन्नु अनि संवादात्मकभन्दा वर्णनात्मक शैलीको प्रयोग गर्नु यहाँका कथाहरुको प्रवृत्ति रहेको छ । यसले कथामा रोचकता र प्रभाव बढाउन सहयोग नगरे पनि कथाकारका विचार प्रवाह गर्न भने सहयोग पु¥याएको छ । वर्तमानका घटना–सन्दर्भहरुलाई विगतका घटनासँग जोडेर प्रस्तुत गर्ने, कथाभित्रैबाट अर्को कथा भन्ने, घटनालाई शृङ्खलाबद्ध रुपमा प्रस्तुत गर्ने जस्ता विभिन्न शैलीको प्रयोग गरिएका यहाँका कथाहरु तत्कालीन नेपालको राजनीतिक–सामाजिक अवस्थाका साक्ष्य बनेर आएका छन् । शिल्पका दृष्टिले सबै कथाहरु उत्तिकै रोचक र प्रभावकारी बन्न नसके पनि वैचारिक दृष्टिले भने सबै कथाहरुले नेपाली राजनीतिको विकृति र विभेदजन्य चरित्र, राजनीतिक परिवर्तनले आम जीवनमा कुनै परिवर्तन गर्न नसकेको स्थिति अनि समाजमा व्याप्त विभेद र उत्पीडन र निम्न वर्गका पात्रहरुको सिर्जना गर्दै तिनको अवस्थाप्रति संवेदनशील बनेर कथाकारले आफूलाई उत्पीडित वर्गको पक्षधर देखाउन खोजेका छन् । राजनीतिक सामाजिक समस्याहरुलाई उद्घाटन गर्दै त्यसप्रति चिन्ता र चासो व्यक्त गर्नु नै यसभित्रका कथाहरुको उद्देश्य रहेको देखिन्छ ।

ज्याग्दी खोलाको तरङ्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here